काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्व शिक्षाराज्यमन्त्री तथा पूर्व महिला, बालबालिका तथा समाज कल्याण मन्त्री राजेन्द्र खरेलको निधन भएको छ। उहाँको आइतबार राति काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उहाँ ८० वर्षका हुनुहुन्थ्यो।
लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित खरेल उपचाररत रहनुभएको थियो। उहाँका छोरा महेश खरेल हाल पाँचखाल नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस काभ्रेपलाञ्चोक क्षेत्र नं. २ का सभापति हुनुहुन्छ।
वि.सं. २००३ सालमा काभ्रेपलाञ्चोकको खरेलथोकमा जन्मिएका खरेल नेपाली कांग्रेसका सिद्धान्तनिष्ठ तथा लोकतान्त्रिक आन्दोलनका सक्रिय नेताका रूपमा परिचित हुनुहुन्थ्यो। विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवन सुरु गर्नुभएका उहाँले नेपाल विद्यार्थी संघको संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
खरेलले २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनमा सक्रिय सहभागिता जनाउनुभएको थियो। लोकतन्त्रका पक्षमा निरन्तर संघर्षका क्रममा उहाँले विभिन्न समयमा जेल जीवनसमेत बिताउनुभएको थियो।
नेपाली कांग्रेसका संस्थापक पुस्ताका नेताहरूको निकट सहकर्मी मानिने खरेलले पार्टी संगठन निर्माण, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा कार्यकर्ता विकासमा उल्लेखनीय योगदान पुर्याउनुभएको थियो। काभ्रे जिल्लामा कांग्रेस संगठन विस्तार र सुदृढीकरणमा उहाँको भूमिका विशेष रूपमा स्मरण गरिन्छ।
वि.सं. २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा काभ्रे क्षेत्र नं. ३ बाट निर्वाचित भएपछि उहाँ शिक्षा राज्यमन्त्री बन्नुभएको थियो। त्यसपछि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो।
शिक्षा क्षेत्रको विकासमा विशेष चासो राख्ने खरेलले काभ्रेमा प्राथमिक शिक्षा परियोजना सञ्चालनका लागि पहल गर्नुभएको थियो। उहाँकै कार्यकालमा विद्यालय भवन तथा शैक्षिक पूर्वाधार विस्तारका विभिन्न कार्यक्रम अघि बढाइएको थियो। शिक्षक दरबन्दी थप गर्ने तथा ग्रामीण क्षेत्रमा शिक्षाको पहुँच विस्तार गर्ने कार्यमा समेत उहाँको योगदान रहेको बताइन्छ।
सामाजिक कल्याण, बालअधिकार तथा महिला सशक्तीकरणसम्बन्धी नीतिगत सुधारमा समेत उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
खरेलको निधनप्रति नेपाली कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले दुःख व्यक्त गरेका छन्। उहाँको निधनले विशेषगरी काभ्रेको राजनीतिक तथा सामाजिक क्षेत्रमा ठूलो क्षति पुगेको टिप्पणी गरिएको छ।
लोकतान्त्रिक आन्दोलन, राजनीतिक निष्ठा र सार्वजनिक सेवाप्रतिको समर्पणका कारण राजेन्द्र खरेल नेपाली राजनीतिक इतिहासमा स्मरणीय रहने विश्वास व्यक्त गरिएको छ।
स्वर्गीय राजेन्द्र खरेलप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना।