बनेपा/पतञ्जली योग समिति काभ्रे र पतञ्जली महिला योग समिति काभ्रेमा नयाँ नेतृत्वको पदस्थापनसंगै २० औं वार्षिकोत्सब संपन्न भएको छ । संघीय सांसद तथा पुर्व सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा निर्विरोध निर्वाचित समितिका पदाधिकारीहरुले पदस्थापन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले योग विद्यालाई परम्पराबाट विकास गरि विज्ञान सम्मत ढंगले अगाडि बढाए मानव जातिले नयाँ जीवन प्राप्त गर्न सकिने बतााउनु भयो । उहाँले मानव तन, मन र वचनले स्वस्थ र शुद्ध हुनुपर्छ। त्यसैले पतञ्जलिले शरीर स्वस्थ र शुद्ध राख्न आयुर्वेद, मन स्वस्थ र शुद्ध राख्न योग तथा वचनको शुद्धीकरणका लागि व्याकरणको अन्वेषण गरेकाे बताउनुभयो। संघीय सांसद बास्कोटाले रामदेवले योग साधनाको माध्यमबाट सेवा मात्र गरेनन् कम्पनी खोलेर ब्यापार पनि गरेको बताउनुभयो। एक प्रसंगमा उहाँले भन्नुभयो - वृद्धाश्रम किन खोल्नु पर्यो देशमा बृद्धहरु मात्र रहने स्थितिमा पुगेको छ, बरु देशमै युवाहरु रोक्न के गर्न सकिन्छ त्यतातिर सोचौ ।
बनेपा नपाका प्रमुख शान्तिरत्न शाक्यले प्रवित्र उद्देश्यका साथ गरिएको मानसिक शारिरिक स्वास्थ्यको हितलाई ध्यानमा राखी संचालन भएको पतञ्जली योग समितिलाई नगरको सहयोग र समर्थन रहनेछ जिकिर गर्नुभयो। बनेपा नगरभित्रका विद्यालयहरु योग कक्षा सञ्चालन गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा पतञ्जली योग समिति काभ्रेकाे संस्थापक मध्येका एक सुरकृष्ण वैद्य, पतञ्जली योग समितिका बागमती प्रदेश सदस्य ग्रोवेन तौजले र पतञ्जली योग पिठ हरिद्वारमा कर्पोरेट मेम्बर उद्धव तिमल्सिना लगायतका वक्ताहरुले हाम्रा ऋषि मुनिद्वारा हजारौं वर्षको साधनाबाट स्थापित गरेका जीवनशैली, जीवन र जगतको रहस्यसँग जोडिएका मानवीय चेतनाको उच्चतम स्तर नै योग भएकोले योग आजको समयमा अतिआवश्यक रहेको बताए। तौजलेले योग केन्द्रले समुदायमा योगको चेतना र शिक्षा प्रदान गर्दै योगशिविर तथा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरेकोमा धन्यवाद दिनुभयो।
कार्यक्रममको अध्यक्षता गर्नुहुँदै पतञ्जली योग समिति काभ्रेका निवर्तमान अध्यक्ष हरिशरण श्रेष्ठले ‘योग र योगको माध्यमबाट समाज परिवर्तनमा थोरै भए पनि योगदान दिने अवसर मिल्यो’, निवर्तमान अध्यक्ष श्रेष्ठले भन्नुभयो– ‘विपद् तथा सामाजिक उत्तरदायित्व बहनमा पतञ्जली योग समितिमार्फत सेवा गर्ने अवसर उपलब्ध भएकोमा योग समितिका सम्पूर्ण सदस्यप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’ त्यस्तै, निर्वाचित अध्यक्ष प्रकाश कायस्थले समितिले शुरु गरेका कार्यहरुको निरन्तरता दिँदै काभ्रे जिल्लालाई योगमय बनाउने उद्घोष गर्नुभयो ।
पतञ्जली योग समिति काभ्रेमा अध्यक्ष प्रकाश कायस्थ, उपाध्यक्ष मोहनकृष्ण श्रेष्ठ, महामन्त्री श्यामकुमार श्रेष्ठ, संगठनमन्त्री कान्छाकुमार श्रेष्ठ, मन्त्री माधव श्रेष्ठ कोषाध्यक्ष सुन्दरप्रसाद कर्णजित रहनुभएको छ । त्यस्तै, सदस्यहरुमा मिलनभक्त श्रेष्ठ, शम्भु बहादुर कँडेल, कृष्णप्रसाद नराल, लक्ष्मी नारायण श्रेष्ठ, विष्णुप्रसाद बराल, राजेन्द्र सापकोटा, बोधनाथ बजगाईं, शारदाप्रसाद शर्मा धिताल, आनन्द सापकोटा रहनुभएको छ।
त्यसै गरी, पतञ्जली महिला समिति काभ्रेमा इन्दिरा तौजले अध्यक्ष रहनुभएको छ । उपाध्यक्षमा कमला राजभण्डारी, महामन्त्री लक्ष्मी उलक, संगठन मन्त्री पुण्य श्रेष्ठ, कोषाध्यक्ष पुण्यश्वरी वैद्य रहनुभएको छ । सदस्यहरुमा निर्मला कायस्थ, जानकी कारञ्जित, मन्दिरा भुजु, शान्ति ताम्राकार, कमला श्रेष्ठ, सरिता के.सी., विद्या कारञ्जित, शोभापिया कायष्ठ र कविता तिमल्सिना रहनुभएकाे छ।
निवर्तमान अध्यक्ष अनु श्रेष्ठले महिला सशक्तीकरण, नेतृत्व विकास र क्षमता अभिवृद्धिसँगै महिलाको स्वस्थ रहने अभियानमा महत्वपूर्ण सफलता मिलेको बताउनुभयो । नवनिर्वाचित अध्यक्ष इन्दिरा तौजलेले योगमार्फत महिलाको सशक्तीकरण र स्वास्थ्यमा अझै ध्यान दिने बताउनुभयो ।
कार्यक्रममा पतञ्जली योग केन्द्रका बनेपा नगर समितिका संयोजक मनिषा बडाल लगायतका योेग साधकहरुले अन्तयन्त आकर्षक शारिरिक योग प्रदर्शन गर्नुभएको थियो । मोहनकृष्ण श्रेष्ठ र कमला राजभण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न योग केन्द्रका साथै योग समितिलाई सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो