-अस्मिता थापा
धुसिनीको माटो टेक्दै
वर्षौंपछि घोराखोरी बजार उक्लँदा
एउटा अजस्र स्मृतिको खोलो बग्यो —
जहाँ
किलकिलाउँदो हाँसो, चप्पलको खच्खच
र रहरले टल्किएका नजरहरू
बजारको हावामा मिसिएर
कानमा गुञ्जिरहेजस्तै लाग्यो।
तर अनुभूति फेरिएको रहेछ
उमेरको एउटा मोडमा आइपुग्दा—
एउटा भाइले आफ्नी सानी बहिनीलाई
साउने चुरा किनिदिँदा
मन एक्कासी झसङ्ग भयो,
फर्किएँ —
त्यही रहरको उमेरमा,
जहाँ
मेहेन्दी सुक्न नपाउँदै
अर्को हात सजाउन हतार हुन्थ्यो,
मेहेन्दीको गाढो रङमा रहरको गहिराइ नापिन्थ्यो,
र चुराको झनकारमा उत्सवहरू झन्झनाउँथे।
अब न त्यो चटारो बाँकी छ
न त्यो साउने शीतलता,
उत्सवहरू त मञ्चमा छन्,
तर मनभित्र...
एक किसिमको ओझेल परेको छाया जस्तै।
उमेर जति अघि बढ्छ,
रहरहरू त्यति नै भित्र कतै
मौन भएर
दैनिकताका भारीले दबिएर जान्छन्।
श्रावण अब
केवल मौसम बनेर आइरहन्छ,
भित्रको हरियाली —
धेरै वर्ष अघि नै
कुनै व्यस्त दिउँसोले मिचेर लगिसकेको छ।