मेरा कान्छा बाले अक्षर चिन्ने मौका नै पाउनु भएन । नत बाले नै पाउनु भयो । मेरो कान्छा बा अक्षर नचिने पनि ज्योतिष विधाका ज्ञाता थिए। ज्योतिषहरुले जुन काम गर्दा पनि पात्रोको सहायता लिएर गर्थे। तर कान्छा बालाई पात्रोको जरुरत नै पर्दैनथ्यो। उनका आफ्नै शुत्र थिए । तिथि, मिति, ग्रह गोचर, आगामी वर्षका चाडवाडहरु हेर्ने, हिसाव गर्ने आफ्नै शुत्र थिए। ती शुत्र के हुन् भनेर जिज्ञासा राख्दा उनले हामीलाई कहिल्यै बताएनन् । बा वताउन नै जानेन। तर आफैले चैं ठ्याक ठ्याक मिलाउँथे । त्यतिमात्र नभई गाउँ टोलमा कसको कुन मितिमा जन्म, विवाह व्रतवन्ध भयो, को कुन तिथि मितिमा मृत्यु भयो सबै तिथिमिति उनलाई याद हुन्थ्यो ।
राणाकालीन समयमा स्कुलहरु थिएनन् । निम्न मध्यम् वर्गीय परिवारमा जन्म लिनु भएका कान्छा बाको परिवार जिउनको लागि कृषि र पशुपालन व्यवसायमा भर पर्नुपर्ने थियो । एकदिनको कुरा थियो, कान्छाबा खेतमा काम गरिरहनु भएको थियो। म त्यहाँ नजिकमा नै पुग्दै थिएँ। उहाँले ए माहिला तँ यहाँ आईजो ! भनेर मलाई डाक्नु भयो । म उहाँ नजिकमा नै खेतको आलिमा गएर बसें। उहाँले सुनाउन थाल्नुभयो–तँलाई थाहा छ? सुनेको छ? २००७ सालमा भवँरकोट पाँचखालमा डाँकाहरुको हुल आएर यहाँका साहु महाजनहरुका घर घरमा पसेर नगद, सुन चाँदी, अन्नपात, खसी बोका समेत लुटेर लगेका थिए । पूर्वबाट किराँतीहरु लुटपाट गर्न आउँदैछन् भनेर कोहीे साहुहरु लुकी सकेका थिए। कोही काही भाग्ने तयारी गर्दै थिए। कोही भागेका थिएनन् । लुटपाट गर्नेले जे–जे भन्छन् त्यही गरेमा हातपात गर्दैनथे । तर उनीहरुसँग प्रतिकार गरेमा हातपात गरी मरेतुल्य समेत बताउँथे । पल्लो गाउँका साहु डाँका समूह आउने थाहा पाएर भागेछन् । डाँका समूह ती साहुको घरमा पसे । साहुको खोजी गरे भेटेनन् । उनका घरका भए–भएका नगद, सुनचाँदी, गरगहना लगे । खसी बोका खुकुरीले फुकाए र बन्दुकले डो¥याएर लगे । सकेजति अन्नपात समेत बोकेर गए । त्यो घरमा एकजना बृद्ध आमा थिईन् । उनले डाकासँग प्रतिकार गरिछन् । आत्मसमर्पण गरिनन । उनलाई आँगनमा ल्याएर हत्यासमेत गरे । त्यसपछि त्यो हुल हाम्रो गाउँमा पनि आयो । र, हाम्रो साहिंला बाको घरमा पस्यो । साहिंला बा घरमै थिए। उनले कोही कसैलाई दुःख दिएका थिएनन् । नबिराउनु नडराउनु भन्ने तर्फ मनन् गर्दै उनले घर छोडेका थिएनन्
तैपनि उनको घर पनि लुटने योजनामा पारेका रहेछन्। साहिला बाको घरमा पनि नगद तथा जिन्सी–सुनचाँदी सबै लुटे । घरमा दुवै आँखा नदेख्ने आमै थिईन्। उनलाई समेत लछार पछार गरे । साहिंला बालाई पनि ज्यान मार्ने धम्की आयो । त्यसैबीच हुलबाट एकदुई जनाले भनें–यिनी अरु जस्तो घोर अन्याय गर्ने व्यक्ति होइनन् । यिनको ज्यान लिनु हुँदैन । त्यसपछि त्यो हुल आफ्नो बाटो लाग्यो । गाईंगुइ हल्ला पनि सुनिन्थ्यो । उनीहरु आफुलाई राणा शासन समाप्त गरेर प्रजातन्त्र ल्याउन राजधानी तर्फ हिंडेका कांग्रेसका मुक्ति सेना हौं पनि भन्थे रे । तर राणाहरुको अन्याय अत्याचार पल्टाउने उद्देश्य बोकेकाले गाउँ, टोलमा पसेर लुटपाट डकैती मचाउँदै बदलाको भाव राखेर मान्छेलाई दुःख दिने सम्पत्ति लुट्ने, मार्ने काट्ने जस्ता अभद्र व्यवहार चैं अन्याय अत्याचारभित्र परेन र? भनेर मलाई कान्छा बाले प्रतिप्रश्न समेत गरे । कान्छा बाले मेरोे मुख हेर्दै कुरा थपे, तँ पनि यो समाजलाई परिवर्तन गर्न गराउन भनि हिंडेको छस् । समाजलाई उन्नत बनाउँछु भनेर रातोदिन समर्पित भएको देखेको छु। तर सफल बन्न नदिनेहरु पनि तँ सँगै हिंडेका हुन्छन् । तेरो खुट्टा तान्नेहरु सँगै हुन्छन् ख्याल गरेस् ! उखान पनि छ नि ! सुनेको छ – ‘बाघको मुख हेर्नुपरे बिरालोको मुख हेर्नु रे,– शत्रुको मुख हेर्नु परे दाजुभाईको मुख हेर्नु रे’ । २००७ सालको घटनामा पनि ती डाँका समुहले हाम्रै गाउँका भाईहरु आइते, दशरथे दनुवार र काले थिङ तामाङलाई हात लिएका थिए । उनीहरुकै चुक्ली (सुराकी)मा यहाँ घटना घटेका थिए । बाहिरबाट आउनेहरुलाई त यहाँ को ? कस्तो छ के थाहा थियो र ? यहाँका स्थानीय उनीहरुकै विरुद्धमा लाग्ने उनीहरुकै दाजुभाईहरुको उक्साहटमा रिसइबी फेर्ने उद्देश्यले ती घटना घटेका थिए। आईते, दशरथे र काले थिङ्ले पनि भित्री रहस्य बुझेका थिएनन् । उनीहरुले गाउँमा साहु–महाजनहरुले अन्याय–अत्याचार गरेर अकुत सम्पति आर्जन गरेका छन् । शोषित पीडित जनसमुदायले त्यस प्रकारका अन्याय अत्याचारको विरुद्धमा लड्नुपर्छ भन्ने कुरा सतही रुपमा मात्र बुझेका थिए होलान्। त्यतिमात्र नभई पिछडिएको जाति दनुवार र तामाङलाई माथि उठ्न नदिने तत्व नै साहु–महाजन हुन, त्यसैले उनीहरुका विरुद्ध संघर्ष गर्नुपर्छ। यिनीहरु राणा शासनका पक्षधर हुन भन्ने कुराले यिनीहरुको दिमाग भरिएको थियो । त्यसैले प्रतिशोध लिने समय यही हो भनेर उनीहरुमाथि जाइ लागेको बुझिन्थ्यो । तर त्यस्तो शोषण दमन गर्ने व्यक्ति त यस क्षेत्रमा अरु पनि थुप्रै थिए। ती तिनीहरुलाई केही गरिएन । तिनीहरु कारवाहीमा परेनन् । कान्छा बाले फेरि पनि थपे ।
नब्वेवटा बशन्त पार गरिसकेका मेरा कान्छाबालाई मसंग भन्ने कुरा अझै सकिएको रहेनछ । हेर माहिला तँ पढेलेखेको मानिस हो। आफै मनन गरेस् । आफ्नो गाउँकै दाजुभाई हुन्, आफ्नै पार्टीकै साथीभाई हुन् भनेर धेरै विश्वास मात्र नगरेस् । प्रत्येक काम कुरामा विश्वाससंगै शंका पनि गर्ने गरेस् । पार्टीभित्र पनि छद्म क्रान्तिकारी हुन्छन् । बन्धु बान्धव बीच पनि कतिपय काम कुरामा भित्र भित्रै दुश्मनी बढिरहेको हुनसक्छ । त्यसैले राजनीति वा समाज सेवा गर्दा जस पाउन गाहो छ । २००७ सालमा पनि गाउँका दाजुभाई एक ढिक्का भएको थिए भने अन्यत्रबाट आउनेले त्यसो गर्ने आँटसम्म पनि गर्न सक्दैनथे । उनले चर पाउने थिएनन् । गाउँ टोलमा नै शत्रु बनेपछि अन्यत्रबाट आउनेलाई त ‘भाई फुटे गवाँर लुटे’ भने झैं भई हाल्यो नि । गाउँ लुटेर नै छोडे। त्यसैले तैले यस विषयमा गम्भिर रुपले चिन्तन मनन गरेस् ।
कान्छा बाले यति कुरा गरिसकेपछि म गम्भिर बनें र मैले उसलाई भनें बा को कुराले मलाई गहिरो शिक्षा आर्जन भएको महशुश गरेको छु । यसबारे के के भएको रहेछ अध्ययन गरेर सत्यतथ्य पत्ता लगाउने कोशिस गर्नेछु भनेर म त्यहाँबाट बिदा भएँ । र म सत्य तथ्य केलाउँदै सत्यता खोज्नेतिर लागें । वास्तवमा त्यतिबेला जहानियाँ राणा शासनका विरुद्धमा संघर्ष चर्किएको रहेछ । खासगरी नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीलगायतका दलहरु एकतन्त्रीय राणाशासन विरुद्धमा संघर्ष गरिरहेका रहेछन् । राणाशासनको अन्त्य गरी प्रजातन्त्रको स्थापनार्थ लामो समयदेखि हुँदै आएको संघर्षले चरम रुप लिएको अवस्था रहेछ त्यो ।
खासमा राणातन्त्र समाप्त गर्न राजा समेत सक्रिय भएका थिए । किनकि उनको पनि सत्ता लुटिएको थियो । कम्युनिष्ट पार्टी भर्खरै स्थापना भएकोले सांगठनिक रुपमा व्यापक भइसकेको थिएन । अलि ठुलो नेपाली काँग्रेस पार्टी थियो । त्यसपार्टीको पहलमा ‘मुक्ति सेना’ समेत गठन भएको थियो । प्रजातन्त्र स्थापनार्थ शहेक सबै शक्ति एक ढिक्का भएका थिए । छिमेकी देश भारतले निहित स्वार्थ राखी राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापनार्थ सहयोग पु¥याएको थियो। २००७ सालमा तात्कालिन राजा त्रिभुवन दिल्ली भारतीय दूतावास मार्फत दिल्लीतर्फ लागे । उता नेपाली काँग्रेसले वैरगनिया सम्मेलनले सशस्त्र क्रान्तिको नीति नै पास नै ग¥यो तर क्रान्ति वा सशस्त्र संघर्ष भन्ने वारे अझै अलमलमा परी कान्ति वा सशस्त्र संघर्ष केही नभनी ठूलो संघर्ष भनि शुरु भयो भनि घोषणा ग¥यो । (विश्वेश्वरप्रक कोइरालाको आत्मबृतान्त – २०५५ पृष्ठ १२३) त्यसको सुप्रिम कमाण्डर अध्यक्षको हैसियतले मातृकाप्रसाद कोइरालालाई दिए पनि मूख्य कामकाजी सुप्रिम कमाण्डरमा वि.पि.र सुवर्ण शमसेर नै थिए । उनीहरुले हातहतियारको बन्दोवस्त मिलाई मुक्ति सेना संगठन निर्माण गर्न भर्ति खोलेका थिए। भर्तिको मूख्य प्रावधानमा भूतपूर्व सैनिकहरु र आजाद हिन्द फौजलाई प्राथमिकतासाथ लिएका थिए । किनकि सैन्यज्ञान उनीहरुमा भएकोले विशेष योग्यता त्यसलाई मानेका थिए । त्यसको कमाण्ड वि.पि.र सुवर्ण शमशेरले गरेका थिए । सुवर्ण शम्सेर त जनरल नै थिए । उनलाई सैनिक रणनीतिबारे राम्रो ज्ञान थियो । अर्का थिए आजाद हिन्द फौजका पूर्व सिनियर अफिसर पूर्ण सिंह । त्यस्तै याकथुम्वा पनि थिए यस्तै ज्ञान भएका । क्रान्तिको लागि जिम्मेवारी तोकिने काम भयो । पुर्वतर्फ वि.पि., सुवर्ण शम्सेर र सहयोगीमा याकथुम्बाको जिम्मेवारी आयो । पश्चिममा महेन्द्र विक्रम र सुर्यप्रसाद थिए । पूर्व तर्फको बीरगञ्जमा सुर्वणशमशेरको इन्चार्जशिपमा पूर्ण सिंह र थीरबम मल्लको जिम्मेवारी आएको रहेछ ।
वि.सं. २००७ साल कार्तिक २४ गते बिहान ३ बजे थिरवम मल्ल र पूर्ण सिंहको नेतृत्वमा मुक्ति सेनाले वीरगंजमा आक्रमण गरे । बडा हाकिमले आत्मसमर्पण गरे। थिरबम मल्ललाई गोली लाग्यो र त्यही मृत्यु हुन पुग्यो । त्यहाँ बैंक समेत आक्रमण गरी रु. ५० लाख नगद र थुप्रै सुन चाँदी विद्रोही पक्षले हात पारेका थिए । राणाका सिपाहीलाई परास्त गर्दा धेरै हातहतियार समेत बिद्रोही पक्षले हात पारेका थिए। तर हातहतियार जोगाउन उनीहरुलाई मुश्किल पर्दै आयो । कलैया पनि गोपाल प्रसाद भट्टराइको नेतृत्वमा कब्जा भएको थियो। त्यहाँबाट पनि सुनचाँदी र नगद हात पारेका थिए । तर ती सम्पत्ति जोगाउन बिपीलाई हम्मे हम्मे प¥यो । किनकी त्यस बखत कागजका नोट कम हुने र चाँदीका मोहर बढी हुने हुँदा बोकेर अर्को ठाउँमा पु¥याउन समेत मुस्किल हुने थियो । विपिले त्यसबखत सोचेका रहेछन त्यो रकमले आफू– आफूमा पनि विवाद बढ्ने र हिन्दुस्थानीवाट पनि असुरक्षित हुने ठानी उक्त रकम हिन्दुस्थान पुगेका राजा त्रिभूवनलाई नै जिम्मा दिने कि ! किनकी आफ्नै साथी तेजबहादुर अमात्यले त यो मेरो इलाकाको पैसा हो मेरो नियन्त्रण बेसी हुनुपर्छ भनेर किचकिच गर्न शुरु गरिसकेका रहेछन् ।
त्यसपछि उक्त सम्पत्ति पटनामा लगि सुरक्षित गर्ने कोशिस गरे । तर त्यहाँ पनि असुरक्षित हुने ठानी विपि, सुवर्ण शम्शेर, महावीर शम्शेर र सुर्यप्रसादको सल्लाहले महावीर शम्शेरकै प्लेनमा दिल्लीसम्म पु¥याए । हिन्दुस्थानले जफत गरिदेला भन्ने डर मान्दै राती त्यहाँ पु¥याएको रुपैंया गुप्तचरले चाल पाएछ र खानतलासी गरेर लुटेको सम्पत्ति ल्याएको छ भनि ५० लाखको बाकस लिएर गयो। सबैलाई थुनामा राखेर भोलिपल्ट मात्र छोड्यो । भोलिपल्ट नै वि.पी. जवाहरलाल नेहरुलाई भेट गर्न गए, हामीलाई किन थुन्नु भयो भनेर सोध्दा “.............. उनले आप किस तरह के कान्तिकारी है ? और राजा की पास यह पहुँचाने आए । राजाका रिभोल्युसन है कि जनताको रिभोल्युसन है ? भनेर वि.पि.लाई सुनाउँदै उनले रिसाएर भने–“आपको तो हथकडी डाल देते” भन्ने कुरा राखे । यस अर्थमा उनलाई अन्तर्राष्ट्रिय स्तरमा नै अप्ठ्यारो परेको बुझियो” (ऐ. ऐ. आत्मवृतान्त पृ.१२८–२९) त्यसपछि कब्जा गरिएको धनले क्रान्त्तिलाई सहयोग पु¥याउला भन्ने आशा निराशामा परिणत भयो । तर कब्जा गरिएका हातहतियारले क्रान्तिको लागि मद्दत पु¥यायो । वि.पि.लगायत सबै आ–आफ्नो कार्यक्षेत्रतर्फ फर्किएका थिए ।
पहिलो भेटको सात दिनपछि मैले फेरी कान्छाबालाई खेतमा काम गरिरहेको अवस्थामा भेटें। अनि मैले नै उनलाई २००७ सालको घटनाहरुबारे केही कुरा सुनाएँ । बाँकी सबै म पछिल्लो भेटमा भन्नेछु भनेर बिदा हुन खोजें । उनले मलाई हातले तानेर नजिकै लगि भने, हेर माइला ‘भाइ फुटे गवांर लुटें’ भन्ने उखान सुनेको छ नि ! मैले भने सुनेको छु । ल आफ्नो काममा जा, यो उक्तिलाई मनन गरेस् । म गम्भिर हँुदै आफ्नो बाटो लागें । किनकी मलाई ‘मुक्ति सेना’का गतिविधिको अध्ययन गरेर अर्को भेटमा कान्छा बासँग कुराकानी गर्नु नै थियो ।
जब वि.पि.ले बैंक कब्जा गरी लिएको ५० लाख रुपैयाँ जोगाउन सकेनन् । सो रकम भारत सरकारले जफत गन्यो र पछि प्रजातन्त्र आएपछि राजा त्रिभुवनलाई नै फिर्ता गरेको भन्ने समेत बुझिन्छ । तर वि.पि., सुवर्ण शम्शेर लगायतका नेतृत्वलाई मुक्ति सेना परिचालन गर्न हम्मे हम्मे पर्दै आयो । वि.पि., सुवर्ण शम्शेरकोको नेतृत्वमा पुर्व तर्फको बिराटनगर कब्जा गर्ने योजना बन्यो त्यसमा तारिणीहरु र याकथुम्बा समेत सक्रिय थिए । बडा हाकिमलाई कब्जामा लिन मुश्किल परेपनि उनीहरु सफल भएर । त्यहाँ निकै भिडन्त भएको थियो । सफल भएपछि उनीहरुमा उत्साह थपिएको थियो । पश्चिममा भने बालचन्द्र शर्मा र सुर्यप्रसादको जिम्मेवारी रहेको थियो । तर उनीहरुको भुमिका त्यति राम्रो नभएकाले कब्जा हुन कठिनाई भएको थियो । पाल्पामा कमाण्डर इनचिफको छोरा गोपाल शम्शेर मार्फत एक टुकडी थियो । भैरहवामा के.आइ.सिंहले कब्जा गर्ने जिम्मेवारी लिएका थिए । तर के.आई.सिंह लाई नै केही साथीहरुले शंकास्पद रुपमा हेर्दै आएका थिए । उनले मर्चबारका जमिन्दारको हत्या गरेका रहेछन् । तर जनताहरु उनको पक्षमा रहेछन् । विपि स्वयम् गएर त्यहाँ अवलोकन गर्दा के. आई. सिंहले वि.पि.लाई आफ्नो मातहतका सेना मार्फत सलामी समेत चढाउन लगाई नेतृत्वको सम्मान गरेका रहेछन् । साथीहरुले के.आइ.सिंहलाई जुन शंकाले हेरेका थिए । त्यो नभएको कुरा वि.पि.ले पाए र वि.पी. फर्किएका रहेछन् । तर के.आई.सिहले भैरहवाका कब्जा गर्छु भनेर भनेतापनि गर्न सकेनन् । उता पश्चिम दाङ देउखुरी सल्यान पनि भरतमणिको नेतृत्वमा चौकीहरु कब्जा भएका थिए ।
पश्चिमतर्फ पाल्पा, कोइलावास, डोटी आदी ठाउँ कब्जा गरी मुक्तिसेना अन्यजिल्ला तर्फ अगाडि थियो । उता पुर्वतर्फको उदयपुर कब्जा भयो(कृष्णप्रसाद भट्टराई, मेरो .पृ.११७)। त्यसपछि तराई र पुर्वी पहाडका मुख्य मुख्य जिल्लाहरु महोत्तरी, जनकपुर, उदयपुर, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, धनकुट्टा, इलाम, झापा, तेह्रथुम मुक्त गरिएका थिए (प्रजातन्त्रका महान् सेनानी वि.पि.रामचन्द्र पोख्रेल पृ.४१–४३)। यसमा कतै–कतै अराजकता जस्तो स्थिति पनि देखाप¥यो । कतै–कतै लुटपिट पनि भएन भन्न सकिन्न। तर यो सफलता पुर्वबाट पश्चिममा झण्डै धुलिखेलसम्म पुगेको थियो । (ऐ ऐ आत्मवृतान्त –१३३) वि.पि.ले ती ठाउँहरू भ्रमण गरी स्वतन्त्र भएका इलाका र जिल्लालाई सुरक्षित गर्न मुक्ति सेनालाई निर्देशन दिदै राणाहरुको अन्तिम गढ काठमाडौतिर अघि बढ्ने निर्देशन समेत दिएका थिए । राणा शासन अन्त्य गर्न मुक्ति सेना मार्फत संघर्ष यसरी जारी रहेकै अवस्थामा राणाविरोधी जन लहर उर्लिदै थियो । त्यहीं बखत हिमालयन कम्पनि कै हवाई जहाजले काठमाडौं उपत्यकामा राणा विरोधी पर्चा छ¥यो । यसले राजधानीमा सनसनी फैलायो। उत्ता पूर्वतर्फबाट जिल्ला इलाका कब्जा गर्दै अगाडि बढेका मुक्ति सेना शुरवीर राईको कमाण्डमा रामेछाप, सिन्धुली समेत कब्जामा लिएका थिए । त्यहाँ “त्यहाँ २००८ जेठसम्मले जनसरकार शासन चल्यो तर दोलखामा प्रतिक्रान्तिका झिल्को पनि देखिए” (घिमिरे जगदीश – अन्र्तमनको यात्रा पृ.१९) त्यही समय तथाकथित दिल्ली सम्झौता पनि हुन पुगेको थियो ।
यसबारे हेक्का राखेस् ! सोझो औंलाले घिउ आउँदैन मैले सम्झे क्रान्तिको बाटो सोझो हुँदैन बांगाटिंगो नै हुन्छ । मैले हवस् भनेर हिंडेको थिएँ । उनले थपे फेरि पनि याद गरेस् है बाबु ! कान्छा बा को यति कुरा सुनेपछि मेरो ध्यान फेरि भवँरकोट–पाँचखालको २००७ सालको घटनातर्फ पुग्यो । अनि वि.पि.ले व्यक्त गरेका “त्यसप्रकारको संघर्षभित्र अराजकता, अनुशासनहीनता पनि देखा परे भने कतै लुटपाट भएन भन्न सकिन्न । तर यो सफलता पूर्वतर्फ विराटनगर हुँदै इलाम, धनकुरा, भोजपुर, रामेछाप, सिन्धुली आदि हुँदै पुर्वक्षेत्र कब्जा हुँदै पश्चिममा झण्डै धुलिखेलसम्म हुन पुगेको कुरा आफ्नो आत्मवृतान्त (पृ.१३३) मा बताउँदै गर्दा त्यस बखतको भौगोलिक अवस्थातर्फ गयो । त्यसबखत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक पुर्व १ नं. जिल्लामा पर्दथ्यो । त्यसको सदरमुकाम चौतारा थियो । त्यसैगरी पुर्व २ नं. जिल्लामा चरिकोट(दोलखा), रामेछाप र सिन्धुली समेत पर्दथ्यो । जसमा मालअड्डा चरिकोटमा बडा हाकिम रामेछापमा र अदालत सिन्धुली गढीमा भएकोले यिनीहरुलाई सदरमुकाम मानिएको थियो ।
राणाशासनका विरुद्ध रामेछापमा मुक्तिसेनाका कमाण्डर सुरवीर राइले राणाका सिपाहीहरुलाई आत्मसमर्पण गराई रामेछाप कब्जामा लिएका थिए । पछि सिन्धुलीगढी पनि कब्जा गरे । तर दोलखामा प्रतिक्रान्तिको झिल्को क्रान्तिपछि पूर्व २ नम्बरमा २००८ जेठसम्म जनसरकारकोे शासन चलेको कुरा जगदीश घिमिरेले आफ्नो अन्तर्मनको यात्रा(पृ.१९) बताएको पाइन्छ । सुरवीर राईले उनका पिताको समेतको सहयोगमा रामेछाप, सिन्धुली कब्जामा लिई काठमाडौं लागेको कुरा उल्लेख गरेको (ऐ.ऐ.पृ.) पाइनुले काभ्रेपलाञ्चोकको भवँरकोट–पाँचखालतर्फ सुरवीर राईको नेतृत्वमा मुक्ति सेना नआई सिधै काठमाडौतर्फ गएको बुझिन आउँछ । त्यसो त क्रान्तिको नाममा प्रतिक्रान्तिमा उत्रिएका छद्म क्रान्तिकारीहरु जो दोलखांबाट उछिट्टिएर भवरकोट–पाँचखालसम्म आइपुगेको अनुमान मिल्दोजुल्दो नै हुन आउँछ । फेरी पनि उनीहरुले स्थानीय व्यक्तिहरुलाई सुराकीको जिम्मा दिइ केही व्यक्तिहरुमाथि मात्र प्रतिशोधपूर्ण कारवाही गरेको चारित्रिक विशेपताले पनि उनीहरु नक्कली क्रान्तिकारी थिए भन्ने पुष्टि गर्दछ । उसो त तथाकथित दिल्ली सम्झौताको विरोधमा सक्रिय हुँदै आएका डा. केआइ सिंह समर्थक क्रान्तिकारी समुदाय सडकमा उत्रिएका थिए त्यसको झिल्का दोलखासम्म देखिएको र त्यसलाई साम्य बनाउन संझौता पक्षधर लागेको अनुमान गर्न सकिन्छ ।
अनि मैले सझिएँ दश बर्षसम्म चलेको ‘जनयुद्ध’ मा भएका घटना परिघटनाहरु । राज्य सरकारले गरेका अन्याय, अत्याचारका चाङलाई भत्काई अग्रगामी जनसरकार–समाजावादी व्यवस्था ल्याउने उद्देश्यले ‘जनयुद्ध’ को थालनी भएको थियो । राम्रो उद्देश्य लिएर थालनी गरेको भएपनि कतिपय अवस्थामा केही नराम्रा कामहरु प्नि भएका थिए । पार्टी निर्णय नगरेका पूर्वाग्रही एवम् प्रतिशोधात्मक कृयाकलापले नहुनु पर्ने घटना परिघटना पनि घट्न पुगी कतिपय व्यक्ति वा समूहमा क्षति समेत हुन पुगेका कुराहरु याद समेत दिलायो । र मैले सोचें कान्छा बा को पालामा भएका घटना पनि त्यसरी नै भएका थिए होलान् कि ? मलाई कान्छा बाले हिंड्ने बेलामा भनेका थिए । तँ धेरै कुरा बुझने व्यक्ति हो ।
मलाई कान्छा बाले भनेको उखानको याद आयो ‘भाई फुटे गवार लुटे’ र सोचें स्थानीय आईते, दशरथे र काले थिङले ती छद्मक्रान्तिकारीहरुलाई सहयोग किन गरेका होलान् ? सायद त्यहाँका स्थानीय साहु महाजनहरुले जातीय र वर्गिय रुपमा उनीहरुलाई सताईरहेका थिए र प्रतिरोध(विद्रोह) गर्न नसकिरहेको अवस्थामा त्यस मौकाको उपयोग गरेका थिए कि ? भन्ने अनुमान गर्न सकिन्छ । अर्कोतर्फ सक्कली क्रान्तिकारी र नक्कली क्रान्तिकारी भनेर छुट्याउने चेत उनहिरुसँग थिएन । उनीहरुसँग त मात्र बदला लिने भावना विकसित भएको थियो होला । त्यतिमात्र नभै जे कारवाहीमा परे ती व्यक्तिहरुसँग उनीहरुकै वंशका दाजुभाईहरु जो एउटै वर्गका थिए उनीहरुले नै रिसवी साँध्ने कारवाही गराएका थिए कि भन्ने शंका अर्कोतर्फ गर्न सकिन्छ । तर त्यो चेते पनि सुराकी गर्ने व्यक्तिसँग नभएको ती अमुक अमुक व्यक्ति उपर भवरकोट पाँचखालमा छद्म क्रान्तिकारीहरुले कारवाही गरी आ–आफ्नो बाटो लागेको बुझिन्छ । यसै सिलसिलामा सम्भवतः किराँतीहरुका सकारात्मक वा नकारात्मक जुनसुकै प्रकारका क्रियाकलाप हुन् । उनीहको साहसबाट प्रभावित भएर आफ्नो समुदायलाई त्यहाँका साहु–महाजनहरूले हेप्दै आएको महसुस गरी त्यहाँका दनुवारहरूले पनि आफ्नो थरलाई दनुवार नलेखी राई जस्तै साहसी, बलवान र लडाकु देखाउन राइ लेख्ने निधो गरे । त्यसपछिका दिनमा त्यहाँका दनुवारहरुले बिस्तारै आफ्नो यो दनुवार नलेखी राई लेख्न थालेको समेत बुझिन आउँछ ।
यसरी कान्छा बाले अन्तमा भनेको उक्ति ‘सोझो औंलाले घिउ आउँदैन’ भन्नु र हामीले बुझने गरेको ‘क्रान्तिको बाटो सोझो हँुदैन बाङ्गो टिङ्गो नै हुन्छ’ भन्ने भनाईको सार उस्तै उस्तै बुझिन्छ।