बनेपा/नेकपा (एकीकृत समाजवादी) काभ्रेपलाञ्चोकको १० औँ जिल्ला अधिवेशनको बन्दसत्र अरनिको सभाहलमा जारी रहेको छ । बन्दसत्र सुरु भएसँगै बसुन्धरा हुमागाई नेतृत्वको २६८ जनाको वर्तमान जिल्ला कमिटी विघटन भएको छ ।
केन्द्रीय उपमहासचिव गंगालाल तुलाधरको अध्यक्षतामा ७ सदस्यीय अध्यक्ष मण्डल घोषणा भएको छ । बन्दसत्रमा राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदन पेस भएको छ ।
बन्दसत्रलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका केन्द्रीय महासचिव घनश्याम भुसालले समसामयिक राजनीतिक अवस्थाका बारे प्रशिक्षण दिनुभएको थियो। यसका साथै निवर्तमान अध्यक्ष हुमागाईले सर्वसम्मत नेतृत्व चयनका लागि प्रतिनिधिसंग आग्रह गर्नुभयो । यी प्रतिवेदन पास भएपछि निर्वाचन प्रक्रिया प्रारम्भ हुनेछ ।
पार्टीको जिल्ला अध्यक्षमा बसुन्धरा हुमागाईंलाई सर्वसम्मत गराउन पार्टीका शिर्ष नेतृत्वले प्रयत्न गरिरहेको भएपनि जिल्ला समन्वय समिति काभ्रेका अध्यक्ष दिपककुमार गौतमले पनि अध्यक्षको दाबी नछाडेको बताइन्छ। निक्कै रस्साकस्सीका बिच गौतमलाई केन्द्रीय सदस्य बनाउने आश्वासन दिएर मनाउने प्रयास भइरहेको स्रोतको दाबी छ। यसो हुँदा जिल्ला अध्यक्षमा बसुन्धरा हुमागाईं निर्बिरोध निर्वाचित हुने देखिएको छ।
यसैगरी जिल्लाको उपाध्यक्ष पदका लागि रघुबर चौप्रधान, कृष्ण लामा, लाप्साङ लामा, यशु लामा, पासाङ डोल्माे लामा, भेजप्रसाद तिमल्सिना लगायत अन्य थुप्रै आकांक्षीहरु देखिएका छन् ।
जिल्ला सचिव पदका लागि भने बनेपा -६ का वडाध्यक्ष सचितानन्द के.सी., निवर्तमान सचिव गोकुल गौतम र युवा संघका केन्द्रीय सचिव भेषराज शाह आकांक्षी रहेको स्रोतको दाबी छ । तात्कालीन नेकपा एमालेमा हुँदा ११ वर्ष क्षेत्रीय कमिटिको सचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका तथा दुइ कार्यकाल वडाध्यक्ष र जिल्ला खेलकुद विकास समितिकाे अध्यक्ष समेत भइसकेका जनप्रिय नेता के.सी. गत स्थानीय निर्वाचनमा बनेपा -६ मा सबै दलहरु एक हुँदा पनि एकीकृत समाजवादीको तर्फबाट कलम चुनाव चिन्हमा अत्यधिक मत ल्याइ निर्वाचित भएका वडाध्यक्ष हुन्
उपसचिवमा आकांक्षीहरुमा कार्यालय सचिव हरिगोपाल प्रधानाङ्ग, रेशमलाल श्रेष्ठ, राम लामा, प्रेम लामा, प्राणनाथ न्यौपाने लगायत रहेका छन् ।
अधिवेशनमा जिल्लाको १३५ वटा वडा मध्ये ११७ वटा वडा र २२ वटा जनवर्गिय संगठनबाट गरी ४ सय ७६ जना प्रतिनिधि सहभागि छन् ।
अधिवेशनले ५५ देखि ६१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ । हाल २८७ जनाको जिल्ला कमिटी रहेको छ । एमालेबाट विद्रोह गरेर गठन भएको साढे दुई वर्षमा नेकपा एस काभ्रेमा ३ हजार ९६६ जनाले संगठित सदस्यता लिएका छन् ।
अधिवेशनबाट निर्माण हुने जिल्ला कमिटीमा ४० वर्षमुनि उमेर समूहका कम्तीमा २० प्रतिशतको सहभागिता हुनेछ । त्यसैगरी ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित हुनेछ । त्यस्तै उत्पीडित दलित समुदाय, अल्पसंख्यक तथा अति सीमान्तृत समुदाय र अपांगता भएका ब्यक्तिहरुको समेत जिल्ला कमिटीमा प्रतिनिधित्व सुनिश्चित गराइनेछ ।