बनेपा । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को अधीनमा रही काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–६ खत्रीगाउँमा पाँचकुमारी टोल विकास संस्था गठन गरिएको छ।
बनेपामा टोल विकास संस्था गठनसम्बन्धी कार्यविधि २०८१ पारित भएपछि वडामा संस्था गठन गर्ने निर्णयअनुसार, वडा अध्यक्ष सचितानन्द के.सी.को सभापतित्वमा भएको भेलाले शिवप्रसाद पौडेलको अध्यक्षतामा ११ सदस्यीय टोल विकास संस्था कार्यसमिति गठन गरिएको हो।
समितिको उपाध्यक्षमा शुभद्रा दाहाल हुमागाईं, सचिवमा सुमन खत्री, कोषाध्यक्षमा पार्वती तिमल्सिना तथा सदस्यहरुमा रामबहादुर बुढाथोकी, अम्बिका खनाल, करुणा सत्याल, रामशरण बजगाई, ऋषेश्वर दाहाल, नारायण प्रसाद पाण्डे र मनोजकुमार श्रेष्ठ चयन भएका छन्।
कार्यक्रममा वडा अध्यक्ष के.सी.ले नवगठित पदाधिकारीहरुलाई टोल विकास संस्थाले गर्नुपर्ने प्रमुख कार्यहरुबारे जानकारी दिएका थिए। संस्थाले समुदायमा सद्भाव, शान्ति, सुरक्षा, भाईचारा कायम गर्न सहयोग गर्ने, टोलमा सञ्चालन हुने विकास–निर्माणका योजना तर्जुमा, कार्यान्वयन, सुपरिवेक्षण तथा अनुगमनमा संलग्न रहने, धार्मिक तथा सांस्कृतिक कार्यक्रमको व्यवस्थापन गर्ने, कर–दस्तुर बुझाउन सहज बनाउने लगायतका जिम्मेवारी रहने छन्।
वडा अध्यक्ष के.सी.ले आगामी वर्षदेखि पालिकाका सम्पूर्ण योजना टोल विकास संस्थामार्फत सञ्चालन गर्ने तयारी भएको जनाउँदै, यस कदमले उपभोक्ता समितिमार्फत हुने राजनीतिक भागबन्डा, ठेक्का प्रथा र गुणस्तरहीन कार्यको अन्त्य हुने विश्वास व्यक्त गरे। उहाँले श्रमरोजगार बैंकमा आबद्ध युवालाई विकास–निर्माणमा समेत सहभागी गराउन टोल विकास संस्था प्रभावकारी हुने उल्लेख गर्नुभयो।
कार्यक्रममा वडा सदस्य लालकृष्ण तिमल्सिना, विजया सुवेदी न्यौपाने, जेष्ठ नागरिक संघ अध्यक्ष शिवहरि दाहाल, समाजसेवी मोहन विनोद बजगाई, त्रिवेणी टोल सुधार समितिका सचिव दिप नारायण पराजुली, सामाजिक अभियन्ता हेमशंकर गिरीले शुभकामना मन्तव्य राखेका थिए।