बनेपा/पूर्व युवराज्ञी एवं हिमानी ट्रस्टकी अध्यक्ष हिमानी राज्यलक्ष्मी देवी शाहलाई भव्य स्वागत गरिएको छ । उपत्यकासँग जोडिएको साँगाबाट बनेपाको धनेश्वरसम्म राजतन्त्र र राजा तथा हिमानी समर्थक युवाहरुले काभ्रेपलान्चोक जिल्लाको साँगाबाट मोटरसाइकल ¥याली सहित स्वागत गरेका हुन् ।
पूर्व युवराज्ञी एवं हिमानी ट्रस्टकी अध्यक्ष हिमानी राज्यलक्ष्मी देवी शाहले धनेश्वर महादेव मन्दिरमा करीब १५ मिनेट विशेष पुजा गर्नुभएको थियो ।
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट- ३२५ धरानको शिक्षाको लागि एक रुपैयाँ अभियान अन्तर्गत हिमानी ट्रस्टसँगको सहकार्यमा धनेश्वर आधारभुत विद्यालयका विध्यार्थीहरुलाई ट्रस्टकी अध्यक्ष हिमानी राज्यलक्ष्मी देवी शाहले शैक्षिक सामाग्री वितरण गर्नुभएको थियो।
बन्द भएको विद्यालय पुनः सञ्चालनमा ल्याई एक सय भन्दा धेरै विद्यार्थीहरुलाई निजी विद्यालयको सरह गुणस्तरीय शिक्षा प्रदान गरेको धनेश्वर विद्यालयमा हिमानी शाहले गरेको सहयोगले स्थानीय समुदायलाई समेत विद्यालय प्रति विश्वास बढाउने विव्यस अध्यक्ष अनिरुद्र थापाले बताए ।
धनेश्वर मन्दिरको दर्शन र धनेश्वर विद्यालयमा शैक्षिक सामाग्री वितरणपछि हिमानी शाहलाई राजपरिवार बस्दै आएको जिल्लाको पहिलो रिसोर्ट धुलिखेलको हिमालयन होराईजनमा आतिथ्यता गराइएको थियो । केही समयको विश्रामपछि हिमानी शाह बनेपाको चण्डेश्वरी मन्दिर जानु भएको थियो।
चण्डेश्वरीको दर्शन विशेष पुजाआजासँगै बनेपाका समाजसेवी नेपाल सुधार भैलले व्यक्तिगत लगानीमा निर्माण गरेको नारायणको प्रतिमा उद्घाटन गरिएको छ । बनेपाका समाजसेवी तथा राप्रपाका युवा नेता उदय सिं मुस्याजुले हिमानी शाहलाई मायाको चिनो प्रदान गरेका थिए। बनेपाको चन्देश्वरीमा बृद्दाश्रम निर्माण गर्न सहयोगको अपेक्षा सहित समाजसेवी उद्दव तिमल्सिनाले अनुरोध पत्र पनि हिमानी शाहलाई बुझाएका थिए ।
जिल्लाका युवाहरुसँग साक्षात्कार सहित जिल्लाका विभिन्न वस्तुस्थितिका बारेमा हिमानी शाहलाई जानकारी गराइएको र उहाँले जिज्ञासा लिएको कार्यक्रम मूल समारोह समितिका संयोजक रोशन श्रेष्ठले बताए ।