धुलिखेल–गठबन्धनलाई धुलिखेल नपा वडा नम्बर ६ र ७ का मतदाताले भरपुर साथ दिएका छन् । भोट हाल्ने दिन नजिकिँदै गर्दा धुलिखेल नगरपालिकाको भित्री बजारका मतदाताले गठबन्धनका उम्मेद्ववारलाई भब्य स्वागत र समर्थन गरेका हुन् । दुई वडाको घर दैलो कार्यक्रममा धुलिखेल समाजको सिंगो टिमले सहयोग गरेको छ । ¥याली तथा घरदैलो अभियान नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य संविधान सभा सदस्य कृष्णप्रसाद सापकोटा, केन्द्रीय सदस्य एवं बागमती प्रदेशका सांसद लक्ष्मण लम्साल, नेपाली कांग्रेसका जिल्ला उपसभापति रमेश हुमागाईं, माओवादी केन्द्रका नेताहरू हुनुहुन्थ्यो ।
नेकपा एसका पोलिटब्युरो सदस्य सापकोटाले गठबन्धनको पक्षमा मतदान गरी विजयीगराउन आग्रह गर्नुभयो । उहाँले बर्तमान सन्दर्भमा प्रगतिशील वाम–लोकतान्त्रिक र अर्काे दक्षिणपन्थीहरुको गठबन्धन भएको भन्दै ‘दक्षिणपन्थी गठबन्धनको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गरेको बताउनु भयो । पोलिटब्युरा सदस्य सापकोटाले ओलीले नेतृत्व गरेको गठबन्धनमा प्रतिगामी र राजावादीहरु रहेको र उनीहरु परिवर्तन र संविधान विरोधी रहेकोले प्रगतिशील लोकतान्त्रिक वामपन्थी गठबन्धनको पक्षमा मतदान गरेर प्राप्त राजनीतिक उपलब्धी जोगाउन अनुरोध गर्नुभयो । सापकोटाले भन्नुभयो –संविधान जोगाउने, समाजवाद सुशासन र गणतन्त्रका हिमायती प्रगतिशील गठबन्धनमा रहेकाले सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर सुशासनको पक्षमा उभिनुको विकल्प छैन ।
वाम लोकतान्त्रिक गठबन्धनका मेयर पदका उम्मेदवार दयासागर श्रेष्ठले सुन्दर धुलिखेल बनाउने योजना गठबन्धनसंग रहेको भन्दै मतको अबमुल्यन हुने गरी कुनै काम नगर्ने बताउनुभयो । उहाँले आफूहरु गठबन्धनको बलमा मात्र नभएर एजेण्डासहित निर्वाचनमा होमिएको बताउनुभयो । उम्मेदवार श्रेष्ठले धुलिखेल नगरपालिका घुसखोरीको अखडा बनेको बताउनुभयो । उहाँले नगरपालिकाभित्र सुशासनको आधार नै छैन । गठबन्धनको तर्फबाट आफूहरुले नगरमा सुशासनलाई पहिलो नम्बरमा राखेको भन्दै गठबन्धनका उम्मेद्वारलाई जिताउन अनुरोध गर्नुभयोे ।
श्रेष्ठका अनुसार ‘हाम्रो प्राथामिकता नै शिक्षा र स्वास्थ्य हुुने भन्दै ‘शिक्षा र स्वास्थ्यमा मौलिक हकको रुपमा स्थापित गर्नु सके ज्येष्ठ नागरिकको निःशुल्क उपचार गर्न सकिन्छ । गरिब तथा मध्यम वर्गका परिवारले पनि त्यसको लाभ लिन सक्छन् । गरिबीबाट आएका बालबालिकालाई समेत इन्जिनियर र डाक्टर बन्नका लागि पहल गर्ने भन्दै उहाँले सामुदायिक विद्यालयमध्ये दुई÷तीन विद्यालयबाहेक सबैमा गुणस्तरीय शिक्षा नभएकोले तिनलाई गुणस्तरीय बनाउने आफूहरुको एजेन्डा रहेको बताउनुभयो ।
श्रेष्ठले जेष्ठ नागरिकका लागि ‘डे केयर सेन्टर’ बनाउनुपर्नेमा जोड दिंदै भत्ताले मात्र केही हुन नसक्ने उहाँको दाबी छ । उहाँले ‘जेष्ठ नागरिक डे केयर सेन्टर यसले युवाहरुलाई टच नगर्ला तर बुढाबुढीहरुलाई टच गर्ने बताउनुभयो । उहाँका अनुसार आफ्ना उमेरकासँग खुशी साटासाट गर्नु दुःख साटासाट गर्न, दिनभर नाच्ने गाउने समय बित्ताउने र रात्ति घर फर्कने अवस्था चाहिन्छ ।
उपमेयर पदका उम्मेद्ववार निराजन जंगमले विभेद रहित ढंगले नगरपालिका सञ्चालन गर्ने दाबी गर्नुभयो । कोही कसैलाई लाखा र पाखा नगरिने जंगमको भनाई छ ।
माओवादी केन्द्र धुलिखेल कमिटीका अध्यक्ष पृथ्वी थापाले गठबन्धनलाई जिताउनुको विकल्प नरहेको बताउनुभयो । ‘स्वेच्छाचारी ढंगले चलेको एमाले नेतृत्वलाई जिताउनु भनेको फेरी पनि नगरपालिका समग्र विकास निर्माणमा पछि पर्नु हो । थापाले भन्नुभयो ।’