‘जनतासंग माओवादी : विशेष रुपान्तरण अभियान’ सञ्चालनको क्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य उमा कपाली काभ्रेपलाञ्चोकको पनौती नगपालिकामा खटिनुभएको छ । पार्टीले अभियानमा फरक भूगोलमा गएर तीन महिनासम्म काम गर्न जिम्मा दिएपछि उहाँ पनौती नगरपालिकाको अभियानमा जोडिनु भएको हो । अभियान सञ्चालनको क्रममा पनौती नगरपालिका कमिटीको अवस्था कस्तो पाउनुभयो, समस्या चुनौती र सम्भावनाको विषयमा जनप्रतिरोध साप्ताहिकले गरेको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ ।
० अभियानको एजेण्डा के हो ?
– माओवादी पार्टी अधिकारबाट बञ्चित भएका नागरिकको पक्षमा लड्ने पार्टी हो । जसले नागरिकलाई अधिकार सम्पन्न बनाउनकै लागि जनयुद्ध लडेर यहाँसम्म आयौं । हिजोदे्खि उठाउँदै आएका कतिपय एजेण्डा पूरा भयो, कतिपय पूरा गर्न नै बाँकी छ । बाँकीलाई पूरा गर्न माओवादी पार्टी निरन्तर रुपमा लडिरहेको छ । तर पार्टीभित्रको समस्या भनेको पार्टीले लडेर प्राप्त गरेको उपलब्धीलाई जनतामाझ लगेर जान नसक्नु नै मुख्य समस्याको रुपमा लिएर त्यसलाई बुझाउनको लागि नै यो अभियान सञ्चालन गरेको हो । यही बीचमा हामीले हिजो गरेका कामहरु र आगामी दिनमा गर्नुपर्ने कामहरु यो हो भनेर बुझाउनकै लागि हामी लागिरहेका छौ. ।
० अभियानको क्रममा अहिलेसम्ममा के के गर्नुभयो ?
– पहिलो काम भूगोलमा गएर पार्टी कमिटीको बैठक, छलफल र उपलब्धीको रक्षा र समस्याको पहिचान गर्ने काम गरेका छौं । त्यससंगै पार्टीभित्रको आन्तरिक समस्यालाई पनि हल गर्नुपर्ने देखिएको कारण त्यसलाई व्यवस्थित गर्दै अगाडी बढ्ने क्रममा छौं ।
० यो अभियानले कार्यकर्ता र जनतामा कतिको उत्साह पाउनु भएको छ ?
– नेता, कार्यकर्तामा र माओवादीसंग आशा गरेका नागरिकहरु यो अभियानबाट केही नतिजा आउँछ कि भन्ने आशा र उत्साहमा छन् भन्ने उहाँहरुको सहभागिताले देखाउँछ । अहिले पनि जनतामा माओवादी आउँछन् र केही गर्छन् भन्ने अपेक्षा छ । कांग्रेस र एमालेले केही गरेन भन्ने कुनै गुनासो नै छैन, किनभने उनीहरुबाट केही अपेक्षा हिजो पनि गरेका थिएनन्, भोलि पनि देखिदैन तर माओवादीको १६ गतेको उद्घाटन विभिन्न कार्यक्रम गरेर सुरुवात ग¥र्यौ, सो कार्यक्रमहरुमा जनताको उत्साहपूर्ण सहभागिता पायौं, जसमा उहाँले माओवादी पार्टीले गरेको काममा आफ्नो जिज्ञासाहरु समेत राखेका थिए । जनता हामीसंग अन्तक्र्रिया गर्न चाहन्छन्, जसले माओवादीलाई खुशि दिलाएको छ ।
० निराशा पनि त होला नि ?
– पकैपनि पार्टीभित्रको समस्या, चुनौती र त्यसको सही व्यवस्थापन नेतृत्वबाट नहुँदा तल्लो तहका नेता कार्यकर्ताहरुमा निराशा हुनु नौलो होईन । तर हामीसंग निराशामात्रै नभई त्यसलाई आशा र सपनालाई विपनामा बदल्ने हैसियत र सम्भावनाहरुलाई पनि उतिकै बोकेर अगाडी बढेको पार्टी भएको कारण हामीले धेरै सम्भावनाका ढोकाहरु खोल्ने आँट बटुलेका छौं । सामाजिक हिसाबले समाजका लागि केही गर्ने ईच्छा उहाँहरुसंग गरेको घेटघाट र अन्तक्र्रियामा हामीले प्राप्त गरेका छौं । त्यसमा कतिपय पार्टी नेतृत्वसंग भन्दा पनि जनप्रतिनिधिहरुसंग रहेको पाएको छु । जसलाई नागरिकको हिसाबले राखेको विकास निर्माणको मागमा ध्यान नदिदा पनि वितृष्णा जागेको र त्यसले राजनीतिक रुपमा पनि प्रभाव पारेको देखेको छु । जसलाई स्थानीयस्तरमा भन्दापनि प्रदेश र संघ सरकारको तर्फबाट थोरै पहलकदमी लिदाखेरी नै हल हुने खालका पनि देखेका छौं । त्यसको लागि हाम्रो तर्फबाट गर्नुपर्ने पहलका लागि हामीले सोच बनाएका पनि छौं ।
० पार्टीको नेतृत्वले नै सरकारको पनि नेतृत्व गरिरहेको छ । त्यसका राम्रो पक्षलाई जनतामाझ कसरी लैजाँदै हुनुुहुन्छ ?
– पार्टीले कस्तो नीति ल्यायो भन्ने जिज्ञासासंगै सरकारले कस्तो खालको काम गरिरहेको छ र कस्तो नीतिका साथ नागरिकको हितमा काम गरिरहेको छ भनेर चासो, चिन्तन र सुझाव दिईरहेको छ भन्ने कुरा मुख्य रहन्छ । त्यसमा पछिल्लो समयमा नागरिक र राष्ट्रको पक्षमा संघ सरकारले भ्रष्टाचार र सुशासनको पक्षमा गरिरहेको राम्रो कामको प्रभाव नागरिकमाझ पु¥याउने दायित्व पार्टीको हो । जसलाई छिटो पु¥याउन नसक्दा भ्रममा परेको जस्तो भान भईरहेको छ । त्यसलाई छिटोभन्दा छिटो नागरिकमाझ लैजाने काम अभियानसंगै भईरहेको छ । अध्ययनशिल जनसमुदाय र सामाजिक संञ्जालसंगै सञ्चारमा पहुँच र चासो भएका जनसमुदायमाझ सन्देश पुगेपनि आधारभूत जनतासम्म यो सन्देश पुगेको छैन । यसलाई लिएर हामी जनतामाझ गईरहेका छौं ।
हिजोका दिनमा अधिकार र अवसरबाट बञ्चित रहेको ग्रामीण जनसमुदायलाई सुसुचित गराउने अयिभानजस्तै आज पनि सरकारको नेतृत्व गरेर आम नागरिक र राष्ट्रको पक्षमा गरिरहेको कामको सकारात्मक प्रभावलाई हामीले जनतामा माझ लैजानुको विकल्प छैन ।
० माओवादी पार्टी जनतासंगको सम्बन्धबाट टाढिदै जानुको कारण के पाउनुभयो ?
– जसले जनताको पक्षमा लामो समयसम्म लडाई लडेर व्यवस्था स्थापित ग¥यो, उ संग नै आज जनता टाढिदै गएको जस्तो देखिरहेको छ । यसो हुनुको कारण हिजो जनतासंग गरेको बाचा र उहाँहरुसंगको सम्बन्धलाई निरन्तरता दिन नसक्नु प्रमुख कारण हो भन्ने पाएको छ । यसको मुख्य कारण नै हामीले गरेका राम्रो कामको सन्देश जनतामाझ लैजानै सकेनौं । त्यसको कारण अब हामीले खोजिरहेका छौं । यो अयिभानले त्यसको उचित जवाफसंगै सधैं जनतासंग रहने प्रतिबद्धतासमेत जनाउनेछ ।
माओवादीले नै लडेर ल्याएको अधिकार सरकारी कामकाजी भाषामा तामाङ र नेवारी मातृभाषालाई बागमती प्रदेश सरकारले लागु गर्दैछ । त्यसको विधेयक तयार गरेर पेश गरिसकेको अवस्थामा छ । जसलाई छिट्टै लागु गर्दैपनि छौं । हामीले हिजो जनयुद्धको वेलामा उठाएको मुद्धाहरुलाई बिस्तारै व्यवहारमा लागु गर्ने काममा सरकारको तर्फबाट भूमिका पनि खेल्दैछौं ।
० यस्ता कुरा गरिरहँदा हिजो जनयुद्ध लडेका एकथरी साथी खाडी मुलुकमा पसिना बगाईरहेको छ, अर्कोथरी साथीहरु सुविधा सम्पन्न तहमा पनि पुगेका छन् । तर आधारभूत वर्गका जनता उही अपस्थामा छन् नि होईन ?
– यो जटिल विषय हो । अब त्यसको पूरै सुधार गर्न सकिने अवस्था होला नहोला, त्यो आफ्नै ठाउँमा छ । कम्तिमा पनि देखिएको समस्याको उजागार यो अभियानबाट हुन्छ भन्नेमा हामी आशावादी छौं ।
० हामी समृद्ध राष्ट्र, अधिकारसम्म नागरिकको कुरा गरिरहँदा दैनिक युवा जनशक्ति बाहिरिरहेका छन्, यस विषयमा राज्य र सरकारले के गर्नुपर्ला ?
– त्यो विषयमा सरकारले नै योजना बनाउनुपर्छ । राज्यले स्वदेशमा नै रोजगारको सिर्जना गर्न नसक्दाखेरीको परिणाम हो त्यो । जसको लागि राज्यले नै सम्बोधन गर्नुको विकल्प छैन । राजनीतिक पार्टीले त राज्यलाई आवश्यक सहयोग र सहजीकरण गर्ने हो । त्यससँगै आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने चेतना विद्यालयस्तरबाट नै दिन सक्योभने केही हदसम्म कम गर्न भने सकिन्छ । विद्यालय तहदेखि नै त्यसखाले प्रशिक्षण र व्यवहारिक शिक्षा दिन नसक्दाखेरी सबैलाई ठुलो अवसर चाहेको छ, ठुला मुलुकका शहरहरुमा जाने इच्छा आकांक्षा पैदा गराईदिएको छ । विश्व भूमण्डलीकृत विश्वको प्रभावले यस्तो भएको पनि हुनसक्छ । यही रोजगारको अवसर हुँदाहुँदै पनि कतिपयको त त्यहाँ जाने जानै पर्ने अवस्था पनि देखिन्छ । जसमा कतिपयमा रहर र कति बाध्यता पनि मिसिएको हुन्छ । त्यसको लागि कुनै एउटा पार्टीले भन्दा पनि राज्यले जिम्मा लिनुपर्छ ।
० पार्टीभित्र पनि कतिपय अन्तरविरोध र समस्या पनि छन्, त्यसलाई कसरी हल गर्दै हुनुहुन्छ ?
– हामी पहिलो चरणमा पार्टी र नेता कार्यकर्ताको भन्दा पनि जनताको समस्यालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । त्यसपछि पार्टीभित्रका समस्या, नेता कार्यकर्ताको बीचको सम्बन्ध र समन्वयको अवस्थाको बारेमा बुझेर समस्या समाधानको काममा लागिरहेका छौं । जसको लागि ामीले दैनिक रुमपा छलफल अन्तक्र्रिया, भेला र नयाँ कार्ययोजनाहरु बनाएर कसरी काम गर्ने र अगडाी बढ्ने भन्ने विषयमा केन्द्रित भएर काम गरिरहेका छौं । पनौती कृषिको क्षेत्रमा अगाडी रहेको कारण यहाँका जनताको समस्या मलको र त्यसपछि मात्रै विकास निर्माणको हो भन्ने कुझेको छु । जसको पालिकास्तरमा छलफल गरिरहेका छौं, समाधानको लागि प्रदेश सरकारमा रहेका जनप्रनिधिहरुसंग समन्वय गरेर समस्या समाधानको लागि पनि पहल गरिरहेका छौं ।
० भर्खरै तिज पर्व संपन्न भएको छ, पहिला पहिला त्यसलाई परिवर्तनको अवसरको रुपमा लिइन्थ्यो, आज पार्टीकै नेताहरु बुर्जुवा गीतमा रमाईरहेको पनि भेटियो नि किन होला ?
– जनताले गरेको रमाईलो मनेरञ्जनलाई सहिष्णुताको रुपमा लिने र त्यहीबाट हाम्रो विचार पनि संप्रेषण गर्दै संगठन बनाउन सकिने आधारहरु पनि रहेकोले त्यसै अनुसार मनाउन सकियो भने राम्रो नै हुन्छ भन्ने लाग्छ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले मनाएको तीज तडकभडकलाई रोकेर आम महिला दिदी बहिनीहरुको बीचमा आपसी सद्भावका साथ मनाएका छौं । जसबाट कतिपय गलत संस्कारको निरुत्साहित गर्ने र राम्रो कुराको मात्रै विकास गर्दै अगाडी बढ्न सकिन्छ भन्ने लाग्छ ।
० अन्तमा यहाँको केही भन्नु ?
– अहिले हामी पार्टीले सञ्चालन गरेको विशेष अभियानमा जोडिएका छौं । यसक्रममा पार्टीले सरकारमा रहेर जतिपनि राम्रो कामहरु गरेका छन्, त्यसलाई जनतासम्म पु¥याउन र पार्टीले बनाएको समाजवादसम्म पुग्ने रणनीतिको खाकालाई कार्यान्वयन गर्दै सबैको सल्लाह र सुझाव लिएर अगाडी बढ्ने भन्ने योजनाका साथ हामी लागिरहेका छौं । यो अभियान सकिएपछि मंसिरमा पार्टीको विधान सम्मेलन पनि हुँदैछ, र त्यसबाट अझ पार्टी कसरी अगाडि बढ्ने भन्ने दिशानिर्देश पनि गर्ने भएकाले यहाँका समुदायसंग हामीले जे प्रतिबद्धता जनाएका छौं, त्यसको बारेमा छलफल बहस गर्दै उहाँहरुले दिनुभएको सुझावलाई लिएर जाने र प्रतिवेदन तयार गर्दै पार्टीलाई बुझाउने छौं । यस क्रममा सहयोग पु¥याउन र सिंगो पार्टीको योजनालाई सही दिशानिर्देश गर्ने योजनामा लामबद्ध भएर अगाडी बढ्नको लागि सबैमा अपिल गर्न चाहन्छु ।