मुख्य समाचार
कांग्रेसमा बीपीको समाजवाद कहाँ छ ? | संसदको पूर्वाधार विकास समितिले गरे ‘धुलिखेल–खावा’ सडकको अनुगमन, स्थानीयले पोखे आक्रोश | जलवायु परिवर्तनको विषयमा तिनै तहका सरकारसँग सहकार्य गर्ने | प्रचण्ड, बाबुराम र किरणलाई सांसद श्रेष्ठको प्रश्न : एकजुट भएर बाँकी उपलब्धि प्राप्तिका लागि लड्ने कि आफू–आफू लडेर बस्ने ? | पतञ्जली महिला योग समिति काभ्रेको तीज विशेष कार्यक्रम | असोज ९ गतेदेखि २४ गतेसम्म १६ दिन बनेपा महोत्सव हुने | निजामतीमा सेवाका मेरा गौरवपूर्ण १३७९१ दिनहरु ! | काभ्रेमा डेंगु संक्रमितको संख्यामा बृद्धि | तीज महिला दिदीबहिनीको दुःखसुख साटासाट गर्ने पर्व : सचितानन्द के.सी. | वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय सम्मेलन असोजको पहिलो साता |
मुख्य समाचार
कांग्रेसमा बीपीको समाजवाद कहाँ छ ? | संसदको पूर्वाधार विकास समितिले गरे ‘धुलिखेल–खावा’ सडकको अनुगमन, स्थानीयले पोखे आक्रोश | जलवायु परिवर्तनको विषयमा तिनै तहका सरकारसँग सहकार्य गर्ने | प्रचण्ड, बाबुराम र किरणलाई सांसद श्रेष्ठको प्रश्न : एकजुट भएर बाँकी उपलब्धि प्राप्तिका लागि लड्ने कि आफू–आफू लडेर बस्ने ? | पतञ्जली महिला योग समिति काभ्रेको तीज विशेष कार्यक्रम | असोज ९ गतेदेखि २४ गतेसम्म १६ दिन बनेपा महोत्सव हुने | निजामतीमा सेवाका मेरा गौरवपूर्ण १३७९१ दिनहरु ! | काभ्रेमा डेंगु संक्रमितको संख्यामा बृद्धि | तीज महिला दिदीबहिनीको दुःखसुख साटासाट गर्ने पर्व : सचितानन्द के.सी. | वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय सम्मेलन असोजको पहिलो साता |


यस्ताे छ चाैंरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८१–०८२ काे नीति तथा कार्यक्रम

Thearaniko Times 870+ समाचार ( )
२९ श्रावण २०८१, मङ्गलबार

गाउँसभाको बैठक २०८१ साल असार १० गते चाैंरीदेउराली गाँउपालिका अध्यक्ष श्री रेणुका चौलागाईंले प्रस्तुत गर्नु भएको आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम

चौंरीदेउराली गाउँपालिकाको १४औं अधिवेशनमा उपस्थित चौंरीदेउराली गाउँपालिकाका उपाध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा अध्यक्ष ज्यूहरु, गाउँसभाका सम्पूर्ण सदस्यज्यूहरु, संचारकर्मी, सुरक्षाकर्मीज्यूहरु, कर्मचारीज्यूहरु एवम् उपस्थिति सम्पूर्ण महानुभावहरु, आजको यो महत्वपूर्ण गाउँसभाको अधिवेशनमा हार्दिक स्वागत एवम् धन्यबाद प्रकट गर्दछु ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात् संविधानले गरेको व्यवस्था बमोजिम स्थानीय तहको दोस्रो निर्वाचनबाट दोस्रो कार्यकालका लागि स्थानीय सरकार गठन भई वर्तमान निर्वाचित जनप्रतिनिधीहरुको दोस्रो बर्ष पुरा भई तेस्रो बर्षको रुपमा, यस गरिमामय सभामा गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्न पाउँदा मैले आफुलाई गौरवान्वित महशुस गरेको छु। वार्षिक नीति तथा कार्यक्रम तर्जुमाका क्रममा गाउँपालिकालाई विभिन्न सुझाव दिनु हुने सम्पूर्ण आमा, बुवा, दाजुभाई तथा दिदी बहिनीहरु लगायत कर्मचारीहरू प्रति हार्दिक आभार सहित हामी सबैको तर्फबाट धन्यवाद व्यक्त गर्दछु । यस अवसरमा देश र जनताका आमुल परिवर्तनका निम्ति जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका विभिन्न कालखण्डमा भएका विभिन्न आन्दोलन, संघर्ष, विद्रोह, राजनीतिक अग्रगमन र लोकतन्त्र गणतन्त्रको सवलीकरणको क्रममा भएका ऐतिहासिक आन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै बेपत्ता योद्धाहरु प्रति उच्च सम्मानका साथ घाइते अपाङ्गहरुको शीघ्र स्वास्थ लाभको कामना गर्दछु । जनयुद्ध, जनआन्दोलनमा जनताले पुऱ्याएको योगदान र बलिदानको गौरवपूर्ण इतिहासले हामीलाई सधै मार्गनिर्देश गरिरहनेछ ।

हाल देशमा उत्पन्न आर्थिक शिथिलताले समग्र देशको अर्थतन्त्रलाई गम्भीर असर पारेको हुँदा हरेक क्षेत्रमा अर्थतन्त्रको प्रभाव परिरहेको अवस्था विद्यमान रहेको  छ । नागरिकहरुको असीमित इच्छा आकांक्षा पूरा गर्न सीमित वजेटको परिधिमा रही नागरिकको वृहत्तर हितको लागि स्रोत साधनको अधिकतम परिचालन गर्ने गरी वस्तुपरक नीति तथा कार्यक्रमहरु तर्जुमा गर्ने कोसिस गरेका छौं । विगतको तुलनामा गाउँपालिकाबाट सम्पादन हुने क्रियाकलापहरुमा सुधारका सकारात्मक संकेतहरु देखा परेका छन् ।

प्रशासनिक कामकारवाहीहरु लगायत आयोजना तथा कार्यक्रम कार्यान्वयनमा समेत केहि सरल र छिटो छरितोपन आएको छ भने सेवाग्राहीले सेवा लिन कार्यालयमा घण्टौ लाइनमा बस्नु परेको छैन । यसबाट हामीले गरिने आगामी कामकारवाहीमा अझ बढी सुधार हुन गइ समाजलाई सुन्दर, समुन्नत र समृद्ध गाउँपालिकाको निर्माण गर्ने हाम्रो संकल्प केहि हदसम्म पूरा हुनेछ भन्नेमा आशावादी छु । समस्त गाउँपालिका वासीको समृद्धिको चाहाना र हामीले निर्वाचनका क्रममा हाम्रा मतदाताहरु प्रति गरेका प्रतिज्ञाहरु पुरा गर्ने दिशामा हामीले आगामी आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रमलाई अभिमुख गरेका छौं । यसका लागि दीगो विकासको राष्ट्रिय लक्ष्यहरुको स्थानीयकरण गर्दै गुणस्तरीय पूर्वाधार निर्माण सहित स्थानीय स्रोतको पहिचान र परिचालन गरी समावेशी, जलवायु उत्थानशील तथा दिगो स्थानीय आर्थिक विकास मार्फत समृद्ध गाउँपालिका र सुखी जनताको लक्ष्य हासिल गर्न सार्वजनिक, निजीक्षेत्र र समुदायको साझेदारी विकास गरिनेछ ।

आगामी आर्थिक वर्षको लागि प्रस्तावित नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सम्पूर्ण चौंरीदेउराली गाउँबासी तथा सबै पेशा व्यवसायीहरुमा समेत आग्रह गर्दछु । सम्मानित यस सभामा पेश हुने नीति तथा कार्यक्रममा व्यापक छलफलको माध्यमबाट वस्तुपरक नीति तथा कार्यक्रम पारित हुने अपेक्षा गर्दै आ.व २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।


आदरणीय सभा सदस्यज्यूहरु,

अब म “कृषि, पर्यटन र स्वच्छ हरियाली, समृध्द चौंरीदेउराली” भन्ने हाम्रो लक्ष्यमा पुग्ने आकांक्षा सहित निर्धारण गरेका चौंरीदेउराली गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यस गाउँसभाको बैठकमा प्रस्तुत गर्न चाहन्छु ।

स्वास्थ्यतर्फ
१. गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुबाट नागरिकहरुलाई सहज, सर्वसुलभ गुणस्तरीय र पहुँच योग्य स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाईनेछ ।
२. गाँउपालिकाबासी सबैलाई स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गराउन प्रोत्साहन गरिनेछ ।

३. आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने निःशुल्क औषधीहरुको उपलब्धताको सुनिश्चता गरिनेछ ।

४. गाउँपालिकाको बर्थिङ सेन्टर र अस्पतालमा सुत्केरी हुने यस गाउँपालिका भित्रका महिलाहरुको लागि एम्बुलेन्स सेवा निःशुल्क गरिनेछ ।

५. सबै माध्यमिक विद्यालयहरुमा विद्यालय नर्स कार्यक्रम विस्तार कार्यक्रमलाई व्यवस्थित गरी विद्यालयहरुमा स्वास्थ्य सेवा उपलब्ध गराइनेछ ।

६. सर्वसाधारणहरुको स्वास्थ्यमा पहुँच विस्तार गर्नको लागि आवश्यकता अनुसार विशेषज्ञता सेवा प्रदान गर्न स्वास्थ्य शिविर संचालन गरिनेछ ।

७. बर्थिङ्ग सेन्टरमा २४ सैं घन्टा प्रसुती सेवा उपलब्ध गराईनेछ, प्रसुती सेवामा संलग्न कर्मचारीहरुलाई आवश्यक प्रोत्साहनको व्यवस्था मिलाईनेछ ।

८. महिला स्वयंसेविकाहरुलाई दक्षता विकास तालिम उपलब्ध गराई उनीहरुको सेवालाई प्रभावकारी तुल्याइनेछ।

९. स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने आधारभुत सेवाहरुको नियमन कार्यलाई प्रभावकारी बनाइनेछ ।

१०. मानसिक स्वास्थ्य समस्यालाई कम गर्न विभिन्न मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु संचालन गर्न जनशक्ति परिचालन गरिनेछ ।

११. अति विपन्न नागरिकहरुको जटिल किसिमको रोगको उपचारको सहयोगको लागि अध्यक्ष सहायता कार्यक्रमको शुरुवात गरिनेछ ।

शिक्षातर्फ

१२. समग्र विद्यालयको गुणस्तर सुधारको लागि गाउँपालिका र प्रधानाध्यापकसँग
कार्यसम्पादन सम्झौता गरिनेछ । साथै प्रधानाध्यापक र विद्यालयकाशिक्षकहरुसँग कार्यसम्पादन मूल्यांकन सम्झौता गरिने कार्यलाई निरन्तरता दिईनेछ ।

१३. प्रधानध्यापकलाई विद्यालयको समग्र शैक्षिक गुणस्तर कायम गर्न विद्यालयको तह अनुसार कार्य सम्पादन मूल्यांकनको आधारमा त्रैमासिक रुपमा प्रधानाध्यापकहरुलाई थप भत्ताको सुविधा उपलब्ध गराईनेछ ।

१४. कार्यसम्पादन मूल्यांकनको आधारमा शिक्षकहरुलाई अन्तर विद्यालय स्थानान्तरण गर्ने नीति अवलम्बन गरिनेछ ।

१५. विपन्न वर्गका विद्यार्थीहरुको पहिचान गरी त्यस्ता विद्यार्थीहरुलाई निःशुल्क स्टेशनरी,पोशाक लगायतका अन्य सुविधा उपलब्ध गराईनेछ ।

१६. आवश्यकताको आधारमा गाउँपालिका भित्रका विद्यालयहरुलाई आवासीय विद्यालयको रुपमा क्रमशः विकास गर्दै जानेछ ।

१७. तोकिएको मापदण्ड बमोजिम शिक्षक संख्या, विद्यार्थी संख्या र अन्य पूर्वाधार नपुग भएका विद्यालयहरुलाई तह घटुवा, मर्ज वा स्थगन गरी शिक्षक सरुवालाई व्यवस्थित बनाईनेछ ।

१८. विद्यालयहरुको भौतिक पूर्वाधार, स्वास्थ्य तथा सरसफाईको सुविधा र आधारभुत खानेपानी सुविधा विस्तारको लागि स्रोत व्यवस्था गर्दै शिक्षकहरुको व्यावसायिक क्षमता विकासको लागि गरिने लगानीमा विविधता ल्याईनेछ ।

१९. गाउँपालिका स्तरीय खानेपानी, सरसफाइ र स्वच्छता योजना निर्माण गरी मापदण्ड पूरा गरेका विद्यालयहरुलाई खानेपानी, सरसफाइ र स्वच्छता सूचाङ्कमा तीन तारा विद्यालय घोषणा गर्दै लगिनेछ ।

२०. यस गाउँपालिका अन्तरगतका विद्यालयहरुमा रिक्त हुन आउने दरबन्दीमा शिक्षक अभाव हुन नदिन करार शिक्षक बैङकको व्यवस्था गरिनेछ ।

२१. सवै सामुदायिक विद्यालयमा कक्षा ९ र १० मा पढने विद्यार्थीहरुलाई आगामी शैक्षिक गन्तव्यको लागि परामर्श सेवा जस्ता जीवनवृति ( Career Counselling) कार्यक्रम संचालन गरिनेछ ।

२२. वर्तमान बजार मूल्य र अन्य परिवेशलाई ध्यानमा राखी विगत आर्थिक वर्ष देखि
दिईदै आएको सामुदायिक विद्यालयमा कार्यरत वाल शिक्षक लगायत अन्य विद्यालय कर्मचारीहरुको बृद्धि गरिएको सेवा सुविधालाई निरन्तरता दिईनेछ ।

२३. “उत्कृष्ट शैक्षिक गन्तव्यका लागि चौंरीदेउराली” भन्ने आदर्श लक्ष्य प्राप्तिका लागि सरकारी शैक्षिक संस्थाहरुबाट प्रदान गर्ने उच्च शिक्षालाई थप गुणस्तरीय र सर्वसुलभ तुल्याउन त्यस्ता प्राज्ञिक संस्थाहरुसँग सहकार्य र साझेदारी गरिने कार्यलाई निरन्तरता दिइनेछ।

२४. विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण गर्दा बालमैत्री तथा अपाङ्गतामैत्री संरचना निर्माणमा जोड दिइनेछ ।

२५. सबै विद्यालयहरुमा क्रमशः पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशाला स्थापनाको नीतिलाई निरन्तरता दिइनेछ।

२६. पालिका स्तरीय शिक्षा सम्बन्धी कार्यविधिहरु आवश्यकता अनुसार संसोधन गरी विद्यालय सञ्चालन तथा नियमनको लागि कार्यविधि सहितको वृस्तित शिक्षा ऐन
ल्याइनेछ ।

२७. शैक्षिक प्रणाली मै रूपान्तरण ल्याउन पाठ्यक्रम विकास, पठनपाठनको ब्यवस्थापन, अतिरिक्त क्रियाकलाप ब्यवस्थपान, शैक्षिक पात्रो ब्यवस्थापन, अद्याविधक स्रोत ब्यवस्थापन, विद्यालय-अविभावक विचको सञ्चार व्यवस्थापन, अनलाइन शिक्षण तथा सिकाइ र दस्तावेजीकरण लगायतका क्षेत्रमा सूचना प्रविधिको प्रभावकारी उपयोग गरी सबै सामुदायिक विद्यालयहरुमा शैक्षिक ब्यवस्थापन सूचना प्रणाली (EMIS) लागु गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।

२८. “एक विद्यालय एक उत्पादन” कार्यक्रमको संचालनको लागि स्रोतको व्यवस्था गरिनेछ ।

२९. स्थानीय पाठ्यक्रमको आधारमा स्थानीय पाठ्यपुस्तकलाई कार्यान्वयनमा ल्याइनेछ ।

३०. विद्यालय स्तरको परिक्षा प्रणाली तथा मूल्यांकन प्रणालीलाई व्यवस्थित तथा मर्यादित गरिनेछ।

कृषितर्फ

३१. किसानलाई कृषिमा आत्मनिर्भर बन्दै उत्पादन वृद्धि गर्न, कृषिमा प्रविधि तथा यान्त्रिकीकरण गर्दै आधुनिक कृषिलाई बढावा दिन कृषकहरुको आवश्यकताका आधारमा मागमा आधारित कृषि यन्त्रमा अनुदान दिने कार्यलाई निरन्तरता गरिनेछ ।

३२. कृषि आधुनीकरणलाई अगाडि बढाई एक घर एक टनेल कार्यक्रम क्रमशः कार्यान्वयन गरिनेछ ।

३३. वडा सेवा केन्द्रवाट नै दिदै आएको पशु रवाली विरुवाको लागि अति आवश्यक औषधी उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ । कृषकको टोल टोलमा नै पहुँच हुने गरी पशु स्वास्थ्य र कृषि घुम्ति शिविर संचालन गरिनेछ ।

३४. फलफुल, तरकारी तथा अन्नबालीहरुको पकेट क्षेत्रहरु पहिचान गरी सघन कृषि क्षेत्र निर्धारण गरी ती स्थानहरुमा ब्यावसायिक कृषि पकेट क्षेत्र निर्धारण
कार्यलाई थप व्यवस्थित गरिनेछ ।

३५. कोदो, फापर र खुर्सानी जस्ता रैथाने बालीहरुको विउ संरक्षण, खेती विस्तार र बजारीकरणको व्यवस्था मिलाइनेछ।

३६. कृषकहरुलाई आवश्यक कृषि औजार तथा बाली बीउहरु विशेष अनुदानमा प्रदान गरी कृषिलाई आधुनिकीकरण र व्यवसायिक उत्पादन प्रणालीमा लैजान पहल गरिनेछ ।

३७. बाख्रापालनलाई थप उत्पादनमुखी बनाउनका लागि बाख्रा पकेट क्षेत्रलाई विस्तार गर्ने र उन्नत जातका बोका पाठीहरू उत्पादन गर्ने कार्यलाई प्रोत्साहित गर्ने कार्यलाई निरन्तरता दिइनेछ।

३८. युवा लक्षित कार्यक्रम संचालन गरी युवाहरुलाई स्वरोजगारमूलक कृषि व्यवसायमा संलग्न हुने वातावरण तयार गरिनेछ ।

३९. प्राङ्गारिक मल निर्माणका लागि गाउँपालिकाले किसानहरुलाई प्रोत्साहित गर्ने नीति अबलम्बन गरिनेछ ।

पशुपालनतर्फ

४०. प्राकृतिक रुपबाट गर्भाधान संभव हुन नसकेमा निःशुल्क कृत्रिम गर्भाधान गराउने कार्यलाई निरन्तरता दिइनेछ ।

४१. विपद र महामारीका कारण पशुपालन व्यवसायमा हुने क्षति भरणका लागि पशु बिमा कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

४२. पशुहरुमा देखिने विभिन्न रोग विरुद्धका औषधीहरु खरिद गरी निःशुल्क रुपमा औषधी वितरण तथा कृषकहरुको घरदैलोमा उपचार प्रदान गरिनेछ ।

४३. चौरीदेउराली गाउँपालिमा भित्र गठन भएका कृषक समूह, फर्म तथा सहकारीमा आवद्ध कृषकहरुलाई उत्पादन बृद्धि गर्ने खालका कार्यक्रमहरु संचालन गरी कृषकहरुलाई व्यवसायिकता तर्फ लगिनेछ ।

४४. गाउँपालिकाका सवै क्षेत्रमा कृषि तथा पशु प्राविधिकको सेवा पुर्याउने कार्यलाई निरन्तरता दिईनेछ ।

४५. पशु तथा कृषिका उत्कृष्ट कृषकलाई छनोट गरी पुरस्कृत गरिनेछ ।

भौतिक पूर्वाधार तथा वातावरणतर्फ

४६. चौरीदेउराली गाउँपालिकाको व्यवस्थित प्रशासनिक भवन नहुँदा कार्यालयबाट जनतालाई दिने सेवा प्रवाह कार्यमा विभिन्न समस्या झेल्नुपरेको छ । जनतालाई सहज ढंगले गुणस्तीय सेवा प्रवाह गर्न प्रशासनिक भवन निर्माणको अपरिहार्यतालाई ध्यानमा राखी बजेटको व्यवस्था गरी आ.व. २०८१/८२ देखि प्रशासनिक भवन निर्माण कार्य शुरु गरिनेछ ।

४७. चालु आर्थिक वर्षमा शुरु भएको गाउँपालिकाको १५ शैयाको अस्पताल निर्माणको कार्यलाई तिव्रता प्रदान गरिनेछ ।

४८. निर्माण हुन ‘बाँकी वडा कार्यालयहरुको प्रशासनिक भवन निर्माणको लागि वजेट व्यवस्था गरिनेछ ।

४९. संघ र प्रदेश सरकारसँगको समन्वयमा निर्माण हुन बाँकी रहेका सडक लगायतका अन्य पूर्वाधार निर्माणको कार्यलाई निरन्तरता दिईनेछ । ५०. सडकको दिगोपना र संरक्षणको लागि सडक गुरुयोजना अनुसार सडक निर्माणमा जोड दिइनेछ ।

५१. नयाँ सडक निर्माण भन्दा बनेका सडकहरुलाई क्रमश स्तरोन्ती गर्ने कार्यलाई प्राथमिकता दिईनेछ ।

५२. गाँउपालिकामा योजना बैंकको स्थापना गरी प्राथमिकताका आधारमा विकास निर्माणका कार्यक्रमहरु संचालन गरिनेछ ।

५३. विकास प्रक्रियालाई दिगो, भरपर्दो एवं विश्वसनीय बनाउन टुक्रे आयोजनाहरुलाई निरुत्साहित गर्दै लगिनेछ । रु ५ लाख भन्दा माथिका योजना संचालन गर्न जोड दिईनेछ ।

५४. गाउँपालिकाको विकासमा रुपान्तरणकारी परिवर्तन ल्याउन सक्ने केहि ठुला आयोजनाहरु पहिचान गरी गाउँपालिकाको गौरवका आयोजनाका रुपमा कार्यान्वयन गरिनेछ र त्यस्ता आयोजनामा श्रोतको अभाव हुन नदिनको लागि संघ र प्रदेश सरकारसंग आवश्यक समन्वय गरिनेछ ।

५५. “एक घर एक धारा” को अभियानलाई पूर्णता दिन आवश्यक पूर्वाधारहरु तर्फ विशेष ध्यान दिइनेछ ।

५६. मर्मत संभार गर्नुपर्ने तथा अधुरा योजनाहरु बाहेक नँया मठ, मन्दिर,गुम्बा लगायत
सामुदायिक भवनहरु आगामी वर्ष निर्माणमा क्रमशः न्यूनीकरण गर्दै लागिनेछ।

५७. गाउँपालिका भित्रको यातायातलाई १२ महिनै संचालन गर्नको लागि सडकको स्तरोन्ति गरिनेछ । प्राकृतिक कारणले अवरुद्ध हुने सडकहरुको निर्माणको लागि आकस्मिक मर्मत तथा व्यवस्थापन कोषको स्थापना गरिनेछ ।

५८. निर्माण गरिने पूर्वाधारहरुको दिगोपना र गुणस्तर कायम गर्नको लागि गाउँपालिकामा पूर्वाधार ल्याव स्थापना गर्न आवश्यक पहल गरिनेछ ।

५९. माझी समुदायहरुको लागि चौंरीदेउराली गाउँपालिका वडा नं ८ पचुवार
माझिवस्तीमा एक घर एक धारा र शौचालय निर्माणको कार्य अघि बढाईनेछ।

६०. गाउँपालिका क्षेत्रभित्रको संचार सेवालाई नेपाल टेलिकम र ईन्टरनेट सेवा प्रदायक संस्थाहरुको सहकार्यमा व्यवस्थित र गुणस्तरीय बनाउनका लागि विशेष ध्यान दिनेछ ।

६१. पर्यावरणीय असन्तुलन जोगाउनको लागि वृक्षारोपण कार्यलाई प्रोत्साहित गरिनेछ।

६२. जलस्रोत मुहान संरक्षणका लागि पुराना आहाल पुनःस्थापना गरी नयाँ माटे पोखरीहरु निर्माणका लागि विशेष कार्यक्रम संचालन गरिनेछ  ।

६३. वातावरण प्रदुषण कम गराउन गाउँपालिकाभित्र प्लाष्टिक जन्य पदार्थको प्रयोगलाई रोक लगाउन आवश्यक पहल गरिनेछ ।

६४. प्रयोग विहिन अवस्थामा रहेका विद्यालय एवम् सार्वजनिक भवन लगायतका संरचनाहरु गाउँपालिका र सम्बन्धित वडाले विभिन्न कार्यहरुमा प्रयोगमा ल्याइ खेरा गैरहेका संरचनाहरुलाई उपयोगमा ल्याइनेछ ।

वनतर्फ

६५. पुराना सल्लाका रुखहरु विस्थापित गरी नयाँ प्रजातिका बोट विरुवा लगाउन प्रोत्साहन गरिनेछ ।

६६. गाउँपालिका भित्र रहेका सामुदायिक वन उपभोक्ता समूहलाई व्यवस्थिति गर्न वन संरक्षण गर्ने नीति अवलम्बन् गरिनेछ । वनक्षेत्रको संरक्षण गर्न सरोकारवालाहरुकोसँग छलफल र अन्तरक्रिया गरिनेछ ।

६७. जलवायुजन्य जोखिम तथा प्रकोप न्यूनीकरण र अनुकूलनको लागि जलवायु अनुकूलन कार्य बनाइ कार्यान्वयन गरिनेछ ।

६८. खाली भएको क्षेत्रमा वृक्षारोपन गर्ने र डढेलो नियन्त्रणका सचेतना कार्यक्रम संचालन गरिनेछ ।

सुशासन तथा संस्थागत विकासतर्फ

६९. गाउँपालिकाबाट सम्पादन हुने सबै कार्यहरु एवम् सार्वजानिक सेवाप्रवाहलाई प्रविधिमैत्री बनाइनेछ । सार्वजानिक सेवा प्रवाहलाई गुणस्तरीय, सरल र पहुँच योग्य, परिणाममुखी,छिटो छरितो र पारदर्शिता बनाउने नीतिलाई थप प्रभावकारी बनाइनेछ ।

७०. गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवा र विकास निर्माणमा हुनसक्ने भ्रष्टाचार, अपारदर्शिता तथा ढिलासुस्तीमा शुन्य सहनशीलताको नीति अख्तियार गरिनेछ
। सो कार्यलाई प्रभावकारी बनाउन प्रत्येक वडा कार्यालयहरु र सार्वजनिक स्थानहरुमा गाउँपालिकाको तर्फबाट सुझाव पेटिकाहरु राखिने छ ।

७१. कर्मचारी तथा जनप्रतिनिधीहरुको क्षमता अभिबृद्धि सम्बन्धी तालिम तथा अभिमुखीकरण र भ्रमण जस्ता कार्यक्रमहरु संचालन गरिनेछ ।

७२. गाउँपालिकाको सर्वोपरि हित हुने गरी राम्रो काम गरी उत्कृष्ट नतिजा निकाल्ने कर्मचारी पुरस्कृत गर्ने र आचार संहिता पालना नगर्ने, आफ्नो जिम्मेवारी वहन नगर्ने,काम पन्छाउने,अनियमितता भष्ट्राचारमा संलग्न हुने कर्मचारीहरुलाई कानून बमोजिम कारबाही तथा दण्डित गरिने छ ।

७३. गाउँपालिकाबाट प्रवाह हुने योजना, लेखा, राजश्व, सिफारिस, घटना दर्ता र सूचना प्रवाह लगायत सबै सेवाहरुमा सफ्टवेयर व्यवस्था गरी कागज विहीन प्रणाली बनाउन विद्युतीय प्रणालीमा जोड दिईने नीतिलाई निरन्तरता दिइनेछ ।

७४. नागरिकहरुलाई सहजीकरण गर्न गाउँपालिकामा हेल्प डेक्स राखी सेवा दिने
व्यवस्था मिलाईनेछ ।

७५. अनुगमन प्रणालीलाई व्यवस्थित गरी गाउँपालिकाबाट सम्पादित सबै किसिमका योजना कार्यक्रम र सेवाहरुलाई प्रभावकारी कार्यान्वयन गरिनेछ ।

७६. संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने बजेटमा कटौती हुदै गईरहेको तथा
सार्वजानिक खर्चमा पर्ने चापलाई व्यवस्थापन गर्न आगामी वर्ष सार्वजानिक
खर्चमा मितव्ययिता अपनाईनेछ । गाउँपालिकामा हुने खर्चलाई मितव्ययी र एकरुपता कायम गर्न सार्वजानिक खर्चको मापदण्ड तयार गरी कार्यान्वयन गरिनेछ ।

७७. वित्तिय अनुशासन कायम गर्दै असारे विकासलाई निरुत्साहित गर्न चैत मसान्त भित्रै सवै आयोजना र कार्यक्रमहरुको सम्झौता सम्पन्न गर्ने नीति अबलम्बन गरिनेछ ।

७८. गाउँपालिकाबाट सम्पादित हुने हरेक कार्यहरुमा अधिकतम सूचना प्रविधिको प्रयोग गरी सेवा प्रवाहलाई प्रविधि मैत्री बनाईदै लगिनेछ ।

७९. बेरुजु फछ्र्यौटलाई प्राथमिकतामा राखी र योजना तथा कार्यक्रम गर्दा आर्थिक
ऐन नियमको पूर्ण पालना गरी शून्य वेरुजु नीतिको अवलम्वन गरिनेछ ।

८०. “ उपभोक्ता हक हितको सरंक्षणको लागि खाद्य बस्तुको शुद्धता, हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ आधारभुत वस्तु तथा सेवाको सहज आपूर्ति र गुणस्तर कायम गर्न नियमित रुपमा बजार अनुगमन गर्ने र यस्तो अनुगमनमा उपभोक्ताहरुलाई समेत संलग्न गराइनेछ।

८१. गाउँपालिका भित्रका सार्वजनिक तथा सरकारी जग्गाहरुको मिहिन ढंगले खोज तथा अध्ययन गरी अभिलेख राखी त्यस्ता जग्गाहरुको संरक्षण गरिनेछ।

८२. गाउँपालिका अन्तर्गत रहेका विषयगत समितिहरुको क्षमता अभिबृद्धि गरी कार्यसम्पादनमा प्रभावकारिता कायम गरिनेछ ।

न्यायिक समितितर्फ

८३. न्यायिक समितिबाट सम्पादन गरिने सेवालाई चुस्त एवम् प्रभावकारी बनाईनेछ ।

८४. गरिव,असहाय तथा विपन्न समुदायको लागि निःशुल्क कानुनी परामर्शको लागि सहयोग गर्न आवश्यक व्यवस्था मिलाईनेछ ।

८५. वडाहरुमा रहेका मेलमिलाप केन्द्रहरुलाई क्रियाशिल बनाउन पहल गरिनेछ ।

८६. न्यायिक समितिबाट सम्पादन हुने सबै किसिमका काम कारवाहीहरुलाई व्यवस्थित अभिलेख प्रणालीमा राखिनेछ ।

सहकारीतर्फ

८७. सवै सहकारीहरुलाई Copomis सेवामा आवद्ध गर्ने व्यवस्था मिलाईनेछ ।

८८. सहकारी मार्फत किसानहरुलाई वितरण गरिने मलको लागि सदरमुकाम देखि प्रत्येक वडासम्म ढुवानी भाडा गाउँपालिकाले व्यहोर्ने व्यवस्थालाई निरन्तरता दिइनेछ साथै प्रभावकारी अनुगमन समेत गरिनेछ ।

८९. प्रत्येक वडामा रहेका सहकारी संस्थाहरुलाई नवीकरण गर्दै थप जिम्मेवार बनाईनेछ ।

९०. सहकारी संस्थाहरुको संस्थागत सुशासन प्रवर्द्धन गर्दै निक्षेपकर्ताहरुको हित संरक्षणका लागि नियमनलाई प्रभावकारी तुल्याइनेछ ।

९१. गाउँपालिकाभित्र स्थापना हुने कृषि समूह निजी फर्म र सहकारीहरुको दर्ता तथा कार्य क्षेत्र अनुमति जस्ता विषयहरुलाई सदस्य केन्द्रित हुने गरी नियमन तथा संचालन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

९२. गाउँपालिकाभित्र दर्ता भई संचालन भएको सहकारीहरु सूचीकृत गरी एकीकरण तथा मर्जरको लागि पहल गर्ने साथै संचालन हुन नसकेको सहकारीहरुलाई खारेजी प्रक्रियामा लाने नीति लिइनेछ ।

विपद् व्यवस्थापन तथा फोहोरमैला व्यवस्थापनतर्फ

९३. एम्बुलेन्स सेवामा सबै वडाहरुका जनताको पहुँचलाई सुनिश्चित गरिनेछ ।

९४. विपद् व्यवस्थापन कोषबाट विपद् प्रभावित परिवारहरुलाई राहत तथा उद्धार कार्यक्रमहरु संचालन गरिनेछ ।

९५. गाउँपालिकामा रहेको विपद व्यवस्थापन समितिलाई सक्रिय बनाउन आवश्यक कार्य गरिनेछ ।

तथ्यांक व्यवस्थापन

९६. गाउँपालिकाको आधारभूत तथ्याङ्क राष्ट्रिय योजना आयोगको National Data Profile मा प्रविष्ट गर्ने व्यवस्थालाई थप प्रभावकारी बनाइनेछ ।

रोजगारी तर्फ

९७. गरिबी न्यूनीकरणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत नागरिकको आयआर्जन बृद्धि गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।

९८. युवा लक्षित कार्यक्रम संचालन गरी युवाहरुलाई स्वरोजगारमूलक कृषि व्यवसायमा संलग्न हुने वातावरण तयार गरिनेछ ।

९९. गाउँपालिकाभित्र वेरोजगार युवाहरुलाई विभिन्न सिपमुलक तालिमहरु प्रदान
गरी आयआर्जन र स्वरोजगारमा आवद्ध गर्न आवश्यक व्यवस्था मिलाईनेछ ।

१००. स्थानीय मदिरालाई आधुनिक प्रविधिबाट सुधार गरी ब्रान्डिङ गर्ने कार्यका लागि पहल गरी व्यवस्थित बजारीकरणमा ध्यान दिइनेछ ।

१०१. प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउने नीति लिईनेछ ।

१०२. गाउँपालिकाबाट संचालन हुने साना खालका पूर्वाधारहरुको निर्माण तथा सडकहरु मर्मत गर्ने कार्यमा हेभि साधनको प्रयोग नगरी स्थानीयलाई रोजगारी दिने नीति अवलम्बन गरिनेछ । साथै सो कार्यक्रमलाई गाउँपालिकाको बजेटसंग साझेदारीमा सञ्चालन गर्न प्रोत्साहन दिइनेछ ।

युवा तथा खेलकुदतर्फ

१०३. युवाहरुलाई खेलकुद प्रति आकर्षित गराई विविध अवसर प्रदान गर्न विद्यालय स्तरबाट नै खेलकुद प्रतियोगिताहरु संचालन गरिनेछ । अध्यक्ष कप, राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताहरु संचालनलाई निरन्तरता दिईनेछ ।

१०४. कला र साहित्य (गीत, संगीत र नाटक) सृजनाको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको नाम राख्न सक्ने अब्बल दर्जाको नागरिक उत्पादनको लागि विद्यालय तहदेखि नै प्रतिभा पहिचान जस्ता प्रतियोगिताहरु सञ्चालनमा विशेष ध्यान दिइनेछ ।

राजश्वतर्फ

१०५. गाँउपालिकाभित्र संचालनमा रहेका व्यवसायहरुलाई अनिवार्य रुपमा दर्ता/सूचिकृत गराई करको दायरामा ल्याउने कार्यलाई निरन्तरता दिईनेछ ।

१०६. आवश्यकताको आधारमा करको दायरालाई फराकिलो बनाई कर प्रणालीलाई व्यवस्थित बनाइनेछ ।

१०७. वडाहरुमा संकलन भएको राजश्वको आधारमा वडामा वजेट विनियोजन गर्ने प्रणाली लागू गरिनेछ ।

१०८. चौरीदेउराली गाउँपालिकाबासीहरुले विगतदेखि भूमि कर नतिरेको अवस्थामा आ.व २०८१/८२ को पौष मसान्त भित्र भूमि कर तिरेमा सोमा लाग्ने कर र जरिवानामा हुन आउने करमा ५०% छुट दिने व्यवस्था मिलाइनेछ ।

पर्यटनतर्फ

१०९. गाँउपालिकाका सम्भाव्य पर्यटकीय स्थलहरुको पहिचान तथा विकास गरी आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनमा जोड दिइनेछ ।

११०. गाउँपालिकाको पर्यटन गुरु योजना बनाइ सो गुरुयोजना बमोजिम पूर्वाधार तयार गर्न संघीय सरकार, प्रदेश सरकार र ट्रेकिङ एजेन्सिज एशोसिएशन (TAN) जस्ता संस्थासंगको समन्वय गरी स्रोत व्यवस्थापन गरिनेछ ।

लैङ्गिक समानता एवं सामाजिक समावेशीकरणतर्फ

१११. जेष्ठ नागरिकहरुको अनुभव आदान प्रदान एवम् अन्तरपुस्ता हस्तान्तरण कार्यक्रमहरु संचालन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम गरिनेछ ।

११२. गाउँपालिका भित्रका सम्पूर्ण अपाङ्ग “क” र “ख” वर्ग भएका व्यक्तिहरु, अति सिमान्तकृत, लोपोन्मुख र महिला स्वयम सेविकाहरुको निःशुल्क स्वास्थ्य विमा गरिने कार्यलाई निरन्तरता दिइनेछ ।

११३. जेष्ठ नागरिक परिचयपत्र वडास्तरबाट नै उपलब्ध गराउने व्यवस्था मिलाईनेछ

११४. गृहिणी महिलाहरुको सशत्तिकरणको लागि सीपमूलक तालिम मार्फत स्वरोजगार एवम् आत्मनिर्भर बनाउन गृहिणी महिला सशक्तिकरण कार्यक्रम संचालन गरिनेछ ।

११५. जनयुद्ध जनआन्दोलनका शहिद तथा वेपत्ता पारिएका परिवारहरुलाई मासिक रुपमा राहत स्वरुप दिदै आएको रु. तीन हजारलाई निरन्तरता गरिनेछ ।

११६. राजनीतिक व्यवस्था र अवस्था परिवर्तनका लागि शहीद, वेपत्ता, जनयुद्ध घाईते अपाङ्गहरुको योगदानको सदा प्रशंसनीय र उच्च सम्मान छ र जनयुद्ध/जनआम्दोलनमा शहीद परिवारहरु, वेपत्ता,घाईते,पूर्व जनमुत्ति सेनाका योद्धाहरु लगायत मुक्ति र परिवर्तनका लागि योगदान पुर्याएका विशिष्ट व्यक्तिहरुको सम्मान,सामाजिक पुनस्थार्पना, सिप विकास तथा आयमुलक कार्यक्रमा प्राथमिकता दिईनेछ । चौरीदेउराली गाउँपालिका क्षेत्रभित्रका शहिदहरुको सम्मानमा निर्माण भएका शहिट गेट, शहिद पार्कहरुको आवश्यक मर्मत सम्भार कार्यहरुलाई निरन्तरता दिइनेछ ।

११७. तामाङ समुदायको ल्होसार कार्यक्रम मनाउन र जनयुद्ध शुरु भएका दिन हरेक वर्ष फागुन १ गतेलाई उल्लासमय दिनको रुपमा “जनयुध्द दिवस” मनाउन आवश्यक बजेटको व्यवस्था गरिनेछ ।

११८. जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरु, बालबालिका लगायतको सहजताको लागि बैङ्कसँगको सहकार्यमा वडा स्तरबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था गरिनेछ ।

११९. संघीय सरकारको नीति अनुसार सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको
पहिचान तथा नवीकरणमा सहजता र पारदर्शिता तथा भत्ता वितरणको कार्यलाई
थप प्रभावकारी बनाउन राष्ट्रिय परिचय पत्र नम्बरको माध्यमबाट वायोमेट्रिक भेरिफिकेसन कार्यको शुरुवात गरिनेछ ।

१२०. गाउँपालिका भित्र अपाङ्गता भएका व्यक्तिहरुलाई सहि पहिचान सहितको परिचयपत्र सहज रुपमा उपलब्ध गराउने व्यवस्था गरिनेछ ।

दलित तथा अल्पसंख्यक समुदायतर्फ

१२१. दलित समुदायको परम्परागत पेशा, कला तथा सीप संरक्षण र सम्बर्द्धन गर्दै आधुनिकीकरण र व्यसायीकरण गर्ने नीति अवलम्बन गरिनेछ ।

१२२. अति विपन्न अवस्थामा जीवनयापन गरिरहेका दलित परिवारको विवरण संकलन गरी आय आर्जनको कृयाकलापमा सहयोग गरिनेछ ।

१२३. गाउँपालिका भित्र रहेका लोपोन्मुख जातिहरु पहरी र माझी समुदायको आवश्यकताको आधारमा कार्यक्रमहरु संचालन गरिनेछ ।

अन्त्यमा,

“कृषि, पर्यटन र स्वच्छ हरियाली, समृध्द चौंरीदेउराली” नारालाई सार्थक बनाउन यो नीति तथा कार्यक्रम निर्माणमा सहयोग पुयाउनु हुने सम्पूर्ण सभा सदस्यज्यूहरु, कर्मचारी मित्रहरु लगायत सम्पूर्णलाई हार्दिक धन्यबाद दिँदै यहाँहरुको गरिमामय उपस्थितिका लागि हार्दिक आभार व्यक्त गर्दछु । साथै गाउँपालिकाले अघि सारेका प्रस्तुत नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयनमा सबै पक्षबाट सहयोगको अपेक्षा पनि गर्दछु ।

धन्यवाद !

रेणुका चौलागाई

अध्यक्ष

मितिः २०८१ साल असार १० गते सोमवार

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार