कविता
मीना श्रेष्ठ
आमा!
तिम्रो पहिलो लोरी सुनेदेखि
सुनिरहेछु तिम्रा कुराहरू
तिम्रा कथा र उपदेशहरू
घर गरिखाने सन्देशहरू
आज म सुनाउँछु कथाहरू
बुझिदेऊ मेरा ब्यथाहरू
म तिम्री असल छोरी भए पनि
कसैकी स्वास्नी बन्न सकिन।
सदियौ देखि
बजैहरूले भने
तिमीले भन्यौ
सहनशीला बन्नुपर्छ
सुशीला बन्नुपर्छ
कोशिस गरिहेरें
धेरै सहें बचनको प्रहार
कहिल्यै देखाइन मुटुमा लागेको चोट
डर थियो मलाई
मेरो चोटले माइतीको मुटु थर्किन्छ
माइतीको भित्ता चर्किन्छ।
झिसमिसेदेखि आधारातसम्म
भान्सादेखि ओछ्यानसम्म
यातनाका पत्रहरू
तहतह थपिँदै गएका छन्
इज्जतको डर छ तिमीलाई
सास फेर्न नदिने इज्जत…
तिम्रा ज्वाइँको कुटाई सहँदै बाँचे पनि
उनकै हातले ओछ्यानमै मारिए पनि
लोग्ने छाडी बसे पनि
कसै गरी जोगिन्न आमा।
इज्जतलाई बचाउन खोज्दा
मै मरेको दिन हेर्नुभन्दा
म सम्बन्ध विच्छेद गर्छु आमा
आफ्नो घाटी ङ्याकिनु अँघि
यो सम्बन्ध ङ्याक्न देऊ आमा
तिमीले लोरीमा सुनाउनु पर्थ्यो
हाँसे पनि रोए पनि
अपजस तिम्रै भागमा पर्न सक्छ
ज्यूँदै मरेर नबाँच्नू छोरी
इज्जतसँग जीन्दगीको सौदा नगर्नू
इज्जत तिम्रो एकलौटी ठेक्का होइन।