काभ्रे/गृहमन्त्री रमेश लेखकले काभ्रेमा बाढी र पहिरोले क्षतिग्रस्त क्षेत्रको स्थलगत निरिक्षण गरेका छन् ।
सोमबार विहान काभ्रे आएका गृहमन्त्री लेखकले पनौती वडा नं.- १२ को रोशी बजार क्षेत्र र महभिर, बेथानचोक वडा नं ४ को पाटीखर्क, सलान्दु बगर र चलाल गणेशस्थान र वी.पी. राजमार्ग खण्डको चौकीडाँडा र रोशी गाउँपालिकाको कटुञ्जे क्षेत्रको स्थलगत निरिक्षण गरेका हुन् ।
बाढी प्रभावित क्षेत्रमा पुगेर गृहमन्त्री लेखकले त्यहाँका स्थानीय, जनप्रतिनिधि र सुरक्षासंग क्षति, खोज, उद्धार, राहत लगायतका बिषयमा जानकारी लिएका थिए । स्थलगत निरीक्षण गरेपछि गृहमन्त्री लेखकले अहिले खोजी र उद्धारको कामलाई जारी राखेर नागरिकको आधारभूत आवश्यकतालाई पूर्ति गर्ने काममा केन्द्रित हुन निर्देशन दिनुभयो । उहाँले राहत वितरण, सडक सञ्जाल सूचारु गर्ने, विद्युत, खानेपानी र सञ्चारलाई केन्द्रमा राखेर प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । विपद्पछि हुनसक्ने महामारिजन्य रोगहरुबाट सजग गराउँदै ठाउँठाउँमा स्वास्थ्य शिविरहरु राख्ने कामहरु भईरहेको बताउनुभयो । त्यसपछि पुनःनिर्माण र पुर्नस्थापनाका कुरामा केन्द्रित भएर अगाडी बढ्ने उहाँको भनाई छ । गृहमन्त्री लेखकले खोजी उद्धार, राहत तथा सडक खुलाउने, विद्युत आपूर्ति र सञ्चार सेवा पु¥याउने काममा पनि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले मेहनतका साथ काम गरेको पाएको बताउँदै त्यसमा जनप्रतिनिधि र स्थानीय तहका राजनीतिक पार्टीका साथीहरुलाई जनताको सेवामा थप मेहनतका साथ लाग्न आग्रह गर्नुभयो ।
सो क्रममा उहाँले स्थानीय तहका जनप्रतिनिधहरुलाई पूर्ण रुपमा क्षति भएका घरहरुको लाभग्राही पहिचान गरेर पठाउन आग्रह गर्दै पहिचान गरेर पठाएको तीन दिनभित्र अस्थायी आवास बनाउनका लागि पहिलो किस्ता पु¥याउने प्रतिबद्धता जनाउनुभयो । त्यसको लागि घर पूर्ण रुपमा क्षति भएर अर्को ठाउँमा बस्ने घर नभएका लाभग्राहीको छिटोभन्दा छिटो पहिचान गरेर पठाउन आग्रह गर्नुभएको छ ।
नगरपालिका प्रमुख राममशरण भण्डारीले बाढीपहिरोबाट नगरभित्रमा भएको क्षति, त्यसले नागरिकको आवास, खाद्यान्न र स्वास्थ्यस्थितिमा पु¥याएको समस्याको बारेमा नगरपालिकाले गरिरहेको उद्धार, राहत र पछिल्लो समयमा नभएको पुर्नस्थापना लगायतको विषयमा मन्त्री लेखकलाई जानकारी गराउनुभएको थियो ।
बेथानचोक वडा नं ४ मा गाउँपालिका अध्यक्ष भगवान अधिकारी, वडाअध्यक्ष कृष्णबहादुर तामाङ लगायतले त्यहाँको वस्तुस्थितिबारे जानकारी गराएका थिए । गाउँपालिका अध्यक्ष अधिकारीले खोज र उद्धारपछि सडक पहुँच बनाउन गाउँपालिकाले काम गरिरहेको जानकारी दिएका थिए ।
वी.पी. राजमार्ग हुँदै नमोबुद्ध नगरपालिका वडा नं ६ चौकीडाँडा र रोशी गाउँपालिका वडा नं ७ कटुञ्जेवशी पुगेका मन्त्री लेखकलाई नमोबुद्ध नगर प्रमुख कुन्साङ लामा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले रोशी खोलाले राजमार्ग र वस्तीमा पु¥याएको क्षति जानकारी गराएका थिए ।
चलालमा नेपाल प्रहरी अस्पताल र पनौती र रोशीमा शसस्त्र प्रहरी अस्पतालले गरेको स्वास्थ्य शिविर निरिक्षण गरेका मन्त्री लेखकले स्वास्थ्यकर्मीले गरेको सेवाप्रति आभार प्रकट गर्दै थप सेवा दिन अनुरोध गरे ।