बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा पहिलोपटक आयोजना गर्न लागिएको बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० को तयारी पूरा भएको छ । जिल्ला समन्वय, समिति काभ्रेपलाञ्चोकको मुख्य आयोजनामा बनेपा नगरपालिका करुणा मार्गमा आजबाट हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक कुमार गौतमले बताए ।
उनका अनुसार आज महोत्सवको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भएको छ । आजबाट चार दिनसम्म चल्ने महोत्सव बनेपा नगरपालिका लगायत जिल्लास्थित सबै स्थानीय तहहरु, कृषि विकास कार्यालय एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, काभ्रेपलाञ्चोकको प्राविधिक समन्वय तथा काभ्रे उद्योग वाणिज्य संघको आर्थिक व्यवस्थापनमा जिल्लास्थित सबै पालिकाहरुको प्रत्यक्ष एवं सक्रिय सहभागितामा सञ्चालन गर्न लागेको हो । महोत्सवले कृषि क्षेत्रमा भएको उत्पादनको बजारीकरण, कृषिमा नयाँ प्रविधिहरुको बारेमा जानकारी, उत्पादन र प्रशोधनसंग सम्बन्धीत उपकरणहरु, मासु तथा मत्स्यजन्य उत्पादन प्रदर्शशनी, फलफूल तथा तरकारी, जैविक, प्राङ्गारिक मल, दूध तथा दूधजन्य सामग्री, अन्नबाली र दलहन नगदेबालीको संरक्षण तथा संवर्धनमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । करिब दूई सय वटा स्टलहरु रहने सो महोत्सवमा स्वास्थ्यको सहयोगी कक्ष, सचिवालयको दर्ता तथा सोधपुछ बाहेक सबै स्टलहरुमा कृषि यन्त्र, कृषि सामाग्री स्टलहरु रहनेछन् ।
उद्घाटन सत्र अगाडि तीनदोबाटोबाट १०८ कलश यात्रा, विभिन्न समुदायको झाँकी दर्शन तथा बजार परिक्रमा गरी महोत्सवलाई उल्लाशमय वातावरणमा उत्सवको रुपमा मनाउने तयारी भएको समन्वय समितिका प्रमुख गौतमले बताए ।
‘देखेपछि विश्वास बढ्छ’ भन्ने वास्तविकताको आधारमा कृषकहरुद्वारा उत्पादित कृषि उपजहरु तथा आवश्यक सामग्री, औजार, उपकरणहरु प्रदर्शनमा राखेर उनीहरुबीच प्रतिस्पर्धासमेत गराई दर्शकहरुलाई नविनतम् प्रविधिको प्रसारमार्फत उत्पादन एवं उत्पादकत्व अभिवृद्धि गर्नका लागि सहयोग पुग्न अपेक्षा आयोजकको रहेको छ ।
त्यससंगै कृषि पेशा व्यवसायमा संग्लग्न दर्शकहरुको संख्यामा उल्लेख्य सहभागिता अभिवृद्धि गर्न राष्ट्रियस्तरमा ख्यातिप्राप्त एंव अनुभवि कृषि विज्ञान तथा प्रविधि सम्वन्धि विषय विज्ञहरुसंगको अन्तरक्रियात्मक कार्यक्रम समेत आयोजना गरिने आयोजकले जनाएको छ ।
कार्यक्रम सफल बनाउन जिल्ला निर्वाचित जनप्रतिनिधिहरु, संघीय सांसद, प्रदेस सांसद, १३ वटै पालिका प्रमुख उपप्रमुखहरुले श्रव्य दृष्य सन्देश मार्फत जिल्लाका सरोकारवाला सबैलाई कृषि महोत्सवमा सहभागी भइ लाभ लिन आह्वान गरेका छन्।
महोत्सवमा कृषिका नविनतम प्रविधि तथा वित्तिय साक्षरता सम्वन्धि सेमिनार, सूचना प्रविधिमा आधारित नविनतम प्रविधिहरुको प्रदर्शन, रैथाने बाली एवं प्रविधिहरुको प्रदर्शन, स्थलगत बाली उपचार शिविर तथा पशु स्वास्थ्य शिविर, कृषि बिमा तथा सहुलियत पुर्ण कर्जा प्रवाह सम्वन्धि स्टलहरु, रैथाने परिकार, हस्तकला एवं होमस्टे सम्वन्धि प्रचार प्रसारात्मक स्टलहरु रहने छन् ।
महोत्सवमा राजनीतिक दल, संघीय सांसदहरु, प्रदेश सांसदहरु, विभिन्न सामाजिक संघ/संस्थाहरु तथा कार्यालयहरुको समेत पूर्ण सहभागिता रहने छ ।