अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपाली नागरिकहरु आज काठमाडौं आइपुग्ने भएका छन्। अमेरिकी सरकारले चार्टर्ड विमानमार्फत उनीहरुलाई नेपाल फर्काइएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, डिपोर्ट गरिएका नेपालीहरु सवार विमान आइतबार अपराह्न ४:१५ बजे काठमाडौं अवतरण गर्ने कार्यक्रम छ। उक्त विमान अन्य देशका डिपोर्टी नागरिकहरुलाई सम्बन्धित मुलुकमा छोड्दै नेपाल आइपुग्ने र त्यसपछि फर्किने बताइएको छ।
नेपाल अध्यागमन विभागका प्रवक्ता तथा वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले डिपोर्टी नेपालीहरु आज काठमाडौं आउन लागेको पुष्टि गरे। तर, कति जना नेपाली फर्किंदै छन् भन्ने संख्याबारे ठोस जानकारी नआएको उनले बताए। यद्यपि, विभाग स्रोतका अनुसार प्रारम्भिक रूपमा ४८ जना नेपालीलाई डिपोर्ट गर्ने तयारी गरिएको थियो। तर केही व्यक्तिहरु अन्तिम समयमा रोकिएकाले संख्यामा केही कमी हुने अनुमान गरिएको छ। हाल करिब ४० जनासम्म नेपाली फर्किन सक्ने अनुमान गरिएको छ।
अमेरिकी सरकारले पछिल्लो समय आप्रवासी नीतिमा कडाइ गर्दै आएको छ। विशेष गरी भिसा अवधि नपुगी अमेरिका प्रवेश गर्ने, भिसा सकिएपछि पनि त्यहाँ बसिरहने, तथा अपराधिक गतिविधिमा संलग्न हुने व्यक्तिहरुलाई नियन्त्रणमा लिई उनीहरुको मातृदेश फर्काइने नीति अपनाइएको छ। यसै सिलसिलामा नेपाली नागरिकहरु पनि डिपोर्ट हुँदै आएका छन्।
प्रवक्ता न्यौपानेका अनुसार, आज फर्किंदै गरेका नेपालीहरुलाई कुन कारणले डिपोर्ट गरिएको हो भन्ने विस्तृत विवरण भने अमेरिकी पक्षले पठाएको व्यवहोरा पत्रमा उल्लेख गरिएको छैन।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्तामा आएपछि, सन् २०२५ को जनवरीदेखि मे महिनासम्म मात्र १४० जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन्। अध्यागमन विभागको तथ्यांकअनुसार, जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली डिपोर्ट भएका हुन्।
डिपोर्ट गरिएकामध्ये धेरैले मानव तस्करलाई ठूलो रकम बुझाएर अवैध रूपमा अमेरिका प्रवेश गरेको बताइएको छ।