बनेपा/लायन्स क्लब अफ काठमाण्डौ लर्डबुद्ध र लियो क्लब अफ काठमाण्डौ लर्डबुद्धले बनेपा न.पा. वडा नम्बर ६ मा रहेको पवित्र धार्मिक तीर्थ स्थल गोसाईस्थानमा वृक्षारोपण गरेका छन् ।
आज बिहान जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमको उपस्थितिमा वृक्षारोपण गरिएको हो । लप्सी, अम्बा, कटुस, कल्की फुल, धुपी लगायत विभिन्न जातका करिब २ सय वटा विरुवा रोपिएको थिए।
जिसस प्रमुख गौतमले ‘अहिले प्राकृतिक दोहन निकै बढेको अवस्थामा प्रकृतिलाई जोगाउन सक्दा मात्रै मानव जातिको हित हुने भएकाले प्रकृति माथि भैरहेको दोहनलाई रोक्न नसक्ने हो भने मानव जाति संकटग्रष्ट अवस्थामा नपुग्लान भन्न सकिन्न भन्नुभयो। समन्वय प्रमुख गौतमले रोपिएका फलफूलका बोट विरुवालाई उचित हेरचाह गर्न गोइसास्थान संरक्षण समितिलाई आग्रह गर्नुभयो ।
जिसस प्रमुख गौतमले नेपाल जस्तो प्राकृतिक रुपमा सुन्दर संसारमा अन्य देश नरहेको बताउँदै नेपालमा प्राकृतिक उपहार धेरै रहेको जानकारी दिनुभयो । अन्य देशमा मानव निर्मित छन् । बोट विरुवा रोपेर बदलिँदो जलवायु परिवर्तनका असरलाई रोक्न सबै लाग्नुपर्छ । हाम्रो सुन्दरता भनेकै वन जंगल, खोला नाला, पहाड, हिमाल, तराईका फाँट हुन् । यसलाई जोगाउँदा मात्रै नेपालीको शिर उच्च हुन्छ ।’ जिसस प्रमुख गौतमको भनाई थियो ।
लायन्स क्लब अफ काठमाण्डौ लर्डबुद्धका अध्यक्ष बदन कुमार भण्डारीले वातावरण जोगाउने अभियान अन्तर्गत वृक्षारोपण गरिएको बताउनुभयो । ‘हामीलाई स्वच्छ हावाका लागि पर्याप्त रुख, बोट विरुवा आवश्यक छ । वातावरण स्वच्छ भएन भने हामी स्वस्थ हुन सक्दैनौ । राम्रो वातावरण बनाउनु तपाई हामी सबैको दायित्व हो । लायन्स क्लब इन्टरनेश्नलले गर्ने विभिन्न कार्यक्रम मध्ये वृक्षारोपण गर्ने र वातावरण संरक्षणमा जनचेतना जोगाउने पनि एक हो । हामी सबैसंग सहकार्य गरेर वातावरण जोगाउने काम गर्दै आइरहेका छौँ,- अध्यक्ष भण्डारीले भनाई थियो ।
गोसाईस्थान संरक्षण समितिका अध्यक्ष भेषराज शाहले रोपिएका विरुवा जोगाउन समितिले रेखदेख गर्ने बताउनुभयो । अध्यक्ष शाहले ‘हामी गोसाईस्थानलाई थप ब्यवस्थित गर्ने काममा लागिरहेका छौँ । यो ठाउँलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने हाम्रो उद्देश्य हो । यो क्षेत्रलाई वातावरणीय रुपमा सुन्दर र हराभरा बनाउन हामीले प्रत्येक वर्ष वृक्षारोपण गर्दै आइरहेकाे बताउनुभयो ।
वृक्षारोपण कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ६ का जनप्रतिनिधि, गोसाईस्थान संरक्षण समितिका पदाधिकारी, लायन्स क्लब अफ काठमाण्डौ लर्डबुद्ध र लियो क्लब अफ काठमाण्डौ लर्डबुद्धमा आबद्ध लायन्सहरु तथा स्थानीय युवाहरु सहभागि हुनुभएको थियो ।