कविता - यकिना अगाध
भन्नु त भन्छन् नि
आइमाई धरणी हो
आधाआकाशहो
फुक्र्याएर उसलाई
यसो पनि भन्छन्
साक्षत् देवी हो
शक्तिकर्ता दुर्गा हो ।
सत्य कुरा त यो छ कि
यो देशमा
शब्द अलंकार बाहेक
आइमाई मान्छे हँुदै होइनन्
यौनतृष्णा मेट्ने
केवल साधानमात्र हुन् ।
लोग्नेमान्छेको
वीर्य स्खलनको लागि
बनाइएको ‘सेक्स ट्वोय’ मात्र हुन् ।
शंका लाग्छ भने
सत्य सावित्री सीताको
अग्निपरीक्षा लिन पाउँछन् रामले ।
वैंशले मैमत्ता भयो भने
हजार गोपिनीहरु
सुहाग मनाउन पाउँछन् कृष्णले ।
जुवाको खालमा
द्रौपदीलाई थापेर च्याँखे
रमिते देखाउन पाउँछन् पाण्डवले ।
कतै देश हरण हुने भयो भने
भृकुटीको देह चढाएर
आफ्नो कान्तिपुरी नगर बचाउँछन् अंशुवर्माले ।
आइमाइको भौतिक देह
भोगको अन्त्यपछि
जब संस्मरण गर्न
मन्दिरमा गरिन्छ प्रतिष्ठान
देवी, दुर्गाको ।
टुँडाल बनाएर त्यही छानामा
लोग्ने मान्छेले
इच्छाइने आसनमा
भोग्छन् भरमग्दुर
ब्लु फिलिमका नायिकालाई झैं ।
जिउँदो हुनुको दुर्दशा उस्तै
मरणपछि
जब बन्छ किचकन्या पीडा दुरुस्तै ।
लोग्ने मान्छे
निर्धक्क मुर्कुट्टा हुन पाउँछन्
आइमाई
बनेर किचकन्या
यौनकुण्ठाले दमित
जिउँदो लोग्नेमान्छेको
मेटाउनु पर्छ प्यास हर रात ।
घरको लक्ष्मी
समाजको गहना
जेडेर अनेक उपमा
यो देशमा
बनाइरहेछ यौनदासी
आइमाई हुनुको कत्रो उपहासी ।