भक्तपुर। पाँचतले भव्य संरचना, इँटा र काठको अद्भुत संयोजन, शक्तिकी प्रतीक देवी सिद्धिलक्ष्मीको मन्दिर र भक्तपुरको पहिचान। तौमढी चोकमा उभिएको ङातापोल मन्दिरले निर्माण सम्पन्न भएको ३२४ वर्ष पूरा गरेको छ। तीन शताब्दीभन्दा बढी समयदेखि भूकम्प, प्राकृतिक विपत्ति र समयका अनेक परीक्षा पार गर्दै उभिएको यो सम्पदा आज पनि नेपाली कला, वास्तुकला र इन्जिनियरिङ कौशलको अनुपम उदाहरण बनेको छ।
यसै ऐतिहासिक अवसरलाई स्मरण गर्दै "365 Days of Exploring Bhaktapur" अभियानले विशेष सम्पदा पदयात्रा (हेरिटेज वाक) आयोजना गर्यो। सम्पदा संरक्षण र इतिहासप्रति नयाँ पुस्ताको चासो बढाउने उद्देश्यसहित आयोजित पदयात्रामा २० जना सहभागी भए। अभियानका सञ्चालक रूसेल शिल्पकारको नेतृत्वमा सम्पन्न पदयात्राले सहभागीलाई केवल एउटा मन्दिरको कथा सुनाएन, बरु ३२४ वर्षअघिको भक्तपुरको समाज, संस्कृति र सभ्यताको यात्रा गरायो।
पदयात्राको केन्द्रबिन्दु केवल ङातापोलको भौतिक संरचना थिएन। सहभागीलाई मल्लकालीन राजा भूपतिन्द्र मल्लको शासनकालमा सन् १७०२ मा सम्पन्न भएको निर्माण प्रक्रिया, नेपालको मौलिक तहयुक्त (तले) मन्दिर शैली, निर्माणमा प्रयोग भएका परम्परागत प्रविधि तथा तत्कालीन सामाजिक परिवेशबारे विस्तृत जानकारी गराइयो। त्यसबेला भक्तपुरका बासिन्दाले कसरी श्रम, सीप र आस्थालाई एकै ठाउँमा जोडेर यो अनुपम सम्पदा निर्माण गरे भन्ने विषयमा पनि छलफल भयो।
हेरिटेज वाकका क्रममा सहभागीहरूले इतिहास पुस्तकमा सीमित नहुने अनुभूति गरे। उनीहरूले सम्पदालाई नजिकबाट हेर्दै त्यसको वास्तुकलागत विशेषता, सांस्कृतिक महत्व र संरक्षणमा नागरिकको भूमिकाबारे विचार आदानप्रदान गरे। इतिहासलाई प्रत्यक्ष अनुभव गर्ने यस्तो अभ्यासले नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्ने प्रयास गरेको आयोजकहरूको विश्वास छ।
यस अभियानका केन्द्रमा रहेका २६ वर्षीय रूसेल शिल्पकार सामाजिक सञ्जाललाई केवल मनोरञ्जनको माध्यम होइन, ज्ञान र सम्पदा प्रवर्द्धनको प्रभावकारी प्लेटफर्मका रूपमा प्रयोग गरिरहेका युवा हुन्। धेरैले सामाजिक सञ्जालबाट व्यवसाय विस्तार गरेका छन्, कोही इन्फ्लुएन्सर बनेर आम्दानी गरिरहेका छन्। तर रूसेलले भने यही माध्यमबाट आफ्नो सहरको इतिहास, संस्कृति र सम्पदालाई विश्वसामु चिनाउने फरक बाटो रोजेका छन्।
उनले २०८० साल वैशाख १ गते "365 Days of Exploring Bhaktapur" अभियान सुरु गरेका थिए। एउटै सहर भक्तपुरलाई ३६५ दिनसम्म घुम्दै त्यसका सम्पदा, संस्कृति, परम्परा र इतिहासको अध्ययन तथा अनुसन्धान गरी सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने उनको अभियानले व्यापक चर्चा बटुलेको छ। अहिले पनि उनी अनुसन्धानमा आधारित हेरिटेज वाक सञ्चालन गर्दै स्थानीय समुदाय, विद्यार्थी र युवापुस्तालाई आफ्नै सम्पदासँग जोड्ने अभियानमा सक्रिय छन्।
रूसेलका अनुसार यो अभियान कुनै पूर्वनिर्धारित योजना होइन, आफ्नै सहरलाई गहिराइबाट बुझ्ने हुटहुटीबाट जन्मिएको हो। उनी यसलाई ‘डिभाइन ड्रिभन’ अर्थात् दैवी प्रेरणाबाट सुरु भएको सोचका रूपमा व्याख्या गर्छन्। यही सोचले आज भक्तपुरका सयौँ सम्पदा, परम्परा र ऐतिहासिक तथ्यलाई डिजिटल माध्यममार्फत देश–विदेशसम्म पुर्याइरहेको छ।
कार्यक्रमको फोटो दस्तावेजीकरण विवेक दुवालले गरेका थिए भने भिडियो दस्तावेजीकरण कला क्रियटिभका सफल वैद्य र स्मिथ गिरीले गरेका थिए।
तीन सय चौबीस वर्षअघि निर्माण भएको ङातापोल मन्दिर आज पनि केवल एउटा धार्मिक स्थल होइन, नेपाली सभ्यता, मौलिक वास्तुकला, सांस्कृतिक निरन्तरता र सामूहिक सिर्जनशीलताको जीवन्त दस्तावेज बनेर उभिएको छ। यसको स्थापना दिवसका अवसरमा गरिएको यस्तो सम्पदा पदयात्राले इतिहासलाई केवल सम्झने होइन, बुझ्ने, अनुभूति गर्ने र भावी पुस्तासम्म हस्तान्तरण गर्ने अभियानलाई अझ सशक्त बनाएको छ।