काठमाडौं — काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा शनिबार बिहान एक पुरुषले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार ४५ वर्षीय आश्विन राउतले बिहान करिब ६:१५ बजे आफ्नै डेराको भान्सा कोठामा शरीरमा आगो लगाएका थिए। घटनापछि प्रहरी टोलीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि वीर अस्पताल पुर्याएको जनाएको छ।
प्रहरीका अनुसार राउतको शरीरको करिब ५० देखि ५५ प्रतिशत भाग जलेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ र स्वास्थ्य अवस्थाबारे चिकित्सकको निगरानीमा राखिएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार राउत श्रीमती र छोरासँग बुद्धनगरमा बस्दै आएका थिए। घटनाका बेला भने श्रीमती र छोरा घरमा नरहेको प्रहरीले जनाएको छ।
आत्मदाहको प्रयास हुनुको यकिन कारण खुलिनसकेको प्रहरीले जनाएको छ। यद्यपि प्रारम्भिक रूपमा पारिवारिक विवादको कोणबाट पनि अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।