काभ्रे । काभ्रेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी काभ्रेले उत्पादन गरेको धान काट्ने काम शुरु भएको छ ।
सो पार्टीले आफ्नो बढी वर्चस्व भएका क्षेत्रमा कृषि खेती सञ्चालन गर्दै आएको छ । काभ्रेको मन्डनदेउपुर नगरपालिका – ३, नयाँगाउँ देउपुरमा लगाएको धान खेतमा पार्टीका पोलिटब्युरो सदस्य कान्छाराम सी शनिबार धान काटेर उद्घाटन गरेका हुन् ।
खेतमा धान काट्दै पोलिटब्युरो सदस्य कान्छाराम सी ले उत्पादन नै समृद्धिको अभियान भएको बताउँदै अब राजनीतिक दलहरूले हरेक ठाउँमा उत्पादन गर्नुपर्नेमा जोड दिए । उनले पार्टीका कार्यकर्ताले उत्पादन गरेको धान खेतमै आएर धान काट्न पाउँदा आफूलाई निकै खुसी लागेको बताए ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काभ्रेकी इन्चार्ज बिन्दु सीले सो अवसरमा आत्मनिर्भर नेता–कार्यकर्ता, आत्मनिर्भर जनता र आत्मनिर्भर देश बनाउने उद्देश्यका साथ पार्टीको केन्द्रीय योजना अन्तर्गत उत्पादनलाई अगाडि बढाएको बताइन् । उनले पार्टीले १० रोपनी जग्गा भाडामा लिएर धान रोपेको जानकारी दिइन् ।
उत्पादन भएको धान काट्न पार्टीका केन्द्रिय सल्लाहकार दिपक जंगम सी, जिल्ला सेकरेटरी प्रेरक सी, पाँचखाल ईन्चार्ज राम बहादुर सी, मण्डनदेउपुर ईन्चार्ज सुक्र सी, बनेपा ईन्चार्ज रामहरी सी, मगर मोर्चा संयोजक रमेश सी, युवा संगठन जिल्ला ईन्चार्ज अजय सी, युवा सदस्य विकास तामाङ, पार्टी सदस्य माया सी, सुन माया, गोस्ठिमाया, ढल्कि माया, विक्रम व्लोन लगायत पार्टी निकट जन वर्गीय संगठनहरुको सहभागिता थियो ।
देशका विभिन्न भागमा उत्पादन जोड
काभ्रेका साथै कपिलवस्तु, कैलाली, कञ्चनपुर, चितवन, दाङ र सुनसरीमा पनि नेकपाको नेतृत्वमा धानखेती लगाइएको छ । कैलालीमा करिब सात बिघा, कञ्चनपुरमा करिब तीन बिघा, चितवनमा करिब १४ बिघा, दाङमा करिब १० बिघा र सुनसरीमा करिब आठ बिघामा धानखेती गरिएको नेकपाका स्थायी समिति सदस्य भरत सीले जानकारी दिए । अन्य ठाउँमा समेत सामूहिक खेती भइरहेको छ ।
धानखेतीका साथै गाई र कुखुरापालन, तरकारी तथा फलफूल खेतीसमेत भइरहेको छ । जुम्लामा स्याउका करिब १५ सय बिरुवा तथा डोटी र अछाममा गरी सुन्तलाका करिब सात सय बिरुवा रोपिएको छ ।‘उत्पादन र श्रमसँग अनिवार्य रूपमा नेता र कार्यकर्ता जोडिनुपर्छ । त्यसको प्रस्तावक विप्लव हुनुहुन्छ,’ उनले भने, ‘यो एकीकृत स्वामित्वको व्यावहारिक अभिव्यक्ति हो । सामूहिक ६० र निजी ४० प्रतिशत हुने गरी उत्पादन गर्दै आएका छौँ । सहकारीबाट सामूहिक उत्पादन हुन्छ ।’
अवलोकनमा घनश्याम भुसाल र जनार्दन शर्मा
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र माओवादी उपमहासचिव जनार्दन शर्माले नेकपाले कपिलवस्तुमा गरेको सामूहिक खेतीको अवलोकन गरेका छन् । भुसालले आइतबार र शर्माले मंगलबार अवलोकन भ्रमण गरेका हुन् । सो क्रममा समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको विप्लवको सचिवालयले जनाएको छ । ‘कम्युनिस्ट एक हुने ठोस कार्यक्रम भनेको उत्पादन र श्रमसँग जोडिएर हुन्छ । राष्ट्रिय स्वाधीनताको रक्षाका लागि पनि उत्पादन गर्नैपर्छ । विश्व ध्रुवीकरणमा गइरहेको सन्दर्भमा राष्ट्रिय पुँजीको विकास अनिवार्य भइरहेको छ,’ नेकपा नेता सीले भने ।
कम्युनिस्टहरूबिच नयाँ एजेन्डा र कार्यक्रमसहितको एकता हुनुपर्ने भन्दै उनले भने, ‘नेता र कार्यकर्ता आत्मनिर्भर हुनैपर्छ । देखिने काम हुनुपर्छ । उत्पादनमा नजोडिदिँदा भ्रष्टाचार बढेको छ । दलाली संस्कृतिको विकास भएको छ । उत्पादन र श्रमसँग जोडिएर आत्मनिर्भर बन्दै हामी त्यसको अन्त्य गर्न चाहन्छौँ ।’