काठमाडौँ । साहित्यकार रमेश विकलको ९९औँ जन्मजयन्तीका अवसरमा मंगलबार (२०८३ कार्तिक २४ गते) आरुबारीस्थित रमेश विकल साहित्य प्रतिष्ठानको प्राङ्गणमा विशेष स्मृति सभा आयोजना गरिएको छ।
कार्यक्रमको सुरुवात गोकर्णेश्वर नगरपालिका–स्थित विकल चोकमा रहेको रमेश विकलको अर्धकदको प्रतिमामा माल्यार्पण गरेर गरिएको थियो। त्यसपछि प्रतिष्ठानको भवनमा आयोजित स्मृति सभामा साहित्यकार, प्राध्यापक, समाजसेवी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपककुमार रिसालले लेखकले समाजको यथार्थलाई केलाएर कृतिमार्फत योगदान दिने र राज्यले त्यस्ता साहित्यिक सम्पत्तिको संरक्षण तथा अभिलेखीकरण गर्नुपर्ने बताउनुभयो। उहाँले साहित्यकार विकलसँगको आफ्नो निकटता र उहाँको साहित्यिक योगदानको चर्चा गर्दै नगरपालिकाले विकलका ५२ वटा कृति तथा छरिएर रहेका फुटकर रचनासमेत समेटेर सात खण्डमा ‘रमेश विकल समग्र’ प्रकाशन गर्ने महत्त्वाकाङ्क्षी योजना अघि बढाएको जानकारी दिनुभयो। उक्त योजनाको अन्तिम खण्ड प्रकाशनको चरणमा पुगेको पनि उहाँले बताउनुभयो।
महाकवि लक्ष्मीप्रसाद देवकोटा र साहित्यकार रमेश विकलको तस्बिरमा माल्यार्पण गरी सुरु भएको सभाका प्रमुख वक्ता भाषा आयोगका सदस्य मातृका पोखरेलले समाजका भुइँमान्छे र उनीहरूले भोगेका उत्पीडनलाई लेखनको केन्द्रमा राखेर प्रगतिशील साहित्यमा विशिष्ट उचाइ हासिल गर्न विकल सफल हुनुभएको बताउनुभयो।
उहाँले प्रगतिशील लेखक सङ्घले यस वर्षदेखि शक्ति लम्सालको स्मृतिमा स्थापना गरेको पुरस्कार मरणोपरान्त रमेश विकललाई अर्पण गर्न लागेको जानकारीसमेत दिनुभयो।
कार्यक्रमका सभापति तथा रमेश विकल साहित्य प्रतिष्ठानका उपाध्यक्ष एवं नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्यले विकलसँगको आफ्नो कला क्षेत्रको सामीप्य, प्रतिष्ठानको स्थापनाकालदेखि उहाँले पुर्याउनुभएको योगदान र उहाँका बहुआयामिक प्रतिभाको स्मरण गर्नुभयो। उहाँले कार्यक्रममा उपस्थित सबैप्रति आभार व्यक्त गर्नुभयो।
प्रतिष्ठानका कोषाध्यक्ष शाम्बकुमार चालिसेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन आलोक चालिसेले गर्नुभएको थियो।