बनेपा/भक्तेश्वर योग साधना केन्द्र बनेपा बुडोलको प्रथम बार्षिकोत्सव विविध कार्यक्रम आयोजना गरी मनाएको छ । पतञ्जलि योग समिति बागमती प्रदेशका अध्यक्ष ग्रुवेन तौजलेको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा योग मार्फत समुदायमा सकारात्मक सन्देशका साथै योग गरौँ, निरोगी बनौँ भन्ने अभियानलाई घर घर पुर्याउनु पर्ने बताए ।
प्रमुख अतिथि तौजलेले योगप्रेमीहरुको संख्या बढ्दै जाँदा तत्काल उपयुक्त र व्यवस्थित योग केन्द्रको खाँचो बनेको भनाइ राख्नुभयो। परिवर्तनका लागि आसन, भाषण र सम्मानलाई त्याग्नुपर्ने उनले बताए। पतञ्जलि योग केन्द्रका केन्द्रीय सदस्य समेत तौजलेले योग साधकका लागि साधना र छिमेकीहरुका लागि सेवा हुने बताए।
पतञ्जली योग पीठ हरिद्वारका कर्पोरेट सदस्य उद्वव तिमल्सिनाले योगको साधनाले विभिन्न प्रकारका जटिल रोगहरुसँग लड्नसक्ने रक्षात्मक शक्तिको आर्जन हुने उनले विश्वास व्यक्त गरे। प्रदेश सल्लाहकार सरिता शाक्य नियमित योगले मानिसमा जिउने प्रेरणा दिनुका साथै आनन्दमय जीवनयापन हुने बताएका थिए । पतञ्जली योग केन्द्र काभ्रेका हरिशरण श्रेष्ठले आत्मा शुद्धि र स्वास्थ्य प्रवद्र्धनका लागि योग हरेक मानिसका लागि अनिवार्य रहेको बताए।
कार्यक्रममा पतञ्जली योग केन्द्र काभ्रेका मन्त्री माधव श्रेष्ठ, बनेपा नगर संयोजक मनिषा बडाल, नगर मन्त्री यमुना कुमारी तिमल्सिना, पतञ्जलि योग समिति महिला अध्यक्ष अनु श्रेष्ठ, युवा उपाध्यक्ष अशोक सिंह लगायतले नियमित योगले निरोगी बनाउने हुँदा यसका फाइदाहरुको बारेमा सकारात्मक प्रचार गर्न अनुरोध गरेका थिए । नियमित योगले व्यक्तिको स्वास्थ्य सुधार, व्यक्तित्व विश्वास, चारित्रिक सुधार हुने भएकाले सबैले योग गर्नुपर्ने जरुरी रहेको बताएका थिए ।
भक्तेश्वर योग साधना केन्द्र बनेपा बुडोलको संयोजक गंगाराम ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नबिना बञ्जारा तिमल्सिना र कोषाध्यक्ष बाबुकृष्ण पन्त संचालन गरेका थिए। कार्यक्रममा संयोजक गंगाराम ठकुरीले केन्द्रको गतिविधि र कोषाध्यक्ष बाबुकृष्ण पन्तले आर्थिक गतिविधिहरु प्रस्तुत गरेका थिए। सोही अवसरमा संस्थालाई सहयोग गर्ने दाता तथा साधकहरुलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा योगसाधक तथा प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।