काभ्रे — काभ्रेको बाम कम्युनिष्ट आन्दोलनका पुराना, शालीन र निष्ठावान नेता भरत लामिछाने को निधन भएको छ। केही वर्षदेखि क्यान्सरको उपचार गराइरहनु भएका उहाँको निधनको खबरले राजनीतिक वृत्त, सहकर्मी तथा शुभेच्छुकहरूलाई गहिरो शोकमा डुबाएको छ।
वि.सं. २०१६ साल असार १७ गते पाँचखालमा पिता दधिलाल लामिछाने र माता धनमाया लामिछानेको कोखबाट जन्मिनुभएका लामिछाने सादा जीवन, उच्च विचार र वर्गीय आचरणका पर्यायका रूपमा परिचित हुनुहुन्थ्यो। लाभको पदप्रति कहिल्यै आकर्षित नभई जीवनभर इमानदार र प्रतिबद्ध राजनीतिक यात्रामा समर्पित रहनु उहाँको विशेषता थियो।
उहाँले २०३५ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) बाट पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो भने २०३६/३७ सालको शिक्षक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। २०४६ सालतिर सिन्धुपाल्चोकमा कार्यरत रहँदा चौथो महाधिवेशनको संगठन विस्तारमा योगदान पुर्याउनु हुँदै चेनको संस्थापक हुनु भएको उहाँ २०४९ सालमा राष्ट्रिय कर्मचारी संगठनको केन्द्रीय महासचिव बन्नुभएको थियो। सोही वर्षको कर्मचारी आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै उहाँ गिरफ्तार समेत हुनुभएको थियो।
वि.सं. २०५३/५४ सालदेखि लगातार संयुक्त जनमोर्चा नेपाल, काभ्रेपलाञ्चोकका जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका उहाँ २०६३ पछि नेकपा एकीकृत पिबिएम हुँदै पार्टी एकतापछि नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य बन्नुभएको थियो। पछिल्लो समय उहाँ नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यका रूपमा क्रियाशील रहनुहुन्थ्यो।
सहकर्मीहरूका अनुसार लामिछाने सधैं समाजमा सत्य, सुशासन र इमानदारीको पक्षमा अडिग रहनुहुन्थ्यो। भ्रष्टाचारमुक्त र सुशासनमा आधारित नयाँ नेपालको निर्माणमा सबै एकजुट हुनुपर्ने उहाँको निरन्तर अपिल रहने गरेको थियो।
राजनीतिक रूपमा बढ्दो अन्योल, सामाजिक सञ्जाल र एल्गोरिदमको प्रभावले जनमत एकोहोरिँदै गएको अवस्थाप्रति उहाँ गम्भीर चिन्तित हुनुहुन्थ्यो। भावनात्मक उत्तेजनामा बहकिएर विचार, सिद्धान्त र इतिहासबाट टाढा हुन नहुने उहाँको स्पष्ट धारणा थियो।
उहाँले अनुभवी र पुराना नेतृत्वको योगदानलाई पूर्ण रूपमा नकार्ने प्रवृत्तिप्रति असहमति जनाउँदै नयाँ र पुरानोबीच सन्तुलन आवश्यक रहेको बताउँदै आउनुभएको थियो। “पुरानोलाई पूर्णरूपमा अस्वीकार गर्ने र नयाँलाई पूर्णरूपमा स्वीकार गर्ने प्रवृत्ति गलत हो,” भन्ने उहाँको स्थायी सोच थियो। उहाँका अनुसार, संघर्ष र अनुभवले निर्माण गरेको जगमै नयाँ भविष्यको रूपरेखा कोर्न सकिन्छ।
इतिहासप्रतिको गहिरो चेतना उहाँको विचारको केन्द्रमा रह्यो। राणाशासनदेखि पञ्चायती व्यवस्था हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा नेपाली जनताले दिएको बलिदानीलाई कहिल्यै नबिर्सन उहाँले जोड दिनुहुन्थ्यो। “इतिहास नबुझ्नेले वर्तमान बुझ्दैन र भविष्य निर्माण गर्न सक्दैन,” भन्ने उहाँको भनाइ सहकर्मीहरूले स्मरण गरेका छन्।
उहाँले सामाजिक संरचनामा रहेका जातीय, वर्गीय तथा लैङ्गिक विभेदहरू अग्रजहरूको संघर्षबाट क्रमशः हट्दै गएको उल्लेख गर्दै ती उपलब्धिहरूको संरक्षण गर्दै अझ प्रगतिशील समाज निर्माण गर्नुपर्ने धारणा राख्नुभएको थियो।
नेतृत्व विकासका सवालमा पनि उहाँ सन्तुलित दृष्टिकोणका पक्षधर हुनुहुन्थ्यो। पार्टीभित्र नयाँ नेतृत्वको विकास अपरिहार्य भए पनि त्यसका लागि वस्तुगत र आत्मगत परिस्थितिको गहिरो विश्लेषण आवश्यक हुने उहाँको बुझाइ थियो। पुरानो अनुभव र नयाँ पुस्ताको ऊर्जा संयोजनमै देशको सही बाटो तय हुने उहाँले जोड दिनुहुन्थ्यो।
लामिछानेको जीवन केवल राजनीतिक यात्रामा सीमित रहेन, उहाँको सोच समाज, राष्ट्र र भविष्यप्रति गहिरो जिम्मेवारीबोधले भरिएको थियो। सादा जीवनशैली र उच्च नैतिकताको उदाहरणका रूपमा उहाँलाई सम्झिने गरिन्छ।
उहाँको निधनसँगै एक इमानदार, विचारशील र समर्पित नेताको युगीन आवाज मौन बनेको छ। तर उहाँले उठाएका विचार, मूल्य र मार्गदर्शन भने नेपाली समाजमा दीर्घकालसम्म जीवित रहने विश्वास गरिएको छ।
यस दुःखद घडीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरिएको छ।