-चेत बहादुर लामा
बिषय प्रवेश:
आशाको दियो र निर्वाचनको हुरी
नेपालको समकालीन राजनीतिमा २०८२ सालको प्रतिनिधिसभा निर्वाचन एउटा यस्तो मोड बन्यो, जसले परम्परागत शक्तिको जग हल्लाइदियो तर नयाँ शक्तिलाई पनि सोचेजस्तो सहज मार्ग प्रशस्त गरेन। जनतामा पुराना दलहरूप्रति व्याप्त चरम असन्तुष्टि र "नयाँ" प्रतिको तीव्र तिर्खाका बीच एउटा नाम सबैभन्दा बढी चर्चाको केन्द्रमा थियो,त्यो नाम हो - कुलमान घिसिङ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा १८ घण्टाको अँध्यारो लोडसेडिङ अन्त्य गरेर 'उज्यालो नेपालको नायक' बनेका कुलमान जब 'उज्यालो नेपाल पार्टी' (उनेपा) मार्फत राजनीतिक मैदानमा ओर्लिए, तब देशभर एउटा आशाको सञ्चार भयो। तर, निर्वाचनको अन्तिम परिणामले त्यो आशा र यथार्थबीचको खाडललाई छर्लङ्ग पारिदियो। काठमाडौँ क्षेत्र नं. ३ मा उनको पराजय र राष्ट्रिय स्तरमा पार्टीको कमजोर उपस्थितिमाथि अब गम्भीर समीक्षा हुनु जरुरी छ। किन काम गर्ने मान्छेलाई जनताले मत दिएनन् ? के यो कुलमानको असफलता हो कि नेपाली राजनीतिको संरचनागत जटिलता?
१. व्यक्तिगत लोकप्रियता बनाम कमजोर संगठन: फलाम र माटोको द्वन्द्व:
कुलमान घिसिङको सबैभन्दा ठूलो पुँजी उनको 'ट्र्याक रेकर्ड' थियो। प्राधिकरणमा रहँदा उनले देखाएको जादुमयी नतिजाले उनलाई एउटा मिथकीय पात्रका रूपमा स्थापित गरेको थियो। तर, राजनीतिमा व्यक्तिगत छवि 'फलाम' जस्तो बलियो भए पनि त्यसलाई टिकाउने 'माटो' अर्थात् संगठन चाहिन्छ।
उज्यालो नेपाल पार्टी निर्वाचनको मुखैमा गठन भयो। पार्टीसँग न त देशव्यापी सञ्जाल थियो, न त प्रशिक्षित कार्यकर्ताको फौज। राजनीतिमा मत माग्न मात्र होइन, मत जोगाउन र मतदातालाई मतदान केन्द्रसम्म पुर्याउन 'पार्टी मेसिनरी' आवश्यक हुन्छ। गाउँ, टोल र बुथ तहसम्म संगठन नहुँदा कुलमानको लोकप्रियता केवल 'सेल्फी' र 'ताली' मा सीमित भयो, त्यो 'मतदान' मा रूपान्तरण हुन सकेन। पुराना दलहरूको दशकौँ लामो संगठन अगाडि उनेपा एउटा शिशु जस्तो देखियो।
२. रास्वपासँगको गठबन्धन र १२ दिने 'कोमा':
राजनीतिमा स्थिरता र विश्वसनीयता सबैभन्दा महँगो वस्तु हो। निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग गरिएको एकता र त्यसको १२ दिनमै भएको विग्रह उनेपाका लागि आत्मघाती सावित भयो। कुलमान आफैँले यस अवस्थालाई "कोमा" मा गएको संज्ञा दिए।
यो घटनाले मतदातामा दुईवटा नकारात्मक सन्देश प्रवाह गर्यो:
पहिलो, नयाँ भनिएका शक्तिहरू पनि पद र अहंकारका कारण मिल्न सक्दैनन्।
दोस्रो, कुलमानको राजनीतिक सल्लाहकार समूह र रणनीतिक टिम अपरिपक्व छ।
एकता भएपछि जस्तोसुकै परिस्थितिमा पनि पछि हट्नु हुन्थेन। तर, बिचैमा टुट्दा मतदाता अलमलिए र उनीहरूले भरपर्दो विकल्पको खोजीमा अन्यत्रै आँखा डुलाए।
३. व्यक्तिवादको छाया र विचारधाराको अस्पष्टता:
उज्यालो नेपाल पार्टीको शक्ति नै कुलमान थिए र कमजोरी पनि उनी नै। पार्टीभन्दा व्यक्ति हावी हुँदा संस्थागत विकास ओझेलमा पर्यो। मतदाताले सोध्न थाले- "यदि कुलमानले मात्र जिते भने, के एउटा व्यक्तिले संसदमा गएर सिङ्गो प्रणाली बदल्न सक्छ?"
एउटा व्यक्तिको इमानदारिताले मात्र देश चल्दैन, त्यसका लागि स्पष्ट विचारधारा, अर्थनीति र परराष्ट्र नीति आवश्यक हुन्छ। उनेपाले सुशासनको कुरा गरे पनि यसको दीर्घकालीन राजनीतिक मार्गचित्रबारे जनतालाई बुझाउन सकेन। परिणामस्वरूप, जनताले कुलमानलाई "प्रशासक" का रूपमा स्विकारे पनि "राजनेता" का रूपमा पूर्ण विश्वास गर्न हिचकिचाए।
४. "प्रधानमन्त्री" को दाबी: आत्मविश्वास कि अतिमहत्त्वाकांक्षा ?
निर्वाचन अभियानका क्रममा कुलमानले "म प्रधानमन्त्री बन्छु" भन्ने आशयका अभिव्यक्ति दिए। एउटा लोकतान्त्रिक अभ्यासमा यो स्वाभाविक देखिए पनि नेपाली समाजको मनोविज्ञानमा यसले मिश्रित प्रतिक्रिया दियो। कतिपयले यसलाई आत्मविश्वास ठाने भने कतिपयले "भर्खरै पार्टी खोलेर सिधै प्रधानमन्त्रीको सपना देख्नु" लाई राजनीतिक अपरिपक्वता र घमण्डका रूपमा व्याख्या गरे।
नेपाली मतदाता अब भावनात्मक नाराभन्दा व्यावहारिक धरातलमा टेकेर निर्णय गर्छन्। शून्यबाट सुरु गरेको पार्टीले सिधै सत्ताको नेतृत्व गर्ने दाबी गर्दा त्यसले 'अति आशावाद' को सिर्जना गर्यो, जसको भार अन्ततः पार्टीले नै थाम्न सकेन।
५. चुनावी नतिजाको कठोर ऐना:
२०८२ को निर्वाचन परिणाम उनेपाका लागि एउटा कठोर यथार्थ हो। प्रत्यक्षतर्फ शून्य सिट र समानुपातिकमा करिब १.७२ लाख मत पाउनुले यो स्पष्ट पार्छ कि जनताले कुलमानलाई माया त गर्छन्, तर शक्ति सुम्पिन अझै तयार छैनन्।
काठमाडौँ-३ को पराजयले के पुष्टि गर्छ भने, शहरी क्षेत्रका सचेत भनिएका मतदाता पनि केवल कामको आधारमा मात्र होइन, राजनीतिक समीकरण र सम्भावनाका आधारमा मत दिन्छन्। कुलमानले यो हारलाई "मूल्यवान बीउ" त भनेका छन्, तर यो बीउ उमार्न कति कडा परिश्रम चाहिन्छ भन्ने कुरा अबको यात्राले देखाउनेछ।
६. "हाम्रो मान्छे" र जातीय राजनीतिभन्दा माथिको छवि:
कुलमान घिसिङमाथि लाग्ने एउटा आरोप "जातीय राजनीति" को पनि हो। तर वस्तुगत विश्लेषण गर्दा उज्यालो नेपाल पार्टीले कहिल्यै पनि जातीय कार्ड प्रयोग गरेको देखिएन। पार्टीले लिएका मुख्य आधारहरू यस्ता थिए:
क. केन्द्रवादी राष्ट्रिय दृष्टिकोण: क्षेत्रीय वा जातीय मुद्दाभन्दा राष्ट्रिय समृद्धिलाई प्राथमिकता।
ख. समावेशी तर परिणाममुखी: विविध पृष्ठभूमिका उम्मेदवारहरूलाई समेट्ने प्रयास।
ग. सुशासनको मोडल: विद्युत् प्राधिकरणको सफल मोडेललाई देशव्यापी बनाउने योजना।
पहिचानवादी मुद्दामा उग्र नभएकै कारण कतिपय जातीय नेताहरूले पार्टी छाड्नुले यो पार्टीलाई राष्ट्रिय स्वरूप दिन खोजिएको स्पष्ट हुन्छ। तर, विडम्बना के भयो भने, न त उनले "जातीय मत" पुरै पाए, न त "गैर जातीय" मत नै सुरक्षित गर्न सके।
७. रणनीतिक र कूटनीतिक कमजोरी: सल्लाहकारको भूमिकामा प्रश्न
कुलमानको राजनीतिक यात्रामा देखिएको सबैभन्दा ठूलो प्वाल उनको सल्लाहकार समूह हो। उनलाई घेरेर बस्ने र रणनीतिक सल्लाह दिनेहरूले भुईँतहको यथार्थ बुझ्न सकेनन्।
क.धोका र अन्तर्घात: उहाँका विश्वासपात्र भनिएकाहरूले नै निर्वाचनमा धोका दिएको र कतिपय त रास्वपामा प्रवेश गरेको घटनाले नेतृत्वको मान्छे चिन्ने क्षमतामा प्रश्न उठायो।
ख. समयको छनौट: तत्काल पार्टी नखोलेर, चुनावी सरकारमा सहभागी भई निर्वाचन सम्पन्न गराएको भए वा संविधान संशोधनपछि प्रत्यक्ष निर्वाचित कार्यकारीको उम्मेदवार बनेको भए उनको उचाइ अर्कै हुने थियो।
८. अबको बाटो: सम्भावना कि संकट?
हारपछि उनेपाले समीक्षा बैठक गरिरहेको छ। कुलमानका अगाडि अब दुईवटा बाटो छन्: या त इतिहासको एउटा "क्षणभंगुर उत्साह" बनेर हराउने, या त गल्तीहरूबाट सिकेर एउटा बलियो वैकल्पिक शक्ति निर्माण गर्ने।
९. सुधारका लागि गर्नुपर्ने कामहरू:
क.संगठनको पुनर्संरचना: केवल माथिबाट लादिएको नेतृत्व होइन, भुईँतहबाट चुनिएका कार्यकर्ताको सञ्जाल बनाउने।
ख. विचारधारामा स्पष्टता: 'सुशासन' बाहेकका राजनीतिक मुद्दामा स्पष्ट धारणा सार्वजनिक गर्ने।
ग. सामूहिक नेतृत्व: पार्टीलाई "कुलमानको क्लब" मात्र नभई विचार मिल्नेहरूको साझा मञ्च बनाउने।
घ. रणनीतिक धैर्यता: राजनीति 'स्प्रिन्ट' होइन, 'म्याराथन' हो भन्ने बुझ्नुपर्छ।
१०. उपसंहार: उज्यालो सपना अझै अधुरो छ
कुलमान घिसिङको प्राविधिक दक्षताले अँध्यारोमा रहेका नेपालीलाई उज्यालो दिएका हुन्। त्यसैले उनको इमानदारितामाथि कसैको शङ्का छैन। तर राजनीतिमा "इमानदारिता, कार्यक्षमता,संगठन र रणनीति" को समिश्रण चाहिन्छ। २०८२ को निर्वाचनले उनलाई एउटा ठूलो ऐना देखाइदिएको छ।
"ऊर्जा क्षेत्रमा जस्तै, राजनीतिमा पनि परिणाम देखाउने" उनको अठोट अझै परीक्षणको घडीमा छ। उज्यालो नेपालको सपना अझै जीवित छ, तर त्यो सपना पूरा गर्न अब "लोप्रियताको हावा" मा होइन, "संगठनको धरातल" मा हिँड्नुपर्छ। यदि कुलमानले आफ्ना सल्लाहकारहरू फेर्न, रणनीति सुधार्न र जनविश्वासलाई संस्थागत गर्न सके भने उनी पुनः उदय हुनेछन्। अन्यथा, उनी नेपाली राजनीतिको एउटा यस्तो अध्याय बन्नेछन्, जसले आशा त धेरै जगायो तर नतिजा दिन सकेन।
नेपाली जनता परिवर्तन चाहन्छन्, तर त्यो परिवर्तन 'हावाहुरी' जस्तो होइन, 'स्थिर र भरपर्दो' हुनुपर्छ। कुलमान घिसिङको लागि अबको परीक्षा यही हो। अस्तु ।
(संयोजक, नेपाल शिक्षक संगठन जिल्ला समिति काभ्रेपलान्चोक)