-डा. भरत लामिछाने
सहृदयी मित्र हरि के.सी. घिमिरेको जन्म काभ्रेपलाञ्चोक जिल्ला ढुङ्गखर्क गा.वि.स. ६ हाल बेथानचोक -२ थली गाउँमा भएको थियो। पिता वीरवहादुर घिमिरे र माता शिवमाया घिमिरेका जेष्ठ सुपुत्र हरि घिमिरे के .सी का ३ दाजुभई र ४ दिदी वाहिनीहरू भएकोमा केही समय अगाडी कान्छा भाई बद्री घिमिरेको असामयिक मृत्यु भएको थियो । तीनभाईमा दुई भाई मात्र रहदै आउनु आएकोमा यतिवेला उहाँको पनि कीर्तिशेष हुन पुन पुग्यो । उहाँ अस्वस्थ भईरहँदा उहाँका माहिलो भाई केदार क्षेत्रीले रातदिन नै रेखदेखमा खटिरहनु भएको थियो । हरि घिमिरेको विवाह स्थानीय सोही गाउँ पालिका वडा नं २ की शुभद्रा तिमल्सीनासँग भएको थियो । उहाँहरुवाट एक छोरा र एक छोरीको जन्म भएको छ। उहाँले स्थानीय पार्वती मा.बि. बाट प्रवेशिका परीक्षा उत्तीर्ण गर्नु भएको बुझिन्छ । पछिल्लो समय उहाँले ने .क.पा. (माओवादी-केन्द्र) को प्रदेश समिति सदस्यको जिम्मेवारी लिनु भएको थियो । साथसाथै राज्यले उहाँको कार्य मूल्यांकन गरेर राष्ट्रिय भूमि आयोग काभ्रेपलाञ्चोक जिल्ला अध्यक्षको जिम्मेवारी समेत दिएको थियो । उहाँको कार्यकालमा भूमिहीनकिसान, मज़दूरहरूलाई भूमि ब्यवस्थापन गर्ने काम अगाडि बढेको थियो ।
हरि के सी संगको परिचयात्मक पृष्ठभूमिः
स्नेही मित्र, हरि के.सी. सँग मेरो चिनाजान २०४१ सालदेखि भएको थियो। सर्वमंगला. मा.बि.बाट शिक्षण पेशा छोडी म निजामती क्षेत्रमा २०४१ सालमा प्रवेश गरेको थिएँ । मैले स्वास्थ्य मन्त्रालय अन्तर्गत नेपाल परिवार नियोजन तथा मातृशिशु कल्याण योजनामा जिल्ला कार्यालय धुलिखेलमा २०४१ सालमा नियुक्ती लिएर आएको थिए। त्यस बखत हरि केसी सुपरभाईजर पदमा कार्यरत हुनु हुँदो रहेछ । त्यस कार्यालयमा कमान सिंह लामा, रश्मि श्रेष्ठ, शंकर थापा, दिनेश प्रधान लगायतका साथिहरूले सुपरभाईजर पदको नियुक्ति केही समय अगाडि मात्र लिनु भएको रहेछ । कमानसिंह लामासंग त उहाँ पनि शिक्षक हुँदै, नेपाल राष्ट्रीय शिक्षक संगठनले आह्वान गरेका संघर्षको मैदानमा मेरो चिनाजानी र भेटघाट रहंदै आएको थियो । रश्मी श्रेष्ठलाई 'सिम्मा नाटक' को नायिकाको रुपममा चिनेको थिएं । उहाँ सुवासकाजी दाईको जीवन संगिनी हुनुहुँदो रहेछ । सुवास दाई ने.क.पा. ( चौथो महाधिवेशन) काभ्रेपलाञ्चोक जिल्ला संगठनको संस्थापक सदस्य हुनुहुन्थ्यो भन्ने कुरा बुझेको थिंए । किनकी २०३५ सालदेखि मैले पनि त्यस पार्टीको समर्थक सदस्यता लिई शिक्षकहरूको मोर्चामा काम गर्ने अवसर पारस काफ्ले सरले मिलाउनु भएको थियो । त्यसैले पनि पार्टीको गतिविधिप्रति धेरथोर जानकारी हुदैंआएको थियो । त्यसै सिलसिलामा सुवास दाईको नाताले पनि रश्मी श्रेष्ठलाई कमान सिह लामाले र मैले भाऊजु भन्ने गर्थ्यौं। अरु साथिहरुले उहाँलाई दिदी भनरे संबोधन गर्दथे । मेरो नियुक्ति साथीहरुको भन्दा एक तह माथिको थियो । त्यतिवेला कार्यालय प्रमुख श्यामकाजी श्रेष्ठ हुनुहुन्थ्यो । उहाँ अत्यन्त मिलानसार, हंसिलो, रसिलो इमान्दारितालाई केन्द्र बिन्दुमा राखेर कार्य गर्ने व्यक्ति हुनुहुन्थ्यो । त्यसैले कोही कर्मचारीले कार्यालयको काममा गल्ती कमजोरी गरेमा वा फिल्ड नजाने जस्ता गतिविधि गर्नेलाई स्पष्टीकरण सोधेर नसिहद दिन पनि पछि पर्नुहुन्नथ्यो । उहाँको दाई “रायन(नारायण भक्त श्रेष्ठ)संग मेरो पहिले देखि नै पहिचान थियो। त्यस कार्यालयमा तीन सय भन्दा बढी कर्मचारीहरु कार्यरत थिए । कार्यालय प्रमुख श्याम दाई अनुपस्थित हुने समयमा मलाई नै निमित्त प्रमुखको जिम्मेवारी दिनु हुन्थ्यो। मैले पनि उहाँको कार्य शैलीलाई अनुशरण गरेर कार्यालय संञ्चालन गर्ने मौका पाउने गर्थे। हरि के. सी., कमानसिंह लामा, रश्मी श्रेठ, शंकर थापा, दिनेस प्रधान दलबहादुर श्रेष्ठ लगायतका साथीहरू वैचारिक र राजनीतिक रुपमा ने.क.पा.(चौ. म.)प्रति प्रतिबद्ध ,एवम् समर्थक सदस्य रहेको जानकारी हुन आयो ।कार्यालय प्रमुख श्यामकाजी दाईलेनै ऊँहाहरूलाई नियुक्ति गर्ने गराऊने वातावरण मिलाऊनु भएको रहेछ । किनकी श्यामकाजी दाई पनि पार्टी प्रति प्रतिबद्ध हुनुहुंदो रहेछ । म पनि त्यही पार्टीको सदस्य रहदै आएको थिए। त्यसैले वैचारिक राजनीतिक रुपमा हामी सबै एउटै कित्तामा परेका रहेछौ । त्यस बाट पनि हाम्रो घनिष्ठता झनै बढ्दै गयो ।
मलाई लाग्छ हरि जी ले पार्टी सदस्यता २०४१ साल पश्चात लिएको हुनुपर्छ ।
कमरेड हरि के. सी. अत्यन्तै इमान्दार, सरल, सहज र मिलनसार ब्यक्ति हुनुहुन्थ्यो । उहाँ “सादा जीवन उच्च विचारका धनि “ हुनुहुन्थ्यो । निम्नमध्य वर्गिय परिवारमा जन्मिनु भएका उहाँ, कार्यालयको काम पनि सबैसँग मिलेर गर्नुहुन्थ्यो ।आफ्नो जिम्मेवारीको कार्य समयअवधि भित्र सकाउनु हुन्थ्यो । उहाँको जिम्मेवारी प्रायः गरी फिल्ड सुपरभिजनमा जानु र प्रगति प्रतिवेदन पेश गर्नु थियो ।ऊँहाहरूसंग प्रायः महिनाको अन्त्यमा मात्र भेटघाट हुन्थ्यो ।कार्यालयको काम सकेपछि बाँकी समय भूमिगत शैलीमा पार्टी काममा तल्लीन हुने गर्नु हुन्थ्यो । त्यस कार्यालयमा स्वास्थ्य कार्यकर्ता सहित धेरै साथिहरु ने.क.पा.(चौ.म.)समर्थक थिए । भूमिगत शैलीमा नै त्यहां हामिले संगठन निर्माण थाल्यौ ।हाम्रो प्रमुख लक्ष्य त निरंकुश पन्चायती व्यवस्था विरूद्ध संघर्ष गर्दै ,अग्रगामी ब्यवस्था बहुदल हुदैं समाजबादमा पुग्नु थियो । त्यसैले त्यसप्रकारको दृष्टिकोण राख्ने साथीहरूबीच संगठित हुने वातावरण पार्टीले बनाउँदै आएको थियो, त्यस बखत जिल्ला सचिव श्याम श्रेष्ठ हुनुहुन्थ्यो ।ऊँहाले पटक, पटक प्रशिक्षण दिदैं संगठन विस्तारका योजनाहरू सम्प्रेषण गर्नुहुन्थ्यो। भूगोल मा हामी गाउँ, इलाकातिर संगठित हुदै आएका थियौं। ने.क.पा. (चौथो महाधिवेश )त्यस बखत देशभरकै सबै भन्दा ठुलो कम्युनिस्ट पार्टी बनेको अवस्था थियो ।
काभ्रेपलान्चोकमा पार्टी बिस्तार
त्यसबखत काभ्रे पलाञ्चोक जिल्लामा संगठन निर्माण गर्ने सिलसिलामा अग्रजहरू श्याम श्रेष्ठ,दिलशुन्दर श्रेष्ठ, सुवासकाजी श्रेष्ठ,मोहन दुवाल,लगायतका कमरेडहरूको सक्रियतामा २०३३/३४ सालतिर नै ने.क.पा.(चौ.म.)जिल्ला संगठन समिति गठन भएको बुझिन्छ ।बिस्तारै संगठन बिस्तार हुने दिशामा गयो । जिल्ला संगठन समितिको पनि विस्तार हुन् पुग्यो । तिथी मिति मलाई यादभएन। सम्भवतः २०३७ सालपछि नै हुनुपर्दछ ।श्याम श्रेष्ठको नेतृत्वमा कमान सिंह लामा, कान्छाराम तामाङ,नन्दकुमार थापा, पारस काफ्ले, नन्दलाल कायस्थ, दिपक थापा, राधेश्याम के.सी गणेश श्रेष्ठ लगायतका साथीहरू समेत रहेको जिल्ला संगठन समिति विस्तार हुन पुगेको थियो भन्ने बुझिन्छ । यस संगठनले गति लिदै गयो। वि.सं. २०४४/४५ सम्म पुग्दा संगठनले पूःन बिस्तारको माग गन्यो। पार्टी स्थापना र विस्तारको गणितबाट हेर्दा दोस्रो र तेस्रो पुस्ताका साथीहरू रहने गरी जिल्ला समिति बनाऊने तयारी भयो। त्यस समितिमा हरिबहादुर केसी (रुपक), कमानसिंह लामा (रोशन) ,नन्द कुमार थापा , कान्छाराम तामाङ (हिमकण), नन्दलाल कायस्थ (राकेश) ,पारस काफ्ले (प्रवल) , दिपक थापा, भरत लामिछाने (प्रकाश),राधेश्याम केसी (कंगाल),कुमार सापकोटा 'नविन' (रोशन ) ,सुरेन्द्र श्रेष्ठ (प्रतिरोध),कृष्णप्रसाद दाहाल (ज्योति) ,चमार सिह लामा (चट्याङ), रामकुमार उप्रेती( तक्षक शर्मा ),प्रकाश थापा (पहाडी) दलबहादुर श्रेष्ठ ( दिप ) र दिलीप गौतम रहनु भएको थियो । सचिवको ज़िम्मेवारी कमरेड राकेश ले लिनु भएको थियो ।त्यस संगठन समितिले जिल्ला सम्मेलनको आयोजना गन्यो। २०४६ /४७को आन्दोलनको लगतै त्यस संगठन विस्तार हुदै जाने कुरा बढ्दो थियो ।संयुक्त जनआन्दोलन को उभार उठ्दै थियो । बि.सं.२०४६/४७को जनआंदोलन लगतै भूमिगत शैलीमा नै त्यसले काभ्रेको मादन कुंडारी नजिक चौरी खोलाको तिर बाझेंमा जिल्ला सम्मेलन सम्पन्न गरेको थियो ।कार्यक्रमको प्रमुख अतिथि कमरेड दिल वहादुर श्रेष्ठ र , बिशेष अतिथिमा कमरेड लीलामणि पोख्रेल हुनुहुन्थ्यो। तीन सदस्यीय अध्यक्ष मण्डलमा ठूलो कान्छाराम तामाङ , दिलीप गौतम र नन्दकुमार थापा रहनु भएको थियो । कार्यक्रम संचालन पंक्तिकारले नै गरेको थियो । जिल्लाभरीका पार्टी सदस्यहरु चारमाना चामल र केही रकम समेत लिएर सम्मेलनमा सहभागी हुनुपर्ने नियम बनाईएको थियो ।सम्मेलन दुई दिनसम्म चलेको थियो ।सम्मेलनले आयोजक समितिका १७ जना कमरेडहरूलाई नै जिल्ला समितिमा अनुमोदन गरी निर्वाचित गरेको थियो ।
हरि केसी पार्टीको सहयात्रीः
मैले हरि के सी कमरेडको स्मरण लेख्दा पार्टीको यति लामो कुरा लेख्न पुग्नुको कारण उहाँ यसपार्टीमा कसरी कुन स्तरमा पुग्नु भएको थियो भन्ने कुरा उजागर नगर्दा अन्याय हुन जाने भएकोले मात्र हो ।के यसपछिका दिनमा हरि के सी. सँगको सहकार्य, सहयात्राले नै मूर्तता प्राप्त गर्दै आयो । पार्टीले निर्धारण गरेका जुनकुनै कार्यक्रममा उहाँ उपस्थित हुनुहन्थ्यो । कहिले केही संघर्षका कार्यक्रम सकेर घर फर्किन नभ्याउदा कार्यालयमानै सँगै खाने र सुत्ने हामी गर्दथ्यौ। नेपाल बन्द जस्ता कार्यक्रम मा कार्यक्रम सकेर पैदलयात्रा नै गर्दै हामी संगसंगै धेरै पटक धुलिखेल बनेपा देखि बेलुकी नौ दश बजे सम्म काठमाडौंसम्म पुग्ने गर्थ्यौं।कतिपय दिनमा हामी पार्टी सचिव नन्दलाल कायस्थ को घरमा नै खाने बस्ने गर्थ्यौं । ऊँहाको परिवार पनि हाम्रो आफ्नै परिवार जस्तो हामीलाई लाग्दथ्यो । ऊँहाहरूले एऊटै परिवार ठानेर कुनै अप्ठेरो र झिंजोझर्को मान्नु हुदैनथ्यो ।हामी खाना जे जस्तो पाक्छ मिठो मानेर खान्थ्यौं ।सुत्न जस्तो अवस्था छ सोही अवस्था मा रमाऊंथ्यौं।
अन्तर्मुखि स्वभावको कमरेड हरि केसीः
कमिकमजोरी नभएको त मानव नै हुंदैन ।ऊँहाका पनि केही कमजोरी हरु थिए। कुनै पनि साथीले भनेको कुरा उहाँ एकै पटकमा बिश्वास गर्नुहुन्थ्यो । त्यो साथी के कस्तो हो पनि ऊँहा छुट्टयाऊनु हुन्नथ्यो ।त्यो साथीले ती कुराहरू किनभने, ?के को लागि भने ? ऊसको निहित स्वार्थ थियो कि थिएन?विचार बिमर्श नगरी ठीक हो भन्ने ठानी हाल्ने अति सकारात्मक सोच राख्ने बानी ऊँहाको थियो। ऊँहाले खाने बस्ने हिड्नेसमय तालिका बनाऊनु हुन्नथ्यो । घरबाट निस्किएपछि घरमा फर्किने नफर्किने सूचना पनि नगरी धेरै दिनसम्म पनि बाहिर तिरनै साथीहरू संग रमाऊने बानी थियो ।पार्टीको काममा मात्र भए त साथीहरूले सुरक्षित गर्दथे । राम्रो नै हुन्थ्यो । तैपनि म यस्तो काममा छु भनेर घरमा सूचित गर्ने गरेको पाईदैनथ्यो । हामी भन्ने गर्थ्यौं घरमा खवर गर्नुस । तर ऊँहा पर्दैन यस्तै चल्छ भन्ने कुरा गर्नु हुन्थ्यो ।ऊँहाको स्वभाव अन्तर्मुखि थियो । स्वःनिर्णय गर्ने क्षमतामा ऊहां अत्यन्तै कमजोर हुनुहुन्थ्यो ।
पार्टी फुटले कार्यकर्ता मा निराशाः
बि.सं. २०५१ सालमा ने.क.पा. (एकता केन्द्र) मा बिभाजन आएपछी ने .क.पा.(एकता केन्द्र) र ने.क.पा.(माओवादी) दुई दल बन्न पुगे ।ने.क.पा.(माओवादी) जनयुद्ध गर्ने नीति अगाडि सार्यो । ने . क. पा. (एकता केन्द्र)ले तात्कालिक राजनीतिक कार्यदिशा जन संघर्षलाई जोड दिने कार्यनीति अगाडी सार्यो ।संगठन विस्तारको क्रम अगाडी बढ्दै जांदा ने.क.पा. (एकता केन्द्र) ले भूमिगत रूपमा राष्ट्रिय सम्मेलन २०५४ मा गर्ने निधो गर्यो । त्यसै सिलसिलामा काभ्रे जिल्लाले पनि २०५४ सालमा जिल्ला सम्मेलन गर्ने निधो गन्यो । कमानसिंह लामा त्यस बखत पार्टी कारवाहीको दायरामा हुनुहुन्थ्यो । सचिवको भूमिकामा रहनुभएका कमरेड राकेश पनि निष्क्रिय हुनुहुन्थ्यो ।सम्मेलनको तयारी गर्ने बखत पुराना साथीहरुको उपस्थिति न्यून थियो ।किनकी पार्टी फुटको कारण ले धेरै साथीहरूमा निराशा छाएको थियो । पार्टीलाई कसरी जीवित राख्ने भन्ने संकट नै उत्पन्न भएको थियो ।पार्टी फुट पश्चात नै हामीले एऊटा कार्यक्रम साथीहरुलाई उर्जा दिनका लागि राखेका थियौं ।त्यो कार्यक्रम थियो बरिष्ठ नेता कमरेड निर्मल लामाबाट दिने पार्टी प्रशिक्षण ।२०५२ साल बैशाख महिनाको पहिलो हप्तामा ठूलो पर्सेलमा राखिएको दुई दिने प्रशिक्षण कार्यक्रममा म आफू भने मेरा श्रद्धय पिता ज्यू को कीर्तिशेष बैशाख ३ गते नै भएकोले उपस्थित हुन सकिन। त्यहाँ प्रशिक्षण कार्यक्रम राम्रो भएकोले साथीहरूमा ऊर्जा थपियो ।तर जिल्ला कमिटीको सचिव नै निष्क्रिय भएपछि कसलाई ज़िम्मेवारी दिने भन्नेबारे पनि छलफल हुनु जरूरी थियो । त्यस कार्यक्रम ले कान्छाराम तामाङ (हिमकण) लाई नै सचिव को ज़िम्मेवारी दिने कार्य समेत गर्न पुगेको थियो ।अब जिल्ला सम्मेलन गर्ने ज़िम्मेवारी पनि ऊँहा लगायत हाम्रो सामूहिक ज़िम्मेवारी मा आयो ।
संकटमा पनि पार्टीले जिल्ला सम्मेलन गर्योः
कान्छाराम तामाङ त्यस वखत जिविसको उपसभापति समेत भएका कारण ऊँहाले पनि दैनिक जनताका समस्याहरु जि .बि . स.मा हेर्नु पर्ने भएकोले पार्टीका दैनिक गतिविधिमा समय दिन मुस्किल थियो ।भूमिगत पार्टी भने पनि खुल्ला मोर्चा भने पनि सबै काम वैधानिक मोर्चा ,विद्यार्थी संगठन, युवा लिग, समेतमा रहनु भएका साथीहरूले सम्मेलन सफल बनाऊने पर्ने भयो ।बैधानिक मोर्चाको अध्यक्षको ज़िम्मेवारी मैले लिएको थिएं । बिध्यार्थी संगठनको अध्यक्षको ज़िम्मेवारी राम बहादुर लामाले ,जनबादी युवा लिगको अध्यक्ष परिच्छेद शर्मा हुंमागाई,र सचिव मानकाजी सुवाल ले लिनु भएको थियो ।बिशेष गरी यही टिम सक्रिय भएर जिल्ला सम्मेलन २०५४ मा सम्पन्न गरिएको थियो । त्यस बखतको सम्मेलन दुई दिन सम्म चलेको थियो ।प्रमुख अतिथि कमरेड नारायणकाजी“प्रकाश “ हुनुहुन्थ्यो ।ऊँहाले प्रशिक्षण समेत दिनु भएको थियो । सम्मेलनमा प्रस्तुत गरिने प्रतिवेदन हामीले नै तयार गरेका थियौं। जिल्ला नेतृत्व चयन गर्ने वखत सचिवको जिम्मेवारी लिन साथिहरूले मलाई नै प्रस्ताव गर्नु भएको थियो ।मैले साथीहरूलाई भने, राजनीतिक मोर्चाको अध्यक्ष र पार्टीको सचिव एऊटै व्यक्ति हुनु राम्रो होईन ।हुन त धेरै जसोजिल्लामा दुवै ज़िम्मेवारी एऊटै व्यक्तिले लिदै आऊनु भएको जानकारी हामीलाई छ ।तर त्यसो गर्नु भन्दा फरक फरक व्यक्तिले ज़िम्मेवारी लिंदा ऊचित हुन्छ।किनकी पार्टी संचालनका गतिविधिमा एक अर्का बीच केही कमिकमजोरी भए पनि सच्याऊने मौका पनि मिल्दछ ।त्यसैले हरि के.सी. जी लाई सचिवको ज़िम्मेवारी दिंदा उपयुक्त होला भन्ने कुरा मैले साथिहरुसँग राखे । हरि जी लाई सोधियो ।ऊँहाले चलाउन सक्दिन होला, भनेर आनाकानी गर्नु भयो। मैले र साथी राम लामा लगायतका साथीहरूले पार्टी चलाउने टिमवर्क ले हो भन्ने कुरा राख्यौं । एक्लै ले होईन ।हामी सबैको साथ पार्टी सचिव लाई हुनेछ । तब मात्र पार्टी चल्छ । तपाईं आँट गर्नुस भने पछि तपाईंहरू त्यसो भन्नुहुन्छ भने ,हुन्छ भन्नुभयो ।त्यसपछि सम्मेलन हलमा प्रस्ताव राखियों । एक मतले प्रस्ताव पारित भयो । त्यस बखतबाट ऊँहाको जिम्मेवारी सचिवको रहन गएको थियो । हामी राजनीतिक मोर्चा,र बैधानिक मोर्चामा जनवर्गिय संगठनात्मक रहेका साथीहरूले पार्टीका कामकाजहरूमा एकजुट भई सम्पूर्ण कामहरू सम्पन्न गर्ने गर्थ्यौ ।त्यसैले ऊहांलाई पार्टी सचिवको ज़िम्मेवारीको बोझ भए जस्तो अनुभूति पनि नभएको कुरा हामीलाई बताऊनुहुन्थ्यो ।
दुई पार्टी बीच पार्टी एकताः
वि.स २०५९ श्रावण २४ गते ने.क.पा.(एकता केन्द्र) र , ने.क.पा.(मसाल)बीच पार्टी एकता भई पार्टीको नाम ने.क.पा.(एकता केन्द्र-मसाल) रहन पुग्यो । त्यसै सिलसिलामा तल्ला निकायहरूमा पनि एकता भयो ।जिल्लामा एकता हुंदा सचिवको जिम्मेवारी एकता केन्द्र लाई नै पर्यो । त्यसमा पनि हामीले फेरबदल गरेनौ सचिवको ज़िम्मेवारी हरि कमरेडले नै दिईयो ।तर लामो समय सम्म पार्टी एकता रहन सकेन ।बि.सं २०६३ सालमा पार्टी पूनःविभाजन भयो। अन्ततः २०६५ सालमा ने.क.पा.(एकता केन्द्र)र ने.क.पा.(माओवादी)बीच एकता भई पार्टीको नाम ने.क.पा.(एकीकृत माओवादी) रहन गयो ।कमरेड हरि केसी राज्य समितिको सदस्यको ज़िम्मेवारीमा रहनु भएको थियो ।चार हज़ार को केन्द्रीय समिति बन्दा त केन्द्रीय सदस्यमा पनि पर्नु भएको कुरा हामीलाई बताऊनुहुन्थ्यो ।
राजकीय ज़िम्मेवारी संगै अस्वस्थः
पार्टीमा प्रतिवद्ध रहंदै कार्य गरिरहनु भएको अवस्थामा पार्टीले ऊँहालाई राजकीय ज़िम्मेवारी दिने ठाउँ खोजिरहेको थियो । त्यसै सिलसिलामा राष्ट्रीय भूमि आयोग काभ्रे जिल्लाको अध्यक्ष ज़िम्मेवारी दिने निर्णय सरकारले गर्न पुग्यो ।ऊँहा त्यस जिम्मेवारीलाई बहन गर्दै हुनुहुन्थ्यो । अकस्मात ,उहाँ विरामी पर्नु भयो । - परीक्षण वाट “मल्टिपल माईलोमा “ नामको क्यान्सरले गाँजेको रहेछ ।शुरूमा शिक्षण अस्पताल भर्ना हुनुभएकोमा त्यस अस्पताल ले पाटन अस्पताल रिफर गर्यो । त्याहांनै एक बर्ष सम्म ऊपचार गर्दै गर्दा , मेरो पनि स्वास्थ्यमा ऊँहाकै जस्तो समस्या ऊँहाको समस्या देखिएको दुई महिना पछिनै देखिएको थियो । मेरो ऊपचार पनि पाटन अस्पताल मा नै भईरहेको थियो । ऊँहालाई ऊपचार गर्नु हुने डक्टर मिप्सान लामा ले नै मलाई पनि ऊपचार गर्दै आऊनु भएको थियो । प्रायः ऊपचारको समय पनि ऊस्तै ऊस्तै पर्दा ऊँहाको र मेरो भेट पाटन अस्पताल मा भईरहन्थ्यो । कहिले कहीं त बेड पनि संग संगै पर्थे । एकआपसमा स्वास्थ्य र पार्टी का कुरा गर्ने गर्दथ्यौ । पछिल्लो समय ऊँहाको ऊपचार हुदै गर्दाको दुई तिन दिन अघि म पनि डे केयर भर्ना भई ऊपचार गरेर फर्किए ।ऊँहालाई पनि भोलीपल्ट डिस्चार्ज गर्ने कुरा डक्टरले राऊन्ड चेकमा नै गर्नु भएको थियो । र डिस्चार्ज पनि हुनुभएछ । त्यसको तीन दिन पछि ऊँहाको घर कुपन्डोलमानै कीर्तिशेँष हुन पुगेको खबर पाऊंदा म स्तव्ध हुन पुगें । तर म आफू आईसुलेसन मा नै बस्नु परेकोले ऊ अन्तिम बिदाईमा पुग्न सकिन छोरी मन्जु र नाती निवनले पशुपति आर्यघाटमा पुगेर ऊहाँको अन्तिम बिदाई गरेका थिए । यसरी मेरा सहृदयी मित्र हरि केसी को पार्थिव शरीर हामीबाट टाढा भयो । मृत्यु अन्तिम सत्य हो ।तर मानिसले समाजमा गरेका समाजलाई अग्रगामी दिशामा लैजाने कर्मनै महत्वपूर्ण हुन्छन । त्यसका लागि ऊँहाले दिनु भएको योगदान नै सदाकाल स्मरणमा रहिरहने कुरामा हामी बिश्वस्त छौ । आज ऊँहाको बार्षिक स्मृतिको यस घडीमा शव्दद्वारानै हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछु ।