बनेपा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेकपा र नेकपा एमालेबीच तत्काल पार्टी एकता हुने तथा पद बाँडफाँटको सहमति भइसकेको भन्ने चर्चा निराधार रहेको बताएका छन्।
शनिबार बनेपामा आयोजित नेकपा खानीखोला सम्पर्क समन्वय समितिको तेस्रो कार्यकालको भेलालाई सम्बोधन गर्दै पुनले एमालेसँग भविष्यमा एकताको सम्भावनाबारे नेतृत्व तहमा प्रारम्भिक छलफल भने भइरहेको जानकारी दिए। एमालेसँग प्रदेश सरकारहरूमा सहकार्य भइरहेको उल्लेख गर्दै उनले संविधान र लोकतन्त्रको रक्षा तथा वैदेशिक हस्तक्षेपको प्रतिवादका लागि वाम शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताए। आवश्यकताअनुसार नेपाली कांग्रेससँग पनि सहकार्य जारी रहने उनको भनाइ थियो।
एमालेभित्रको आन्तरिक बहस टुंगिन बाँकी रहेकाले तत्काल पार्टी एकता सम्भव नरहेको पुनले स्पष्ट पारे। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधानप्रतिको आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गर्नुपर्ने उनको धारणा थियो। सरकारप्रति जनताको अपेक्षा धेरै भए पनि त्यसअनुसार परिणाम आउन नसक्दा नागरिकमा असन्तुष्टि बढिरहेको उनले बताए।
राजदूत नियुक्तिको विषयमा सरकारले दोहोरो चरित्र देखाएको आरोप लगाउँदै पुनले पुराना राजनीतिक व्यवस्थासँग जोडिएका व्यक्तिहरूलाई राजदूतमा सिफारिस गरिएको भन्दै आलोचना गरे। नयाँ भनिएका राजनीतिक दलहरू पुराना शक्तिलाई ‘वासिङ मेसिन’ जस्तै प्रयोग गरी शुद्ध पार्ने काममा लागेको उनको टिप्पणी थियो।
रसुवामा भएको विपद्का क्रममा उद्धार तथा व्यवस्थापनमा सरकारले पर्याप्त ध्यान दिन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। अरूको आलोचना गरेर मात्र जनताको विश्वास जित्न नसकिने उल्लेख गर्दै पुनले राजनीतिक दल र नेताहरूले आफ्ना कमजोरी स्वीकार गरी सुधार गर्दै गुमेको जनविश्वास पुनः स्थापित गर्न लाग्नुपर्नेमा जोड दिए।
यसैबीच, भेलाले नेकपा खानीखोला सम्पर्क समन्वय समितिको तेस्रो कार्यकालका लागि रामकाजी भोलनको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा लक्ष्मी स्याङतान र पदमबहादुर थिङ, सचिवमा राजन तिमल्सीना, सहसचिवमा तिलकबहादुर स्याङतान तथा कोषाध्यक्षमा पासाङ थिङ चयन भएका छन्।
समितिको पहिलो कार्यकाल राजन अधिकारी र दोस्रो कार्यकाल बिपिन दाहालको नेतृत्वमा सञ्चालन भएको थियो। तेस्रो कार्यकालका लागि भोलनलाई नेतृत्वको जिम्मेवारी दिइएको हो।
भेलामा नेकपाका केन्द्रीय सदस्य तथा पूर्वऊर्जा राज्यमन्त्री सूर्यमान दोङ ‘लालध्वज’, नेकपा बागमती प्रदेशका सचेतक तथा पूर्वमन्त्री रत्न ढकाललगायत केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेता–कार्यकर्ताको सहभागिता थियो।
खानीखोलाबाट विभिन्न कारणले बनेपा, पनौती, धुलिखेल, भक्तपुर, काठमाडौंलगायतका शहरी क्षेत्रमा बसोबास गर्दै आएका पार्टीसम्बद्ध नेता तथा कार्यकर्तालाई संगठित गर्दै आपसी समन्वय, संगठन विस्तार र पार्टी गतिविधिमा सक्रिय सहभागिता बढाउने विषयमा भेलामा छलफल भएको थियो।
नवनिर्वाचित अध्यक्ष भोलनले आफूलाई दिइएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै विभिन्न क्षेत्रमा बसोबास गर्ने खानीखोलाका नेता तथा कार्यकर्ताबीच निरन्तर समन्वय र सहकार्य कायम गर्ने प्रतिबद्धता व्यक्त गरे।
पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भेलासँगै खानीखोला सम्पर्क समन्वय समितिको तेस्रो कार्यकाल औपचारिक रूपमा सुरु भएको आयोजकले जनाएको छ।