गणेश आचार्य
काभ्रे/काभ्रेपलान्चोक जिल्ला पनौती नगरपालिका–२, स्थित् कुशादेवी, अन्टेटारमा श्री पन्चकन्या देवीको प्राण प्रतिष्ठान सम्पन्न भएको छ ।
स्थानीयहरुले बिहिवार वसन्तपन्चमीको दिन विशेष पुजा, पाठ गरी पन्चकन्या देवीको प्राण प्रतिष्ठान गर्दै मन्दिरमा विभिन्न देवी देवताको मुर्तिहरु समेत प्रतिष्ठान गरेका छन् । मन्दिरमा कालरात्री, सिद्दिधात्री, कागतिहायनी, स्कन्दमाता चन्द्रघन्टा, ब्रम्हचरिणी, शैलपुत्री, राधाकृष्ण, सरस्वती, गणेश, हनुमान, दुर्गा र महादेवका समेत मुर्तिहरु स्थापना गरेका छन्।
पन्चकन्या मन्दिर निर्माणको लागि करिब २ वर्ष अगाडि सप्ताह ज्ञान यज्ञ आयोजना भएको थियो । सप्ताहबाट करिब २ लाख नगद जम्मा भएकोमा स्थानीयवासी कुमार थापाको नेतृत्वमा अन्यत्रबाट समेत आर्थिक स्रोत जुटाउँदै मन्दिर निर्माण सम्पन्न भएको हो । मन्दिर निर्माणको लागि स्थानीय लक्ष्मण बोलखे र केदार बोलखेले पनौती–२, स्थित कुशादेवी अन्टेटारमा जग्गा उपलब्ध गराएका हुन् । अन्टेटार सामुदायिक वनको क्षेत्रमा अवस्थित् यो पन्चकन्या मन्दिरमा देवीको ऐतिहासिक महत्व रहेको बताइन्छ । परम्परादेखिनै उक्त देवीको शक्ति रहेको र पुजा गरिदै आएको स्थानीय बताउँछन् । किंबदन्ती अनुसार लिलावती खोलामा मध्यरातमा केही बल्दै माथिसम्म आउने तर यो देवीको पुजा गरिने क्षेत्रमा आएपछि उक्त बत्ति हराउने गरेको स्थानिय शशी बोलखे बताउँछ । साथै हरेक बिजयादशमीमा यहाँ देवीको पुजा आराधना गरिदै आएको छ । सुन्दर वातावरणमा अवस्थित यस मन्दिरमा भावी दिनहरुमा सानो पार्कको निर्माण गरेर पर्यटनको सम्भाव्यस्थल बनाउन आफुहरु प्रयासरत रहेको स्थानीयहरुले बताए ।