मुख्य समाचार
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड |
मुख्य समाचार
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड |


एउटा यस्तो यात्रा

Thearaniko Times 1372+ समाचार ( )
७ वैशाख २०८१, शुक्रबार

 ०८० को कुनै दिन । साउन झरी पनि नपर्ला जस्तो दिन । भाई कृष्ण गाडी लिएर ७ बजे आइपुगे घरमा । म त छिटो निस्कने होला भनेर तयार भैसकेको थिए एउटा सानो झोलामा कलम र डायरी राखेर । हामीले गाउँमै चिया पियौं र निस्केउँ । पनौतीकी उपप्रमुख गीता पनि अघि नै तयार भएर घरबाट तल सडकमा निस्केकी रहिछिन् । कामका तनावबाट आज एक दिन मुक्त भएर विचरण गर्ने उद्देश्यले निस्केका हामी । पनौती बसपार्कबाट रमेश थापा र शोभा कार्की चढ्नु भयो । हामी अलमलमा छैनौं बनेपा हुँदै भक्तपूर पुग्यौं । मौसम आज अत्यन्त रमणीय छ । आज पानी पर्ने छाँट पनि देखिन्न । राधेराधेको भाटभटेनीमा उमा थपलिया बैनी हाम्रो प्रतिक्षामा छिन् । त्यहाँबाट हामी पुरानो बाटो ठिमी हुँदै बाह्रखा बजार कटेर मूलपानी तर्फ लाग्छौ । हनुमन्ते खोला अलिक सफा देखिन्छ । खोलाको किनारमा रायोको साग लगायतका तरकारीहरु लगाएको रहेछ । त्यताको क्षेत्रमा पनि कृषियोग्य जमिन सबै घरनिर्माणले अधिकरण गरेको छ । पुल तरेर मुलपानी हुँदै क्रिकेट मैदानबाट पनि अघि बढ्छौ । हाँसो ठट्टा गर्दै गफिँदै छौं स्वतन्त्र पंक्षी जस्तै हामी ।

हाम्रा कुराकानीका विषयहरु यहि समकालीन समय र यसका उपजहरु छन् । हेर्दा साह्रै राम्रो तर बजाउँदा नबज्ने बाँसुरीको उपमा दिन्छिन अहिलेको समयलाई उपमेयर गीता । समर्थन छ रमेश थापाको । उपमेयरका आफ्नै गुनासा छन् । आफ्नाहरुले पनि सकारात्मक कुरामा साथ नदिएकोले नगरमा आफुले धेरै गर्न नसकेको उनको ठहर छ । हामीलाई पनि उनको कुरा गढ्छ । हो नै त्यस्तो । हामी बाँचेको समयको वेथिती र विसंगती प्रति रोष प्रकट गछौं । आफ्ना तिता अनूभूतिहरु साट्छौं । समयक्रममा पाइएका मनोदशाहरु ब्यक्त गर्छाैं । आ–आफ्ना भोगाइ र ब्यवहारको धरातललाई प्रस्तुत गर्छाैं अरु त के ⁄ हाम्रो यात्राको आकर्षक परिवेश भनेकै यहि हो मनमिल्नेहरु विच दिनभर विचरण गर्नु । 

हाम्रो यात्रा जर्सिङपौवा हुँदै मेलम्चीसम्मको तय भएको छ । अहिले हामी सालीनदी कटेर देव्रेतिर लागेका छौं । वास्तबमा समयले मानिस कति धेरै ब्यस्त बनाएको छ कि रहर पालेर मात्र केहि गर्न सक्दैन् । यस्तै छ हाम्रो दिनचर्या पनि । निस्कने भनेको पनि धेरै दिनदेखिको योजना हो तर समय ब्यवस्थापन गर्न नसक्दा यात्रामा ढिलाई भएको पक्कै हो । 

अहिले केहीबेरदेखि चुपचाप यात्रारत छौं हामी । यस्तै सन्नाटाको विचबाट गीताले ‘किन ओइलाएको सबैजना ? भोक लागेको छैन् । चियाखाजा खान पाए हुने थियो ।’ भन्दै मौनता तोडिन । अलिक गाउँतिर लागेपछि खानुपर्छ भन्दै चालक कृष्णले बजारमा नरोक्ने आसय ब्यक्त गरे । यात्रामा निर्वाध उड्न नपाएको धेरै भएछ । गुम्साईले कुँजो जस्तो भएर खुम्चिएको हाम्रो मनरुपी पखेंटा आज फिंजारिने यत्न गर्दैछ है । त्यसैले यात्राको खुल्ला आकासमुनि निर्वाध रुपमा मस्त विचरण गर्दैछौं । यति हुँदा पनि यात्रा समुचित र सन्तुलित छ । शंखरापूर नगरपालिकामा छौं हामी । यात्रा विस्तार अघि बढ्दैछ । बाटोमा सवारीको चाप छैन् उतिसाह्रो । मानिसहरु सबै आआफ्नै धुनमा छन् । मनभरी उत्साहको घाम लागेको छ । उमा जे बोल्दा पनि हाँसेर बोल्छिन् । लाग्छ उनमा निराशा छैन् । उनी हुलाकमा कार्यरत छन् । राजनीतिमा पनि उति नै सक्रिय । सकारात्मक भावकी धनी उमा आफ्ना इच्छाहरुमा बाँच्न चाहान्छिन् । उनको यो स्वभाव मन पर्छ मलाई । न्यायिक समितिकी सदस्य शोभा कार्की हक्की स्वभावकी लाग्छिन् । उनमा पनि सकारात्मक उर्जा छ । समस्याको गहिराइमा पुगेर विश्लेषण गरि निष्कर्ष दिने बानी लाग्छ उनको । उनीसँगको भने पहिलो यात्रा हो यो । रमेश दाई दुःखसुखको साथी,सहकर्मी भैहाल्यो । 

‘प्रदिप सर,चिया कता खुवाउने हो ?’ शोभा म्यामलाई चियाको तलतल लागेजस्तो छ ।

‘कृष्ण भाई, अलिक गाडी विस्तार चलाउनु है । दायाँवायाँ हेरुम,कहाँ उपर्युक्त छ त्यहाँ रोकुम ।’ शोभा म्यामको प्रश्नको उत्तर कृष्ण भाईतिर तेस्र्याइदिए मैले । धेरै पुरानो जस्तो लाग्ने एउटा मन्दिर देखियो देब्रेतिर । हामीलाई यात्राले अंगालोमा बाँधेको छ अत्यन्तै स्नेहसँग । ‘अब माथितिरै खाजा खानुपर्ला यताउती खास त्यस्तो ठाउँ देखिएन ।’ कृष्ण भाइले शोभा म्यामको प्रश्नको प्रतिउत्तर लगाए । यसबिचमा हामी हाम्रा राजनीति,जीवनदर्शन,अफिसियल काम लगायत सबैतिर समीक्षा गर्न प्रयास पनि गर्दैछौं । निष्कर्षमा पुगे म आखिरमा जीवन एउटा अलिखित सम्झौताको खात हो । अलिक कोचाकोच जस्तो भएकोले रमेश दाईलाई उपप्रमुखले आफ्नो सीटमा बस्न आग्रह गरेर उनी हाम्रोतिर आउँछिन् । खास कोचाकोच त होइन पछिल्ला दुई सीट खाली नै थिए तर कसैलाई पछि बस्न मन चाहि छैन । 

करिव १० वजेको समय विहानको हामी फेदी पुग्छौं । कहिंकतै बसुम जस्तो लागेन । अव जर्सिङपौवा पुगेर खाजा खाने निष्कर्षमा पुग्छौं । पुल तरेर हल्का उकालो बाटो सुरु भयो । सडकको दायाँवायाँ बनजंगलको हरियाली । चराहरुको चिरविराहट । आहा कति मनोरम ⁄ मन्त्रमुग्ध छौं । रमाइला अनेकौं रंगहरु छर्दै यात्रा बढ्दैछ हाम्रो । हामीमा कुनै गाम्भिर्यता छैन् । भ्रमणमा निस्कनुको कुतुहलतामा मग्न भाव सवैको अनुहारले बताइरहेको छ । 

 जर्सिङपौवा । सानो बजार । अगाडी स्कूल छ । हामी गाडीलाई सडकको छेउमा लगाएर एउटा सानो होटलमा छिर्छाैं । आलुपरौठा,तरकारी ,अण्डा नास्ताको रुपमा खान्छौं । आजको विहान हिमाल खुले झैं खुलेको छ । मौसम यात्राको लागि अनुकुल । खुशी उदाएको मौसम र हाम्रो मन उस्तै छ । खाजा खाइवरी हामी अगाडी बढ्छौ । दायाँ नाग्लेभारे जाने बाटो । बायाँ हल्का झरेर तेर्साे कच्ची बाटो लाग्छौं । सडकको दाहिनेतिर रिर्साैट देखियो । माथि गुम्बा ।  अगाडी बढ्दै गयौं । केही रिर्साेट र होटलहरु छन् । अझै अगाडी ओरालो झरेउँ र भोटेचौर पुग्छौं । पारी चाक्लो बस्ती भएको रमाइलो गाउँ देखिन्छ । भिडियो खिच्छौं । बाटोमा केही सज्जनहरु भेटिए । बाटो अप्ठ्यारो जस्तो लागेर जानकारी लिन मन लाग्यो । ‘दाई यो बाटो मेलम्ची जान्छ ?यस्तै कच्ची नै हो कि उहिंसम्म ?’ उपमेयर गीताले सोधिन् । 

‘जान्छ मेलम्ची नै । तर कच्ची छ बाटो ।’ सज्जनले उत्तर दिए ।  

‘अनि चिया वगान कति टाढा छ नि ?’

‘यहाँबाट चार किलोमिटर छ ।’ सज्जनलाई धन्यवाद दिएर हामी देव्रेतिर मोडियौं । करिव एक किलोमिटर अघि पुगेपछि पर ठूलो पहिरो गएको देख्यौं । छेउमा एकजना बृद्ध बा बाख्राहरु चराइरहेका थिए । अगाडी बाटो पनि दुईवटा देखेपछि उनलाई सोधेर जानकारी लियौं । ‘बाबुहरु,पहिरो कटेर अगाडी लाग्नुस । त्यसपछि केही घरहरु आउँछन् । एउटा गेट छ । गेट कटेर अनि अलिक पर गएपछि ढुँगा छापेको बाटो आउँछ । त्यस्तो बाटो दुई वटा छन् । तलतिर नजानुहोला बायाँ हल्का उकालो लागेपछि चियावगान आउँछ ।’ बुढा बाले सर्सर्ती बोले । उनीप्रति आभार ब्यक्त गरेर पहिरो गएको बाटो अगाडी लाग्यौं । अरे ⁄ कति ठूलो पहिरो ⁄ साँच्चै डरलाग्दो पहिरो । हामी मान्छेहरु के विध्न स्वार्थी है ⁄ धर्तीको दोहन आफैं गर्छाैं । जबरजस्ती धर्तीलाई दुःख दिन्छौं । आफैं बलात पीडा दिन्छौं धर्तीलाई ⁄ अनि धर्तीको सुन्दर मुहारबिम्बहरुमा जथाभावी डोजर चलाएर कुरुप बनाइदिन्छौं । अनि उल्टै धर्तीलाई गाली गर्छांै । छि हामी मान्छे ⁄ मनमनै यस्तै सोच बनाए मैले । कृष्णले बडो जतनले पहिरो छिचोले । अगाडी चियावगान,हैबुड्ड,पाटीभञ्ज्याँड्ड पर्यटकिय मार्ग,मेलम्ची.२ सिन्धुपाल्चोक लेखिएको गेट देखियो । हामी गाडी त्यहीं रोकेर उकालो चढ्छौं । एभरेष्ट टी फ्याक्ट”ी सिन्धुपाल्चोक लेखिएको देखेर उत्साहित भएँ म । तर ताल्चा लागेको रहेछ । चिहाउँदा त पुरै भुत बंगला जस्तो सुनसान । कैयन समयदेखि बन्द भएको पो रहेछ । 

 बायाँतर्फ घामले आफ्नो तापक्रम बढाउँदैछ । पारीको गाउँदेखिने गरी केही फोटो लिएर अझै पर जान्छौ । रमेश दाई फटाफट अघी लागे । उनलाई पछ्याउँदै उपप्रमुख गीता ,अनि उमा । हामी अलिक पछी छौं । जस्ताको छानो राखेको फरक मार्ने ठाउँ बनाइएको रहेछ । थाकेजस्तो महसुस गरेर त्यहाँ एकछिन सुस्ताउँछौ । माथिवाट खोल्सोमा कलकल पानी बगेको छ । आहा⁄ कति सफा पानी । बाटो अलिक अप्ठ्यारो र हिलाम्मे भएकोले विस्तारै अघि बढेउँ । दायाँतिर चियाका बोट देखिए । चियाका बोट भन्दा अग्ला झार र अन्य रुखहरु पो छन् त । हामीलाई त्यहाँको दृष्यले चियावगानको हेरचाह नभएको अनुमान लगाउन कुनै कठिन परेन । सुनसान छ । हामीले केही फोटोहरुलाई मोवाइलमा कैद गरेउँ । टिकटक पनि बनायौं । त्यत्रो विशाल एरियामा हुर्के बढेको चियाका वोटहरु देखेर माया लाग्यो । तर स्याहार खै ⁄ किन उदासिन होलान यसका मालिक ⁄ मनमा अनेकौं कुरा खेले । ‘प्रदिप सर,यति राम्रो र विशाल चियावगानमा गोडमेल,हेरविचार किन नगरेको होला ? कि बैंक डुवाउने प्रपञ्च हो यो ?या त बजार लिन नसक्नुको कमजोरी ?’उपप्रमुखले आफ्नो अनुमान सहितको जिज्ञासा राखिन । सम्भावना त्यस्तै होला मैले राय पेश गरें । हामी सबै दुःखी भयौं । राजधानीबाट यति नजिकको चियावगानको यो हालत देखेर । फेरी नजिकै छाप्रोमा भएका विभिन्न उपकरणहरुको खण्डहर अवस्थाले पनि चालु नभएको धेरै भएको संकेत गरेकै थियो । ‘आमामा जुका लाग्यो ।’ खुट्टामा लागेका जुकाहरु टिप्दै गीता म्यामले हामीलाई सावधान गराइन । मैले यसो खुट्टामा हेरे । सेतो जुत्तामा प्रष्टै देखिन्थ्यो मसिनो जुका । मैले पनि टिपेर फ्यालें ।

चियावगानको हविगत देखेर मन उदास बनाउँदै हामी झरेंउ । अघिसम्म मन्द मुस्कुराएको घाम अहिले झन पोल्ने भएको छ किनकी समयले मध्यान्हको संकेत गर्दै थियो । एकछिन बसेउँ । रमेश दाइले मोवाइलमा बजेको गीतमा मीठो नाच प्रस्तुत गरेर थकाइ मेटायो । हामी झरेउँ मेलम्ची तर्फ । हाम्रो देशको असारे विकासको उदाहरण यहाँ पनि रैछ । मानिसहरु कतै ड”ेन बनाउँदै थिए । कतै पर्खाल लाउँदै थिए । बाटो पुरै हिलाम्मे थियो । जति अघि झर्र्यो उति अप्ठ्यारो बाटो । गाडीले बडो सकस पायो । किन परिवर्तन हुन सक्दैन् विकासको मोडेल हाम्रो ?राजनीतिक परिवर्तन छिटो छिटो हुने देशमा विकासको मोडल उहि पञ्चायती कालको जस्तै ⁄ असारे विकास । दिक्क लाग्छ । पात झरेको उराठ रुखजस्तो मन बनाएर यात्रा गर्दैछौं हामी । योजना आयोगले किन परिमार्जन गर्न सक्दैन् यो विकासको मोडल ⁄ किन राज्य संयन्त्रको उच्च तहमा बस्नेहरुको ध्यान जाँदैन् यस्ता कुरामा ⁄ थोरै किलोमिटर यात्रा पनि घन्टौं लाग्यो । बाटो मुनी एउटा जस्ताले छाएको खुला पाटी देखियो । मैले त यादै गरेको थिइन । शोभा म्यामले हेर्नुस त सर कस्तो चिताको सलह जस्तो चिनेर राखेको दाउराहरु भन्नुभयो । मैले आँखा तन्काएँ । हो रहेछ ७–८ वटा चिनेर राखिएको रहेछ । हामी सबैको निष्कर्ष रह्यो एउटा मान्छेको मृत्युहुँदा सायद एउटा सलहको दाउरा लैजाने होला । गाउँलेको गुठी होला यो । तैपनि हाम्रा निम्ति यो नौलो कुरा थियो । 

‘सर मृग हेर्नुस त ।’ उमा बैनी चिच्याइन । 

 बाटोमाथि एउटा सूनौलो मृगको पाठो चुपचाप हामीतिर हेर्दै थियो । आहा त्यो जनावर निर्वाध विचरण गर्दैछ । यतातिरका खेतहरुमा कतै धानको पहेँलपूर वाला झुलेको छ कतैतिर भर्खर रोपाईं भएको छ ।  तल पुगेपछि सानो वजार जस्तो भेटियो । गाडी रोकेर रमेश दाईले फ्रुटी र कुरमुरे किनेर ल्याए । बाहुने पाटी पुग्दा १ बजेको थियो । त्यसपछि हामी देव्रेतिर मोडियौं । आकाशको घाँटी बादलले बेरेको देखियो ।

  मेलम्ची, ह्रदयमा यात्राका झंकारले हान्दैछन् बेस्सरी । भोक लागेको थियो । रमेश दाईले एउटा होटलमा खाना पाइन्छ भनेर सोधे । पाइने रहेछ हामी सबै गाडीबाट उत्रेउँ । खाना अर्डर गरेउँ । चिसो पिउँदा पिउँदै खाना तयार भयो । मेलम्ची बजार २०७८ सालको बाढीबाट अझै तंग्रिसकेको देखिएन । थुप्रैको मृत्यू भएको,कैयन वेपत्ता भएको र वजारको बस्ती पुरै प्रभावित भएको थियो उतिवेला । धेरैलाई विस्थापन गरेको उक्त वाढीको कारण अरवौ रुपैयाँ बराबरको क्षति पुगेको थियो । भौतिक संरचना,बाटा घाटा,मेलम्ची खानेपानी आयोजना समेत प्रभावित भएको उक्त बाढी संझदा पनि मुटु काँप्ने होटल साहुनीले बताइन । हामीले बाहिरतिर यसो हेरेउँ खोलाको नजिक किनारमा अझै भग्नावशेष देख्यौं घरको । खोलाको बगर अतिक्रमण गरेर घर बनाउँदाको परिणति आज देखिएको छ । धन्य हो मान्छे हामी ⁄ लालच र लोभले कहिले नछोड्ने । अनि किन रिसाउन्न त प्रकृति ⁄ ‘सर उतिवेलाको घट्नाले अहिले पनि पानी अलिक ठूलो परर्याे भने माथितिर चढ्न मन लाग्छ।’ साउनीलाई बर्षातको समयले झस्काउछ । 

  हामी मेलम्चीलाई छाडेर अघि बढ्छौं । हाम्रो यात्रा यहिंबाट फर्किने थियो । तर समय भएकोले दोलालघाटमा माछा खाएर घर फर्कने मनसुवा बन्यो हाम्रो । हाम्रा अफिसियल कामको बोझले गह्र्र्रुँगा बनेर ओइलाएका अनुहारहरु आज मनमौजी रुपमा मुस्कुराएका छन् । यात्राको नशा राम्रै लागेको छ हामीलाई । ओठमा मधुर मुस्कान फुलाउँदै गफिएका छौं सबैजना । सबैको मनबाट निर्वाध खुशी पोखिएको छ निष्फिक्रीसँग । हामी फटकशिला आइपुगेका छौं । यो स्थान संझिदा नोष्टाल्जिक हुन्छु म । शसस्त्र द्धन्दकालमा रेडक्रसको तालिम चलाउन फटकशिला मा.वि. आएका हामी । ढाडखोलाको एउटा होटलमा बसेका थियौं तालिम अवधिभर । हामी त्यहीं रहँदा सेनाले द्धन्दरत पक्षको कमाण्डर मारेको रे आज भनेर मानिसहरु त्रसित थिए । होटलवालाले पनि छिट्टै होटल बन्द गरेको थियो । अहिले त यहाँ विकास धेरै भैसकेछ । पक्की घरहरु पनि सडक वारीपारी थुप्रै बनिसकेछन् । 

समय क्रमशः पाक्दैछ । हामी हिंउवापाटी हुँदै कुन्तावेशी पुग्छौं । बजार गर्मीले होला अलिक सुनसान नै देखिन्छ । सडक पनि उतिसाह्रो ब्यस्त छैन् । अकस्मात आकाशमा अलिकति कालो बादल मडारिएको देखियो । अब हामी मौसमको चुनौती सामना गर्न सक्थेउँ किनकी हाइवे निस्कदै गर्दा वाढी पहिरोको डर थिएन । 

जिरोकिलो । हामी देव्रे मोडिएर दोलालघाट तर्फ लाग्छौं । पचास किलोमा भित्तामा थुप्रै बाइकहरु रोकिरहेको देखियो । यसो हेरेको पहरोजस्तो मुनी सानो ओडार जस्तो । सितल तापेर काँक्रा,चिया,फलफुल ,चूरोटआदि वेच्ने नाङ्ले पसले र खाँदै गरेका यात्रु महानुभावहरु । देव्रेतिर पारी ज्याम्दी डाँडा । अघी बढ्दैछ हाम्रो गाडी । 

दोलालघाट,इन्द्रावती र भोटेकोशीको दोभान । सिन्धुपाल्चोक,दोलखा र रामेछापसम्मको ब्यापारिक केन्द्र ।  रमेश दाईले चिनारु पसलमा माछा अर्डर गरे । हामी पुल तरेर पारीबाट गाडी मोडेर फर्कियौं । फलफुल,तरकारी र माछाका फुटपाते पसल उत्तिक्कै । मानिसहरुको चाक्लो उपस्थिति पनि छ । केही फोटाहरु खिचिए । यसो मैले सबैको अनुहारतिर नजर लगाएँ सबैको अनुहारमा फ्रेस देखिएर टल्किरहेको थियो । माछा तयार भयो । हामीले गफिंदै माछाको स्वाद लियौं । करिव एक घण्टाको बसाईपछि फर्कने निधो गरेर दोलालघाट छोड्यौं । 

गर्मी यस्तो प्रचुर थियो कि कुरै नगरुम । एक्कासी छरिएका बादलहरु एकिकृत भएर हल्का बर्षात भयो । यो बर्षाले सितलता प्रदान गर्याे । हामी पाँचखाल आइपुगेउँ । केही तरकारी किन्ने मनसुवाले बाहिरियौं । तर खास केही देखिएन । घुमाइको कुनै उद्देश्य पनि थिएन । खासै असाध्यै भन्ने ठाउँ पनि गएका थिएनौ । केवल कामको ब्यस्तताको जीवनलाई आराम दिन हामी आज यसरी हिंडेका थियौं । सबैको मन द्रवित थियो यात्राले । तिनपीप्ले हुँदै खावा पुगियो । बाटोको अवस्था भनिसाध्य भए पो । हाइवे विग्रेर खाल्डाखुल्डी उस्तै । धुलोको त कुरै नगरुम । धुलिखेल नपुगुन्जेल त्यस्तै भयो । मैले सबैको मुहारमा दृष्टिगोचर गरें । सबैको मुहारमा मधुर मुस्कान फुलिरहेको थियो । 

उमा बैनी काठमाडौ जान बनेपा झरिन विदाइका हात हल्लाउँदै । पनौती पुगेर शोभा म्यामलाई उनकै घरमा छोडेउँ,रमेश दाई पनि चोकमा झरे  अनि उपप्रमुखलाई पनि उनकै घरमा छोडेउँ । कुनै नौलो ठाउँ र परिवेश थिएन मेरा लागि आजको यात्रा गन्तब्य । र पनि खास थियो ।  एकापसमा कथाब्यथा निफनिए । भावना आदानप्रदान गरिए । कामको जातोमा पिसिने हामी फुर्सदीला देखियौं । सबैको मन लहराइरहेको थियो यात्राले ।  त्यसपछि कृष्ण र म मेरो घरतर्फ लाग्यौ विर्सन नसकिने मीठो याद लिएर ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार