पनौती / बाढीपीडितहरूका लागि राहत सहयोग गर्न पनौती नगरपालिकाले सार्वजनिक अपिल गरेको छ। बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएपछि नगरपालिकाले सहयोगका लागि अपिल गरेको हो।
असोज १० गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले नगरपालिकाभित्र २० जनाको मृत्यु भएको थियो। नगरपालिकाका अनुसार पहिरोले ५०० घर पूर्ण क्षति भएको, ७१३ घर आंशिक रूपमा क्षति भएको, २ हजारभन्दा बढी संख्यामा पशु मरेका छन्।
यसैगरी अधिकांश सडकहरू बाढीले बगाएको तथा पहिरोमा पुरिएको अवस्थामा रहेका, सयौं रोपनी जग्गामा लगाइएको खेतीबाली पूर्ण रूपमा नष्ट भएको लगायतका क्षतिहरूका कारणबाट पनौती नगरपालिकाभित्रको जनजीवन विकराल अवस्थामा रहेको नगरप्रमुख रामशरण भण्डारीले जानकारी दिनुभयो।
अहिले खानेपानी, लत्ताकपडा, खाद्यान्न, आवास, सञ्चार, विद्युत, आवागमन लगायतका समस्याहरूबाट जनजीवन असाध्यै कष्टकर बनिरहेको स्थलगत् अनुगमनको क्रममा देखिएको उपप्रमुख गिता बञ्जाराले जानकारी दिनुभयो।
यसैबीच नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘मानवीय संकटको यस अवस्थामा पीडितहरूको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग गर्नु हामी सबैको मानवीय कर्तव्य नै हो। हृदय विदारक यस अवस्थालाई महसुस गरी पीडितहरूको सहयोगका लागि एकद्वार नीति अन्तर्गत रही कार्य गर्ने गरी यस नगरपालिकामा उदारतापूर्वक सामाग्रीहरू (खाद्यान्न, लत्ताकपडा, त्रिपाल, भाँडाकुँडा, टर्च बत्ति आदि) वा नगदै सहयोग गरिदिनुहुन तीनै तहका सरकारहरू, दाता निकायहरू, विभिन्न संघसंस्थाहरू, राजनैतिक दल, आम नागरिक लगायत सम्पूर्ण महानुभावहरूमा हार्दिक अनुरोध छ।’
नगद सहयोग गर्न इच्छुक दाताले बाढीबाट विस्थापित तथा संकटमा परेको परिवारहरुलाई पुनर्स्थापना गर्न र क्षति भएका संरचनाहरू पुनर्निर्माण गर्नका लागि नगरपालिकाको ‘पनौती नपा प्रकोप व्यवस्थापन कोष’ मा सहयोग रकम जम्मा गर्नका लागि नेपाल बैंक लिमिटेड, पनौती शाखामा रहेको कोषको खाता नम्बर ०९००३०००००७००२०००००१ मा रकम जम्मा गर्न सक्ने छन्।
यसैबीच पनौती नपा वडा नंबर १२ ले बाढी पहिरो पीडितलाई राहत सामग्री वितरण शुरु गरेको छ। पीडितहरुलाई चामल, दाल, नुन, तेल लगायतका सामाग्रीहरुका साथै पुर्ण रुपमा क्षति पुगेका परिवारलाई ओढ्ने ओछ्याउने र पाल उपलब्ध गराएको वडाध्यक्ष जयराम केसीले जानकारी दिनुभयो।
अविरल तथा भिषण वर्षादका कारणबाट आएको बाढी तथा पहिरोको प्रकोपमा परेका पनौती नगरपालिकाको नागरिकहरुका लागि दाताहरुबाट संकलन भएको र नगरपालिकाबाट थप गरी आज १५१ सेट राहत प्याकेज वितरण गरिएको छ । पीडितहरुको सहयोगका लागि एकद्वार नीति अन्तर्गत रही कार्य गर्ने नगरपालिकाको निर्णय अनुसार वडा कार्यालय मार्फत आज नगरपालिकाले १५१ परिवारबाट राहत वितरण कार्य सुरु गरिएको छ । १ प्याकेज राहतमा चामल १ बोरा, दाल २ के.जी, तेल १ लि., नुन १ के.जी, साबुन ३ पिस (नुहाउने, लुकाधुने,भाँडामाझ्ने) राखिएको छ। आज वडा नं १ मा ३५ सेट, वडा नं २ मा ४ सेट, वडा नं ३ मा ७ सेट, वडा नं ४ मा ५ सेट, वडा नं १२ मा १०० सेट गरी जम्मा १५१ सेट राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ।