भकुण्डेवेशी – नमोबुद्ध नगरपालिकाको दोस्रो नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठक सम्पन्न भएको छ। बैठकले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि “कृषि, पर्यटन र व्यापारः समृद्ध नमोबुद्धको आधार” भन्ने मूल नारासहित वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।
नगर प्रमुख कुनसाङ लामाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उत्पादनमुखी अर्थतन्त्रको विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ। उनले विगतमा स्वीकृत नीति तथा कार्यक्रम तथा अपूरा योजनालाई निरन्तरता दिँदै संविधानले परिकल्पना गरेको स्थानीय सरकारको भूमिकालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
नगरसभाको प्रारम्भमा लोकतन्त्र तथा प्रजातन्त्र प्राप्तिका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। बैठकमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नगर विकास योजना तथा वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८३/०८४ का लागि आर्थिक विधेयक र विनियोजन विधेयक समेत प्रस्तुत गरिएको थियो। साथै नगर उपप्रमुख रत्नबहादुर लामाले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
नीति तथा कार्यक्रममा यसै आर्थिक वर्षभित्र नमोबुद्धलाई बालमैत्री नगर घोषणा गर्ने लक्ष्य राखिएको छ। बाल अधिकार सुनिश्चितता, विशेष छात्रवृत्ति, बालश्रम न्यूनीकरण तथा महिला, दलित, आदिवासी जनजाति, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ। साथै, लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलता पालिका घोषणा गर्ने नीति लिइएको छ।
शिक्षा क्षेत्रमा विद्यालय व्यवस्थापनमा अभिभावकको सहभागिता बढाउने, शिक्षक व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा कक्षा ९ देखि नै करियर गाइडेन्स तथा काउन्सिलिङ कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको छ। स्वास्थ्यतर्फ दाप्चा नमोबुद्ध नगर अस्पताल सञ्चालन, मानसिक स्वास्थ्य सेवा विस्तार, आयुर्वेद सेवा प्रवर्द्धन, गर्भवती महिलाका लागि भिडियो एक्स–रे सेवा तथा डिजिटल स्वास्थ्य प्रणाली लागू गरिने जनाइएको छ।
पर्यटनलाई नगरको आर्थिक मेरुदण्डका रूपमा विकास गर्ने लक्ष्यसहित नमोबुद्ध क्षेत्रको प्रवर्द्धन, पर्यटन गुरुयोजना निर्माण, धार्मिक तथा सांस्कृतिक पर्यटन विस्तार तथा पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ। साथै स्थानीय कला, संस्कृति, भाषा तथा सम्पदाको संरक्षण र प्रवर्द्धनका कार्यक्रम पनि समावेश गरिएको छ।
कृषि क्षेत्रमा उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न आधुनिक उपकरण, उन्नत बीउ, प्रविधि, प्रशोधन र भण्डारणमा अनुदान उपलब्ध गराइने भएको छ। वडा नं. ३ दाहालचौरमा निर्माणाधीन कोल्डस्टोर आगामी एक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ। पशुपालन क्षेत्रमा नश्ल सुधार, पशु स्वास्थ्य सेवा विस्तार तथा दुग्ध उत्पादन वृद्धि कार्यक्रम सञ्चालन गरिनेछ।
वातावरण संरक्षणका लागि निजी क्षेत्रसँगको सहकार्यमा ‘जिरो वेस्ट सिटी’ अभियान सञ्चालन, स्रोतमै फोहोर वर्गीकरण तथा ‘वेस्ट टु रिसोर्स’ अवधारणाको कार्यान्वयन गरिने भएको छ। फोहोर व्यवस्थापनका लागि एकीकृत वैज्ञानिक प्रशोधन केन्द्र निर्माण प्रक्रिया समेत अघि बढाइने जनाइएको छ।
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन भू–सूचना प्रणाली, आपत्कालीन सञ्चालन केन्द्र, खुला क्षेत्र संरक्षण तथा निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्यमा एकीकृत विपद् व्यवस्थापन प्रणाली विकास गरिने नीति लिइएको छ। सुशासन र सेवा प्रवाह सुधारका लागि डिजिटल पत्राचार, डिजिटल अभिलेख व्यवस्थापन, पेपरलेस कार्यालय प्रणाली, साइबर सुरक्षा, सामाजिक परीक्षण तथा शून्य बेरुजु नीति कार्यान्वयन गरिनेछ।
यसैगरी नगर प्रहरीको क्षमता अभिवृद्धि, स्मार्ट गस्ती प्रणाली र सीसीटीभी विस्तारमार्फत सार्वजनिक सुरक्षा सुदृढ बनाउने, अन्तरपालिका सहकार्य, निजी क्षेत्रको लगानी प्रवर्द्धन, पत्रकारिता क्षेत्रसँग सहकार्य, सडक मानवमुक्त नगर निर्माण तथा न्यायिक कार्यसम्पादनलाई थप जनमुखी बनाउने योजना समेत नीति तथा कार्यक्रममा समेटिएको छ।
नगर प्रमुख लामाले उत्पादनमुखी कार्यक्रममार्फत रोजगारी सिर्जना, गरिबी न्यूनीकरण, सामाजिक न्याय, वातावरण संरक्षण र आर्थिक समृद्धि हासिल गर्ने विश्वास व्यक्त गर्दै नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए।