प्रत्येक पाँच–पाँच वर्षमा आउने निर्वाचनमा मतदाताको उल्लेखनीय सहभागिता रहन्छ । मतदान गर्दा मतदाताले बिहान ७ बजेदेखि लाइनमा बसेर भोकभोकै पानी समेत नखाएर नेता तथा उम्मेदवारलाई निर्वाचित गराउन आफ्नो अमुल्य मतदान गरेर नेता चयन गरी कुर्सीमा विराजमान गराएको इतिहास प्रत्येक निर्वाचनको मितिमा सम्झना आउने रहेछ । स्थानीय प्रदेश तथा संघीय निर्वाचनमा जनताको त्याग तपस्याबाट सतामा पुगेका जनप्रतिनिधिहरुलाई धेरै हेरियो । पञ्चायत कालमा निर्वाचित पन्च, प्रधान पन्च, जिल्ला पञ्चायत सदस्य, सभावपति, उप–सभापति, राष्ट्रिय पञ्चायतका सदस्य देखि २०४६ को आन्दोलन पछि प्राप्त लोकतन्त्रपछि उम्रेका दलधारी नेपाली काँग्रेस, एमाले लगायत २०५२ साल फागुन १ गते देखि जनयुद्दको संखनाद गर्ने माओवादी र २०६२।०६३ मा राजतन्त्रको अन्तपछि प्राप्त संघीय गणतन्त्रको एउटा दरिलो विकास नेपाली जनमानसमा ल्याउने ठुलो आशा नेपाली नागरीकले राखेका थिए र जनताको इच्छा भनेको जनतामा आधारित जनताको व्यवस्था हो, जनताको व्यवस्था राम्रो होस्, रोजगार, स्वास्थ्य, विकास, शिक्षामा राज्यको लगानी आशालाग्दो बनोस् भन्ने नै हुन्छ तर निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु जनताप्रति कतिको इमान्दार छन् र बफदार छन् भनी मापन गर्ने हो भने त्यसको सकारात्मक परिणाम आजसम्म आउन सकेको छैन ।
हिजो राजतन्त्रमा निरंकुश शासनमा पिल्सिएका जनता, राज्यद्रोह, राष्ट्रदोहको मुद्दा बोकेर हिड्दा जति इमान्दार देखिन्थें नेताहरु आज छैनन् । पञ्चायती व्यवस्थाको विकल्प बहुदलीय व्यवस्थामा दलहरु च्याउ उम्रे झै नउम्रेको होइन । दलका नीति, सिद्दान्त, कार्यक्रम व्यवहार जनता रिझाउने भन्दा पनि पार्टीमा असल कार्यकर्तालाई झोले बनाएर पार्टी चलाउने प्रवृत्तिले घातक मिसाइल निर्माण गरी आजका पार्टीका कार्यकर्ताको दिमागमा घोलिएको छ । हामीले गणतन्त्रमा यस्तो अवस्थाको परिकल्पना गरेका थिएनौ । नेताहरु जनता मैत्री हुन्छ भन्ने थियोे तर कार्यकर्ता मैत्री, भष्ट्राचारमैत्री बनि दिएका कारण आजको कहाली लाग्दो वातावरण भोग्न हामी विवश छौं । आज देशलाई यो अवस्थामा पु¥याउने गलत नेतालाई चुनावमा उठाएर विजयी गराउने उम्मेदवार बन्न पार्टीका हेडक्वाटरमा दाम चढाउने, चुनावमा रकम खर्च गरेर जसरी पनि चुनाव आफ्नो पोल्टामा पार्ने अनि जनता मतदातासँग खाएको कसमलाई त्रिशुली नदीमा लगेर ओम स्वाहा गर्ने अपराधी जनतामारा जनताको दुश्मनलाई नेता बनाएपछि हामीले के आशा गर्ने ? जनताले सन्तोषको सास फेर्न लायक कुनै ठाउँ छ र ? आज देशमा नेताहरुको बदमासीले सिमा नाघ्दा पनि किन बोल्दैन विज्ञ वग ? किन बोल्दैन शिक्षक ? किन बोल्दैन डाक्टर र वकिल किन बोल्दैन ? पत्रकार किन चुपचाप छ ? देशका मानवअधिकारकर्मीहरु कुन दुलोमा तमासा हेरेर बसेका छन् ? युवा वर्ग किन मुकदर्शक बनेको छ ? जवाफ छैन, किनभने आज यो देशमा ब्रम्हलुट नभएको कुनै ठाउँ छैन । मिडियाको नाममा राष्ट्रका दलालहरु दलाली गर्दै अन्तराष्ट्रिय विदेशी दलालहरुको विज्ञप्ती लगायत देशको सार्वभौमिकतामा दख्खल दिने गरी देशलाई गिद्देनजर लगाएको अवस्थामा हामी किन चुपचाप छौं ? प्रश्न अनुतरित छ ।
हामी मतदातालाई राजनैतीक चेतना भएको भए पटक–पटक भष्ट्रचारी पार्टीलाई सत्तामा पु¥याएर देशलाई बर्बाद पार्ने थिएनौं । पटक÷पटक पार्टीको नाममा भोट दिएर जो जस्तो उम्मेदवार बनेपनी कालो चस्मा लगाएर आफ्नो विवेक प्रयोग नगरी अन्धभक्त भएर तिनै पार्टी तीनै नेतालाई पटक– पटक सत्तामा पु¥याएपछिको नेपालको अवस्था कस्तो छ यही हो हाम्रो परिवर्तन ? यहि हो हाम्रो गणतन्त्रको उपलब्धी ? हामी जनता मुर्ख भएसम्म यो देशमा जनताको सरकार, जनताको सत्ता, जनताको शासन आउने परिकल्पना गर्नु बेकार साबित हुनेछ । आज स्थानीय सरकार आफ्नै पार्टीको मात्र सरकार भएको छ, जनताको सरकार भएको छैन । आप्mनै कार्यकर्ताको सरकार भएको छ । विपक्र्षी पार्टीको कुनै राय सल्लाहमा काम गर्न रुचाउँदैन सरकार । अवैध नीतिगत भष्ट्रचार गरेर सम्पत्ति जोड्ने अभियानमा झोलेहरुको सञ्जाल बनाउन लालायित छ वर्तमान सरकार । प्रदेशको नाममा बनेको साँसदले आफ्नो प्रदेशको स्वरुप कति परिवर्तन गरे ? जनताले पत्याउने काम गरे कि गरेनन् ? सरकार ढाल्ने, बनाउने गठबन्धनको नाममा अपवित्र साँठगाँठले गर्दा कुर्सी मोह मात्र देखिन्छ भने केन्द्रमा समेत साँसदको गतिविधी हिजो प्रजातन्त्रको ठेकेदार बताउने पार्टीका सांसदहरु देउसी र भैलो भट्टयाउने थलो जस्तो हेर्न लायक छ संसद भवन । यो कसले गर्दा भएको हो ? यो अवस्थामा गलत पात्रलाई गलत काम गर्न, भष्ट्राचार गर्न, देश लुट्न औंठा छाप लगाउने हामी चेतनाको स्तर नभएका मतादाताको कारणले सिर्जना भएको हो । हामीमा राजनीतिक चेतना कहिले आउने ?
सत्तामा गएका पार्टीका नेताहरुको ठगी प्रकरण, देशका संवैधानिक अंग, न्यायलय, प्रशासन, व्यापार व्यवसाय, रोजगराको अवस्था कस्तो छ ? यो देशलाई सही दिशा निर्देश गर्न सही राजनीतिक चेतना भएका नेता र राजनीतिक चेतना भएका मतदाताहरु जन्मनु जरुरी छ । पार्टीले र नेताले जति गल्ती गरेपनि रामदास हनुमान प्रवृत्तिमा परिवर्तन नआएसम्म देशले गणतन्त्रमा विकासको प्रगति गर्न सक्दैन देशमा गरीबलाई र धनीलाई बराबर कानून लाग्नुपर्ने हो कोही पक्राउ पर्दा किन बिचैमा छुट्छ ? गरीब पक्राउ पर्दा किन पुरै अवधि हिरासतमा राखेर अनुसन्धान गरिन्छ ? प्रमाणबिना किन जेल जान्छन् गरीबका छोराछोरी ? अपराध बन्न त अपराध कार्य गरेको हुुनुपर्छ तर अपराध ग¥यो भनी उजुरी परेपछि चिसो जेलको सजाय गर्दा कतिको घरबास उठेको छ ? बाल बच्चाको भविष्यमा कति असर परेको छ ? यो कसैलाई चासो छैन । आमा बुबा विना बालबालिकाको भविष्य निर्माण गर्ने दायित्व राज्यको हो भनिन्छ तर राज्य कति गम्भिर छ त भन्ने प्रश्नको उत्तर दिन सके हैसियत कोही राख्न चाहदैनन् । देश बनाउने काम भ्रष्ट नेताबाट आशा गरेर पटक –पटक निर्वाचनमा विजयी गराउँदै जाने हामी चेतनाहीन मतदाताको कारण नेपाल थला परिसकेको छ । देशलाई धरधरी रुवाउने काम हामी मतदाताबाट नै भएको छ । मतदातालाई सही राजनीतिक प्रशिक्षण भएन भने निर्वाचित नेतालाई भष्ट्र बनाउने र देशलाई हरिकंगाल बनाउने काम बन्द हुने छैन । आज यो देशमा जताततै हाहाकार, अन्याय, अत्याचार, कसैले कसैलाई नटेर्ने, अराजक, मनोवृत्ति खराब, पदीय दायित्व र कर्तव्र्यप्रति विचलित जनताबाट भएपछि पैसा कमाउने परीपाटीमा लाग्ने नेता, कार्यकर्ता, कर्मचारीतन्त्र, मन्त्री लगायत विभिन्न पदमा आसिन महामहिमहरुले गर्दा देश बिक्री भइसकेको अवस्था छ । निर्वाचनमा अकुत सम्पत्ति खर्च गर्ने, चुनाव जित्ने, भष्ट्राचार गर्ने गराउने लाइसेन्स दिए जनताले । भष्ट्रचारी नेता र पार्टीलाई विजयी गराउने अभियान अब बन्द गर्नुपर्दछ । निर्वाचनमा निर्वाचित भएर आएपछि कुनै सेवा सुविधा नलिने, सबै पार्टीका नेतासँग बसेर योजना बनाउने र बजेट पारदर्शी खर्च गर्ने प्रतिबद्धता सहितको नेतालाई चुन्न पाउने गरी निर्वाचन हुने हो भने भष्ट्र नेताहरु चुनावदेखि तर्सन्छन् । उसले चुनावमा भाग लिन सक्दैन र आँट पनि गर्दैन । निर्वाचन राम्रो पार्न, जनताको पक्षमा काम गर्ने इमान्दार नेता छान्न अब प्रत्येक जिल्लालाई एक निर्वाचन क्षेत्र बनाई प्रत्येक प्रदेशबाट जिल्ला जिल्लाको एक÷एक जना प्रतिनिधि चुन्ने व्यवस्था ग¥यो भने देशले आर्थिक भार व्यहोर्नुपर्ने थिएन र देश दोहन हुनबाट जोगिन सक्थ्यो कि ?
अब मतदाता सचेत बनेर विगतका भष्ट्र नेता र भष्ट्र पार्टीमा कुहिएका फर्सीलाई काँधमा बोकर निर्वाचित गराउने होइन, नेपाली जनताको हित गर्ने शक्तिको रुपमा पार्टीका नेतालाई खोज्नु र निर्वाचित बनाउनु जरुरी छ । नेपाली जनतालाई स्वदेशमा नै रोजगारी सिर्जना गराउन सक्ने नेपाली विशेषताको समाजवाद बाट मात्र नेपालीको हित हुने हुँदा अबको निर्वाचनमा गलत पार्टीका गलत नेतालाई मतदान गर्नबाट हामी सचेत मतदाता सचेत नबन्ने हो भने यो देश विदेशी दलाल र स्वदेशी दलाल पूँजीपति वर्गले मालिकलाई सुम्पदैनन् भन्न सकिन्न । आजको युग सचेत युवा वर्गहरुको युग हो । अबको निर्वाचनमा हामी मतदाताहरु सचेत बन्दै राजनीतिक चेतना कम भएका हाम्रा मतदाताहरुलाई देश बनाउने उम्मेदवारको छनोट गरी निर्वाचित गराउनु पर्दछ भन्ने एउटै आवाज आउनुपर्दछ । गलत मतदान बाट गलत अपराधी नेता चुन्नु हुदैन र चुनिनु पनि हुँदैन । यो देशलाई दुर्दशाबाट पार लगाउन अबको निर्वाचनमा देशलाई उत्पादनमा लगाउने आत्मनिर्भर बन्ने स्वदेशमा नै रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीको नाममा हामी नेपाली आमाका छोराछोरीलाई विदेशीको दास बनाउन पठाउनुहुन्न भन्ने मानसिकताका साथ नेपाललाई रोजगारीको हब बनाई देशलाई प्रगति तर्फ उन्मुख गराउने पार्टीका नेताहरु छनोट गरी तीनैलाई निर्वाचित गराएर देशमा सम्वृद्धि ल्याउन अपरीहार्य आवश्यकता भइसकेको हुँदा त्यसको लागि हामी मतदाताहरु आजैबाट सचेत बन्नु अत्यन्त जरुरी भइसकेको छ ।
दीपक शर्मा जंगम