काठमाडौं । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको नेपाली दुतावासले जनाएको छ ।
हिजो शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली अधिकारीहरुका अनुसार यो आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको छ । सयौं मानिस घाइते भएका छन् । तीन जना नेपाली घाइते भएका छन् ।
५० वर्षअघि भएको योम किपर युद्ध सुरु भएको दिन (६ अक्टोबर)को भोलिपल्ट भएको आक्रमणमा नेपालीहरु पनि परेका थिए । उनीहरुमध्ये १० जनाको मृत्यु भएको पुष्टि इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले गरिन् ।
राजदूत रिजालका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।
यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।
सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुबैको खट्टामा गम्भीर चोट लागेको छ ।
गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मामिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा छन् ।
राजदूत रिजालले ‘मृतक १० जनाको शव नेपाल पठाउन व्यवस्थापन मिलाइरहेकाे बताउनुभयो। बाँकी घाइते र बंकरमा सुरक्षितहरुलाई पनि चाँडोभन्दा चाँडो उद्दार गर्न प्रयासरत छौं ।’
परराष्ट्रमन्त्री एनपी साउदले आइतबार बिहान संसदलाई दिएको जानकारीअनुसार इजरायलमा ४ हजार ५०० नेपाली केयर गिभरका रूपमा कार्यरत छन् । २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गएका थिए । जसमा कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।
उनीहरुमध्ये १७ जना गाजा क्षेत्र नजिक दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने क्षेत्रमा भएको आक्रमणमा परेको भन्दै परराष्ट्र मन्त्री साउदले भनेका थिए, ‘१२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ ।’
आइबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकले परराष्ट्रमन्त्री साउदको संयोजकत्वमा समन्वय संयन्त्र गठन भएको छ । समन्वय संयन्त्रले नेपालीहरूको अवस्था पहिचान गर्ने र उद्दारसम्बन्धी निर्णय गर्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नेछ ।
परराष्ट्र मन्त्रालयले नेपाली दूतावासलाई नेपालीको उद्धार गर्न, त्यहाँको वस्तुस्थितिको जानकारी गराई सुरक्षित रूपमा रहन इजरायल सरकारले जारी गरेको सुरक्षा निर्देशन तथा नियम पालना गर्नका लागि नेपालीलाई जानकारी गराउन निर्देशन दिएको छ ।