बेथानचोक/काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाको आ.व २०७९/८० तथा आ.व. २०८०/८१ को असोज मसान्तसम्मको सार्बजनिक सुनुवाई कार्यक्रम सोमबार संपन्न भएको छ।
बेथानचोक गाउँपालिकाले गत वर्ष सञ्चालन गरेका योजना कार्यक्रम, बजेट खर्चको जानकारी दिन र नागरिकहरूको पालिकाको सेवा प्रवाहप्रतिको गुनासो जिज्ञासा बुझी सुशासन कायम गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइको कार्यक्रम आयोजना गरेको बताइयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा जनताहरूले पालिका, वडा कार्यालयबाट सेवा लिँदा भोगेका समस्याहरू, योजना कार्यक्रमहरूको गाउँघरमा भएको अनियमितता कमीकमजोरीका विषयमा धेरै गुनासो राखेका थिए ।
सुशासन, पारदर्शिता र जबाफदेहिताको प्रमुख औजार मानिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा एकातर्फ पालिका जबाफदेही वक्ता र अर्कोतर्फ जनताहरू बीच सेवा प्रवाहका विषयमा सवाल जवाफ भएको थियो।
गाउँपालिकाको प्राङ्गणमा भएको सार्वजनिक सुनुवाईमा जनप्रतिनिधि, राजनीतिक दल, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि लगायतले गाउँपालिकाको बेरुजु रकम शुन्यमा झार्नुपर्ने, कृषि अनुदान तथा लक्षित वर्गको कार्यक्रम प्रभावकारी बनाउनुपर्ने, गुणस्तरीय शिक्षाको लागि आवश्यक योजना बनाउनुपर्ने, गुणस्तरीय सडक निर्माण गर्नुपर्ने, सडक, सिंचाई, खानेपानीका अधुरा आयोजना पुरा गर्नुपर्ने, सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउनुपर्ने लगायतका सवालहरु सहभागी र राजनीतिक दलका प्रतिनिधिबाट उठेको थियो ।
गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले गाउँपालिकाले सुरु गरेका कार्यक्रमका बारेमा जानकारी गराउँदै नागरिकहरूले गरेको अपेक्षा पूरा गर्न अझै धेरै कार्य गर्न बाँकी रहेको बताए।
कार्यक्रममा अध्यक्ष अधिकारीले निर्वाचनको समयमा व्यक्त गरेका प्रतिबद्धता अनुरुप पालिकाभित्र हरेक वर्ष ५ किमी सडक पक्कि गर्ने अभियानलाई निरन्तरता दिएको बताए । सडकको पूर्वाधार राम्रो हुँदा मात्रै नागरिकहरुलाई सहज हुने भएकाले महत्वकाँक्षी योजनालाई अघि सारिएको अध्यक्ष अधिकारीले बताए । एग्रो टुरिजम, वडा नम्बर ४,२,१ जोड्ने सडक र वडा नम्बर ३, ५ र ६ जोड्ने सडकलाई राष्ट्रिय स्तरको बनाउँदै प्राथमिकतामा राखिएको अध्यक्ष अधिकारीले बताए ।
‘गत वर्ष पशुमा देखिएको लम्पिस्किन रोगबाट धेरै पशुहरु प्रभावित बने । केही पशुहरुको निधन भयो । गाउँपालिकाले तत्काल उपचार तथा संक्रमण फैलन नदिन नि:शुल्क खोप कार्यक्रम सञ्चालन गरेको अध्यक्ष अधिकारीले बताए । गाउँपालिकाभित्र गाई भैँसीमा नि:शुल्क कृत्रिम गर्भाधान सेवा सञ्चालन गरेको र उक्त सेवाबाट ८ सय २४ वटा पशुमा नि:शुल्क कृत्रिम गर्भाधान भएको अध्यक्ष अधिकारीले बताए ।
कार्यक्रममा व्यावसायिक तरकारी खेती, बाख्रापालन र कुखुरापालन सम्बन्धि सीप विकास तालिम उपलब्ध गराउनुका साथै ट्याक्टर मर्मत, बेकरी, ६५ दिने सिलाई कटिङ सम्बन्धी सीप उपलब्ध गराइएको जानकारी दिइयो ।
उपाध्यक्ष तारा राना तिमल्सिनाले स्वागत मन्तव्य राख्दै २०८० असार मसान्तसम्म ५१ वटा उजुरी न्यायीक समितिमा दर्ता भएको जानकारी दिइन् । दर्ता भएका मध्ये २ वटा फिर्ता, १२ वटा तामेली, १२ वटा डिसमिस, १० वटा खारेजी, १२ वटा आदेश तथा मिलापत्र र २ वटा फैसला भएका छन् । एउटा उजुरी लगाउमा दर्ता भएको छ । ५ सय भन्दा धेरैले निःशुल्क कानुनी परामर्श दिएको उक्त समितिले एउटा उजुरी दरपिठ गरेको छ ।
दर्ता भएका मध्ये ९ वटा गालीगलौज, २४ वटा जग्गा खिचला, ६ वटा पालनपोषण, २ वटा ज्याला मजदुरी, ४ वटा रकम तिराई भराई, एउटा कुटपिट र अन्य ५ वटा उजुरी दर्ता भएको संयोजक एवं उपाध्यक्ष तारा राना तिमल्सिनाले जानकारी दिइन् ।
प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बढथापाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नयाँ लघु उद्यमी सृजना तर्फ वडा नं ५ र ६ मा सबै प्रकारका सीप विकास तालिम लिई सकेका लघु उद्यमीहरूलाई व्यवसायसँग सम्बन्धित बाख्रा तथा कुखुरापालन व्यवसायको लागि जस्ता ७५ बन्डल, तरकारी खेती व्यवसायको लागि हिलटेक ड्र«म ५ थान, टनेल प्लास्टिक र थोपा सिँचाइ १३ थान, ट्याक्टर मर्मत सामाग्री १० थान उपलब्ध गराइएको जानकारी गराए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय शिक्षक पदमनारायण तिमल्सिना र चन्द्रप्रसाद तिमल्सिनाले शैक्षिक गुणस्तरका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने आवाज उठाए । गाउँपालिकाले सुरु गरेका कार्यक्रमहरु प्रभावकारी नभएकाले अझै सशक्त रुपमा शैक्षिक गुणस्तरका कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने स्थानीयहरुले सुझाव दिए । स्थानीय लक्ष्मण वाईवाले शिक्षक अभावका कारण विद्यालय बन्द गर्नु पर्ने अवस्थामा पुगेको बताए । स्थानीय पर्यटन व्यवसायी जयराम तिमल्सिनाले स्थानीय क्षेत्रको पर्यटन ब्यवसालाई प्रवर्द्धन गर्ने गरी पर्यटकीय क्षेत्रको पहिचान, पहिचान भएका स्थानहरुको संरक्षण, प्रवर्द्धन र प्रचार प्रसार आवश्यक रहेको बताए । स्थानीय प्राणनाथ घिमिरेले गाउँपालिकाले गर्ने कार्यक्रमहरु प्रभावकारी र पारदर्शी हुनुपर्ने बताए । स्थानीय रामशरण तिमल्सिनाले कृषि पर्यटनमा ध्यान दिन अनुरोध गरे । उत्पादनलाई व्यवस्थित र बजारीकरण गर्न उनले सुझाव दिए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकहरूले उठाएका सवालमा अध्यक्ष अधिकारी, उपाध्यक्ष तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत बढथापा, वडा अध्यक्षहरु, शाखा प्रमुखहरुले प्रस्ट बनाएको प्रवक्ता मधुसूदन तिमल्सिनाले जानकारी दिए ।