काभ्रे/बनेपा नगरपालिका वडा नं. ६ बुडोलमा रहेका खानेपानी मुहानहरुलाई एकिकृत गरी समानुपातिक वितरण गर्नको लागि सहयोग तथा समन्वय समिति गठन भएको छ।
शुक्रबार ६ नं. वडा कार्यालयको पहलमा भएको वडाबासीको भेलामा वडाध्यक्ष सचितानन्द के.सी.ले वडामा छरिएर रहेको मुहानहरुलाई एकीकृत गरी समानुपातिक प्रणालीमा वितरण गर्न एक घर एक धारा जडान गर्ने प्रस्ताव राख्नुभएकोमा वडाबासीले सो प्रस्तावको ताली बजाएर अनुमोदन गरेको छ । भेलाले खानेपानी मुहानहरुलाई एकिकृत गरी समानुपातिक वितरण गर्नको लागि सहयोग तथा समन्वय समिति समेत गठन गरेका हुन् । पुर्व वडाध्यक्ष कृष्णबुद्ध बजगाईंको नेतृत्वमा २५ सदस्यीय समितिमा पूर्व वडाध्यक्ष भैरव के.सी. र मनकुमारी लामा उपाध्यक्ष, सचिवमा आत्माराम के.सी., सह सचिवमा दिपनारायण पराजुली र अनन्तप्रसाद दाहाल, कोषाध्यक्षमा भेषराज शाह, सहकोषाध्यक्षमा अशोक कुमार बजगाई, सदस्यहरुमा श्यामचन्द्र श्रेष्ठ, राजेन्द्र थापा, नारायण प्रसाद पौडेल, प्रविण बुढाथोकी साहिला लामा, राम के.सी., दुर्गा ढकाल, ध्रुवबहादुर भुजेल, कृष्णप्रसाद दाहाल शर्मा, प्रेम प्रसाद सत्याल, लक्ष्मी ढुंगाना, चेतनाथ मिश्र, नारायण शर्मा, गोपिनी बञ्जारा, सुरेन्द्र न्यौपाने, न्हुच्छेराज श्रेष्ठ, राजु मानन्धर र रामबहादुर बुढाथोकी रहनुभएको छ ।
बनेपा न.पा. ६ का वडाध्यक्ष सचितानन्द के.सी.ले कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुहुँदै वडाभित्र छरिएर रहेको मुहानहरुलाई एकीकृत गर्दै समानुपातिक रुपमा सबैले पानी पिउन पाउने वातावरण बनाउन एक घर एक धाराको आफु लागी परेको जानकारी दिनुभयो । वडाध्यक्ष के.सी.ले खानेपानीको मुहानलाई एकीकृत गरी ट्यांकीमा जम्मा गर्ने र समानुपातिक वितरण प्रणालीमा एक घर एक धारा जडान गर्ने योजना रहेकोले यसमा साथ दिन वडामा रहेका राजनीतिक दल र वडाबासीलाई अपिल गर्नुभयो । उहाँले पानी खुवाउन आवश्यक शक्ति परिचालन गर्ने र आवश्यक आर्थिक व्यवस्थापनको लागि वडाले पहलकदमी लिने भएकोले यो अभियान सफल बनाउन सबैको साथ, सहयोग र प्रतिवद्धता चाहिएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो-"आफ्नो लागि त जो पनि बाँचेको हुन्छ अरुको लागि बाँच्न सक्नुपर्छ । समाज सेवा भनेको आफू जलेर अरुलाई उज्यालो दिने हो। अतः आफू जल्नै पर्छ अरुलाई उज्यालो दिनलाई । किर्ती रहने र मलामी बढ्ने काम गरौं समाज सेवाले नै मानिसलाई सन्तुष्टि दिन्छ। पानी खानदिने कार्य जतिको पुण्यको कार्य अरु कुनै हुन सक्दैन अतः व्यक्तिगत स्वार्थ र दलगत स्वार्थ भन्दामाथि उठेर अघि बढ्न आव्हान गर्न चाहन्छु ।
कार्यक्रममा पुर्व वडाध्यक्षको तर्फबाट बोल्नुहुँदै कृष्णबुद्ध बजगाईले यो पुण्य कामको लागि दलभन्दा माथि उठेर सहयोग गर्न वडाबासीलाई अनुरोध गर्दै आफ्नो सदा साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । यसैगरी नेपाली कांग्रेसका श्यामचन्द्र श्रेष्ठ, एमालेका राजेन्द्र थापा, एकीकृत समाजवादीका भेषराज शाह, रास्वपाका अशोक बजगाईं, राप्रपाका अनन्त प्रसाद दाहाल लगायतले खानेपानी अभियानमा आफ्नो दलको पुर्ण समर्थन रहेको र यसलाई सफल बनाउन आफ्नो सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागीलाई वडा सदस्य लालकृष्ण तिमल्सिनाले स्वागत र वडा सचिव शिवप्रसाद न्यौपानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।