बनेपा / बनेपा नगरपालिका वडा नं.–६, स्थित् गोसाईस्थान शैलेश्वर संरक्षण समितिको साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । कार्यक्रम बनेपा –६ का वडाध्यक्ष सचितानन्द के.सी.को प्रमुख आतिथ्यतामा संपन्न भएको हो ।
प्रमुख अतिथि वडाध्यक्ष केसीले कार्यक्रममा बोल्दै बनेपाको शिरमा रहेको गोसाईस्थानलाई धार्मिक, सामाजिक र आर्थिक रुपले समेत पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै अघि लैजाने वडाको योजना रहेको बताउनुभयो । उहाँले वडाको समन्वयमा गठित समिति मार्फत भएका कार्यहरुले पर्यंटकीय क्षेत्रको विकासका लागि सहयोग पुगेको बताउँदै ‘वडा मार्फत स्थानीय, प्रदेश र संघीय सरकारलाई समेत गोसाईस्थान क्षेत्रको विकासका लागि सहजीकरण गरिरहेको जानकारी दिनुभयो । वडाध्यक्ष केसीले आगामी दिनमा यो क्षेत्रको विकासका लागि थप सहयोग र समन्वय हुने विश्वास दिलाउनुहुँदै यो क्षेत्रलाई वडा र नगरमा मात्र सिमित देशकै संपत्तिको रुपमा विकास गर्न पहलकदमी लिनुपर्ने धारणा राख्नुभयो । उहाँले यो साझा संपत्ति भएकोले यहाँको विकासको लागि सरोकारवाला सबैसँग समन्वय गरेर अघि बढ्नुपर्छ भन्नुहुँदै एक मन एकताका साथ अघि बढ्न सके असंभव केही छैन विकास संभव भन्ने तर्क राख्नुभयो । बाहिरको मान्छे आएर यहाँको विकास गर्दैनन् हामीले नै गर्ने हो, आवश्यकताहरु असिमित छन् तर एकैचोटी संभव छैन भन्नुहुँदै वडाध्यक्ष केसीले ६ वर्ष अगाडि निर्वाचित भएर आउनु अगाडि र अहिले धेरै परिवर्तन भएको उल्लेख गर्नुभयो । हामी एक्लैले विकास संभव भएको हैन सबैको साथ र सहयोग पाएको कारण विकास संभव भएको बताउँदै अध्यक्ष के.सी.ले धार्मिक क्षेत्र कसैको पेवा हैन, सबैको साझा थलो साझा मन्दीर हो सबैले मिलेर सहकार्य गर्न जरुरी छ भन्नुभयो । हामी जन्मेको आफ्नो लागि हैन, अरुको लागि बाँच्न सक्नुपर्छ आफु जलेर अरुलाई उज्यालो दिनुपर्छ भन्नुहुँदै वडाध्यक्ष केसीले अब आउने कार्य समितिले बनेपा –६ मा मात्र सिमित नराखी विश्वको कुनाकुनामा सबै हिन्दुहरुको बीचमा पु¥याउन सक्नुपर्छ दृढ संकल्प लिनुपर्छ, असंभव केही छैन भन्ने कुरामा जोड दिनुभयो । गोसाईस्थानमा ध्यान गर्ने स्थल निर्माणमा जोड दिनुहुँदै वडाले त्यसको लागि सहयोग गर्ने धारणा पनि उहाँले राख्नुभयो ।
समितिका अध्यक्ष भेषराज शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व वडाध्यक्षहरु भैरव केसी र कृष्णबुद्ध बजगाई, प्राध्यापक भोला के.सी., काभ्रे बारका अध्यक्ष विष्णुप्रसाद सापकोटा लगायतले मन्तब्य राखेका थिए ।
अध्यक्ष भेषराज शाहले २०७५ मसिंर १५ गते भएको आम भेलाबाट गठित समितिको पहलमा गोसाईस्थान क्षेत्रमा विभिन्न दाताहरुको सहयोगमा शिवजीको मुर्तिमाथि पित्तल, घण्ट, रेलिङ्ग, गणेश, मुक्तिनाथ, कृष्ण र हनुमानको मुर्ति निर्माण भएको जानकारी दिए । यसैगरी भजन घर, शौचालय निर्माण, पार्क, बगैचा, विश्रामस्थल, बृक्षारोपण लगायतका कार्यहरु भईरहेको अध्यक्ष शाहले बताए । संघ, प्रदेश र स्थानीय सरकारको सहयोगमा निर्माण भएका पुर्वाधारहरुको संरक्षण र दिगोपनाका लागि स्थानीय र वडा स्तरबाट समन्वय र सहयोग आवश्यक भएको उनले बताए ।
कार्यक्रममा कोषाध्यक्ष रेश्मा थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् भने विन्ध्यबासिनी प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद तिमल्सिना, गोसाईस्थान सामुदायिक वनका अध्यक्ष राजेन्द्र थापा, नैमिषारन्य संरक्षण समितिका कृष्णमणी कुईकेल लगायतको सहभाागिता रहेको थियो ।
सभा पछिको भेलाबाट विष्णुनारायण श्रेष्ठको नेतृत्वमा २१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसमा उपाध्यक्षमा नारायणी शर्मा र सुनिल घर्ती मगर, सचिवमा प्रतिक कुईंकेल, कोषाध्यक्षमा दिपनारायण पराजुली, सहसचिवमा राजु मानन्धर, सदस्यहरुमा मुन्ना परियार, मनमाया तामाङ, मनकुमारी लामा, साइला तामाङ, अनन्तप्रसाद दाहाल, सुर्य नापित, अम्बिका कार्की, मिना तामाङ, रमेश कार्की, विश्वराम कार्की, श्यामकुमार ढकाल, रमेश बुढाथोकी, सुरेश रिमाल, शिवप्रसाद पौडेल, रोहित कोइराला रहेका छन् भने ४ जना पछि मनोनित गरिने जानकारी दिइएको छ । कार्यक्रममा निवर्तमान कार्यसमितिका सदस्य, पदाधिकारी तथा सल्लाहकारहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो।