काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी जनयुद्धमा ज्यान गुमाउनेहरुको खुलेआम अपमान हुँदा पनि कार्यकर्ताहरु टुलुटुले हेरिरहेको भन्दै असन्तुष्टि जनाउनु भएकाे छ ।
शनिबार शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा सशस्त्र जनयुद्धमा ज्यान गुमाउनेको अपमान गर्नेहरुको पार्टी कार्यकर्ताले प्रतिवाद गर्न नसकेको भन्दै उनले टिप्पणी गरेका हुन् । सशस्त्र युद्धमा माओवादीबाट १७ हजार मानिस मारिएका भन्ने भाष्य बनाउन खोजिएको भन्दै सशस्त्र युद्धको नेतृत्वकर्ता र माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल प्रचण्डले यो झुटो भएको बताए ।
‘१७ हजार प्लस दुई भनेर केही व्यक्ति ब्यानर बोकेर उभिएको हुन्छ, तर तपाईं हामीलाई प्रतिवाद गर्ने जाँगर पनि छैन, न लेख्ने न बोल्ने’, दाहालले भने, ‘हिजो भए हामी सहन्थ्यौं त, के गर्थ्यौं, हामीले कस्तो प्रतिवाद गर्थ्यौं, कसरी गर्थ्यौं ?’
केही समय अघि ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दुई युवक मृत्यु भएको भोलिपल्ट राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको विरोध प्रदर्शनमा सांसद डा. तोसिमा कार्कीले १७ हजार प्लस दुई लेखिएको ब्यानर बोकेकी थिइन् ।
माओवादी जनयुद्धमा ज्यान गुमाएकाहरुलाई सरकारले शहीद घोषणा गरिसकेको भन्दै प्रधानमन्त्री दाहाल प्रचण्डले ले उनीहरुलाई अपमान गर्दा प्रतिरोध गर्न केले रोक्यो भन्दै कार्यकर्तालाई प्रश्न गरे ।
उनले माओवादी जनयुद्धका शहीदहरुको सम्मानमा देशभरि कार्यक्रम राख्न पनि कार्यकर्तालाई निर्देशन दिए । ‘ती महान् शहीद हुन्, ती हत्यारा होइनन् भनेर देशभर कार्यक्रम राख्न हामीलाई के ले रोक्छ ?’ उनले प्रश्न गरे, ‘वडा–वडा, पालिका–पालिका, जिल्ला–जिल्ला, प्रदेश–प्रदेशमा राष्ट्रिय शहीद सम्मान कार्यक्रम राख्न हामीले किन ढिला गरिरहेका छौं ?’
माओवादी जनयुद्धमा ज्यान गुमाएकाहरुलाई शहीद घोषणा गरेर राज्यले आफ्नो काम गरेको भन्दै प्रचण्डले भने, ‘हाम्रा शहीदलाई अरुले सम्मान गरिदिउन् भनेर पर्खेर बस्ने होइन, हाम्रा शहीदलाई हामीले सम्मान गर्नुपर्यो नि ।’
प्रधानमन्त्री दाहालले सरकारले थप ३ हजार जनालाई शहीद घोषणा गरेको र उनीहरुको नाम छिटै राजपत्रमा प्रकाशित गरिन लागेको बताए ।
‘म तपाईंहरुलाई जानकारी गराउन चाहन्छु झन्डै ३ हजार छुट भएकाको शहीद घोषणा चाहिँ फेरि क्याबिनेटबाट निर्णय भइसकेको छ । गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ । र अब त्यो राजपत्रमा प्रकाशित गर्नका लागि अगाडि बढिसकेको छ’ उनले भने ।
सोही अवसरमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दाहालले पार्टीको नेतृत्वमा नयाँ पुस्ता आउने काम अझै बाँकी रहेको र उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि आफूले वातावरण बनाइदिने आश्वासन समेत दिए । उनले समान विचार भएका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध हुन पनि आह्वान गरे ।
उनले भने,‘मलाइ के लाग्छ भने अझै पनि जिम्मेवारी यही नेतृत्वको बाँकी छ भन्ने मेरो ठहर छ । मैले अहिले रातारात अर्को नेता युवाहरु आइहाल्छन् । उनीहरुले सबैलाई लगी हाल्छन् भन्ने स्थिति अझै तयार भइहालेको छैन । हाम्रो काम हो–त्यस्तो वातावरण बनाइदिनु । हामीले एकताको प्रक्रियाद्वारा, एकताको तागतद्वारा नयाँ पुस्तालाई फेरि नेतृत्वको निम्ति तयार पार्ने वातावरण बनाइदिने जिम्मेवारी हाम्रो हो । हामी त्यो जिम्मेवारीप्रति अहिले गम्भीर छौँ ।’