काठमाडौँ – सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। भेरी अस्पताल, नेपालगन्जमा गरिएको पोस्टमार्टम रिपोर्टअनुसार जबरजस्ती करणीका क्रममा भएको अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फरेन्सिक विभाग अधिकृत डा. अर्विन शाक्यका अनुसार जबरजस्ती करणीका क्रममा पीडितको संवेदनशील अङ्ग गम्भीर रूपमा च्यातिएको र त्यसबाट भएको अत्यधिक रक्तस्रावले मृत्यु भएको रिपोर्टमा उल्लेख छ।
फागुन २३ गते बिहान ‘प्रयोगात्मक परीक्षा छ’ भन्दै घरबाट निस्किएकी इनिशा बिहान ८ बजेसम्म घर फर्किने बताइएको थियो। तर ९ बजेसम्म पनि घर नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए। खोजीका क्रममा उनी सामुदायिक जङ्गलमा मृत अवस्थामा फेला परेकी थिइन्।
सुर्खेतको गुर्भाकोट–बडाखाली घर भएकी इनिशा वीरेन्द्रनगरमा बस्दै आएकी थिइन्। उनी वीरेन्द्रनगरस्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन्।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा मृतकका भनिएका १६ वर्षीय प्रेमीसहित चार जनालाई पक्राउ गरेको जनाएको छ। उनीहरूविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेश प्रहरी प्रवक्ता रामप्रकाश शाहका अनुसार अनुसन्धान प्रारम्भिक चरणमै रहेको छ र घटनामा अन्य व्यक्तिको संलग्नता देखिए थप कारबाही गरिनेछ।
घटनापछि पीडित परिवारले दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने माग गर्दै न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएका छन्। वैदेशिक रोजगारीमा रहेका इनिशाका बुबा बुधबार मात्रै सुर्खेत पुगेका छन्। पोस्टमार्टम रिपोर्ट सार्वजनिक भए पनि परिवारले शव अझै बुझेको छैन।
इनिशाको बलात्कारपछि हत्या भएको घटनाले देशभर आक्रोश फैलिएको छ। विभिन्न स्थानमा विरोध प्रदर्शन हुँदै आएका छन्। प्रदर्शनमा सहभागीहरूले बलात्कारपछि हत्या जस्ता घटनामा कडा सजाय व्यवस्था गर्नुपर्ने, निष्पक्ष अनुसन्धान गर्नुपर्ने र अपराधीलाई कुनै हालतमा उम्कन नदिनुपर्ने माग गरेका छन्।
यसैबीच घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि सुर्खेत पुगेको छ।
घटनापछि कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेलले पीडित परिवारसँग भेट गर्दै निष्पक्ष छानबिन हुने बताएका छन्। परिवारलाई शव उठाउन दबाब दिएको आरोप लागे पनि उनले त्यस्तो आरोप अस्वीकार गरेका छन्।
हाल इनिशाको शव कर्णाली प्रदेश अस्पतालमा राखिएको छ। परिवारले घटनामा संलग्न सबै व्यक्तिलाई पक्राउ गरी कडा कारबाही नभएसम्म शव नबुझ्ने अडान दोहोर्याएका छन्।
यो घटनाले बालबालिका तथा किशोरीहरूको सुरक्षाबारे समाजमा गम्भीर प्रश्न उठाएको छ। दोषीलाई कडा कारबाही गरेर यस्ता घटना दोहोरिन नदिनुपर्ने आवाज विभिन्न क्षेत्रबाट उठिरहेको छ।