गणेश आचार्य
ललितपुर /ग्रामीण विद्युतीकरणको काम गर्दै आइरहेको दक्षिणी ललितपुर ग्रामीण विद्युत सहकारी संस्थाको पौष २१ गते बाईसौ साधारण सभा हुने मिति तोकिएपछि निर्वाचनको माहोल बढ्दै गएको छ।
संस्थाको साधारणसभाबाट ४ वर्षको लागि नयाँ सञ्चालक समिति निर्वाचन गर्नुपर्ने भएकाले निर्वाचन उपसमितिले निर्वाचनको कार्यतालिका प्रकाशन पश्चात् निर्वाचनसम्बन्धी थप कार्यहरु अगाडि बढेको हो।
यस पटक हुने निर्वाचनमा अध्यक्षमा पदमा गोविन्द बजगाई, भिमसेन आचार्य र हरि न्यौपानेले उम्मेदवारी दिएका थिए भने हरि न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएका छन्।
निर्वाचनमा उमेदवारी दिएका हालका अध्यक्ष गोबिन्द बजगाईले लामो समय संस्थाको व्यवस्थापक तथा २ कार्यकाल अध्यक्ष पदमा रहेर काम गरिसकेका छन्। सहकारीलाई समय सङै परिवर्तनको लागि नयाँ सोच र जाँगर सहित नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्ने माग सदस्यहरुले उठाउँदै आएको छ ।
अन्ततः शनिबार हुने निर्वाचनमा अध्यक्ष पदमा भिमसेन आचार्य र हरि बजगाइ बीच कडा प्रतिस्पर्धा हुने भएको छ।
लामो समयदेखि खानिखोला हाईड्रो पावरमा काम गर्दै आइरहेका अनुभवी, विद्युत सम्बन्धि काममा सक्रिय सहभागी रहेर काम गर्दै आएका, विद्युत प्राधिकरणसँग राम्रो सम्बन्ध भएका, दक्षिण ललितपुरको भुगोलको समस्या र चुनौती राम्रो ज्ञान भएका, समाजमा राम्रो छवि भएका लोकप्रिय उम्मेदवार भिमसेन आचार्यको उमेदवारी यो समयमा महत्त्वपूर्ण रहेको आम उपभोक्ता तथा शेयर सदस्यहरु बताउँछन् ।
‘नेतृत्व चयनमा निर्वाचन प्रजातान्त्रिक प्रक्रिया हो, यसबाट नेतृत्व चयन गर्दा सबै सदस्यको सहभागिता रहने र सक्षम नेतृत्वको पनि छनोट हुने विश्वास छ । त्यसैले निर्वाचन नेतृत्व चयनका लागि विश्वव्यापी रुपमा प्रचलित सबैभन्दा लोकप्रिय प्रणाली मान्दै दक्षिण ललितपुर भौगोलिक विकटता भएका, छरिएको बस्ती भएकाले सेवालाई छिटो छरितो बनाउनको लागि मेरो आजसम्मको कामको अनुभव र भोलिका दिनमा संस्थाको तर्फबाट स्रोत र साधनको प्रयोग गरेर सेवालाई छिटो छरितो र गुणस्तरीय बनाउन प्रतिबद्द छु।’–अध्यक्षका उम्मेदवार भिमसेन आचार्यले भने । निकै लामो समयदेखि स्थानिय विध्यालय व्यवस्थापन समितिमा अध्यक्ष रहेको, स्थानीय मोटरबाटो निर्माण कार्यको अध्यक्ष लगायत सामाजिक काममा अग्रसर आचार्यले शेयर सदस्यहरुलाई निर्वाचित गर्न अपिल गर्दै भन्नुभयो-"म यस दक्षिण ललितपुर विद्युत सहकारी संस्थामा स्थापनकाल देखिनै सदस्य रहेको सबैमा सर्वविदित नै छ। यसै संस्थाको २२ औं साधारणसभा अन्तर्गत शनिवार हुने निर्वाचनमा मैले अध्यक्ष पदको उम्मेद्वारी दिएको कुरा सम्पुर्ण सेयर सदस्यज्युहरुमा जानकारी गराउन चाहन्छु।"
अध्यक्षका प्रत्यासी आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्-"आजसम्म सहकारीमा भएको पेलान र मिलोमतोमा धेरै रकम हिनामिना भएको हुनसक्ने अनुमान गर्न सकिन्छ। सबै दलबाट हिजोका दिनमा खाइ पाई आएकाहरु मिलेर आएका छन्। स्थानीय सरकारले दिएको पैसा १० प्रतिशत र प्राधिकरणले दिएको ९० प्रतिशत पैसा कहाँ खर्च भयो? कति काम भयो भन्ने कुरा तिनै पालिकाहरुले हेर्नुपर्छ र प्राधिकरण पनि यसमा चनाखो हुन जरूरी छ भन्ने मेरो कुरा हो। ललितपुरको दूर दराजमा बस्ने जनताले खाइ न खाइ बतिको पैसा तिरेका छन् भने हिजो खाली खुट्टा आएकाहरुको काठमाडौमा महल छन् यो कसरी संभव भयो ? सरकार फितलो भएको बेला यस्ताहरुलाई लुटी खान सजिलो भएको हुँदा यस्ता मुठीभरका सामन्तीको सम्पति सुध्दिकरण हुनुपर्छ र अब दलभन्दा माथि उठेर कुनै पनि दलको उम्मेदवारलाई मत नदिइ नितान्त समाज सेवा गर्ने व्यक्तिलाई मत दिनु हुन अनुरोध गर्दछु। मलाई तपाईंहरुले अमुल्य मत दिएर अध्यक्ष पदमा विजय गराइ एक पटक काम गर्ने मौका दिनु हुन अनुरोध गर्दछु।"
संस्थाको २२औं साधारणसभा २०८० पौष २१ गते चापागाउँ वेलकम पार्टी प्यालेसमा हुँदैछ भने सोही दिन १०ः३० देखि ४ बजेसम्म मतदान हुनेछ । मतदान पश्चात् मतगणनागरी सोही दिन मतपरिणाम घोषणा गर्ने कार्यतालिका रहेको निर्वाचन उपसमितिले जनाएको छ।
"सहकारिता मार्फत सामुदायिक विद्युतीकरण, आर्थिक विकास र सामाजिक रुपान्तरण" भन्ने नारा सहित २०५४ सालमा स्थापना भएको दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारी सस्थाले दक्षिण ललितपुरका ३ वटै गाउँपालिका र गोदावरी नगरपालिका वडा नं.७ देवीचौरको वस्तीहरुमा विद्युतको पहुँच बिस्तार गरी ७,००० घर परिवार विद्युत सेवा सन्चालन गरिरहेको छ।