काठमाडौँ । साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’को नवीनतम् नियात्रा सङ्ग्रह ‘विदेशमा देश’ लोकार्पण गरिएको छ।
राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा साहित्यकार घनश्याम राजकर्णिकार, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, वरिष्ठ समालोचक प्रमोद प्रधान, छविरमण सिलवाल, भुँडीपुराण प्रकाशनका केशव पराजुलीलगायतले संयुक्त रूपमा उक्त कृति लोकार्पण गरे।
कार्यक्रममा साहित्यकार घनश्याम राजकर्णिकारले ‘रोदन’का अधिकांश नियात्रा आफूले पढेको उल्लेख गर्दै उनका कृतिमा तथ्यपरकता र निजात्मकताको संयोजन पाइने बताए। “‘रोदन’का कृतिहरू तथ्यको सन्निकट रहेको पाएको छु। उनका नियात्रा विवरणात्मक मात्र नभई निजात्मक पनि छन्,” उनले भने। निरन्तर भाषा र साहित्यको सेवामा समर्पित रहने उनको प्रवृत्ति अनुकरणीय रहेको पनि राजकर्णिकारले बताए।
कृतिमाथि चर्चा गर्दै वरिष्ठ समालोचक प्रमोद प्रधानले श्रीओम श्रेष्ठ ‘रोदन’लाई इमानदार लेखकका रूपमा चित्रण गरे। “श्रीओम नढाँटी लेख्ने इमानदार लेखक हुन्। उनका नियात्रा अरूका भन्दा पृथक् लाग्छन्। देखेको कुरा जसले पनि लेख्छ, तर त्यसलाई फरक ढङ्गले प्रस्तुत गर्न सक्नुपर्छ। उनको लेखनीमा यही फरकपन छ,” उनले भने।
प्रधानले कृतिमा विदेशका विभिन्न सन्दर्भ र परिवेश समेटिएको उल्लेख गर्दै तथ्यपरक नियात्राले पाठकलाई विदेशी समाज र परिवेशसँग स्वदेशको तुलना गर्ने अवसर दिने बताए। विकसित देशका राम्रा पक्षसँगै कमजोरीसमेत केलाइएको यस कृतिमा सहयात्रीसँगका संवाद, सूक्ष्म विषयवस्तु, काव्यात्मक चेत र दार्शनिक अभिव्यक्तिसमेत समेटिएको उनको भनाइ थियो।
प्रा.डा. लक्ष्मणप्रसाद गौतमले ‘रोदन’को सिर्जनशील उर्वरताको प्रशंसा गर्दै उनका रचनाहरू स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययन–अध्यापन हुने गरेको बताए। उनले साहित्यिक क्षेत्रमा देखिएको पुरस्कार लेनदेनको प्रवृत्तिलाई विकृतिका रूपमा औँल्याए।
लेखक ‘रोदन’की धर्मपत्नी ललिता श्रेष्ठले उनको तेह्रौँ कृति प्रकाशित भएकोमा खुसी व्यक्त गर्दै विगतका दिन र रोदनसँग जोडिएका विभिन्न अनुभूति साझा गरिन्।
भुँडीपुराण प्रकाशनका केशव पराजुलीले अग्रज साहित्यकारको कृति प्रकाशन गर्न पाएकोमा खुसी व्यक्त गर्दै लेखकलाई बधाई दिए।
सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रम छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा शुभद्रा अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् भने प्रतिष्ठानका सचिव प्रदीप सापकोटाले सहजीकरण गरेका थिए।
‘रोदन’का यसअघि ‘नबिर्सिने दिनहरू’ र ‘समुद्रवारि, समुद्रपारि’ लगायत विभिन्न विधाका तेह्रवटा कृति प्रकाशित छन्। ‘विदेशमा देश’ भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो।