मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |
मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

राजनीति/स्मृति
कमरेड बिदुर सापकोटा अब सम्झनामा मात्र

Thearaniko Times 1375+ समाचार ( )
५ फाल्गुन २०८२, मङ्गलबार

-डा. भरत लामिछाने

कमरेड विदुर सापकोटासँगको मेरो चिनाजानी नेपाली कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनका गतिविधिहरुबाट नै हुन पुगेको थियो । भूगोलको सामिप्यतामा उहाँ मन्डनतिरको हुनुहुन्थ्यो भने  म पाँचखालतिरको । म पाँचखालको सर्वमंगला मा.वि.मा २०३४ साल देखि २०४१ सालसमा शिक्षण पेशामा आवद्ध थिएं । हामी शिक्षण पेशामा आवद्ध हुँदाका बखत शिक्षकहरुमाथि सरकारले गर्दै आएको उपेक्षा स्वरूप अर्थात शिक्षण पेशाप्रति सरकारले गर्दै आएको अन्याय, अत्याचार, व्यभिचारका विरुद्ध संगठित हुदै संघर्षमा उत्रिएका थियौ । २०३७ सालपछि लगातार रुपमा नेपाल राष्ट्रिय शिक्षक संगठनले  संघर्षका कार्यक्रमहरू ल्याएको थियो । त्यस कार्यक्रममा हामी सक्रिय थियौं । कमरेड बिदुर सापकोटा त्यस बखतदेखि नै  विद्यार्थी संगठनप्रति आकर्षित हुनुहुन्थ्यो भन्ने बुझिन्छ । त्यसपछि ऊहां अनेरास्वबियुमा सक्रिय हुदैं आऊनु भएको थियो।  पञ्चायती व्यवस्थाको शासनकालमा  पार्टीहरु खुल्ला थिएनन भूमिगत अवस्थामा नै थिए। जनवर्गिय संगठनहरूको माध्यमबाट  राजनीतिक गतिबिधिहरू  परिचालित गर्नुपर्ने अवस्था थियो । त्यसो गर्दा पनि धरपकड र यातना  निरंकुश पञ्चायती सरकारले गर्दथ्यो। विसं. २०४६ सालको जन आन्दोलन ले पञ्चायती व्यवस्थाको अन्त्य गरी बहुदलीय व्यवस्थाको स्थापना हुन पुग्यो । त्यसपछि दलहरू खुल्ला भएपछि  पार्टीहरू एकीकरण हुने सिलसिलामा ने.क.पा. (मा.ले) र ने.क.पा. (मार्क्सवादी) संग पार्टी एकता भई पार्टीको नाम ने.क.पा.( एमाले)बन्यो । कमरेड मदन भन्डारी महासचिव र कमरेड मनमोहन अधिकारी अध्यक्ष बने । कमरेड बिदुर सापकोटा बिध्यार्थी संगठनको राजनितीबाट खारिदै पार्टी कमिटीमा संगठित सदस्यता लिदैं अगाडी बढ्नु  भएको बुझिन्छ। बिस्तारै उहाँ पार्टीको जिल्ला समितिको जिम्मेवारी लिदैं  जिल्ला सचिवको भूमिकामामा रहन थाल्नुभयो । त्यस अवस्थाका तिथि मिति भने एकीन हुन सकेन ।


निरंकुश पन्चायती व्यवस्थाको बिरूद्धमा आन्दोलन गरी बहुदलीय व्यवस्था स्थापना गर्नमा काभ्रेपलान्चोक  जिल्लागत तहबाट ऊहांले अदा गर्नु भएको भूमिका सह्रानिय रहेको थियो ।बि.सं. २०४८ सालमा भएको संसदीय निर्वाचनमा पनि एमाले पार्टीका  उम्मेद्वारहरूलाई बिजयी बनाऊन होस वा २०४९ को जिल्ला बिकास समिति देखि गा. वि.स.का स्थानीय निर्वाचनमा आफ्ना पार्टीका वा बामपन्थी गठबन्धनका उम्मेद्वारलाई बिजयी बनाउन ऊहाँको सक्रियता रहेको थियो । त्यतिमात्र नभई बामपन्थीहरू बीचमा एकता हुनुपर्दछ भन्ने मान्यतामा दृढ हुनुहुन्थ्यो । त्यसैले २०४८ सालको संसदीय निर्वाचनमा एमाले र  संयुक्त जनमोर्चाबीच बाम गठबन्धन भई निर्वाचनको परिणाम बामगठबन्धनको पोल्टामा परेको थियो । त्यस परिणामले काभ्रेपलान्चोक जिल्लाको  कम्युनिष्ट आन्देलनमा ऊर्जा थपिन पुगेको थियो । लामो समयसम्म उहाँ नेकपा (एमाले) को जिल्ला सचिवको  भूमिकामा रहनु भयो । मलाई पनि २०५२ सालमा सरकारी जागिरबाट बिदा हुनुपर्ने भएपछि भूमिगत रूपमा पार्टीको जिल्ला कमिटीमा काम गरिरहेको अवस्थाबाट खुल्ला राजनीतिमा आउने निर्णय पार्टीले  गर्यो  । र २०५२ सालदेखि  लगातार २०६४  सालसम्म  संयुक्त जनमोर्चा नेपाल, जनमोर्चा नेपालको जिल्ला अध्यक्षको भूमिकामा रहने मौका प्राप्त गर्न पुगको  थिएँ । त्यस अवसरमा उहाँको पार्टी  तथा हाम्रो पार्टी र मोर्चासंग सहकार्य  बढ्दै, राष्ट्रीयता , जनजीविका  र जनअधिकारका सवालमा कार्यगत एकताका कार्यक्रम तय हुने गर्थे । त्यतिमात्र नभई  समन्तबाद , साम्राज्यवाद र बिस्तारवादले गर्दै आएका हस्तक्षेप बिरूद्ध  संयुक्त कार्यक्रम तय गरी बिरोधका कार्यक्रम पनि गरिदै आईन्थ्यो । त्यसो त जिल्ला र गाउँका बिकास निर्माणका कार्यक्रम  जिल्लागत तहबाट  गर्नुपर्ने नीतिगत  निर्णय गर्ने गराउने कार्यमा उहाँले ध्यान दिनु हुन्थ्यो । बिकास निर्माणका कतिपय नीतिगत निर्णयमा सर्वदलीय भूमिकाको आवश्यक पर्दथ्यो । धुलिखेल खानेपानीमा उठेको बिवाद मिलाउन हामी दुई पार्टी बीच सहकार्य भएको थियो । त्यति मात्र नभई बनेपा - पनौती बृहत खानेपानी  योजनालाई  सफल तुल्याउन धेरै पटक बैठक बस्ने कार्य भएको थियो । त्यस कार्यमा हाम्रो  दुई दल र नेपाली कांग्रेस , नेपाली कांग्रेस (प्रजातान्त्रिक), ने.म कि .पा ,माले लगायतका  दलहरू बीच पटक पटक संयुक्त बैठकहरू भएका  थिए । 

बहुदलीय  ब्यवस्थाले पनि नेपाली जनतालाई पूर्ण स्वतन्त्र बनाउन  सकेको थिएन ।त्यसले वाक, प्रेस ,र संघ संगठन गर्ने  स्वतंत्रता मात्र दिएर अन्य सम्पूर्ण अधिकार राजामा निहित रहेको अवस्था थियो । जसले  संवैधानिक राजतन्त्रात्मक प्रणाली लाई अंगिकार गरेको थियो । त्यसो हुंदा पूर्ण स्वतन्त्रताको जन चाहना पूरा हुन सकेको थिएन । त्यसैले त्यसका लागि संसद र सडकको तालमेल बाट संघर्ष जारी  राख्ने  र जनगणतन्त्रिक व्यवस्था स्थापना गर्ने उद्देश्य ने.क. पा. (एकता केन्द्र) ले  लिएको थियो। तर एमालेले संसदीय संघर्षबाट नै उक्त ऊदेश्य पूरा गर्ने बाटो लिदै आएको थियो । ने .क पा .( एकता केन्द्)भित्र पनि उल्लेखित विचार र दीर्घकालिक जनयुद्ध  शुरू गरिहाल्नु पर्छ भन्ने दुई लाईनको बहस शुरू भयो । त्यस बहसको व्यवस्थापन गर्न पार्टी स़क्षम भएन अन्ततः पार्टी बिभाजन हुन पुग्यो । एउटा एकता केन्द्र नै रह्यो भने अर्को माओवादी बन्यो । नेकपा माओवादी ले २०५२ साल फाल्गुन १ गतेबाट “जनयुद्ध” नै शुरू गर्यो । तर ने.क.पा.(एकता केन्द्र) ले पार्टीको कार्यदिशा लाई संसदीय र सड्क संघर्षमा जोड दिने नीति नै अवलम्बन गर्यो । संघर्षका केही पक्ष ने.क.पा. (एमाले) संग पनि  मिल्न जानेहुँदा कमरेड बिदुर सापकोटासंग पनि सहकार्य, कार्यगत एकतासंग हामी  निकै नजिक रहँदै कार्य गर्दै आयौ। त्यतिमात्र नभई माओवादीका साथीहरूले  कतिपय अवस्थामा गरेका कमि कमजोरीले जनमानसमा परेको नकारात्मक प्रभावलाई सच्याएर अगाडी  बढन छलफल  गरी बिभिन्न माध्यमहरू मार्फत सुझाव सल्लाह दिने काम पनि गर्दै आएका  थियौं ।


संसदीय राजनीतिका विकृतिको थुप्रो लाग्दै थियो । सशस्त्र संघर्ष चरम रूपमा अगाडी बढ्दै थियो । त्यही समय बि.सं. २०५८ साल जेठ १९ गते षड्यन्त्रमूलक ढंगले राजदरवार हत्याकान्ड भई राजा बिरेन्द्रको वंशनास नै हुन पुग्यो ।त्यसपछि राजा बनेका ज्ञानेन्द्र शाहले झनै मुलुकमा २०४६ साल अघिकै निरंकुश पन्चायती व्यवस्था फर्काउने शैलीमा गतिविधि अगाड़ी बढाउन थाले । तब संसदीय संघर्ष र सडक संघर्षले उचाई लिनुपर्ने अवस्था देखापर्यो । एकता केन्द्रको अर्थात् जनमोर्चा नेपालको  कार्यदिशा सबै दलहरूले जोडतोडले लागु गर्नुपर्ने अवस्था आयो । सड़क आन्दोलन तात्यो । जिल्लाहरूमा आन्दोलनका कार्यक्रम बने । बिदुर कमरेड र हाम्रो सहकार्य बढ्नु स्वभाविक थियो । त्यस बखत नेपाली कांग्रेस, नेपाली कांग्रेस (प्रजातांत्रिक), ने.म.कि.पा., ने.क.पा. (माले) लगायतका सबै दलहरू सड़क संघर्षमा उत्रिएका थिए। जिल्लामा रहेका सबै दलहरूको संयुक्त बैठक आलोपालो बसेर आन्दोलनका कार्यक्रम तय गरिन्थ्यो । त्यसो गर्दा जुन दलको कार्यालयमा संयुक्त बैठक बस्यो त्यसै दलका प्रमुखको अध्यक्षतामा बस्ने नीति बनाईएको थियो । यसरी लामो संघर्ष पश्चात संयुक्त आन्दोलन हुने अवस्था आयो । सशस्त्र संघर्षमा गएको  भूमिगत पार्टीले पनि आफ्नो कार्यदिशा बदल्दै संयुक्त जनआन्दोलनमा सशस्त्र संघर्षलाई फ्यूजन गर्ने र राजतन्त्र समाप्त पारी संबिधान सभा मार्फत जनगणतन्त्रिक व्यवस्था स्थापित गर्दै समाजबादमा जाने बाटो तय गर्यो । त्यसपछि २०६१/६२ को संयुक्त जनआन्दोलन(२)को रूप बदलियो । सम्पूर्ण शक्ति सड़क संघर्षमा उत्रिएपछि राजतन्त्र समाप्त हुन पुग्यो । यसरी गरिएका आन्दोलनका गतिविधिमा कमरेड बिदुर सापकोटासंगको सहकार्य अहिलेसम्म पनि ताजा नै रहेको महसूस मैले गरिरहेको छु ।

बि.सं. २०६४ साल चैत्र  २८ गते पहिलो संबिधान सभाको निर्वाचन भयो । त्यस निर्वाचनमा उहाँ पनि आकांक्षी हुनुभयो । तर सफलता हात परेन । तर दोस्रो पटक २०६९ मंसिर ७ गते भएको दोस्रो संबिधान सभाको निर्वाचनमा उहाँ  निर्वाचित हुनुभयो । उहाँले अग्रगामी संविधान बनाउन आफ्नो योग्यता र क्षमताले भ्याएसम्म  भूमिका खेल्नुभयो । उहाँ क़ानूनको पनि ज्ञाता हुनुहुन्थ्यो । उहाँसंग जोडिएको एऊटा प्रसंग पनि मलाई सम्झना छ, मैले पनि स्वअध्ययनबाट २०५७ सालमा क़ानूनमा पनि ब्याचलर(B.L.) गरेको थिएँ । तर मैले अर्को बिषयमा बिध्यावारिधी (Ph.D) गरिरहेकोले मैले अधिवक्ताको प्रमाणपत्र लिने कुरामा चासो दिएको थिईन । तर २०६०/६१ सालतिर कै कुरा थियो सहृदयी कमरेड गोपीकृष्ण थपलियाले मलाई अधिवक्ता (Advocate)को  प्रमाण-पत्रकों परीक्षा दिन उत्साहित बनाउनु भयो र हामी दुबैले परीक्षा दिन गयौं।परीक्षा केन्द्रमा त बिदुरजी पनि परीक्षा दिन आउनु भएको रहेछ, अन्य साथीहरू केशचन्द्र श्रेष्ठ (नाला), बीरसिंह ठकुरी (रोल्पा) लगायतका चिनजानकै ६/७ जना साथीहरूको एउटा  समूह नै बन्यो त्यहाँ । ठट्ठा मज्जा गर्न मित्र गोपीकृष्ण थपलिया माहिर नै हुनुहुन्थ्यो । प्रसंगमा बिदुर जीले म तर्फ फर्किदै भन्नुभयो “हामीमध्ये भरतजीले चै नाम निकाल्नु हुन्छ यो परीक्षामा “तर म प्राक्टिसियन थिईन त्यस बिषयमा । त्यसैले म ढुक्क थिईन । र मैले उहाँलाई भने “तपाईंको मुखमा दुध र भात “ ठट्ठा मज्जा चल्दै परीक्षा हल प्रबेश गरी पहिलो दिनको परीक्षा दिएर हामी आ आफ्नो गन्तव्य तर्फ लाग्यौ । क्रमशः तीन दिनको परीक्षा सकियो । परीक्षाफल आउँदा त हाम्रो त्यो भेटको समूह मा मेरो गोपीकृष्ण जी को र बीरसिंह जी को मात्र नाम निस्केछ । उहाँले  र केशचन्द्र जीले पछिल्लो बर्ष उक्त परीक्षा ऊतीर्ण गर्नु भई  केही समयपछि प्राक्टिसमा पनि जानु भएको थियो । यसरी ऊँहाले क़ानूनी अध्ययनले राजनीतिमा सहयोग पुर्याउँछ भन्ने दृष्टिकोण पनि राख्नु भई पार्टीको काममा व्यस्त हुँदाहुँदै पनि त्यस क्षेत्रलाई सफलताको दिशामा पुर्याउनु भएको बुझिन्छ ।

केही  समयपछि उहाँको स्वास्थ्यमा समस्या आएकोले उहाँ उपचारको लागी छिमेकी राष्ट्र दिल्ली  गएर पनि आउनु भयो । त्यहाँबाट फर्किनु भएपछि  हामी अधिवक्ता कमरेड राम लामा लगायतका साथीहरूको समूह उहाँको  त्यस बखतको घर रातोपुल आसपासमा पनि पुगेर स्वास्थ्य लाभको कामना समेत गरेका थियौं।


नेपालमा बि.सं. २०७२ साल असोज ३ गते संबिधान सभाबाट संघीय लोकतांत्रिक  गणतन्त्रामक संबिधान जारी भयो । त्यसपछिका दिनमा दलहरूबीच अन्तरबिरोधहरू पनि बढ्दै जान थाले । खासगरी माओवादी पार्टीबाट डा.बाबुराम भट्टराईको समूहले नै नयाँशक्ति पार्टी  घोषणा गरे । बामपन्थी पक्षधर व्यक्तिहरू र शक्तिहरू कम्युनिस्ट पार्टीहरू एकढिक्का हुनुपर्छ भन्ने कुरामा जोड दिदैं  थिए ।अन्ततः बि.सं.२०७५ जेठ ३  गते ने.क.पा.(एमाले) र ने. क. पा. (माओबादी) बीच एकता भई नेकपा बन्यो । तर त्यसको केही समयपछि खासगरी नेतृत्वको व्यक्तिगत महत्वकांक्षाका अगाडी त्यो एकता टिक्न सकेन । दुई अध्यक्षात्मक प्रणाली बिकास गरेर पार्टी चलाउने विधान बन्यो । तर के. पी. शर्मा ओलीको प्रधानमन्त्री र पार्टी दुवै नै आफैले चलाउने महत्वाकांक्षाले पुष्पकमल दाहाल “प्रचण्ड”को प्रधानमन्त्री  केपी ले  चलाउने र आफूले पार्टी चलाउने  “भन्ने प्रस्ताव के पी ले लत्याई दिएपछि पार्टीमा अन्तरबिरोध चर्किदै गयो । के पी  ओली ले कम्युनिष्ट पार्टी लेनिनबादी संगठन प्रणालीमा चल्नु पर्छ त्यसको मर्म भनेको सामूहिक नेतृत्वबाट चल्ने हो भन्नेकुरा बिर्सिए । अन्ततः झन्डै दुई तिहाईको सरकारका प्रधानमन्त्री ओलीले  संसद नै बिघटन गरे । बिघटनको बिरूद्धमा सर्बोच्च अदालतमा रिट पर्यो । अदालतले एकतामा आएका पार्टीहरूको अस्तित्व पुरानै अवस्थामा पुर्याई फुटाई दियो । दुबै  पार्टी ले आ-आफ्नो पार्टीको पुरानो नामबाटनै गतिबिधी गर्न बाध्य भए । तर एमाले भित्र “संसद बिघटन गर्नु हुन्नथ्यो  “भन्ने  फरक मत राख्ने माधव नेपाल लगायतका केही सांसद तथा नेताहरूले अन्तर पार्टी संघर्ष गरे। तर के पी ओलीले फरक मतलाई दुई लाईनको संघर्ष मा नबुझि बिरोधी समूहको रूपमा बुझे । उनीहरू माथी फरक व्यवहार गर्दै आए । अन्ततः त्यो समूह अलगिन बाध्य बन्यो । कमरेड माधव नेपालको नेतृत्वमा ने.क.पा. (समाजवादी ) पार्टी बन्यो । कमरेड बिदुर सापकोटा पनि त्यही पार्टीको सैद्धान्तिक, बैचारिक, एवम् राजनीतिक बिचारसंग प्रतिबद्ध हुँदै आउनु भयो ।

दुई बर्ष अगाडीदेखि मेरो पनि स्वास्थ्यमा समस्या आईपर्यो । उहाँले पनि थाहा पाउनु भएछ र सम्पर्क गरी उपचारको लागि राजीवगान्धी अस्पताल दिल्ली जाने सल्लाह दिनु भयो । उहाँले पनि त्यहाँ नै उपचार गर्नु भएको अनुभव पनि शेयर गर्नु भएको थियो ।  हितैषि मित्रको सल्लाहबाट मलाई उर्जा प्राप्त  हुन पुग्यो । त्यसपछि उहाँको र मेरो भेटघाट हुन सकेन । एक्कासी गत २०८१ फागुन महिना जस्तो लाग्छ ऊँहाको कीर्तिशेष भएको खबर बिहान नै सुने । फ़ेसबुक खोली हेर्दा श्रद्धांजलीका ओईरो आईरहेका रहेछन ।म स्तब्ध हुन पुगें । अत्यन्तै मिलनशार, मृदुभाषी, नैतिकवान, संगठनात्मक कला भएको स्पष्टबक्ता, लगनशील एवम् मेहनती कमरेड बिदुर सापकोटाको निधनप्रति अत्यन्तै दुःखी हुदैं  भावपुर्ण श्रद्धांजली मिडिया मार्फतनै व्यक्त गरें। म आफू अस्वस्थ नै भएका कारण मेरा असल साथीको अन्त्येष्टिमा ऊपस्थित हुन सकिन । फेरीपनि उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु । साथै नेपाली कम्युनिस्ट आन्दोलन एवम् लोकतान्त्रिक आन्दोलनले एक होनहार  साथीलाई असामयिक रूपमा गुमाउनु परेकोमा उक्त आन्दोलनमा अपुरणीय क्षति समेत हुन पुगेकोमा गहिरो दुःख लागेको छ । तर पनि परिवारजन, पार्टी पंङ्ती र हामी सबैले धैर्यता  लिदैं शोकलाई शक्तिमा बदल्नु आवश्यक रहेको छ ।। अल बिदा कमरेड बिदुर !!

नयाँबानेश्वर ,काठमाडौं

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार