युवराज संग्रौला
सन २००५ पिएचडिको अनुसन्धानका सिलसिलामा म डेनमार्कमा थिंए। मेरो होस्टल सडक संगै जोडिएको थियो, र बाटोको पारिपट्टीको कुनामा एउटा ग्रोसरि थियो, एकजना अफगानी युवाको। खाने कुरा किन्ने क्रममा चिनजान भयो मित्रता भयो। उनि मलाइ भाइसाहेब भन्थे। ग्राहक नभएका समयमा उनि र म बाहिर कुर्सीमा बसेर गफिन्थ्यौं। उनि आफ्नो देश फर्किने सपना देख्थे र आखांमा पानी भरिन्थ्यो। "यु आर लक्कि मेन यु ह्याभ युअर कन्ट्री टु गो।" मलाई उनको भावनाले धेरै छोएन, कहिलेपनि। किनकि देश नहुंदा कस्तो हुन्छ मलाइ थाहै थिएन, वा देश नंहुदाको अनुभुती नै थिएन। तर आज भोली मलाइ नातिनिलाइ हेरेर गजबको पिडा महसुस हुन्छ, यदि हाम्रो बांदर प्रवृत्तिले देश सखाप भयो भने उस्को जीवन कस्तो होला!!
के होला र कुनै न कुनै बिदेश गैहाल्लि नि। हो तर त्यांहा उस्का पुर्खाको खरानि, चिहान, माटो, हड्डि हुंदैन। उ दोस्रो दर्जाकि "बसांइ सरेर आएकि मानिस हुन्छे। उस्को नेपाली पहिचान देश बिनाको पहिचान हुनेछ।"
देश एक बर्ष देखि "जत्था उन्माद" को शिकार भएको छ। म निरिह जस्तो लाग्छ। कहिले कहिले बोके दारी पालेको फोटो हालेको अराजक युवा भन्छ, "अब चुप लाग, यो देश युवाको हो।"
आज पनि देश जल्दै छ। धर्मका नाममा मारकाट हुंदैछ। हिजो दनदनि सिहदरबार जल्यो, म त्यो हेर्न विवस थिंए। सिंह दरबारको भवन मात्र जलेको थिएन, मेरो गौरव जलेको थियो। निर्वाचन भयो, "पुराना सबै बडारिए। म पनि स्वतन्त्र उमेदवार भएर चुनाव लडें। तंपाइ एक्लैले के गर्नुहुन्छ भन्थे! मैले यो फोहोरी उदारवादको निर्वाचनलाइ नांङ्गो देखे। मानिसमा उन्माद थियो। मलाई हारजितसंङ्ग सरोकार थिएन। म लोकतन्त्र नामको यो फोहिरी राजनीतिलाइ अनुभुती गर्न चाहान्थे। राम्रो संग देखें र लाग्यो "एक दिन यसैले देश समाप्त पार्ने छ।"
आज देख्दै छु, "देशमा नेपाली होइन, हिन्दु, मुसलमान, बौद्ध, इसाइ, राधे राधे, साइ बाबा, के के छ्न के के। नेपाली त दोस्रो पहिचान मात्र हो। फेरि बाहुन, क्षेत्री, राइ, लिम्बु, गुरुङ्ग, यादव, झा आदि छ्न। नेपाली त दोस्रो पहिचान मात्र छ। त्यो "नेपाली पहिचान त पासपोर्टका लागि मात्र चाहीएको हो।"
मेरी आमा र म बुबाको क्रीयामा बस्यौं। आमाले भन्नु भो, "बुबाको चैं सबै रित पुर्याएर गर, मेरो चैं दुख गर्नुपर्दैन। म आफैंले गरिसकेकि छु। मातृभुमि र जननी दुइजना आमा हुन्छ्न। म मेरे पनि यो मातृभुमि छ, मेरो श्राद्धमा बर्त अनाज नखाइ पानी दिनु, त्यति भए पुग्छ।" आमा बित्नु भो, म हुर्किएको मानिसलाइ पनि टुहुरो भएको अनुभुती भयो, "तर आमाको भनाइ संझे आफ्ना मातृभुमिमा बस्ने कहिल्यै टुहुरो हुंदैन।" हवाई जहाजको यात्रा हुंदा लाग्छ, यो खसेर मरियो भने पनि आफ्नो माटो नसकिंदै वा आफ्नो माटोमा पसे पछि खसे हुन्थ्यो।
तर आज यो देश बेहाल पार्ने "भ्रष्ट र उन्मादीका" करतुत हेर्दा मन रुन्छ।
देशमा धर्म र जात अनि भुगोलको नाममा आंतक मच्चाउने को करामत हेरेर भन्न मन लाग्छ, जुन दिन देशहुन्न तब थाह पाउनेछौ देश के हो!
"आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् छन्" (यो जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी) भन्ने अमर उक्ति रामायणको प्रसङ्ग हो।
सुनको लङ्का र श्रीरामको फैसलाको कथा छ। एक छिन बिचार गरौं न। "एउटा मानिससँग अपार धनसम्पत्ति, भव्य दरबार, र संसारका सम्पूर्ण सुख-सुविधा छ। तर, यदि उसको आफ्नो पहिचान र आफ्नै घर (देश) छैन।"
त्यो वैभवको के अर्थ?
लङकामा युद्ध समाप्त भएपछि, लङ्काको सुन्दरता, सुनैसुनले बनेका भवनहरू र वैभव देखेर लक्ष्मण मोहित भएछ्न। अनि दाजु श्रीरामसँग भनेछ्न।
"दाजु! यो लङ्का कति भव्य र समृद्ध छ! अयोध्याभन्दा पनि राम्रो र वैभवशाली यो नगरीलाई छाडेर हामी किन पुनः वनवास र साधारण अयोध्या फर्कने? हामी यहीँ बसौँ न!"
रामले लक्ष्मणलाई जुन जवाफ दिए, त्यसले सम्पूर्ण मानव जातिलाई देश र मातृभूमिको मूल्य बुझाउंछ। रामले भने:
"अपि स्वर्णमयी लङ्का न मे रोचति लक्ष्मण। जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।।"
"हे लक्ष्मण! यो लङ्का सुनैसुनले बनेको भए पनि मलाई यसमा कुनै रुचि छैन। किनकि जन्म दिने आमा र जन्म दिने भूमि स्वर्गभन्दा पनि महान् हुन्छन्।
यस प्रसङ्गले मानिसलाई तीन वटा गम्भीर कुरा सोच्न बाध्य बनाउँछ:
पहिचान र शरणार्थीको पीडा: यदि आफ्नो देश नै रहेन भने, मेरो मित्र अफगानिको अवस्था हुन्छ। शायद शान्ति पछि उ अवस्य फर्कियो। मानिससँग जतिसुकै धन वा आफ्नै आमाबाबु भए पनि उसले संसारको नजरमा "नागरिकता नभएको" वा "शरणार्थी" को बिल्ला भिर्नुपर्छ। अरूको देशमा बस्नुपर्दा पाइने दया र हेलाले मानिसलाई आत्मसम्मानविहीन र 'टुहुरो' बनाउँछ।
भौतिक सुख भन्दा आत्मसम्मान ठूलो हुन्छ। अरूको देश वा ठाउँ जतिसुकै धनी र सुविधासम्पन्न (सुनको लङ्का जस्तै) भए पनि, आफ्नो मातृभूमिको धुलोमा जुन अपनत्व र स्वतन्त्रता हुन्छ, त्यो अन्यत्र कतै पाइँदैन।
त्यसैले धर्मका नाममा कसैको प्यादा बनेर मार्न र मर्न तयार मित्रहरु सोच्नुहोस। तंपाइको देश समाप्त पार्न कोहि खेल खेल्दै छ। जुन दिन यो थाह हुने छ "न त हिन्दु भनिने संग नत मुसलमान भनिने संग बस्ने देश हुनेछ।" हालत अहिले जंगलबाट गाउँ पसेका लुतो लागेका बांदरको जस्तै हुनेछ।
बौद्धिक मित्रहरू मुख खोल्नु होस।