काभ्रेपलान्चोक जिल्लाको बेथान्चोक गाउँपालिका पार्थलीमा स्व पिता शेरबहादुर श्रेष्ठ र माता मैयाँ श्रेष्ठको कान्छी सन्तानको रुपमा जन्म लिएर गाउँघर–पाखापखेरामा खेल्दै सिक्दै हुर्कदै जिवनका विभिन्न आरोह अबरोहहरुलाई सामना गर्दै एउटा सन्तुलिन जीवन जिउन सफल पछिल्लो समय काभ्रे जिल्लाको चेली तथा उदियमान गायिकारुपमा दर्शक श्रोताले स्विकार्नु भएको प्रतिभाशाली गायिका सिर्जना श्रेष्ठसंग पत्रकार गणेश आचार्यले गर्नुभएको कुराकानी ।
१) आफ्नो छोटो परिचय बताइदिनुस् न ?
नमस्कार म लोक गायिका सिर्जना श्रेष्ठ । जन्मस्थान काभ्रेपलान्चोक जिल्ला बेथान्चोक गाउँपालिका वडा नं.–४ पार्थली भन्ज्याङ, हाल बसोबास बनेपा–६ बुडोल ।
२) बालापन कहाँ र कसरी बित्यो?
मेरो जन्म काभ्रेको रमणीय स्थान बेथान्चोकमा भएको र बाल्यकाल उतै गाउँमै बित्यो भनौ । बाल्यकालमा विशेषत अभिभावकको गाइड लाइनमा पढाईमा नै ध्यान दिनुपर्ने भएकोले त्यो समय पढाइमा ध्यान केन्द्रित गर्थे जसको प्रतिफल कक्षामा म जहिले पनि पहिलो स्थान हासिल गर्दै कक्षा उतिर्ण हुने गर्थें । यसरी मैले १ देखि ८ सम्म सरस्वती मा.बि.मा अध्ययन गरे । अनि ९ र १० पार्बती मा.बि.बाट पास गरेको हो। त्यस पश्चात् भने उच्च शिक्षा गाउँमा नभएको कारण बनेपा आउनु पर्यो । गाउँमा हँुदापनि गीत संगीतमा रमाउने गाउने सामाजिक काममा रुचि लाग्दथ्यो। क्रमशः ११ र १२ चैतन्य क्याम्पस बनेपाबाट शिक्षा बिषयमा उतिर्ण गरे । घरको आर्थिक अवस्था खासै मजबुत नभएको कारण आफू अध्ययन गर्दै, बनेपाको आजाद स्कुलमा साना भाइ बैनीहरुलाई अध्यापन गराउँँदै निरन्तर लागें । त्यस पश्चात् उच्च शिक्षाको लागि सानो ठिमी क्याम्पस भक्तपुरमा भर्ना भइ बि एड सम्मको अध्ययन पूरा गरे । यसरी दुःख सुखको समिश्रणबाट मेरो जिन्दगी सफलताको खोजिमा अगाडि बढिरहेको छ।
३) लोकगीत संगीतको यात्रा कहिलेबाट सुरु भयो, के ले आकर्षण गर्यो?
म बालापन देखिनै लोक भाका औधी मन पराउथे, फुर्सदको समयमा गुनगुनाउने गर्थें, स्कुलमा प्रत्येक हप्ता बादबिवाद प्रतियोगिता, नृत्य, हाजिरी जबाफ, गायन लगायतका अतिरिक्त क्रियाकलाप हुन्थ्यो । एकपटक स्कुलको गायन प्रतियोगितामा म प्रथम समेत भएको थिए । त्यस्ले मलाई गाउनमा अझै उर्जा थपिदियो हौसला मिल्यो भनौ । लाग्थ्यो कि कसैको साथ सपोर्ट पाए भने म पनि साङ्गितिक क्षेत्रमा अघि बढन सक्छु । तर अपसोच गाउँको बसाइ दाई दिदिसङ्ग त्यो बिषयमा सबन्धित शिक्षा र अनुभव नभएको कारण त्यतिखेरको मनको रहर मनमा नै रह्यो । गाउँघरमा विवाह, ब्रतबन्ध, पुजाआज साथै रत्यौली हुँदा म पनि सहभागी भएर अन्य दिदी दाईहरुसङ्ग गीत गाउने गर्थे। टेलिभिजन र रेडियोबाट जब लोकगीत बजेको सुन्थें, त्यो गीत नसिदिएसम्म ध्यान लगाएर सुन्थें । कतिपय गीतहरु मन छुने हुन्थे आफ्नो जीवनसंग मेल खायो कि क्या हो भने जस्तो मार्मिक लाग्दथ्यो । साथै कल्पना गर्थे ओहो म पनि यसरी गाउन सक्ने भए भने मौलिक शब्दमा गाउँ परिवेशको गीत गाउँनेछु । समय बित्दै जाँदा दाई दिदिहरु सँगै विभिन्न सन्देशमुलक नाटकप्रस्तुति हुन्थे र त्यसमा विभिन्न भुमिकामा अभिनय गर्ने अबसर मिल्यो त्यस्ले गर्दा मेरो मानिसहरू सामु आफ्नो प्रस्तुति देखाउन धक लाग्ने लाज लाग्ने बानी बिस्तारै हराउँदै गयो । आत्मबिश्वास बढ्न थाल्यो बोल्ने बानीको बिकास भयो । यसरी सबै कुराको अनुभव बटुल्दै निरन्तरता दिदै अहिलेको यो समयमा आएर मेरो बालापन देखिको इक्छा पूरा गर्छु भन्ने उद्देश्यका साथ सांगीतिक क्षेत्रमा प्रवेश गरेको छु ।
४) अहिलेसम्म कतिवटा गीत निकाल्नु भयो?
नेपाली लोकगीत संगीतको यात्रामा पहिलो पटक प्रिती आले मगरको तीज गीतमा सहकार्य गरेर थालनी भयो, त्यसपछि शान्तीश्री परियारको र समीर आचार्यको लोक गीतमा छोटो अभिनय गर्ने अबसर मिल्यो। अहिलेसम्म चारवटा लोकदोहोरी गीत मेरो आफ्नै आवाजमा रेकर्ड भयो। सर्वप्रथम बिर्सनेको माया बोलको गीत अनि मनको पीडा मेरो आफ्नै आबाजमा रेकर्ड भएको हो । अहिले करिब दुई महिना जति भयो व्यावसायिक गीतको बजारमा अलि फरक खाले जोडा बोलको दोहोरी गीत मेरो अनि किरण गौतमको आबाजमा आएको छ । जसमा लय शब्दमा गायक किरण गौतमकै छ, उहाँ मेरो गाउँले पनि । साथै हाम्रो जिल्लाको मौलिक धर्म संस्कृित एतिहासिक पर्व १२ वर्षे मकर मेलाको लागि ‘१२ वर्षे पनौती मेला’ बोलको आध्यात्मिक लोक दोहोरी गीत भर्खरै सार्वजनिक गरेका छांै । जसको उदेश्य भनेको हामी कलाकारको तर्फबाट हाम्रो कर्तव्य र जिम्मेवारी पनि हो । आफू जन्मेको माटो र धर्मप्रति ।
५) लोकगीत संगीतमा बिकृतिहरु बढ्यो पनि भन्छ्न के के बिकृति बढेको देख्नुहुन्छ ? बिकृति रोक्नको लागि के गरिनुपर्ला ?
बिकृती के के भन्दा पनि सामान्य परिवेशमा परिवारको साथमा बसेर लोकगीत हेर्न सुन्न नसकिने अबस्था जो छ यतिबेला । लोकगीत संगीतमा भन्नूपर्दा सर्जक, लेखक र कोरियोग्राफरले निर्माणको क्रममा अलि ध्यान दिनुपर्छ। लोक संस्कृति रितिरिवाज र बोलिचालीको भाषालाई दोहोरो अर्थ लाग्ने गरी प्रयोग गरिनु हँुदैन। मौलिकता कै आधारमा गीतमा शब्द चयन र सभ्य पहिरनमै पनि म्युजिक भिडियो निर्माण गरिनुपर्दछ । जसले गर्दा लोक संगीतलाई सबै उमेर समुहको आमदर्शक श्रोताले हेर्न सुन्न र यसको महत्व बुझ्न सजिलो होला कि ?
६) लोकदोहोरी गीतलाई माथि उठाउन के गर्नुपर्ला ?
लोक दोहोरिको महत्वलाई अझै प्रभावकारी बनाउन विशेष गरी यस संग सम्बन्धित् कलाकारहरुले मिहिनत गर्दै सिर्जनात्मक लय, शब्दको सिर्जना गर्नुपर्छ । सभ्य समाज निर्माणका लोकदोहोरी मार्फत सन्देश पुर्याउन सक्नुपर्छ हामी कलाकारले । मौलिकता र संस्कृति बचाउने खालको बिषयमा अध्ययन गर्दै केही नयाँ शैलीको अभ्यास गर्दै सिर्जना हुनुपर्छ । समाजलाई गीत संगीतको माध्यमबाट केही सकारात्मक सन्देश पनि पुर्याउनु पर्छ । संगीत सबैलाई मन पर्ने बिषय भएकोले यसमा लाग्ने हरेक कलाकार आफैमा सचेत रहनुपर्छ साथै राज्यले पनि कलाकारलाई राम्रो कर्ममा पुरस्कार र गलत हुँदा दण्ड जरिवाना गराउने ब्यवस्था गर्नुपर्दछ । यसो गर्न सकेमा केही हदसम्म नेपाली लोकगीत संंगीतको मुहान् सङ्लो हुने थियो ।
७) वर्तमान परिवेशमा लोकगीत संगीतमा आबद्ध गायक, गायिका संगीतकार तथा भिडियो निर्माता एवं निर्देशकहरुको दर्शक, श्रोता र समग्र समाजका प्रति के उत्तरदायित्व रहन्छ र व्यक्तिगत रुपमा तपाईले त्यसलाई कसरी पुरा गरिरहनु भएको छ ?
सभ्य समाज निर्माण र नयाँ पुस्तामा गीत संगीतप्रति सकारात्मक भाव उत्पन्न हुने लोककला सँस्कृित समेटिएको गीत निर्माण गर्नु नै सम्पुर्ण कलाकारहरूको दायित्व हो भन्ने लाग्छ । भाइरल हुने होड्बाजीमा कलाकारहरुले आफ्नो दायित्व भुलेको पनि उदाहरण छन् । हामी सिक्दै पनि छौ र सामाजिक दायित्वलाई आत्मसात् गरेर नै १२ वर्षे पनौती मेला बोलको गीत पस्केका हौं । भर्खर सार्वजनिक यो सिर्जनालाई सबैले मन पराइदिनु भएको छ हामी सम्पुर्ण टिम खुसी छौं ।
८) यो क्षेत्रमा आउन चाहने नयाँ भाइबैनीहरुलाई के भन्नूहुन्छ ?
हुन त म पनि अहिलेसम्म नयाँ नै छु । केही सिक्दै छु, यद्यपी मेरो थोरै अनुभवको आधार भन्दा यदि आफुमा रहर छ इच्छाशक्ति छ र आफुमा कला पनि छ भने त्यसलाई अझै अध्ययन गरेर सिकेर तालिम लिएर सकारात्मक आत्मबल सहित आउनुहोला । यसो हँुदा संगीत बजार तपाइहरुको नौलो प्रतिभाले चलायमान हुनेछ । भबिष्य राम्रो हुनेछ ।
९) यहाँसम्म आइपुग्दा सञ्चार माध्यमबाट कत्तिको सहयोग पाउनु भएको छ ?
मेरो सांगीतिक यात्रामा भर्खरै लागेको भन्दा फरक नहोला । नयाँ नयाँ नै लाग्दछ आफुलाई । आफ्नै आवाजमा ४ र ५ वटा लोक गीत गाए । मेरो लागि एउटा परिचय बनाउने प्रयासकै क्रममा छु । जिल्लामा केही मिडियाको साथीहरुले समाचार लेखिदिएर सहयोग गर्नुभएको छ । त्यसको लागि आभार ब्यक्त गर्दछु । अझ आफ्नै बारेमा केही भनाइहरु मेरो सम्पुर्ण दर्शक श्रोतामाझ यसरी प्रकाशन गर्ने अबसर दिनु भएकोमा यस द अरनिको टाइम्स डटकम परिवारलाई विशेष धन्यवाद भन्न चाहन्छु ।
१०) जीवनमा कस्को प्रेरणा ज्यादा पाउनु भयो? को जस्तो बन्ने लक्ष्य छ?
लोक सङ्गितमा सानैदेखि रुचि राख्ने ब्यक्ति म । अग्रज कलाकारहरुको काठे भाकाहरुमा गाउँ घरमा दाइ दिदिहरुले गाएको हेर्दै सिक्दै गाउने क्रममा मेरो आफ्नो परिवार र साथीहरुबाट हौसला र प्रेरणा मिलेको हो । मलाई आम दर्शक श्रोतामाझ कुनैदिन मेरो प्रयासले मेरो पनि आफ्नै लोक गायिकाको परिचय बन्नेछ भन्नेमा अगाडि बढ्दैछु हेरांै कति गर्न सकिन्छ ।
११) अन्त्यमा ?
सर्वप्रथम हाम्रो काभ्रे जिल्लाको उहीं पुरानो लोकप्रिय पत्रिका अरनिको साप्ताहिक थप नयाँ परिमार्जन सहित अनलाइनको माध्यममा पुनः प्रकाशन भएकोमा हार्दिक बधाई तथा शुभकामना भन्न चाहन्छु । र हामी कलाकारको लागि यो स्थान उपलब्ध गराइदिनु भएकोमा नमन गर्दछु । मेरो सांगीतिक प्रस्तुतीहरु हेर्नु हुने र सुन्नुहुने सम्पुर्ण श्रोता दर्शक साथै यस अनलाइनका सम्पुर्ण पाठक वर्गहरुमा पनि मेरो न्यानो सम्झना भन्न चाहें । तपाईहरुको मायाले हौशलाले गर्दा नै मैले सांगीतिक यात्रालाई निरन्तरता दिदै आउन सफल भएको छु आशा छ आगामी दिनहरु पनि पहिलाको जस्तै उस्तै माया साथ र सहयोगको अपेक्षा राख्दछु । नेपाली लोकगीत सङ्गीतलाई माया गरौं काभ्रेको कलाकारितामा केही नयाँ गर्ने प्रयासमा हामी छौ, तपाईंहरुको बिचार सल्लाह सुझाबलाई मध्यनजर गरेर आगामी यात्रा हुनेछ । धन्यवाद ।