मन्डनदेउपुर / मण्डनदेउपुर नगरपालिकाको ७ औँ स्थापना दिवस तथा नव–निर्मित प्रशासकीय भवनको आइतबार एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको छ ।
उद्घाटन समारोहलाई संबोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले जनचाहनाअनुरूप सुशासन, सेवा र सुविधा सरल, सहज एवम् प्रभावकारी तवरले दिन सकिएमा मात्र संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पुरा हुने बताउनु भएकाे छ।
राष्ट्रपति पौडेलले संविधानको भावना तथा सङ्घीयताको मर्म अनुरूप हुने गरी राज्यबाट प्रवाह हुने सेवा तथा विकास निर्माणसम्बन्धी कामलाई नतिजामुखी र नागरिकले अनुभूत गर्न सक्ने गरी सम्पादन गर्न र सुशासन प्रत्याभूत गर्न स्थानीय निकाय दत्तचित्त हुनुपर्नेमा जोड दिनुभयो ।
हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दा स्वीजरल्याण्डको जस्तो ‘स्वशासन’ र गान्धीले कल्पना गरेजस्तो ‘स्वराज’ को सोच अगाडि राखेर नयाँ राज्य संरचना तर्जुमा गरेका हौँ भन्नुहुँदै राष्ट्रपति पौडेलले “आज ती सोचहरूले कति साकार रूप लिन गैइरहेका छन् र लिन सक्ने हुन् भन्ने कुरा अधिकार प्रत्यायोजनका क्रममा केन्द्रीय सरकारको उदारता एवं लचकता र स्थानीय सरकारको ग्रहणशीलता तथा क्षमतामा बढी निर्भर रहन्छ भनेर म सबैलाई सुझाउन चाहन्छु,”भन्नुभयो ।
कृषि, पर्यटन र ऊर्जा नै हाम्रो मुलुकको विकासको आधार हो, त्यसको लागि श्रमको सम्मान गर्ने संस्कृतिको विकास आवश्यक छ’ राष्ट्रपति पौडेलले भन्नुभयो, “स्थानीयस्तरमा गुणस्तरीय, प्रविधिमा आधारित प्रतिस्पर्धी र प्राविधिक शिक्षा दिएर उत्पादन र रोजगारी बढाउने काम गर्न सकिए मात्र राजनीतिक परिवर्तनपछि मुलुकले अपेक्षा गरेको आर्थिक क्रान्तिको सपना साकार हुन्छ, हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रले अपेक्षा गरेको गरीब, सीमान्तकृत, पिछडिएको वर्गको आर्थिक उन्नतिको अवसरको ढोका खुल्दछ । ” राष्ट्रपति पौडेलले त्यसतर्फ तीनै तहको सरकारको समन्वयकारी भूमिका अपेक्षित भए पनि स्थानीय सरकारको विशेष भूमिका र जिम्मेवारी हुने विश्वास व्यक्त गर्नुभयो।
राज्यको पुर्नसंरचनाको क्रममा स्थानीय तहको गठन भई सङ्घीयता कार्यान्वयन भएको यो अवधिसम्म पनि देशका कतिपय स्थानीय तहमा भौतिक पूर्वाधार तयार हुन नसकेका बेला यस नगरपालिकाले आवश्यक जग्गाको व्यवस्थापन गरी जनतालाई दिने सेवा सुविधालाई सहज एवम् प्रभावकारी बनाउन आवश्यक सुविधा सम्पन्न प्रशासकीय भवन बनाएकोमा उहाँले नगरपालिकाको सराहना गर्नुभयो ।
“उर्वर कृषिभूमि, हरिया फाँट र मनोरम हिमाली सुन्दर दृश्य देखिने यो नगरपालिकाले कृषि र पर्यटन क्षेत्रबाट मनग्य लाभ लिन सक्ने सम्भावना छ, यस नगरपालिका “देउपुर र मण्डन, कृषि र पर्यटन” को अवधारणा लिएर दीर्घकालीन लक्ष्यसहित अघि बढेकोमा मलाई खुसी लागेको छ, यसैबाट नगर र नगरवासीको आर्थिक विकासको ढोका खोल्नेछ भन्ने मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भने।
मिलेको भूगोल, लेकवेसीसम्मको हावापानी, राजधानीबाट नजिक, छिमेकी देश चीनसँगको तातोपानी नाकाबाट नजिकको दूरीमा रहेकोले औद्योगिक उत्पादन, कृषि र पर्यटन प्रवर्द्धनमार्फत आर्थिक समृद्धिको यात्रा तय गर्न सक्ने प्रचुर अवसरलाई यस नगरपालिकाले उपयोग गर्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे।
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी, प्रतिनिधि सभा सदस्य गोकुलप्रसाद बास्कोटा, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम लगायतले स्थानिय तहको सेवा प्रवाहबारे चर्चा गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख टोकबहादुर वाइवाले पर्यटन र कृषिलाई प्राथमिकता राखेर अघि बढेको नगरपालिकाको नगरकोट क्षेत्रलाई पर्यटकिय क्षेत्र घोषणा गर्न पहल गरिदिन राष्ट्रपति समक्ष अनुरोध गरे ।
नगर उपप्रमुख बिष्णुमणि नेपाल भवनवाट नगरपालिकाले एकीकृत सेवा दिने बताए । उनले पुर्वाधार तयार भैसकेकोले नापी र मालपोतका साथै संविधानले अधिकार दिएका सबै सेवा सुरु गर्न स्थानीय तह सक्षम रहेको बताए ।