मुख्य समाचार
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड |
मुख्य समाचार
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड |

जनयुद्धकालीन जनादेश साप्ताहिकमा काम गर्दाका अनुभूति
जनयुद्धकालीन जनादेश साप्ताहिकमा काम गर्दाका अनुभूति

Thearaniko Times 1372+ समाचार ( )
१५ पौष २०८१, सोमबार

१. २०४८ मा चितवनको माडीमा सम्पन्न नेकपाको एकता महाधिवेशन (पछि सुरु छैटौँको मान्यता दिइएको महाधिवेशन) बाट बनेको नेकपा (एकताकेन्द्र) अर्धभूमिगत थियो । त्यसमा नेपालमा नयाँ जनवादी क्रान्ति कुन बाटोबाट, कसरी र कहिले र सम्पन्न गर्ने विषयमा दुई विचार र बाटाहरूबिच २०५०-०५१ सम्म आउँदा जबर्जस्त अन्तरसङ्घर्ष चल्यो | २९ जनाको केन्द्रीय समितिमा मसहितको १५ जनाको बहुमतले जनयुद्धको कार्यदिशाअनुसार तत्कालैदेखि अगि बढ्ने अर्थात् जनयुद्ध थालनी गर्ने मत प्रकट गरेपछि दुई भिन्न विचार र बाटा बोक्ने नेताहरू सँगसँगै जान नसक्ने अवस्था आयो । त्यसपछि नेकाका सन्त नेता कृष्णप्रसाद भट्टराई र गिरिजा जस्ता नेकपाका क्रमशः निर्मल लामा र नारायण काजीको समूह अल्पमतमा पर्दै गएकोमा छट्पटी स्वरूप उनीहरूबाट पार्टी अनुशासन विपरीतका विभिन्न गतिविधिहरू खुलै र सिधै रूपमा हुन थाल्यो । त्यसपछि त्यो अन्तरसङ्घर्षको समाधानार्थ २०५१ मा राष्ट्रिय सम्मेलनको आयोजना गरियो । त्यसमा निर्मल लामा, नारायण काजी, दिलबहादुर र लीलामणि पोख्रेल अनि रूपलाल, सोनाम साथी र साध्यबहादुर भण्डारीलगायतका १४ जना हस्तीहरूको अल्पमत समूह उपस्थित भएन । तत्पश्चात् स्वतः पार्टी विभाजित भयो ।

सम्मेलनले वैचारिक रूपले पार्टीलाई सुस्पष्ट र सुदृढ गर्नको लागि पार्टीको नाम परिवर्तन गरी नेकपा (माओवादी) राख्ने र राजनीतिक रूपमा तत्काल जनयुद्ध थालनीको तयारी गर्ने निर्णय गर्यो भने सांगठनिक रूपमा महिला, मधेसी लडाकूविहीन पार्टी केन्द्रीय समितिमा क्रमशः पम्फा भुसाल, मातृका यादव, लोकेन्द्र बिस्ट र टोपबहादुर रायमाझीलाई थपेर १९ जनाको पुरायो । यसरी नै अन्य सङ्गठनात्मक संरचना र जिम्मेवारीहरूमा पनि जनयुद्धको तयारीलाई केन्द्रमा राखेर काम गर्ने गरी कार्ययोजना बनाउने निर्णय गर्यो । फलस्वरूप तत्पश्चात् बसेको केन्द्रीय समितिको बैठकले जनयुद्धको थालनीपूर्व पार्टी विभाजनको औचित्य सावित गर्नेदेखि क्रान्तिको लागि जनयुद्धको बाटो सही सिद्ध गर्दै जनयुद्धको दिशामा अगाडि बढ्ने कुराको आवश्यकता, औचित्य, आत्मनिर्भरता, सफलता र विजयबारे आम जनता र कार्यकर्ताहरूलाई शिक्षित-दीक्षित र प्रशिक्षित गर्नुपर्ने प्राथमिक महत्त्वको तत्कालीन कार्यभार रहेको बोध गर्यो । जनयुद्ध जस्तो भीषण र भयावह सङ्घर्षमा लामबद्ध हुने र त्यस्तो सङ्घर्षको सञ्चालन र नेतृत्व गर्ने जुझारु भूमिगत पार्टी र जनयुद्ध जस्तो निर्णायक सङ्घर्षको विस्तार र विकास गर्ने गराउने गर्नको लागि प्रचार र प्रकाशनको तत्कालैदेखि सर्वाधिक आवश्यकता रहेको निष्कर्ष निकाल्दै उक्त बैठकले यस कामको लागि मलाई उपयुक्त ठहरायो । अनि वैधानिक पत्रिका जनादेश साप्ताहिकको सम्पादक भई खुला रूपमा प्रचार तथा प्रकाशन क्षेत्रमा काम गर्ने जिम्मेवारी पनि तोकिदियो ।

म नै जनादेशको सम्पादक र प्रचार तथा प्रकाशन क्षेत्रमा उपयुक्त ठहर हुनुका पछाडि मेरो शैक्षिक पृष्ठभूमि नेपाली र अङ्ग्रेजी भाषा-साहित्यबाट स्नातक भएको, जनादेशका तत्कालीन सम्पादक शक्ति लम्साल मेरा साढु दाइ हुनुभएको र उहाँ बूढो भएर कार्यकारी भूमिका निर्वाह गर्न गाह्रो हुँदै गए पनि अझै सल्लाह-सुझाव र अत्यावश्यक सहयोग गर्न सक्ने अनि तत्कालीन झिल्को प्रकाशनको तर्फबाट जनादेश प्रकाशन गरिरहेका प्रेस व्यवसायी काठमाडौँ इटुम्बहाल निवासी अष्टमान महर्जनले सम्पादकलाई मासिक २०००/ ( दुई हजार रूपैयाँ ) पारिश्रमिक पनि दिने जस्ता कुराहरूले काम गर्न सहज हुने बताइयो । साथै, प्रचार तथा प्रकाशनको यो काम युद्धभन्दा कम महत्त्वको नभई धेरै ठूलो महत्त्वको भएकोले नै लेनिन स्वयंले इस्क्राको सम्पादन गर्नुहुन्थ्यो भन्दै मलाई यो जिम्मेवारीमा लैजान आश्वस्त पार्ने कुरा स्वयं प्रचण्डले बैठकमा गर्नुभयो । त्यसमा हो हो भनी किरण र बाबुरामले समर्थन गरेपछि मेरो सो जिम्मेवारी सुनिश्चित भएको थियो । मलाई पनि यसअगि २०४४ सालमा जनयुद्ध नै सुरु गर्ने भनी प्रचार र प्रकाशनलाई प्रभावकारी र व्यवस्थित बनाउने भन्दै किरणजीले म संस्थापक प्रअ भई स्थापना, सञ्चालन र विकास गरेको मेरै गृहगाउँको माविबाट छुटाई शक्ति लम्साल नै सम्पादक तथा प्रकाशक रहेको योजना साप्ताहिकमा कार्यकारी सम्पादक भई काम गर्न लगाउनु भएकोले केही अनुभव सँगालेको हुँदा पार्टीको निर्णयलाई बिना हिच्किचाहट शिरोपर गर्नु नै सही हुने लाग्यो र म पूर्ण जिम्मेवारी बोधका साथ निकै उत्साह र स्पिरिट लिएर प्रचार-प्रसारको काम गर्न २०५१ को अन्त्यतिर काठमाडौँ आएँ ।

२. सुरु-सुरुमा जनयुद्ध थालनीअगि त पत्रिकाको व्यवस्थापन अर्थात् प्रकाशन, वितरण, अर्थ लगानी उठानी आदि अष्टमानजीले नै गर्नुहुन्थ्यो । त्यत्ति नै बेला अफसेट प्रेसको युग आइसकेको थियो । लेटरप्रेसबाट स्वयंसेवी कम जनशक्तिबाट सम्पादन गर्न र गुणस्तर कायम गर्न गाह्रो भयो । अष्टमानजीले पारिश्रमिक दिने कुरा त भएन नै पत्रिका प्रकाशन हुने दिन मंगलबारअगि सोमबार साँझको खाना समेत खुवाउन नसक्दा हामी पत्रिकाको काम सकेर बिहान झिसमिसेमा कहिले शक्ति दाइको घरमा, कहिले आफ्नै डेरामा त कहिले अन्य कुनै साथीकहाँ गएर खाना बनाउन लगाएर खान्थ्यौँ भने कहिले रातभरको अनिंदो हुनाले कतै जान नसकी त्यहीं अफिसमै भोकै ढल्ने त कहिले डेरासम्म पुगी भोकभोकै सुत्ने गर्थ्यो । त्यति गर्दा पनि लेटरप्रेसबाट अफसेट प्रेसको गुणस्तर र प्रतिस्पर्धामा टिक्न नसकेपछि अष्टमानजीले पत्रिका प्रकाशनको जिम्माबाट पनि हात झिकिदिनुभयो । यसै त गाँस, बास, कपासको कुनै व्यवस्था नभएको र त्यसमाथि साथीभाइ, इष्टमित्र र जनसमुदायसित गाँसिने समय नै नमिल्ने भएकोले अर्थ व्यवस्थापन गरेर अफसेट प्रेसमा जाने कुरा र सम्पूर्ण काम सम्हाल्न साह्रै नै गाह्रो हुन्थ्यो । सोमबारको राती कम्प्युटरको काम सकेको केही घन्टामै पत्रिका छापी नसक्दै वितरणको लागि मुठा पार्न प्रेसमा रातमै पुगेर कसैले गन्ती गर्ने, कसैले मुठा पार्ने, कसैले मुठामा नाम ठेगाना लेख्ने र कसैले बिहान पौने पाँच बजे राजबिराज जाने बसमा पुराउन पत्रिकाका गोलगोल मुठाको पहिलो भारी बोकेर पुग्थ्यौ । यस काममा जनादेशका सबैजसो साथीहरू पालैपालो जुट्थ्यौँ ! कम्प्युटर टाइप गर्ने काममा हामी अरूको सीप नभएकाले नीमबहादुर बुढाथोकी जो केही पहिले राष्ट्रिय अपाङ्ग कोषको अध्यक्ष बन्नुभएको थियो र दीपक मैनाली जो अहिले राष्ट्रिय सूचना आयोगमा आयुक्त हुनुहुन्छ, ले मात्र गर्नुहुन्थ्यो भने अरू हामी सबैले सम्पादन, प्रकाशन, वितरण र अर्थ सङ्कलन आदि सबै हामीले नै गर्ने गर्थ्यो ।

त्यति बेलासम्म पार्टी पनि त्यति सवल र सम्पन्न भएको थिएन । बल्लतल्ल पार्टी केन्द्रले निर्णय गरेर तत्कालीन पाँच क्षेत्रीय ब्युरोबाट रु. दस हजारको दरले पठाउने भने पनि केही त आएन र जेजति आयो त्यो पनि ढिलाढाला हुँदा भनिएको काममा लगाउनै नपाइने अवस्था भयो । यसैबिच व्यवस्थापन म आफैँले गर्ने गरी जिम्मा लिएर आएको जस्तो आशयले किरणजीले हाम्रो जनादेशको कमिटीको एउटा बैठकमा मलाई जसरी पनि यो व्यवस्थापन गर्नुपर्ने गरी दबाब दिनुभयो । यस्ले मलाई आश्चर्यचकित र स्तब्ध बनायो । सायद किरणजीलाई पार्टी केन्द्रको बैठकमा अष्टमानजीले व्यवस्थापन गर्ने र अझ थप सम्पादकलाई पनि मादिक २,००० पारिश्रमिक दिने कुरा प्रचण्ड-बाबुरामले गरेको कुरा बिर्सेर हो वा मैले पार्टीलाई दिनुपर्ने अफ्नो अंशको रकमबाट व्यवस्थापन गरेप नि हुन्छ भन्ने लागेर हो, के भएर हो, त्यस्तो भन्नुभयो ! यदी त्यस्तो थियो भने मसँग सल्लाह गरेर भनेको भए हुन्थ्यो । फेरि त्यस अगिसम्म पार्टी केन्द्रको निर्णयअनुसार केन्द्रीय सदस्यहरूले आफ्नो अंशको १० प्रतिशत पहिलो किस्ता दिने भन्ने थियो र त्यो मैले बर्दिया मानपुर टपरामा उमाकान्त शर्माको नाममा रहेको ११ कठ्ठा जग्गा बेचेर जनयुद्ध सुरु हुनुभन्दा केही पहिले प्रचण्ड पाटन ढोकातिर बस्दा रु. ५५ हजार र त्यसअगि राप्तीमा काम गर्दा खर्च गरिएको ऋण तत्कालीन इन्चार्ज बादलजीको निर्देशनमा तिरेको १५ हजारसमेत गरी रु. ७० हजार दिइसकेको थिएँ ! तैपनि नेतृत्व (किरणजी) ले त्यो थाहा नपाएर पनि भनेको हुन सक्छ भन्ने सकारात्मक सोंच्दै नेतृत्वले भनेको मान्नुपर्छ र आफूले सकेको अधिकतम गर्नुपर्छ भनेर नै मैले किरणजीको सो दबाबमूलक भनाइलाई शिरोपर गरेँ ।

फलतः मेरो दाङ घोराहीस्थित घडेरी, जो अहिले १.५ (डेढ) करोड रु. पर्छ, रु. १.५ (डेढ लाखमा किरणजीकै सहोदर भाइ एवम् उहाँकै जेठानका छोरी ज्वाइँ गोपाल वैद्यको नाममा रजिस्ट्रेसन गराइदिएँ । त्यसमा किरणजीको आफ्नो जग्गा बेचेको केही रकमसमेत परेको थियो । सो रकम मेरी श्रीमती शान्ताको समेत हुनाले उनलाई सो रकमको ब्याज दिने गरी ल्याएर जनादेशको कम्प्युटर- प्रिन्टर किन्न खोज्दा खोज्दै पम्फालाई घर पूरा गर्न सङ्कट परेको भनी केही दिनलाई सापटी मागेपछि दिइयो । त्यसबापत उहाँले चिनेको बागबजार मुखैमा रहेको एउटा कम्प्युटर पसलका व्यवसायीसँग कम्प्युटर-प्रिन्टर किनाएपछि त काम गर्न थालियो तर कम्प्युटर आएपछि त पार्टी, जवस, मंच, मोर्चा आदिका छपाइ गर्ने सामग्रीहरू पर्चा, पोस्टर, बुकलेट, पुस्तक, पत्रिकाहरू सम्पादन, टाइपिङ, करेक्सन-प्रूफ रिडिङ, वितरण, अर्थसङ्कलनका कामहरूसमेत एकदमै थपिंदै गए । आफ्नै जनादेश साप्ताहिकको सामग्री सङ्कलन, अन्तर्वार्ता र लेख-रचनाहरूको विषय र व्यक्ति छनोट, सम्पर्क, सङ्कलन, सम्पादन, टाइपिङ, प्रिन्टिङ, वितरण र अर्थसङ्कलन गर्न त समय, श्रमशक्ति र आर्थिक अवस्था र व्यवस्था नभइरहेको बेलामा यी कामहरू थपिंदा के गर्ने र कसो गर्ने भन्ने पनि हुन्थ्यो । अझ त्यसमाथि बाहिरबाट भूमिगत बिरामी र घाइते अपाङ्ग भएर योद्धा, नेता र कार्यकर्ता आउने बेला कहिलेकाहीँ त यसरी त सकिंदैन कि क्या हो यो काम गर्न भन्ने पनि लाग्थ्यो भने, कहिले त गम्भीर बिरामी र सख्त घाइते साथीहरू उपचारको लागि आउँदा खतरा मोलेर, दुःख-खर्च गरेर सन्चो गराई पठाउन सक्दा खुसी र गौरव लाग्ने पनि गर्थ्यो ।

३. एक पटक टोपबहादुर रायमाझी ग्यास्टिक अल्सरले अति सताएपछि फुकिढल्ने अवस्थामा हाम्रो सम्पर्कमा आए ! उनको उपचार गराउन ग्यास्ट्रो इन्टेरोलोजीका सबैभन्दा राम्रो डाक्टर आईएल आचार्यकहाँ लग्नको लागि नाम लेखाउन भनेर राति तीन बजे लाइन बस्न काठमाडौँ नर्सिङ होम त्रिपुरेश्वर पुग्नुपर्थ्यो । त्यसो नगरे १५ जनाभन्दा बढी नजाँच्ने हुनाले जँचाउन सकिन्नथ्यो । त्यसैले रातको ३ बजेअगि नै त्यहाँ पुगेर लाइनमा बसी टिकट ल्याएर जँचाएपछि उनको उपचारले केही सन्चो गराएर पठाइयो ! पछि पार्टी केन्द्रीय समितिको बैठकमा भेट हुँदा सोधपुछ गर्दा राम्रो भएको भन्ने उत्तर पाएर सन्तोष लाग्यो । उपचार गराउने सिलसिलामै एक पटक त झन् कहालीलाग्दो घटना भयो । जनयुद्ध भीषण रूपमा अगि बढिरहेकै बेला बमको परीक्षण गर्दा आँखामा छर्रा लागेर आँखा क्षतिग्रस्त भएकोले जगप्रसाद शर्मा अपार ( हाल राष्ट्रिय सभा सदस्य) बागबजार अफिसमा आएपछि नक्सालतिर एक जना साथीकहाँ लिएर म पनि गएँ । उनका पछि सीआईडी लागेको रहेछ । हामी घरमा पुगेर भर्खर बस्न मात्र के थालेका थियौँ, कुनै कार्की थर भएका डीएसपीको नेतृत्वमा आएको प्रहरी टोलीले घर घेराउ गरिसकेछ र पूरै घर खान तलासी लियो । म दुई कारणले अब फसियो भन्नेमा ढुक्कै थिएँ । एउटा अपारका कारणले र अर्को आफूले सम्पादन र प्रकाशन गरेको ‘नेकपा (माओवादी)का ऐतिहासिक दस्तावेजहरू’ भन्ने पुस्तक र केही माओवादी प्रकाशन मेरो ह्यान्डबेगमा भएका कारणले । तैपनि सास रहेझैँ आश भनेझैँ यसको पूर्ण सचेतता र साहसका साथ सशक्त रूपमा प्रतिवाद गर्नुको विकल्प छैन भनेर कत्ति न आत्तिएर, कत्ति न डराएर र कत्ति न बिराएझैँ गरेर सवाल-जवाफमा उत्रिएँ !

खास गरी अपारको बारेमा को हो, किन तँसँग आयो, आँखामा चोट के गर्दा लाग्यो, किन यहाँ ल्याएर राखिस् भन्ने जस्ता थुप्रै प्रश्न कार्कीले गरे । मैले मेरो चौरजहारीको विद्यार्थी हो, मसँग नातासम्बन्ध पनि छ, म काठमाडौँ जस्तो औषधोपचारको केन्द्रमा छु, भीरबाट लडेर आँखामा चोट लागेकोले आँखा जस्तो संवेदनशील र महत्त्वपूर्ण अङ्ग बिग्रे जीवन बर्बाद हुने हुनाले काठमाडौँ आएका रहेछन् । म एउटा लोकप्रिय पत्रिकाको सम्पादक जस्तो पत्रकार हुनाले मेरो पहुँच राम्रा अस्पताल र डाक्टरहरूसँग हुन सक्ने ठानेर अन्यत्र कहीँ नगई मकहाँ शरणमा आएका हुन् । यस्तो स्थितिमा उनी मकहाँ आएपछि मैले त मानवीय नाताले पनि संरक्षण गर्नुपरेन र ? भन्ने प्रतिप्रश्न गरेर पनि प्रतिवाद गरेँ । घर पूरै खान तलासी र सोधपुछ गर्दै गर्दा मेरो शरीर र ब्याग पनि खोल्ने हो कि भनेर उल्टै फेरि पनि अर्को प्रतिप्रश्न गरेँ । मलाई लागेको थियो कि यति भनेपछि सम्भवतः ब्याग खोल्दैनन्, खोलिहालेछन् भने पनि पत्रकारलाई अध्ययन र टिप्पणीको लागि आएको सामग्री हो, यस्तो त स्वाभाविकै हो नि भन्ने तर्क गरेर जितूंला भनेको थिएँ तर उनले त “पत्रकारको ब्याग खोलेर हामीले पत्रकारमाथि ज्यादति गरेको आरोप किन खाने र ? हामी त नियमसंगत र न्यायसंगत गर्छौं नि सर, तपाइँहरू पो हामीलाई ज्यादति गयो, हिंसा गयो, लुटपाट गर्यो, बलात्कार गयो, मानव अधिकार हनन गयो, गैरकानुनी गयो आदि इत्यादि भएन भएका सबै लेखेर दोषारोपण गरेर प्रहरी र सरकारको बदनाम गर्नुहुन्छ । हामी कहाँ त्यसो गर्छौं र ? ल, भन्नोस् अहिले यहाँ केही ज्यादति गरेका छौँ हामीले ?” भन्दै प्रहरी र तिनको व्यवहार त बडो शिष्ट र नम्र अनि नीति र विधिसम्मत हुन्छ भन्ने देखाएर घर खोलिएको तर केही नपाइएको भन्ने एउटा मुचुल्का बनाई भद्रतापूर्वक बिदा भएर गए । मेरो ब्याग खोलेनन् र मैले त्यसबारे केही भन्नै परेन ।

यसरी म, अपार, घरवाला र अर्का साथी बालबाल बचेका थियौँ । तर उनीहरू गैसकेपछि पो झन् डर लाग्यो तैपनि डराएर काम थिएन । मैले अर्को दिन तृपुरेश्वर आँखा अस्पतालमा अपारलाई पुराएर जचाएँ ! त्यहाँ ‘यहाँ खास उपचार हुन्न’ भनेर सामान्य उपचार गरी ‘मद्रासको शंकर नेत्रालयमा लग्नुभए केही हुन सक्छ’ भन्ने सल्लाह पाइयो । त्यसपछि तुरुन्तै त्यता लाने व्यवस्था मिलाएर पठाइयो ।

उपचार र यस्ता केही काममा परिवारका सदस्यहरू र जनादेशका साथीहरू सम्भवना र आवश्यकतानुसार खट्नुहुन्थ्यो भने मुद्दामामिलासम्बन्धी साथीहरू आएमा प्राय: एकराज भण्डारीलगायतका साथीहरूलाई जिम्मा लगाइदिन्थ्यौँ । अपारलाई पार्टीको जिम्मा लगाई मद्रास पठाएको केही समयपछि एउटा आँखा काम नलाग्ने भए पनि अर्को आँखाले काम गर्दै जाने खबर पाउँदा खर्चका खुसी भयौँ ! त्यत्रो खतरा मोलेर गरिएको काम सफल नै भयो भन्ने लाग्यो । हुन पनि त्यति बेला फसेको भए अपार मात्र होइन, मलगायत जनादेश पत्रिका र सिङ्गो टिमलाई मुद्दा लाउने र अपारलाई त जेलनेल आदि पनि हुने अनि आँखाको उपचार नभै दृष्टिविहीन जिन्दगी बाँच्नुपर्ने हुन सक्थ्यो । केही समयपछि म खुट्टा भाँच्चिएर उपचार र पार्टी काम दुवै सहज हुने गरी भारतमा प्रवास इन्चार्ज भएर गएको बेला भेट भयो र ठूलो पावरको चस्मा लगाएर पढ्न लेख्न सक्ने भएको देखेर आफूले गरेको काम र लिएको रिस्कको फल सन्तोषजनक पाउँदा हर्ष र गर्वबोध भयो ।

४. जनयुद्ध क्रमशः दोस्रो, तेस्रो वर्ष प्रवेश गर्दै गर्दा झन् पछि झन् ठूला आक्रमण हुँदा हाम्रा मनहरू पुलकित र आनन्दित हुन्थे भने जन हत्या, बलात्कार, लुटपाट र आगजनी आदिद्वारा निर्मम र नृशंस दमन हुँदा हाम्रा मन यति दुखित, द्रवित र आक्रोशित हुन्थे कि कतिपय ती भावहरू चाहेर पनि पत्रिकाहरूमा उल्लेख गर्न सकिन्नथ्यो । पहिलो पटक बेथान प्रहरी चौकीमाथि कार्वाही हुँदा पूरै उपत्यकामा यस्तो आतङ्क पैदा भयो कि जस्तो २०५२ फागुन १ गते जनयुद्धको थालनीमा देसैभर थुप्रै कार्वाही हुँदा राजनीतिक तरङ्ग आएको थियो । हाम्रो अफिस काठमाडौँको मरुहिटीमा एक जना समर्थकको घरमा एउटा कोठा फ्रीमा र एउटा ठूलो कोठा भाडामा लिएका थियौँ । त्यहाँ आएर सोधपुछ गर्ने, फोन गरेर जिज्ञासा राख्ने र जानकारी लिनेहरू तथा हाम्रो संलग्नताबारे धेरै प्रश्नहरूको बौछार गरेर हामीलाई आतंकित पार्ने, फसाउने वा काम छोडेर भाग्न बाध्य पार्ने जस्ता हर्कतहरू भएका थिए । यस प्रकारका फौजी कार्वाही हुँदा पनि हामी एकातिर त हर्षित र गौरवान्वित हुन्थ्यौँ भने अर्कातिर यसको प्रतिक्रिया र प्रतिशोधस्वरूप हुने दमनको सिकार हामी कलम बोक्ने र ठोक्ने निःशस्त्रहरू पो बनिने हो कि भनेर भयभीत हुन्थ्यो र सुरक्षा सतर्कता बढाउँथ्यौँ । यद्यपि राजधानी उनीहरूको सबैभन्दा बलियो किल्ला थियो । श्वेतक्षेत्रमा बसेर उनीहरूमाथि वैचारिक, राजनीतिक र सांस्कृतिक आदि विभिन्न रूपले प्रहार गर्नु कम खतरापूर्ण थिएन । त्यो कति खतरनाक थियो भन्ने कुरा जनादेश कार्यालयमाथि भएको हमला, जनादेशका पत्रकारहरू धेरैजसोलाई गरिएको गिरफ्तारी र यातना अनि मुख्य नेतृत्व कृष्ण सेन इच्छुकलाई बारम्बार गरिएको गिरफ्तार र पछिल्लो पटक त कुटीकुटी गरिएको हत्याबाट पनि थाहा हुन्छ । यस्तै आँकलन गरेर नै हामीले आफ्नो प्रतिरक्षा आफैँ गर्ने गरी जनादेश र वरिपरिका पत्रकारहरूलाई समेटेर पत्रकारहरूमार्फत वैधानिक रूपले नै अझ सशक्त प्रतिरोध गर्ने उद्देश्यले आफ्नै पत्रकार सङ्गठनको रूपमा शक्ति लम्सालको नेतृत्वमा ‘जनवादी पत्रकार सङ्घ’ पनि गठन गरियो ।

यसरी नै समाचारको सत्यतालाई जीवन्त र सशक्त सत्य सावित गर्नको लागि आफ्नै आँखाले हेर्दा र युद्धग्रस्त क्षेत्रको प्रत्यक्ष अनुभव गर्नु नै पर्छ भनेर हामी एक्लै दुक्लै जान नसकिने देखेर एक पटक त म नै मानव अधिकारकर्मी मातृका तिमल्सिनाको नेतृत्वमा उहाँकै सदस्य गीता कोइराला, साहित्यकार डा. ऋषिराज बराल, कानुनविद्समेत गरी एक दर्जन जति पत्रकार- पर्यवेक्षकहरूको टोली रोल्पा भ्रमणमा गयौँ । दमनमा परेका रोल्पाका विभिन्न गाउँबस्तीहरूमा पुगेर हत्या, दमन र आतङ्कको पराकाष्ठा नै देख्यौँ, सुन्यौँ र दमन र प्रतिरोधका घटनाहरूको तीव्र र तीक्ष्ण अनुभूत गयौँ । त्यहाँका जनछापामारहरू, जनकलाकारहरू र भूमिगत माओवादी नेता-कार्यकर्ताहरूसँग समेत प्रत्यक्ष भेटवार्ता गयौँ र ती सबै कुरा आआफ्नो तर्फबाट आआफ्ना तरिका र माध्यमबाट सम्प्रेषण गयौँ जो चर्चित पनि भए ।

५. एक पटक कार्यालयमा मदन-आश्रितको हत्याबारे ए टु जेड मिल्ने एउटा समाचार-टिप्पणी आयो ! टीएन प्रधानको नामबाट आएको उक्त सामग्रीमा हत्या गराउने योजनाकारहरू माधव-केपी हुन् भन्ने स्पष्ट थियो । हुन पनि जाँचबुझ आयोगहरूले पनि हत्या भनेको, ‘दास ढुङ्गा काण्ड हत्या हो’ भनी निष्कर्ष निकाली एमालेले नै नारा लगाएको एमाले आफैँ सरकारको नेतृत्वमा गएर गृह मन्त्रालयसमेत सम्हाल्दा पनि सो हत्याकाण्ड त्यत्तिकै सेलाएको अवस्थाले कतै न कतै यो फोहोरी संसदीय प्रतिक्रियावादी सत्ताको छिनाझपटीमा यो हत्या पार्टीभित्रैबाट हुन नसक्ने कुरा पनि थिएन ! त्यसैले सही हुन सक्छ भनी छापेको त एमालेमा भुइँचालो नै गयो । एकातिर पेपर वार चल्यो भने अर्कातिर फोन र भेटमा गुनासादेखि गाली र धम्कीसम्म पनि पाइयो । त्यो समाचार क्रमशः आउन थालेपछि फोटोसहित आउनुपर्ने अन्यथा समाचार झुटो हो भन्ने भनाइले बजार लियो । नभन्दै केही पछि समाचार-टिप्पणीकारको फोटो पनि आयो र छापियो । तथापि आशंका नहटेपछि वास्तविकता बुझ्न भनी पूर्व झापादेखि दार्जिलिङसम्म घुमेर त्यहाँका एमपी भैसकेका बौद्धिक व्यक्तित्व एवम् प्रचण्डका सम्धी टीएन प्रधानसँग भेटेर एउटा अन्तर्वार्ता नै लिएर महेश्वर आए पनि एमालेका ती भ्रमपूर्ण कुतर्कहरूलाई चिरफार गर्न गाह्रो भो तथापि जनमानसमा यो सत्य हो भन्ने भित्रैदेखि परिसकेकोले पछि त्यो केस त्यत्तिकै सामसुम भयो ।

६. एक त साना र मिसन मिडिया, त्यो पनि जनयुद्धकारी भूमिगत पार्टीको वैधानिक मुखपत्र प्रकाशनको बिक्रीको रकम न उठ्दा सधैँजसो पैसाको हाहाकार नै हुन्थ्यो । पैसा नभएर साथीभाइ र इष्टमित्रसँग ऋण-सापटी गर्ने र सहयोग माग्ने काम भइरहन्थ्यो ! यसै सन्दर्भमा एउटा अंक निकाल्न त फिटिक्कै पैसा भएन र शक्ति लम्साल दाजु र उहाँकी श्रीमती कृष्णा लम्साल, जो मेरी श्रीमती शान्ताका माहिली दिदी भिनाजु हुनुहुन्छ, का सुनका भए जति गहनागुरिया मागेर बैंकमा राखी पैसा निकालेर पनि पत्रिका प्रकाशन गरियो । समयक्रमसँगै प्रकाशनका कामहरू बढ्दै जाँदा प्रकाशनसँगै व्यवस्थापनलाई थप विस्तार गर्ने पर्ने भयो र अर्को कम्प्युटर थप्ने कुरा भयो । त्यसको लागि दाङ महेन्द्र क्याम्पसका अङ्ग्रेजीका लेक्चरर एवम् मेरी माहिली ठूली आमाका छोरा अर्जुन भट्टराई भाइसँग मेरा मामाका माहिला छोरा लुमाकान्त न्यौपाने भाइ, जो अहिले माकेका नेता छन् र मा. नारायणी शर्माका श्रीमान् पनि हुन्, लाई साक्षी राखी रु.८० हजार ऋण लिइयो र बुद्धिजीवी कामरेडद्वय भीम केसी र राधा केसीजीसँग एउटा सेकेन्ड ह्यान्ड कम्प्युटर रु. ४० हजारमा लिइयो र बाँकी रकमले अरू काम सम्पन्न गरियो । पछि पैसा भएको बेला सो ऋण तिरेकोमा किरणजीले आपत्ति जनाउनुभयो ! म अचम्म परेँ र दुःख पनि लाग्यो । मलाई बेइमान बनाएर, मलाई कंगाल बनाएर उहाँलाई के फाइदा हुने होला र भन्ने सोंचें । आखिर इमानदारी त सबैभन्दा ठूलो गुण हो । त्यो नहुने हो भने बदनाम हुने र त्यसको प्रभाव नेता, पार्टी र क्रान्तिप्रति नकारात्मक हुन्छ भन्ने मेरो बुझाइ थियो र त्यो अद्यापि छ । लाग्छ, नेता-कार्यकर्ताहरू नै जनताप्रति, देसप्रति र क्रान्तिप्रति अनि आफ्नै घोषित आस्था-आदर्श, मूल्य-मान्यता, नीति-निर्देशन, लक्ष-लगाव र विचार-व्यवहारप्रति इमानदार नहुनाले नै आज नेपाली कम्युनिस्ट आन्दोलनको यो खराब हालत भएको हो ।त्यसैले मैले एउटा ऋण तिर्ने र विश्वास आर्जन गरेर त्यसै विश्वासको आधारमा अर्को ऋण लिने गरेर नै म सम्पादक हुन आउँदा २०५२ सालको सुरुसम्म जम्मा २००० प्रति छापिने जनादेश २०५४ को अन्तसम्म २८००० प्रति छापिने स्तरमा पुगेको थियो । यसो हुनुको मूल कारण माओवादी र जनयुद्धसम्बन्धी विचार र समाचारको सत्य, सुन्दर, साहसिक र सशक्त सम्प्रेषणमा सफलता नै थियो ।

स्मरणीय छ, त्यति बेला जनादेश मात्र होइन, हाम्रो टिमको योजना र सहयोगमा दिनदिनैजसो एउटा-एउटा साप्ताहिक जनयुद्धको समर्थन र प्रतिक्रियावादीको विरोधमा प्रकाशन हुन्थे। ती थिए- जनादेश, महिमा, पृष्ठभूमि, ज्वाला, जनआह्वान र योजना। यिनका अतिरिक्त विचारप्रधान मासिकको रूपमा संश्लेषण मासिकको प्रकाशनको पनि गरेर दुई अंक प्रकाशित गरिएको थियो तर म हटेपछि संश्लेषण त प्रकाशन सुरु गरिएन अन्य साप्ताहिकहरू पनि सबै टिक्न सकेनन् ! सायद त्यस प्रकारको वैचारिक पत्रिका र दिनदिनैजसो प्रचार गर्ने अन्य सबै पत्रिकाको आवश्यकता पार्टीलाई महसुस नभएर हो वा प्रकाशनसम्बन्धी अन्य केही समस्याहरूले गर्दा हो । हुन त आवश्यकता नदेखेर संश्लेषण र अन्य साप्ताहिकहरू प्रकाशित नभएका हुन् भनौँ भने शान्तिप्रक्रियामा आएपछि संश्लेषणको फेरि प्रकाशन गर्न सुरु गरियो भने जनदिशा दैनिक पनि अरूबाटै प्रकाशन गरियो तर पछि त मलाई अर्थात् जनादेशकै पुरानै टिममध्येका मैनालीजी र नीमजी गरी ३ जनालाई मात्रै संश्लेषण प्रकाशनको जिम्मा दिइयो ।  त्यो पार्टी विभाजनको निकटमा आएर मात्र रोकियो । त्यसपछि संश्लेषण त के जनदिशा प्रकाशन, जनदिशा दैनिक र जनादेश साप्ताहिकलगायत सबैजसो बन्द, विघटन र विसर्जनको अवस्थामा पुऱ्याइयो । पुरानो गौरवमय इतिहासहरूलाई यस्तो अवस्थामा पुऱ्याइनु साह्रै नै दुःखद् विडम्बना भएको छ ।

७. त्यति बेला न्यूनतम पारिश्रमिक पनि नपाउँदा र काम भने बेस्सरी नै गर्न पर्दा जनादेश परिवारका सुरुदेखिका साथीहरू महेश्वर, ओम, गोविन्द, दीपक र नीमसँग बेलाबखत मेरा नोकझोंक पनि भए । जनादेश प्रकाशनको जिम्मा मेरो मुख्य भए पनि अरू सबैको सामूहिक थियो तर त्यो नबुझेर वा के भएर हो मसँग ठोक्किन पुग्दा र झोंक्किन पर्दा मलाई दुःख लाग्थ्यो । तथापि पूर्व-सम्पादक र सल्लाहकारको भूमिकामा रहेर निरन्तर लेखन-सम्पादन कार्य र वैचारिक-राजनीतिक कार्यमा सहयोग-सल्लाह दिने शक्ति लम्साललाई मुखको सम्मान र हातको सलामभन्दा अरू केही दिन परेन र नोकझोंक पनि हुन्थेन र केही राहत पनि हुन्थ्यो । तथापि आफूले धेरै व्यक्तिगत साथ- सहयोग पनि गरेकै जनयुद्धमा जीवन समर्पित गर्ने भनिएका कामरेड-साथीहरूसँग तीता-मीठा काम-कुरा हुँदा दुःख लाग्ने रहेछ र त्यो स्वाभाविक नै लाग्थ्यो । केही अविवाहित साथीहरूको विवाह गर्दिएपछि पो जनशक्ति र मनशक्ति बढ्ला र काम राम्रोसँग होला भन्ने लागेर ओमको युद्ध सुरु हुनुअगि नै जनार्दन शर्मा प्रभाकरकी बहिनी विजयासँग र युद्धकालकै बिचमा गोविन्द र नीमका विवाह गराइदिएँ । गोविन्दको विवाह त मैले दामा शर्मा (संविधानसभा सदस्य ) लाई बहिनी सावित्रा र गोविन्दजीको हितचित्त र मनमुटु मिल्छ भने विवाह गरी पठाइदिए हुन्छ भन्ने छोटो चिर्कटो लेखेकै भरमा भनेझैँ गरी सम्पन्न भयो । तर, नीमको विवाह गर्न-गराउन त अति नै धेरै पापड पेल्नुपरेको थियो भने विवाहपछि पनि दुई जनाको बिचमा समन्वय र समझदारी गराउन मैले मात्र होइन, मैनालीजीले समेत धेरै दुःख गर्नुपर्यो ।

पछिल्तिर त हाम्रो आफ्नै व्यवस्थापन भएपछि अरू साथीहरू थपिए । तीमध्ये धनबहादुर मगर र वसन्त सुवेदी व्यवस्थापन-वितरणतर्फ र चन्द्रमान श्रेष्ठ सम्पादनतर्फ थिए । तल्लो वर्ग र मजदुर आन्दोलनबाट व्यवस्थापन-वितरणको काममा खट्ने भनी पार्टीले खटाएर आउनुभएका कामरेडको नाम धनबहादुर भए पनि काम मनबहादुरको जस्तो थियो | अथवा यसो भनौँ उहाँ धनको गरिब त हुनुहुन्थ्यो तर मनको धेरै धनी हुनुहुन्थ्यो । पैसाको लागि कहिले आशा र गुनासा गर्नुभएन, बरु व्यवस्थापनका अतिरिक्त समाचार सङ्कलन, लेखन आदि कामसमेत सहर्ष गर्नुहुन्थ्यो । अहिले हामी बाँचेका जनादेशका त्यो बेलाका मजदुर वर्गका पत्रकार भनिएकामध्ये धेरैजसो मालिक वर्गमा रूपान्तरण भएका छौं भने धनबहादुर र शक्ति लम्साल जस्ताको त जस्ताको तस्तै अवस्था छ, अझ खराब छ भन्दा हुन्छ । शक्ति लम्सालको त भूकम्पबाट घर भत्केर फाल्नै पर्ने भो, आफू बित्नु भो, एक मात्र छोरा सन्तोष पनि ४२ वर्षको अल्पायुमै बिते भने अहिले खर्च धान्न नसक्ने भएपछि भएको एउटा घर पनि बेचेर डेरा गरी जहान परिवारले गुजारा चलाउनुपरेको छ ।

अफिस बाहिर रहेर पार्टीसम्बद्ध थुप्रै जिम्मेवार साथीहरूले लेख, रचना, समाचार, टिप्पणी आदि लेखेर, पत्रिका बिक्रीवितरण र अर्थसङ्कलन आदि गरेर गरेको आत्मीय सहयोग पनि स्तुत्य छ । यसरी नै केन्द्रीय टिमसँग जोडिएर टिमकै अघोषित सदस्यका रूपमा सल्लाह सुझावसमेत दिएर सहयोग गर्ने कृष्ण सेन इच्छुक मुख्य हुनुहुन्थ्यो, जो मपछि औपचारिक रूपमा सम्पादक नै भएर काम गर्दा गर्दै पटक-पटक जेलनेल खाँदा खाँदै अन्त्यमा लाठी-गोली नै खाएर उच्च सहादत प्राप्त गर्नु भयो । भने अफिसमै आएर सहयोग गर्ने अन्य सहयोगीहरूमा सुरेश आले मगर, ऋषिराज बराल आदि र बाहिरबाटै सहयोग गर्नेमा तारा न्यौपाने, दीपेन्द्रबहादुर क्षेत्री, हरि (जो जनादेशकै पूर्व-व्यवस्थापक र पछि महिमाको व्यवस्थापक हुनुहुन्छ), रमेश शर्मा र एक जना बुटबलबाट आएर पहिले केन्द्रीय टिममा बसेर पछि अरू पत्रिकाहरूमा पनि पकड जमाउने नीति र योजनाअनुसार कृष्णप्रसाद शिवाकोटीजीको पत्रिका ज्वाला साप्ताहिकमा गएर काम गर्नुभएका साथीको नाम भने अहिले याद नभए पनि काम भने स्मरणमा ताजै छ। त्यसो त जनादेश पार्टीको आधिकारिक वैधानिक साप्ताहिक पत्रिका भएकाले यससँग सम्बन्धित कामहरू गर्ने-गराउने दौरानमा थुप्रै इमानदार सहयोगीहरू सहिद, बेपत्ता, घाइते र जेलबासी भएका नमीठा सम्झनाहरू र असारे जस्ता केही कडा भूमिगत बसेका अनि खुला र वैधानिक आन्दोलनको माध्यमबाट पार्टी र क्रान्तिलाई सहयोग गर्ने भूमिकामा रहनुभएका वरिष्ठ वामपन्थी व्यक्तित्व भक्तबहदुर श्रेष्ठ जस्ता वयोवृद्ध कामरेडहरूको पत्रिकाप्रतिको माया र सद्भाव भुल्नै नसकिने खालका छन् ।

८. विडम्बना, बरु के भएको भोगिएको हो भने आफूलाई चर्का क्रान्तिकारी भन्ने केही युवाहरू, ठुलै नेता हौँ भन्नेहरू र सर्वहारा वर्गका हिमायती हौँ भनी दाबी गर्नेहरूमध्येबाट कहिले कसैले आफ्ना साना-तिना समाचार न आएकोमा वा आए पनि तिनमा आफ्नो नाम न आएकोमा वा पछि आएकोमा जनादेश रत्नपार्कमा जलाइदिने जस्ता धम्की दिने, कसैले आफ्ना लेख-टिप्पणी र कविता, अन्तर्वार्ता आदि कुनै नछापिंदा वा तल वा भित्र पर्दा, फोटो सानो र नराम्रो आउँदा, शीर्षक ठूलो फन्टमा न हुँदा र केही प्रुफ मिस्टेक हुँदा विध्वंसात्मक तरिकाले गरेका प्रहारहरू सुन्दा कस्तो अपजसे पेसा रहेछ यो भन्ने लाग्थ्यो । यहाँसम्म कि सम्पादन गर्दा राम्रो होला कि भनी एउटा कवितामा केही शब्द थपघट गर्दा मैले सदस्य र नेता बनाएका, जोखिम मोलेरै बिहाबारी गराइदिएका साथीसमेत विभिन्न साथीहरूले गरेका गुनासा र गाली, पोखेका आक्रोश र आवेग, दिएका धम्की र गरेका असहयोग अनि मुख्य सम्पादक म भएर होला, मेरो बदख्वाइँ गर्दै खुट्टा तान्ने, नेतृत्वसमक्ष चुक्ली लगाउने गरेको र नेतृत्वले चुक्ली सुन्ने गरेको पाउँदा यस्ता नेता-कार्यकर्ता र यस्तो संस्कार-संस्कृति कम्युनिस्ट क्रान्तिकारी पार्टीपंक्तिमा क्रान्ति भए पनि प्रतिक्रान्ति हुन बेर लाग्दैन कि भनेर दिक्क पनि लाग्थ्यो । यहाँसम्म कि जनादेशमा आफ्ना कार्यकर्तालाई खुवाउने, बसाउने र आफ्नो क्षेत्रको काम गराउने तर जनादेसलाई सहयोगको नाममा आफ्ना कार्यकर्ताको लागि जनादेशबाट भएको खर्च भए पनि दिएमा सहयोग हुन्थ्यो भन्ने आशयको पत्र पठाउँदा तत्कालीन उपत्यका इन्चार्ज एक युवा नेताले पार्टी कमिटीको एउटा बैठकमै मेरो खिसीट्युरी गरेको कुरा कृष्णध्वजजी मेरा ज्वाइँ पनि भएकाले पीर परेछ र होला, उहाँले मलाई भनेको झल्झली सम्झिरहन्छु ।

ती युवा नेताले उनको प्रशंसामा नलेखेको भएर हो वा उनले मन नपराएका नेताको प्रसशसा गर्यो भनेर हो जनादेशको केन्द्रीय टिमभित्रै खेल्ने, गुटबन्दी गर्ने र मेराविरुद्ध उक्साउने गर्दै आफूभन्दा माथिका नेताहरूको बदनाम गरी तल झारेर आफू माथि जाने सिलसिला जारी राख्थे । यो उनको चिन्तन-प्रवृत्ति नै थियो । त्यसैले उनले मेराविरुद्धमा मसँग असन्तुष्ट देखाई लगाएका चुक्ली सुनेर तिनलाई आधार बनाउँदै तिनमा पनि अरू भए-नभएका चुक्लीहरू थपेर मप्रति पहिलेदेखिका माथि उल्लिखित घटनाहरूबाट पूर्वाग्रही देखिनुभएका किरणजी र प्रचण्डलाई लगाए । त्यसपछि २०५५ वैशाखमा प्रचण्ड काठमाडौँ आएको बेला किरणजीको स्वीकृतिमा प्रचण्डको व्यक्तिगत निर्णय र निर्देशनमा मलाई जनादेशबाट हटाइयो । यसरी समर्पित भएर लगानी-कुर्वानी गर्दै काम गरेको सहयोद्धालाई एक आखर कुनै सोधपुछ, सरसल्लाह र स्पष्टीकरण केही नगरी एकाएक हटाइँदा कुनै ठुलै अपराध गरेको रहेछ कि भन्ने पारियो । अनि लामो समयसम्म जिम्मेवारीविहीन बनाएर अलपत्र पार्ने गरियो । कस्तोसम्म भयो भने दाङ घरमा अब सुरक्षा हुँदैन, जहान-परिवारलाई लिएर यतै काठमाडौँमै व्यवस्थापन गर्ने गर्दा परिवारको पनि सुरक्षा हुन्छ र जनादेशको कामलाई पनि सहयोग पुग्छ भन्ने निर्देशन दिएका किरणकै स्वीकृतिमा जहान परिवार लिएर काठमाडौँ आएको हप्ता-दस दिनमै प्रचण्डसँग भेट भयो । के छ कसरी जाने सोंच्नुभएको छ भनी प्रचण्डले सोध्दा मैले किरणजीको निर्देशनमा जहान परिवार यहीं ल्याएको र उनीहरूलाई कुनै आर्थिक लगानी गर्नु नपर्ने जनादेशलगायतका हाम्रा वरिपरिका बिक्री नभएका पत्रिकाहरूबाट कागजी खामहरू बनाई पसलहरूमा बिक्री गरेर भए पनि धानिने होला ।

म नै संस्थापक प्रधान सम्पादक भएको २ अङ्क मात्र निस्केको संश्लेषण मासिकलगायत पार्टी र हाम्रा वरिपरिका महिमा, पृष्ठभूमि, ज्वाला, जनआह्वान र योजना आदि सम्पूर्ण प्रकाशनहरूलाई हाम्रै योजना र सहयोगमा प्रकाशन गर्न थालिएकोले यी सबैलाई सुसंयोजित, सुनिर्देशित र सुपरिचालित गर्दै नियमित र स्तरीय रूपमा प्रकाशन गर्ने गरेर प्रचार र प्रकाशनलाई अझ व्यापक र प्रभावकारी बनाउने सोंचेको छु भनें ।प्रचण्डले त मैले जनादेश छोड्ने निर्णय भैसकेको बताउँदै गोहीका आँसु जस्तै हो कि साँच्चै हो उनैले जानून्, यसो भनेका थिए, “योजना त राम्रै सोंच्नुभएको र गर्नु पनि भएको रहेछ । बढी खर्च गरेर प्रकाशनमा असर गर्यो कि भन्ने हो भने मैले पाटन बस्दा ४ वर्षअगि दिएको सर्ट लगाउनुभएको छ तर अब निर्णय भैसक्यो । तपाइँ माओवादीको केन्द्रीय सदस्य भएको कुरा पनि गृहमन्त्री खुमबहादुरलाई थाहा रहेछ । यो कुरा खुमबहादुरले पद्मरत्न तुलाधरसँग गरेछन् ।

एकातिर तपाइँको सुरक्षाको प्रश्न पनि छ भनेर पनि हटाइए तापनि अर्कातिर अझै तपाईंले के गर्ने भन्ने निर्णय अझै नभएको र संश्लेषण जस्तो वैचारिक मासिक पत्रिका पनि एकदमै आवश्यक भएको आजको अवस्थामा तपाईंको क्षमता र अनुभवलाई हेर्दा संश्लेषण मासिक त तपाईंले नै निकाल्दा राम्रो हुन्छ र बहिनी शान्ता (मेरी श्रीमती) लाई एउटा सोझी महिला नेताको रूपमा अगि बढाउँदा राम्रो हुन्छ भन्ने लाग्छ, हेरौँ के हुन्छ आदि-इत्यादि । त्यसपछि त मेरो संश्लेषण प्रकाशन वा अन्य कुनै जिम्मेवारीको टुङ्गो नलाग्दै मलाई कुनै औपचारिक बिदाइ पनि नगरी एकाएक मेरो नाम पनि जनादेशबाट हटाइएर मलाई बेकम्मा, असुरक्षित र आतंकित पारिएको थियो भने ममा आश्रित पूरै परिवारलाई चिन्ता र पीडामा डुबाइएको थियो । यहाँसम्म कि म भूमिगत भएर गएपछि मेरा लालाबाला र वयोवृद्ध कुँजी आमालाई घरबेटी साथी श्रीधरले र शक्ति लम्सालको परिवारले बाहेक कसैले केही नहेर्ने गरियो, जब कि साथै आएका नजिकै बसेका देव गुरुङका परिवारहरूलाई सम्पूर्ण रूपले पार्टीले हेर्यो । जब कि भूमिगत नेता-कार्यकर्ता र योद्धाहरूका जहान- बच्चाहरूलाई यथास्थानका पार्टीहरूले रेखदेख, सरसहयोग र परिचालन गर्ने निर्णय पार्टीको स्वाभाविक र सामान्य होइन, विशेष निर्णय नै भएको थियो । यदी मसँग पैतृक सम्पत्ति केही हुँदैनथ्यो वा बिक्रीवितरण गर्न सकिंदैनथ्यो भने मेरा बालबच्चा बाँच्ने थिए भन्ने लाग्दैन !

एउटा सर्वहारावादी क्रान्तिकारी पार्टीका शीर्षदेखि दोस्रो-तेस्रो तहका मै हुँ भन्ने नेता-कार्यकर्ताहरूबाट आफ्नै पार्टीका नेता-कार्यकर्ता र परिवारहरूप्रति यस्ता अन्याय र अपहेलना नै गर्ने गरी गरिएका अत्यन्त कुटिल, जटिल र गम्भीर गुटबन्दी, गडबडी, चलखेल, जालझेल र षड्यन्त्रहरू गर्ने चिन्तन र चरित्र हेर्दा, सुन्दा, भोग्दा र सम्झिँदा उतिबेलै जनयुद्धकालमै पनि व्यक्तिवाद, गुटवाद, छलप्रपञ्चवाद, अहंकारवाद, असहिष्णुतावाद, प्रतिशोधवाद र निषेधवाद आदि जस्ता गैरसर्वहारा चिन्तन र चरित्र यथेष्ट थियो र यसले कुन दिन प्रतिक्रान्तिमा लैजान्छ भन्ने चिन्ता थप्थ्यो । यस्ता चिन्तन, चरित्र र काम-कुराहरूप्रति बेलाबखत थोरै-धेरै र प्रत्यक्ष- अप्रत्यक्ष रूपमा मैले लेख्ने-बोल्ने गरेको पनि छु । यस्तो तीतो सत्य बोल्दा-लेख्दा र गर्दा नै म नेताहरू र तिनका हनुमान कार्यकर्ताहरूबाट प्रताडित हुँदै आएँ । तथापि मैले पार्टीभित्र रहँदासम्म वा अहिले पार्टीबाहिर रहेर पनि जे जस्ता विचार-व्यवहार र व्यक्तिका काम-कुराहरूमा असहमति वा विरोध गर्दै आएँ, ती प्रायः आज सही सावित हुँदै छन् । आज माओवादीका धेरैजसो नेताहरू भ्रस्टाचार, कमिसनखोरी, दलाली र ठगी गरेर मात्र होइन; बलात्कार, यौन दुराचार र व्यभिचारमा अर्थात् शिष्ट भाषामा भन्नुपर्दा सांस्कृतिक विचलनमा परेर बदनाम भएका छन् । यसरी नै गुटबन्दी गरेर आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न खोज्ने नेता र नीतिलाई नियन्त्रण र रूपान्तरण नगर्दा आज पार्टी र क्रान्तिको यो विखण्डन र विसर्जन हुन थालेको छ । मेरा त्यति बेलाका कतिपय यस्ता सोंच, शैली, संस्कार र विचार-व्यवहार अनि सल्लाह-सुझाव र अनुमान-चेतावनी आज सार्थक भएको पाउँदा त आज मलाई गर्व नै लाग्छ तर सहिद, बेपत्ता, घाइते, अपाङ्ग, अयोग्य करार योद्धा, विस्थापित कार्यकर्ता र तिनले अरबको ५० डिग्रीमाथिको तातो भुङ्ग्रोमा परेर जीविकोपार्जनको लागि काम गर्नुपरेको र दैनिक ५-७ लास तिनैका आएको, तिनै विदेसमा थुनिएको आदि सम्झँदा, हेर्दा र भोग्दा असह्य पीडा, छट्पटी र भाउन्न नै हुन्छ । क्रान्तिकारी पार्टी र आन्दोलनका शीर्षनेता र तिनका सोंच, शैली, संस्कार र संस्कृतिबाट शिक्षित, दीक्षित र प्रशिक्षित अन्य नेता-कार्यकर्ता र योद्धाहरू नेता जस्तै मात्रै हुने तर नेताहरूका गल्ती-कमजोरी र बदमासीहरूका विरुद्ध प्रश्न, विरोध, खबरदारी र हस्तक्षेप नगरेर चुप लागेर बस्ने र अझ त्यस्ता गर्नेको प्रशंसा गर्दै ताली लाउने तर राम्रा जतिलाई गाली गर्ने जस्ता वैचारिक र व्यावहारिक विचलन र विकृति भए-गरेको हुनाले त आज माओवादी, नेपाली कम्युनिस्ट आन्दोलन, अन्य जनवर्गका आन्दोलन मात्र होइन; पूरै राजनीति, राजनीतिक पार्टी, नेता र कार्यकर्ता अनि राजनीतिक आन्दोलनप्रति नै व्यापक वितृष्णा र विरोध बढ्दा विखण्डन, विघटन र विसर्जनको अवस्थामा पुगेको हो भन्नेमा म विश्वस्त छु ।

९. अन्त्यमा, भूमिगत युद्धरत पार्टीको नेता खुला रूपमा दुस्मनको सबैभन्दा बलियो किल्लामा बसेर जनादेश साप्ताहिकको कभर लिएर मोर्चा कसेर काम गर्दा प्राप्त मेरा अनुभूतिहरू जटिल, कठीन, पेचिला, पीडाजन्य र भयावह हुनु स्वाभाविक नै हो । तिनको वास्स्तविक मर्मबोध गराउन मैले नसकेको हो कि पार्टी र नेतृत्व नै आग्रही र एकाङ्गी भएर हो भन्ने कुरा स्पष्ट हुँदै जाने नै छ । अहिले संक्षिप्त समीक्षा स्वरूप यति मात्र भन्न सकिन्छ कि सुख र दुःख, एकता र सङ्घर्ष, सद्भाव र अभाव, सम्मान र अपमान यी दुई अभिन्न प्रवर्ग हुन् र यी सबैका जीवनमा आइपर्दछन् । तर मेरो सन्दर्भमा भने यी दुई प्रवर्गमध्ये एउटा मात्रै आएको हो कि झैँ लाग्छ । तथापि यो सही भए पनि आंशिक र क्षणिक नै होला । एउटै उद्देश्यमा समर्पित भएका, एउटै पार्टी र आन्दोलनमा लागेका र अझ साम्यवादसम्मको यस्तो यात्रा जुन यात्रामा एक्लै हिंडेर गन्तव्यमा पुग्नै सकिन्न; बरु सँगै हिंडेपछि मात्र पुग्न सकिन्छ भन्ने विश्वास गरेकाहरूबिच खुला, सौहार्द, मैत्रीपूर्ण र इमानदार काम-व्यवहार हुनुपर्छ । उनीहरूमा आफ्नै घोषित सिद्धान्तअनुसारको व्यवहार, क्रान्तिकारी नीतिअनुसारको कृति र राजनीतिअनुसारको संस्कृति हुनैपर्छ अन्यथा तत्काल केही फाइदा आफू वा आफ्नालाई भए पनि अन्ततः देश, जनता र समाजलाई केही नहुने वा झन् हानी हुने हुन्छ, जस्तो अहिलेका कम्युनिस्टहरू सत्तामा गएर पनि झन् झन् देश र जनता खाडलमा पारिंदै छन् । त्यसैले आफ्नो ध्येय-उद्देश्यमा पुग्न वा क्रान्तिलाई सफलता र विजयमा पुऱ्याई निरन्तर अगि बढाइराख्नको लागि सचेत, सुनियोजित र संगठित रूपले इमानदार प्रयास गर्नुपर्छ ।

चुक्ली चटनी लगाउने, गुटबन्दी गर्ने, षड्यन्त्र गर्ने, धोकाधडी गर्ने, आफूलाई अग्र र शीर्षस्थानमा राखेर ‘नाम, दाम आफैँ पाम’ भन्ने चिन्तन-प्रवृत्तिले कूट, झुट, गुट, लुट र फुटको स्थितिमा पुऱ्याउँछ र संस्था र संस्थाको उद्देश्य नै समाप्त हुन्छ । भलै यसो गर्दा केही खाओ-कमाओ र रमाओवादीहरूलाई केही दिन आत्मरति त होला अनि त्यस्तो नगर्दा म जस्ता इमानदार र सम्पूर्ण रूपले समर्पितहरूको मेरो जस्तै एक्लो-निख्लो हालत पनि होला । तथापि यी दुवैको हालत क्षणिक हो, अस्थायी हो । खाओ-कमाओवादीहरूको हकमा त उनीहरू सत्ता र शक्तिमै भैरहेकै यो बेलामा समेत दुर्दिन आइरहेका छन् भने पछि पूर्ण क्रान्ति वा पूर्ण प्रतिक्रान्ति भएमा अर्थात् उनीहरू पूर्ण रूपले सत्ता र शक्तिहीन भएको अवस्थामा उनीहरूको हालत अझ के होला भन्ने सहज अनुमान भइरहेकै छ । यसरी नै त्यागी-तपस्वी र इमानदारहरूका सुदिन पनि रातपछि दिन आएझैँ एक दिन अवश्यै आउनेछन् भन्ने आत्मविश्वास मरेको छैन । भनिन्छ- अन्ततः सत्य, न्याय, समानता, क्रान्ति र मुक्ति पक्षधरकै जित हुन्छ । यसै विश्वासका साथ निरन्तर लागिरहनुपर्छ । यही नै सच्चा सर्वहारा वर्गीय चिन्तन र चरित्रको परिचायक हो र यो विश्वास नै अजेय र जीवनशील छ भने अन्य सम्पूर्ण गैरसर्वहारा वर्गीय चिन्तन र चरित्र पराजेय र मरणशील नै छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार