काभ्रेपलाञ्चोक/जिल्ला ट्राफिक प्रहरी कार्यालय, बनेपा, काभ्रेपलान्चोकले ट्राफिक व्यवस्थापनकाे समस्या तथा जनगुनासाे सम्बाेधन गर्नका निम्ति बुधबारबाट हटलाईन नम्बर १०३ सञ्चालनमा ल्याएकाे छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा काभ्रेकाे अनुगमन निरीक्षणका क्रममा काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले हटलाईन नम्बर १०३ मा प्राप्त फाेन उठाएर याे सेवाकाे शुभारम्भ गर्नु भएकाे हाे । साे अवसरमा प्रमुख जिल्ला अधिकारी ढकालले आम नागरिकले ट्राफिक व्यवस्थापन सम्बन्धी सूचना सुनिश्चित गर्न यस किसिमकाे सेवाले टेवा पुर्याउने बताउनु भयाे ।
साथै आम सर्वसाधारणले आफूलाई परेकाे ट्राफिक समस्या जस्तै; बाटाेकाे अवस्थाकाे जानकारी, सवारी साधनमा माल सामान छुटेकाे, बढी भाडा लिएकाे, गन्तव्यमा जान नमानेकाे लगायतको बिषयमा तुरुन्त गुनासो राख्न सक्ने र ट्राफिक प्रहरीका तर्फबाट सर्बसाधारणले राखेका त्यस्ता गुनासोका सन्दर्भमा तत्काल समस्या समाधानका लागि पहलकदमी लिनुपर्ने बताउनु भयाे ।
साेही अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धारा खड्काले अबकाे समय भनेकाे सूचना र प्रविधिकाे समय भएकाेले साेही अनुरुप प्रहरी सेवा पनि प्रवाह गर्नुपर्ने र त्यसकाे लागि याे एउटा महत्वपूर्ण पहल भएकाे बताउनु भयाे । सबैकाे हात हातमा माेवाइल पुगेकाे अवस्थामा पनि आफूलाई परेकाे ट्राफिक समस्या समयमानै जानकारी गराउन नसकिने अवस्था रहेकोमा आजबाट सञ्चालनमा आएकाे ट्राफिक हटलाईन नम्बरले त्यस्ता समस्या तथा गुनासाेकाे तत्काल निरुपण हुने कुरा बताउनु भयाे । त्यस्तै ट्राफिकसँग सम्बन्धित निबेदन, बिबिध जानकारीहरू क्युआर काेड मार्फत पनि उपलब्ध गराउने तर्फ पहल गर्न समेत ट्राफिक प्रहरीलाई निर्देशन दिनुभयाे ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा काभ्रेका प्रमुख प्रहरी निरीक्षक बिकास कुमार तामाङले जुनसुकै दुरसँचार सेवा प्रदायककाे नेटवर्कबाट फाेन गर्न सकिने जानकारी दिनु भयाे । २४ सै घण्टा खुला रहने र यसमा फाेन गर्दा सेवाग्राहीकाे कुनै शुल्क नलाग्ने एबं सेवाग्राहीबाट प्राप्त गुनासाहरूकाे शिघ्र समाधान गर्दै प्रहरी सेवालाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउन मद्दत पुग्ने बताउनु भयाे ।
बागमती प्रदेश अन्तर्गत जिल्लाहरु मध्ये जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले प्रथम जिल्लाको रुपमा उक्त सेवा सुरुवात गरेको छ ।