बनेपा/जिल्ला बचत संघ काभ्रेको २७ औ बार्षिक साधारण सभा सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेको प्रमुख आतिथ्यतामा मंगलबार सम्पन्न भएको छ ।
जिल्ला बचत संघ काभ्रेका अध्यक्ष उदयराम कायष्थको अध्यक्षतामा भएको सभामा सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरे सहकारीमा नीति, विधी बसाल्नकै लागि सरकारले सहकारी अध्यादेश ल्याएको बताउँदै अध्याधेश राष्ट्रपतिबाट प्रमाणिकरण भइ राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन आउँछ, त्यसपछि नै यसका बारेमा टिप्पणी गर्नु उपयुक्त होला,’ उनले भने, ‘नीति, विधी बसाल्नकै लागि अध्यादेश आएको हो, कर्जा सूचना केन्द्र, असुली न्याधिकरण लगायतका व्यवस्था छन् ।’ उनले नियामक निकायले अनुगमन नगर्दा समस्या आएको तर्क गर्ने सहकारीकर्मीले नै अनुगमन थालेपछि रोइलो गर्ने गरेको आरोप लगाए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन) का अध्यक्ष चन्द्रप्रसाद ढकालले केही सहकारीमा पिलोको रुपमा समस्या रहेको भन्दै त्यसलाई निचोरेर फाल्नुपर्ने र अरुले मजाक बनाएको सहकारीमा समस्या भएको हौवाको पछाडी नलाग्न अनुरोध गरे ।
बागमती प्रदेश अध्यक्ष उद्धवप्रसाद सापकोटा, कोषाध्यक्ष शम्भुलाल श्रेष्ठ, राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य सुमन नेपाल, राष्ट्रिय सहकारी बैकका संचालक सदस्य पार्वती कार्की, जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे, नेपाल पत्रकार महासंघका अध्यक्ष विनोदकुमार न्यौपाने, मेनेजेर क्लवका अध्यक्ष मदन बस्नेत, संघका सल्लाहकार इन्द्रप्रसाद अधिकारी लगायतका वक्ताहरुले सहकारी संस्थाहरुमा देखिएका समस्या, सरकारले ल्याएको अध्यादेश, सहकारीको नियमन, ब्यवस्थापन र अनुगमन तथा शेयर सदस्यहरुले खेल्नु पर्ने भूमिकाका बारेमा धारणा राखेका थिए । उहाँहरुले सहकारी क्षेत्रका सकारात्मक अभ्यास र सुधार्नु पर्ने विषयका बारेमा धारणा राखेका थिए ।
अध्यक्ष उदयराम कायश्थले सहकारी क्षेत्रका विषयमा सबै क्षेत्रको समन्वयात्मक सहयोगले मात्रै समृद्धि हासिल गर्न सकिने बताए ।
सभामा बनेपा नगरपालिका क्षेत्रमा रहेका सहकारीको अनुगमन, शुसासन, प्रविधि र पारदर्शिताका लागि महत्वपूर्ण भूमिका खेलेका बनेपा नगरपालिका सहकारी शाखाका प्रमुख दिनेशकुमार पोखरेल, उत्कृष्ट ब्यवस्थापन कार्य गर्ने सहकारीका प्रमुख कार्यकारी अधिकृतहरु मध्ये लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका मनोज रायमाझी, उत्कृष्ट कारोवार गर्ने खानीखोला गाउँपालिकामा रहेको सुर्यमुखी सहकारी, बनेपामा रहेको भक्तेश्वरी नारी चेतना साकोस र माईक्रो श्रमिक साकोस बनेपालाई सम्मान गरेको छ ।
त्यस्तै काभ्रेपलाञ्चोक जिल्लामा आएको अविरल वर्षाका कारण आएको बाढीपहिरोले पुर्याएको क्षतिमा सहयोग पुर्याएका संस्थाहरु नवकान्तिपुर, सामुदायिक, प्रभात, सुड्डे्श्वर, मनकामना, हाम्रो सेवा, लक्ष्मी महिला, नारी जागरण, महिला आधारशिला साकोसलाई प्रशंशा पत्र सहित सम्मान गरिएको थियो । सभाले संचालकद्वय रुसन श्रेष्ठ र गणेश तामाङलाई कारवाही गर्ने संचालक समितिको निर्णयलाई अनुमोदन गरेको छ ।
त्यस्तै ऋण लगेर नतिर्ने सहकारी संस्थाहरु युएम, सौर्य र उग्रतिर्थ लगायतको १० करोड ८४ लाख २५ हजार बराबरको धितो सकार गरेको छ । पछिल्लो समय केही सहकारी संस्थाहरु संकटमा पर्न थालेपछि संस्था आफैले धितो सकार गर्ने नीति लिएको छ । सभामा वरिष्ठ उपाध्यक्ष सागर कपाली, सचिव सुरेन्द्रप्रसाद पौडेल, कोषाध्यक्ष जीवन श्रेष्ठ, लेखा समिति संयोजक शिवप्रसाद आचार्यले प्रस्तुत गरेका प्रतिवेदनहरुमा छलफल सहित पास गरिएको थियो ।
संस्थाले आर्थिक वर्षको अन्त्यसम्मा २ सय ३९ वटा सहकारी संस्था मार्फत १ अर्ब २९ करोड ७८ लाख ६१ हजार ४ सय ८६ रुपैया बचत गरेको छ भने ४७ करोड २६ लाख ९ हजार ४ सय ९७ रुपैया ऋण लगानी गरेको प्रमुख कार्यकारी अधिकृत गुरुप्रसाद ढकालले जानकारी दिए । संस्थामा शेयर पुँजी ८ करोड २ लाख ९३ हजार, वित्तिय लगानी ५९ करोड र जगेडा तथा अन्य कोषमा ८ करोड ९२ लाख ६७ हजार ४ सय ६१ रुपैया रहेको छ ।