बनेपा/एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन काभ्रेपलाञ्चोकको ३१ औं जिल्ला अधिवेशन शुक्रबार बनेपामा समानान्तर जिल्ला गठन संपन्न भएको छ । जिल्ला अधिवेशनमा पार्टी अध्यक्ष केपी ओली निकट र पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा निकट छुट्टाछुट्टै जिल्ला कमिटी घोषणा गरेका छन् । आज र भोली दुईदिन अधिवेशन चल्ने भनेता पनि दुबै पक्षले केहीबेर अघि मात्रै सर्वसम्मत नेतृत्व चयन भएको भन्दै नाम सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।
ओली पक्षले अधिवेशनबाट निराजन तिमल्सिनाको अध्यक्षतामा ३३ सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित भएको घोषणा गरेको छ । निर्वाचन मण्डनका अध्यक्ष हेमराज हुमागाईले ३३ जनाको नाम सामाजिक सञ्जाल मार्फत घोषणा गरेका हुन् ।
यो समूहको उपाध्यक्षमा भिजन थापा, सुजन कोइराला र प्रजिता ढुंगाना, सचिवमा सुजन सापकोटा, सहसचिवमा सन्जिव हुमागाई, उत्कर्ष दाहाल र तृष्णा तामाङ, कोषाध्यक्षमा विनायक न्यौपाने निर्वाचित भएका हुन् । अधिवेशनले कार्यालय सचिबमा विकास योञ्जनलाई निर्वाचित गरेको छ । सदस्यहरुमा लक्ष्मी खकुरेल, पूजा खड्का, अरुण काफ्ले, सुमन प्याकुरेल, सन्जिव गिरी, अन्जना तामाङ, योसन तामाङ, सन्ध्या धिताल, अनिस नेपाल, सन्देश बोलखे, तारा तामाङ, रविना खड्का, सुजन बाला श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी सर्मिला तिमल्सिना, राजदिप श्रेष्ठ, सुस्मिता तिमल्सिना, सलिना बन्जारा, मनिषा हुमागाई, विनायक न्यौपाने, सुपिद दाहाल, बुद्ध लामा, मनिषा तामाङ र निरु तामाङ सदस्यमा निर्वाचित भएको निर्वाचन मण्डलका अध्यक्ष हुमागाईले जानकारी दिनुभयो ।
त्यस्तै बाँस्कोटा समूहले दिपेश तिमल्सिनाको अध्यक्षतामा पदाधिकारी निर्वाचित भएको भन्दै नाम सार्वजनिक गरेको छ । अनेरास्ववियुका केन्द्रिय अध्यक्ष समिक बडालले सार्वजनिक गरेको नाम अनुसार उपाध्यक्षमा सौगात अधिकारी, आयुष बडाल र सुजन सापकोटा, सचिबमा प्रवीण पौडेल, सहसचिवमा तिर्सना तामाङ, आभाष चौलागाई र उत्कर्ष दाहाल, कोषाध्यक्षमा प्रजिता ढुंगाना निर्वाचित भएका छन् ।
पोलिट्व्युरो सदस्य तथा संघीय सांसद गोकूलप्रसाद बास्कोटाले उद्घाटन गरेको अधिवेशनमा अध्यक्ष मण्डल बनाउने विषयमा नै विवाद भएको थियो । संस्थापनले जनसंगठन विभाग प्रमुख प्रकाश रोक्काको अध्यक्षतामा अध्यक्ष मण्डल बनाउन खोजेपछि विवाद भएको थियो । अर्को पक्षले अनेरास्वियु स्थायी कमिटीको निर्णय अनुसार प्रदेश अध्यक्षको अध्यक्षतामा गठन गर्ने प्रचलन रहेकाले सोही अनुसार गर्नुपर्ने अडान राखेको थियो । केन्द्रीय निर्वाचन आयोग संयोजक सत्या शाहीले निर्वाचन आयोगका सदस्य हेमराज हुमागाईलाई संयोजक तोकेर पत्र पठाएपछि संस्थापन पक्षले त्यसलाई मानेको छैन ।
अनेरास्वियु काभ्रेका अध्यक्ष मिलनकुमार गौतमले वन्दशत्रका सबै प्रकृया सकिएपछि ब्यानर र झण्डा समेत निकालिसकेपछि आएर भएको घोषणा मान्य नहुने बताए । ‘प्रदेश अध्यक्ष निर्वाचन मण्डलको अध्यक्ष हुने विधानत: व्यवस्था नभएकोले पार्टीले तोक्ने वा प्रदेश अध्यक्ष बनाउने दुवै अभ्यासमा छ, स्थायी कमिटीले निर्णय गरेपनि हामीलाई कुनै सर्कुलर छैन,’ गौतमले भने, ‘सोही अनुसार पार्टीले अध्यक्ष मण्डल बनाएर कमिटी बनाएको हो, बन्दशत्रका सबै काम सकिएपछि भएको घोषणाको कुनै अर्थ छैन ।’ उनले अर्को समूहले घोषणा गरेका पदाधिकारी र सदस्यले समेत दिपेश नेतृत्वकै कमिटीमा रहेको सामाजिक सञ्जालमार्फत व्यक्त गरेको दाबी गरे ।
अनेरास्वियु निर्वाचन आयोगका सदस्य हेमराज हुमागाई विधी, विधान र प्रकृया सबै लत्याएर गरिएको घोषणा मान्य नहुने बताए । ‘अध्यक्ष मण्डल समेत नबनिकन, बन्दशत्रका कुनै प्रकृया शुरु नगरिकन, राजनीतिक प्रतिवेदनहरु पारित नगरीकन, कल्ष्टर समेत नछुट्याई, प्रतिनिधी प्रमाणित समेत नभइकन कमिटी घोषणा भएछ,’ हुमागाईले भने, ‘स्थायी कमिटी बैठकले प्रदेश अध्यक्ष अध्यक्ष मण्डलको संयोजक हुने व्यवस्था छ, निर्वाचन आयोगले मलाई जिम्मेवारी दिएकोले हामीले कमिटी घोषणा गरेका हौं ।’
अनेरास्वियुको केन्द्रीय समिति नै विभाजित देखिएको छ । काभ्रे गृह जिल्ला समेत रहेका केन्द्रीय अध्यक्ष समिक बडालले संस्थापन पक्षले घोषणा गरेको कमिटी आधिकारिक भन्दै सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको छ भने बहुमत स्थायी कमिटी निराजनको कमिटीको पक्षमा रहेको दाबी गरिएको छ ।
नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवं पुर्वमन्त्री गोकुल बाँस्कोटाले उद्घाटन गर्नुभएकोे अखिलको जिल्ला अधिवेशनमा नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, अनेरास्वविुका केन्द्रिय सचिव सुजन कडरिया लगायत विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री बास्कोटाले अनेरास्ववियु सिकाईको विश्वविद्यालयको रुपमा रहेको बताउँदै विद्यार्थीको हक, अधिकारको रक्षा गर्दै अन्याय र अत्याचारको विरुद्धमा आवाज उठाउँदै आएको बताए । उनले अनेरास्ववियुले चेतना, ज्ञान र निर्माणको झण्डा बोकेको बताए । यस्तै अनेरास्ववियु काभ्रेका अध्यक्ष मिलन गौतमको सभापतित्वमा भएको जिल्ला सम्मेलनमा जिल्लास्तरीय नृत्य प्रतियोगिता समेत आयोजना गरेको छ ।
नृत्य प्रतियोगितामा बेलर इन्टरनेश्नल एकेडेमी बनेपा प्रथम, क्षितिज अंग्रेजी स्कुल दोस्रो र एबिएम स्कुलले तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा १६ वटा विद्यालयले सहभागिता जनाएका थिए ।