बनेपा । बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्यले लैङ्गिक हिंसा रोकथामका लागि सामाजिक सचेतना र जागरण आवश्यक रहेको बताउनुभएको छ । लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानको अवसरमा 'हामी सबैको प्रतिवद्धता, लैंगिक हिंसा अन्त्यका लागी एक्यवद्धता' भन्ने नाराका साथ जिल्ला प्रशासन कार्यालय काभ्रे र जिल्ला प्रहरी कार्यालय काभ्रेले आज बनेपामा गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले लैङ्गिक हिंसा उन्मूलनका लागि सोचमै परिर्वतन र सामूहिक आवाज उठाउनुपर्नेमा जोड दिनु भयो।
कार्यक्रमको अध्यक्षता गर्नुहुँदै प्रहरी प्रमुख बसुन्धरा खडकाले कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार अधिकांश शिक्षित व्यक्तिहरुबाटै हुने गरेको समेत बताउनुभयो ।
प्रहरी प्रमुख एसपी खड्काले लैङ्गिक हिंसाविरुद्ध सामाजिक सचेतना पनि आवश्यक रहेको भन्दै प्रहरीले वर्षैभरि सचेतनामूलक कार्यक्रम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख विमला सापकोटा दाहाल, इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक रमेश थापा, वडा अध्यक्षहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा ओसिएमसी समन्वय प्रमुख सनिता सुर्खेती, प्रहरी निरिक्षक सरस्वती कार्की लगायतले लैङ्गिक हिंसा न्यूनिकरणका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा धुलिखेल अस्पपतालमा रहेको ओसिएमसी मार्फत काठमाडौं विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन गर्ने बिद्यार्थीहरुले जनचेतनामुलक सडक नाटक प्रर्दशन गरिएको थियो । सडक नाटकले घर भित्र हुने लैङ्गिक हिंसामा परिवारका सदस्यहरुको भूमिका र त्यसको न्यूनिकरणका लागि सरोकारवाला निकायको भूमिकाका बारेमा जानकारी गराईएको थियो ।
पुरुषमाथि पनि विभेद र हिंसा भए पनि उजुरी भने १० प्रतिशतभन्दा तल रहेको तथ्यांकले देखाएको छ ।
नेपाल प्रहरीको तथ्यांक अनुसार लैंगिक हिंसाका घटना चिनजानका व्यक्तिबाटै बढी हुने गरेको छ । लैंगिक हिंसाका घटनाको उजुरी हेर्दा मधेस प्रदेशमा सबैभन्दा धेरै देखिएको र त्यसमध्ये घरेलु हिंसाका उजुरी ७८ प्रतिशत रहेको पनि प्रहरीले जनाएको छ ।