पनौती/बुद्ध जयन्तीको अवसर पारेर काभ्रे सेवा समाजको आयोजनामा पनौती–नमोवुद्धसम्म शान्ति पदयात्रा आइतबार संपन्न भएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको समग्र विकासको लागि केही गरौं, पर्यटन प्रवद्र्धनका लागि पदयात्रा भन्ने मुल नाराका साथ शान्ति पदयात्रा कार्यक्रम आयोजना गरिएको हो ।
नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले पनौतीको मानेश्वरीबाट रिवन काटी शान्ति पदयात्रा शुभारम्भ गर्नुभएको थियो। शान्ति पदयात्राको शुभारम्भ गर्दै पुर्व राष्ट्रपति डा.रामवरण यादवले गौतम बुद्धका सन्देश हरेक ब्यक्तिका लागि जीवनपयोगी भएको बताए । बुद्धका सन्देशहरुलाई कार्यान्वन गर्न सबै पक्ष र क्षेत्र लाग्न डा.यादवले सुझाव दिए ।
पनौती नगर प्रमुख रामशरण भण्डारीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा शान्ति पदयात्राको औचित्यबारे काभ्रे सेवा समाजका अध्यक्ष पुरुषोतम नेपाल र पुर्व अध्यक्ष केशव थापाले जानकारी गराएका थिए । विश्वभर शान्ति र सद्भावको सन्देश फैल्याउदै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने तथा स्थानीय कला, संस्कृतिको सम्वर्धन गर्ने उद्देश्य सहित शान्ति पदयात्रा कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष पुरुषोत्तम नेपालले जानकारी दिए ।
बुद्ध जयन्तीको दिन पारेर आयोजना गरिएको उक्त कार्यक्रमले विश्वमा शान्ति र सद्भावको सन्देश फैल्याउनुका साथै स्थानीय कला, संस्कृतिको प्रवद्र्धनमा सहयोग गर्नुका साथै आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धनका लागि पनि महत्वपुर्ण योगदान गर्ने अपेक्षा समाजले गरेको छ । पदयात्रामा विभिन्न संघसंस्था, सरकारी निकाय, व्यापार व्यवसाय, नागरिक समाज तथा विभिन्न क्षेत्रका प्रतिनीधिहरु सहभागि छन् ।
२०६९ सालमा स्थापना भएको काभ्रे सेवा समाजले विश्व सम्पदा सुचीमा प्रस्तावित र मन्दिरहरुको सहरको रुपमा परिचित काभ्रेको पनौतीदेखि गौतमवुद्धले पाईला टेकेकोे नमोवुद्धसम्म सांस्कृतिक शान्ति पदयात्रा कार्यक्रम आयोजना गर्दै आएको छ । समाजले गत वर्ष २०८० साल असोज ६ गते पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्राको आयोजना गरेको थियो ।
पनौतीको मानेश्वरीबाट रिवन काटी शान्ति पदयात्रा सुरु गरिएको थियो । सुन्थान–इटे–शंखु–शंखेश्वरी–जंगल हुँदै नमोबुद्घमा पुगेर यात्रा टुङ्गिएको थियो । पनौतीदेखि नमोवुद्धसम्मको ९.५ किलोमिटर दुरी छ ।