बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा चण्डेश्वरी जात्रा संपन्न भएको छ। बर्सेनी चण्डी (वैशाख शुक्ल) पूर्णिमादेखि तीन दिन मनाइने जात्रालाई बनेपालीले निकै महत्व दिने गरेका छन् ।
जात्राको पहिलो दिन विहान सवेरै मत पूजा (चिराग यात्रा)निकालिन्छ । वनेपाका बासिन्दाले धिमे, नाय्खिं, छुस्या लगायत विभिन्न बाजागाजा सहित आस्था भएका सबैले आ–आफ्नो घरबाट चिराग बोक्दै बनेपाको लायकुमा जम्मा भई जलेश्वर महादेव (जसिगा) सम्म पुगेर विसर्जन गरिन्छ । चण्डेश्वरी देवतालाई लसकुस अर्थात स्वागत गर्ने प्रतीकको रुपमा मत पूजा गरिएको स्थानीयको भनाइ छ । यसदिन जसिगा अर्थात जलेश्वर महादेवमा मेला नै लाग्ने गर्दछ।
जात्राको पहिलो दिन हनुमान ढोकाबाट ल्याएको तरवार (खड्ग)सँगै चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवताहरूलाई १२ वटा बोका बली दिई ‘सरकारी पूजा’ गरिने र मत पूजा (चिराग यात्रा) गरी औपचारिक रूपमा जात्रा सुरू हुने स्थानीय श्याम सेवाचार्यले बताए । उनका अनुसार करिब दुई हजार पाँच सय वर्ष अघिदेखि मनाइँदै आएको चण्डेश्वरी जात्राका अवसरमा बनेपाको तीनधारामा बनाइएको पांग्रा नभएको खटलाई भेडा बली दिइएपछि देवता नभएको खाली रथ (खट)लाई स्थानीय युवाहरुले बाजागाजासहित बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिर पुर्याउने प्रचलन छ । भोलिपल्ट तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ ।
रथ मन्दिर लैजाने बेला रथ तान्ने र घचेट्नेको उत्साहमा थप उर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालबाट उनीहरुलाई ‘ल्हाका पालुं हाः’ भन्दै साहस थपिदिने काम पनि हुन्छ । खटलाई मन्दिर नजिक पुर्याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ । यस्तै रथ बोकेर फर्कने क्रममा हरेक घरमा तयार पारिएका प्रसाद झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन् । जात्राका क्रममा चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवतालाई १२ वटा बोका बलि दिएका मध्ये एउटा बोका द्वारे र अर्को बोका जोशीलाई दिइन्छ। बाँकी मासु ‘कलङ्दान’ गरिन्छ।” कलङ्दान’ जात्रामा मासुलाई प्रसादस्वरूप भीडमा फालिन्छ। कलङ्दान’का क्रममा भीडमा फालिएको मासुका टुक्रा पाउनेलाई भाग्यमानी मानिने जनविश्वास छ।
जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरमा भोज हुने गर्दछ । बुढापाकाले टोलटोलमा बसी विहान बेलुका भजन गाउँछन् । सडक, गल्लीमा जात्रा मनाउने र हेर्नेको भीडभाड हुन्छ । ‘शक्तिकि अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजा गर्न टाढादेखि भक्तजन आउने गरेका स्थानीय राजचन्द्र भोछिभोयाले बताए । उनका अनुसार जात्रामा सामेल हुन पाउँदा निकै खुसी मान्दै भक्तजनहरु ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्छन् ।
सरकारको तर्फबाटसमेत पूजागर्ने भएकाले यसको महत्वले अझ व्यापकता पाएको बनेपाली बताउँछन् । पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले चण्डासुर दैत्यको वध गरेपछि समाधी गरिएको स्थान भन्ने विश्वास गरिन्छ, त्यहाँ रथ पुर्याउने र भव्य स्वागत सत्कारकासाथ पूजाआजा र बली दिने परम्परा रहेको स्थानीय साहित्यकार मोहन दुवाल बताउनुहुन्छ । “जात्राको सुरूदेखि नै ठाउँठाउँमा बली दिइन्छ । रथलाई प्राचीन लायकू दरबारसम्म पुर्याउँदै र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याउने प्रचलन छ । यस्तै तेस्रोदिन मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पु¥याएपछि जात्रा सकिन्छ।
चण्डेश्वरी देवीको उत्पत्तिको विषय चण्डासुर नामक राक्षससँग जोडिएको र चण्डासुरले महादेवको वरदान पाएर उत्पात मच्चाएपछि देवी स्वरूपमा चण्डेश्वरीले चण्डासुरको वध गरेको कथन रहेको बताइन्छ।चण्डासुरको वधपछि चण्डेश्वरीलाई देवलोकमा बाजागाजासहित स्वागत गरिएको र यसै खुसियालीमा सत्ययुगबाट यस जात्रा चलिआएको बताइन्छ। परापूर्वकालदेखि मनाइने यस जात्रामा भाग लिन दोलखा, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, रामेछापलगायतका ठाउँबाट भक्तजन आउँछन्।
बनेपाबाट जहाँसुकै बसाइँ सरेकाहरू चण्डेश्वरी जात्रामा पूजा गर्न यहाँ आइपुग्छन्। सबै समुदायसँग प्रत्यक्ष जोडिएको हुनाले यो जात्रालाई बनेपाका बासिन्दाले दशैँ तिहारभन्दा ठूलो पर्वका रूपमा लिने गरेका छन्।