लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६) नेपाली साहित्यका अजङ्गका व्यक्तित्व हुन्, खासगरी नेपाली काव्यविधाका । उनी नेपाली जनताले अत्यन्त मनपराइएका साहित्यकारमध्येका प्रमुख हस्तीसमेत हुन् । नेपाली साहित्यका अतिशय भावुक, कल्पनाकाशमा विचरण गर्न असाध्यै मनपराउने, विराट् सृजन–सामथ्र्य र असाधारण प्रतिभा भएका आशुकवि र कतिपय सन्दर्भमा विवादास्पद व्यक्तित्व पनि हुन् देवकोटा । देवकोटा र उनको साहित्यिक रचनाका बारेमा फरक–फरक ढङ्गले व्याख्या र मूल्याङ्कन हुँदै आएको छ । सहज तरिकाले उनको मूल्याड्कन गर्नु किन पनि अप्ठ्यारो छ भने उनका साहित्यिक रचनालाई सन्दर्भित गरेर परम्परावादीहरू, पुँजीवादीहरू र समाजवादी चिन्तन राख्ने मानिसहरूले उनलाई आआफ्ना चिन्तनप्रणालीभित्र राखेर हेर्ने भगीरथ प्रयत्न अहिलेसम्म पनि गरिरहेका छन् । यसका निम्ति देवकोटाको साहित्यभण्डारले धेरथोर आधार प्रदान गरेको पनि छ । देवकोटाको वैचारिक विकासलाई आधार बनाएर हेरेको खण्डमा मात्र उनलाई सहज रूपले बुझ्न सकिन्छ भन्ने मेरो मान्यता छ ।
देवकोटा कुनै खास भौतिक वा आध्यात्मिक वैचारिकताको साँघुरो वृत्तभित्र बन्दी बन्न मन पराउँदैनन् भनेर देवकोटामा पाइने प्रगाढ युगबोध, जनता तथा राष्ट्रप्रतिको समर्पणभावलाई उपेक्षा गर्ने, उनमा क्रमशः विकास भैरहेको वैचारिक पक्षलाई लुकाउने र अझ अनावश्यक रूपमा यसैलाई आधार बनाएर उनीमाथि प्रहार गर्ने नियोजित बौध्दिक प्रयत्न बेलाबेलामा हुँदै आएको छ । देवकोटा मूलतः युग र यथार्थप्रति अत्यन्त इमानदार र यही क्रममा आफ्नो चिन्तनलाई पनि परिमार्जित गर्दै अघि बढेका साहित्यकार हुन् । कविका रूपमा सार्वजनिक प्रकाशनमा आएकै वर्ष (१९९१) देखि उनले नेपालका गरिब र विपन्न जनताप्रति सहनुभूति र धनी, सम्पन्न र विलासी जीवनप्रति विरोध तथा श्रमप्रति सम्मान प्रकट गर्न थालेका छन् । यो मूल भावनामा उनी आजीवन अविचल रहे । गरिब जनताको भलाइकै निम्ति उनी राणाशासनविरोधी बने, पुँजीवादी लोकतन्त्र र मानवतावादको समर्थन गर्दै यसको सक्रिय कार्यकर्ता बने । ज्ञान र अनुभवको विस्तार हुँदै गएपछि त्यसबाट नेपाली जनताको भलाइ नहुने रहेछ भन्ने निचोडमा उनी पुगे र यसपछि माक्र्सवाद र समाजवादी मानवतावादको समर्थक बन्न पुगे । गरिब जनताप्रति सहानुभूति र सम्पन्न वर्गप्रतिको विरोधी भावनाबाट थालनी गरेर विकास गर्दै माक्र्सवादको प्रभावसम्म पुगेका भावनाप्रवण साहित्यकार देवकोटाको विकासक्रमलाई बुझ्न नसकेकाहरूले उनलाई सिध्दान्तहीन भनेर आक्रमण गर्दै आएका छन् । यो उनीमाथिको सरासर अन्याय हो । निश्चय नै वैचारिक दृष्टिले देवकोटा आफ्नो साहित्यिक जीवनमा एक समान छैनन् । उनमा प्रशस्त विरोधाभास र अन्तर्विरोध छन् । तर उनको साहित्यिक विकासलाई दृष्टिगत गरेर उनका विचारलाई अध्ययन गर्न सकेको खण्डमा उनमा रहेका असङ्गतिलाई राम्ररी बुझ्न सकिन्छ ।
साहित्यका प्रायः सबैजसो विधामा हात चलाउने विराट् बहुमुखी प्रतिभाका धनी लक्ष्मीप्रसाद देवकोटा मूलतः कवि हुन् । उनले आफ्नो पचास वर्षको अल्पायुमा चार दशक साहित्यसाधनामा लगाएका छन् । उनका थाहा भएका प्रकाशित– अप्रकाशित करिब पचासीवटा पुस्तकहरूमध्ये पन्ध्रवटा जति मात्र कृति कविताइतर विधासँग सम्बन्धित छन् । नेपाली साहित्यमा आत्मगत निबन्धको क्षेत्रलाई सर्वप्रथम मलिलो र हराभरा बनाउने र आधुनिक नेपाली निबन्धको संस्थापनामा प्रमुख भूमिका खेल्ने निबन्धकार देवकोटामाथि कवि देवकोटाको छाया पर्याप्त मात्रामा अनुभूत गरिने यथार्थ हो । निर्विवाद रूपले देवकोटा स्वच्छन्दतावादका मुख्य सूत्रधार र प्रणेता हुन् । पहिलो पटक कविता प्रकाशन भएदेखि मृत्युपर्यन्त उनले स्वच्छन्दतावादी कविताहरू नै सृजना गरेका छन् ।
यहाँनिर प्रसिद्ध भारतीय विद्वान् राहुल सांकृत्यायनको भनाइ असाध्यै मननीय छ । देवकोटाले नेपालको स्वच्छन्दतावादमा दिएको योगदानको प्रशंसा मात्र यसमा छैन नेपाली साहित्यमा रहेको देवकोटाको अद्वितीय स्थानलाई पनि यसले सड्केत गरेको छ । उनले भनेका छन् ः ‘नेपाली कविताले हाम्रा चार शताब्दीको मञ्जिल एक शताब्दीमा पुरा गर्नुप¥यो तर यो हतारले गर्दा त्यसलाई अपरिपक्व सम्झिनु हुँदैन । यसको एउटा सबुत महाकवि देवकोटा हुन्, जसमा न केवल हामीले हिन्दीका प्रसाद–पन्त–निरालाका पूर्ण रूप नै पाउँछौं, बरु उहाँमा यदि हामीले एकापट्टि ‘प्रियप्रवास’का कवि हरिऔधलाई विकसित रूपमा देख्छौं भने अर्कातिर एउटा अर्कै महाकविलाई पाउँछौं, जो अहिलेसम्म हिन्दीमा जन्मेकै छैन’ । यो देवकोटाको उच्च मूल्याङ्न किन हो भने यहाँ उल्लेख भएका कविहरू प्रसिद्ध हिन्दी कविहरू छायावादी वा स्वच्छन्दतावादी कवि हुन् र तिनको योगदान हिन्दी साहित्यमा बिर्सिनसक्नुको छ ।
अभिजात्यवाद वा शास्त्रीयतावादद्वारा प्रचारित निरङ्कुशतावादको जडता वा हठवादिता (अर्थात् सामन्तवादी दृष्टिकोण) बाट मुक्ति पाउने प्रयत्नका रूपमा विश्वसाहित्यमा स्वच्छन्दतावादको उदय भएको थियो । पहिलो चरणको अवधिमा निरड्कुशतावादप्रति असन्तुष्ट रहेका देवकोटाले त्यसलाई सहजै कवितामा अभिव्यक्त गर्न सकेका छैनन् । सामाजिक परिपाटीबाट असन्तुष्ट भएकै कारणले गर्दा उनले यसबाट पलायन गरेर प्रकृतिको शरण लिएका छन् । विश्वसाहित्यमा पाइने स्वच्छन्दतावादका मूलतः परस्परविरोधी दुई किसिमका प्रवृत्तिहरू– निष्क्रिय स्वच्छन्दतावाद र सक्रिय स्वच्छन्दतावाद– देवकोटामा पनि पाइन्छन् । सक्रिय स्वच्छन्दतावादलाई चलनचल्तीमा क्रान्तिकारी स्वच्छन्दतावाद भन्ने गरिएको छ र यसका पनि दुईवटा रूप छन् । क्रान्तिको पक्षमा र रचनाविधिमा एकसमान भएर पनि यसको एउटा धाराले पुँजीवादी मानवतावादको पक्ष लिन्छ भने अर्कोले चाहिँ समाजवादी मानवतावादको पक्ष लिन्छ । यसले साम्यवादलाई आदर्शका रूपमा ग्रहण गर्दछ । देवकोटाले स्वच्छन्दतावादका यी सबै रूपलाई आफ्ना कवितामा उच्च कलात्मकताका साथ प्रस्तुत गरेका छन् । यो पनि देवकोटाको एउटा विशेषता हो ।
देवकोटा १९९१ देखि २००३ सम्म निष्क्रिय स्वच्छन्दतावादी, २००४ देखि २००७ सम्म पुँजीवादी मानवतावाद–समर्थक सक्रिय (क्रान्तिकारी) स्वच्छन्दतावादी र २००८ देखि २०१५ सम्म समाजवादी मानवतावाद–प्रभावित क्रान्तिकारी स्वच्छन्दतावादी रहेका छन् । तर निष्क्रिय स्वच्छन्दतावादी प्रवृत्ति देकोटाका पछिल्ला दुई चरणमा पनि निरन्तर प्रवाहित रहेको कुरा यस सन्दर्भमा बिर्सन मिल्दैन । उनी मूलतः आफ्नो साहित्यिक यात्राका सबै मोडहरूमा मानवतावादी रहेका छन् र उनको मानवतावाद पछिल्ला चरणमा क्रमशः विकसित हुँदै गएको छ ।
तर्कबुध्दिवादलाई विशेष महत्त्व दिने अभिजात्यवादका विरुद्ध कल्पनाशीलता, अनुभूति, संवेग–आवेग र सृजनात्मक हर्षातिरेकलाई सर्वोपरि महत्त्व दिने, प्रकृतिको रहस्यमय पूजा गर्ने, प्रेम, कलात्मक सृजन र धार्मिक अनुभूतिलाई अपरिमितको उपलब्धिको साधन मान्ने, प्रकृतिका विभिन्न पहलुहरूलाई उद्घाटित गर्ने र पूर्णतया तर्क–बुध्दिहीनता वा भावनात्मक पक्षको चित्रणमा सीमित हुने निष्क्रिय स्वच्छन्दतावादी प्रवृत्ति नै पहिलो चरणका देवकोटामा केन्द्रीय स्थानमा छ । यसरी नै मध्ययुगीन अतीतलाई आदर्शीकरण गर्ने, अतर्कबुध्दिवाद र रहस्यवादलाई स्थापित गर्ने, भाग्यवादी विचारहरूलाई मूर्तीकरण गर्दै नियतिका सामु मानिस र उसमा भएको बुध्दिविवेकको कुनै महत्त्व छैन भनेर पुष्टि गर्ने थप विशेषता पनि देवकोटाको यस चरणको साहित्यमा प्रबल रूपमा पाइन्छ । यस अतिरिक्त लोकपरम्पराप्रति अनुराग, ग्रामीण एवम् बाल्यजीवनप्रति मोह, श्रमप्रति श्रद्धा, गरिब र विपन्न जनताप्रति सहानुभूति स्वच्छन्दतावादमा प्रकट हुने केही पक्षहरू पनि देवकोटामा पाइन्छन् । लेखनाथ पौड्याल, बालकृष्ण सम र सोमनाथ सिग्द्याल आदि साहित्यकारहरूले बढाएको नेपाली अभिजात्यवादको प्रतिक्रियास्वरूप रचना गरिएका देवकोटाका प्रथम चरण (१९९१–२००३) का कविता–काव्यहरूले उपर्युक्त विशेषताहरूलाई पूर्णतया आफूमा समावेश गरेका छन् ।
देवकोटाको यस अवधिको सर्वश्रेष्ठ, अझ उनका सबै कृतिहरूमा समेत श्रेष्ठ भनेर मान्ने गरिएको खण्डकाव्य ‘मुनामदन’ नेपाली जनताका माझ अति लोकप्रिय हुनुको एउटा प्रमुख कारण राणाशासनको आर्थिक शोषणबाट विपन्नतर बन्दै गएका निम्नवर्गका नेपालीहरूले घरपरिवारलाई चटक्क छाडेर अर्थोपार्जनका निम्ति भोट (तिब्बत) पस्नुपर्ने बाध्यता र त्यसको परिणामबाट उत्पन्न हुने कारुणिक अवस्थालाई प्रतिबिम्बन गर्नु नै हो । यस अतिरिक्त यस काव्यले हेला गरिएको झ्याउरे लोकलयलाई प्रतिष्ठापित गर्ने, श्रमजीवी समुदायका आममानिसलाई नायकनायिका बनाउने, शासकवर्गका पात्रपात्रालाई महत्त्व दिने परिपाटीका विपरीत जनजातिका पात्रलाई उदात्त चरित्र प्रदान गर्ने कार्यसमेत गरेको छ । देवकोटाले यसपछि केही खण्डकाव्यमा जनजातिबाट आएका पात्रलाई नायकत्व प्रदान गर्ने ऐतिहासिक दायित्वसमेत निर्वाह गरेका छन् । कुञ्जिनी खण्डकाव्यमा गुरुङ जातिलाई, लुनी खण्डकाव्यमा शेर्पा जातिलाई र म्हेन्दु खण्डकाव्यमा तामाङ जातिलाई नायकत्व प्रदान गरेर उनले नेपाल राष्ट्र शासकजातिको मात्र होइन, अनेक जनजातिका मानिसहरूको साझा देश हो र सबै जातिले उत्तिकै सम्मान र उत्तिकै अवसर पाउनुपर्छ भन्ने कुरालाई व्यक्त गरेका छन् । नेपाली साहित्यमा देवकोटाको यो ऐतिहासिक योगदान हो । तथापि ‘मुनामदन’का सन्दर्भमा हामीले बिर्सन नमिल्ने कुरो के छ भने यो यथार्थवादी सोचलाई मुखरित गर्न होइन धनभन्दा मानसिक सुख, शान्ति र सन्तोष नै ठुलो हो, धनको लालसाले सरल र सुखी परिवार सखाप हुन्छ भन्ने आदर्शवादी दृष्टि प्रतिपादित गर्दै आत्मिक प्रेम, आत्माको अमरता, दैवी शक्तिमाथि विश्वास जगाउन र प्रकृतितिर फर्कने सन्देश दिनका लागि लेखिएको हो ।
तत्कालीन नेपाली भाषानुवाद परिषद्का अध्यक्ष कथाकार पुष्कर शमसेरसँगको प्रतिस्पर्धास्वरूप दस दिनमा लेखिएको ‘सुलोचना’ महाकाव्यले प्रेमविवाह एवम् विधवाविवाहको समर्थन र नारीउत्पीडनको विरोध गर्दै सुधारवादी भावनालाई अभिव्यक्ति दिए तापनि मूलतः धनी र गरिबका बिचको द्वन्द्व र पुराना र नयाँ पुस्ता एवम् चिन्तनका बिचको सङ्घर्षले सबैलाई विनाशतिर लैजान्छ भन्ने आदर्शवादी धारणा र ईश्वरवादी–आस्तिकतावादी जीवनदर्शनलाई नै मुखरित गरेको छ । प्राध्यापकीय आलोचनाको क्षेत्रबाट र प्राचीन हिन्दूसंस्कृतिका समर्थकहरूद्वारा देवकोटाको सर्वोपरि रचनाका रूपमा बहुप्रचारित, देवकोटाको महाकवित्व यसैमा टिकेको छ भनी पुष्टि गर्न खोजिएको ‘नेपाली शाकुन्तल’ महाकाव्य देवकोटाको आशुकवित्व, विराट् कल्पनाशीलता, प्रकृतिको व्यापक र विशाल प्रस्तुतीकरण, तीव्र र तीक्ष्ण कवित्वक्षमता र नेपाली महाकाव्यको अभावपूर्तिका दृष्टिले अर्थपूर्ण रहे तापनि सामाजिक उपादेयता र सामाजिक मूल्यका दृष्टिले भने अत्यन्त न्यून महत्त्वको रचना हो । वर्तमानको दीन–हीन अवस्थाबाट मुक्तिका निम्ति पुरानो कथा हाल्ने र अतीततिर फर्कने देवकोटाको यो प्रयत्न वास्तवमा वर्तमानलाई पछिल्तिर धकेल्ने अनुदार प्रवृत्तिको ज्वलन्त नमुना हो । प्रमिथसबाहेकका अतीततिर फर्कने उनका सबै कृतिहरूले प्रायः यही कुरालाई पुष्टि गर्दछन् ।
नयाँ साहित्यिक आन्दोलनको सूत्रपात त्यतिखेर मात्र हुन्छ जतिखेर सामाजिक जीवनले महत्त्वपूर्ण परिवर्तनको अनुभव गर्दछ वा युगका प्रगतिशील तत्त्वहरूले यस्तो परिवर्तनको आवश्यकताप्रति स्पष्टतया सचेत प्रयत्न गर्न थाल्दछन् । बिसौं शताब्दीको असीको दशकदेखि सचेत एवम् बौध्दिक रूपले र राजनीतिक दृष्टिले परिवर्तनको आवश्यकताका लागि थालेको प्रयत्नस्वरूप नेपाली साहित्यमा स्वच्छन्दतावादको सूत्रपात भएको थियो । तर त्यसले सुरुमा सामाजिक क्षेत्रमा सबल प्रभाव भने पार्न सकेन । १९९७ को ‘सहिदकाण्ड’ नेपाली साहित्यको सन्दर्भमा नयाँ साहित्यिक आन्दोलनलाई सूत्रपात गर्ने कारक तत्त्व किन बन्न पुगेको देखिन्छ भने यसैको वरिपरिदेखि क्रान्तिकारी स्वच्छन्दतावादको उदय हुन थालेको छ ।
१९९० को एकाघ वर्षअघिदेखि नै राजनीतिक रूपबाट सचेत नेपाली युवाहरूले निरड्कुश जहाँनियाँ राणातन्त्रलाई हटाएर त्यसको ठाउँमा संवैधानिक राजतन्त्र वा गणतन्त्रको पुँजीवादी राजनीतिक व्यवस्था स्थापित गर्न भूमिगत क्रियाकलापहरू प्रारम्भ गरे तापनि १९९७ मा पुगेर मात्र यो ‘सहिदकाण्ड’का रूपमा सार्वजनिक भयो । राणाशासनको निरड्कुश शोषण–उत्पीडनका विरुद्ध सामाजिक जीवनमा महत्त्वपूर्ण परिवर्तनको आवश्यकतालाई सहिदहरूले सार्वजनिक रूपमै बोध गराए र यसले नै नेपाली साहित्यमा क्रान्तिकारी स्वच्छन्दतावादलाई जन्माउने अवसर दिएको हो । नेपालको यही सामाजिक–आर्थिक–राजनीतिक पृष्ठभूमिसहित सामन्तवादका बन्धनहरूबाट व्यक्तिगत उन्मुक्तिलाई अतिशय महत्त्व दिने स्वच्छन्दतावादको अङ्ग्रेजी परम्परा र भारतको बङ्गाली र हिन्दीको छायावादी प्रवृत्तिबाट प्रभावित भएर नेपालमा स्वच्छन्दतावादको प्रवर्तन र सम्बद्र्धनमा लागेका कविहरू नै सर्वप्रथम यतातिर आकर्षित भए । नेपाली स्वच्छन्दतावादी धाराको बीजारोपणमा देवकोटा सँगसँगै क्रियाशील रहेका कवि सिद्धिचरण श्रेष्ठ, एकाध वर्षपछिदेखि स्वच्छन्दतावादी कविताहरू सृजना गर्दै आएका कवि गोपालप्रसाद रिमाल र कवि युध्द्धप्रसाद मिश्र आदिका कवितामा क्रान्तिका बीजहरू देखा परिसकेका थिए । यसरी १९९७ को निर्मम एवम् अमानुषिक सहिदकाण्डको प्रभाव, परिवेश र राजनीतिक जागरणकै परिणामस्वरूप शासकहरूको स्तुतिगान गर्न थालेका कवि देवकोटाले २००२ तिर ‘एक डल्लो आलु’देखि सामाजिक क्षेत्रमा प्रवेश गरे र यसपछि क्रान्तिकारी स्वच्छन्दतावादी रचनाहरू निर्माण गर्न थाले । यहाँदेखि नै उनको कविताको दोस्रो चरण (२००४–२००७) प्रारम्भ हुन्छ । यसअघि उनी नेपालको सामाजिक समस्यामा भन्दा प्रकृतिको चित्रणमा आकण्ठ डुब्ने गरेका थिए र झिनो रूपमा गरिब जनताप्रति सहानुभूति प्रकट गर्दै ‘आर्य समाज’को चिन्तनबाट प्रेरित भएर धार्मिक कट्टरता र जातिप्रथाका विरुध्द मात्र वाणी दिइरहेका थिए । १९९७ को घटनाले उनको राजनीतिक चेतनाको द्वारलाई अरू बढी घच्घच्याउने काम ग¥यो । तर देवकोटाका कवितामा त्यसको प्रतिबिम्बन भने २००३ मा, खासगरी २००४ देखि मात्र हुन थाल्यो ।
देवकोटा ट्युसन गरेर जीविका चलाउनुपर्ने र सधैँ आर्थिक समस्याबाट पिरोलिइरहनुपर्ने मध्यमवर्गीय परिवारका व्यक्ति हुन् । आर्थिक रोगबाट कहिल्यै मुक्त हुन नसकेका देवकोटाले यस आर्थिक समस्यालाई ‘जन्मजात समस्या’ मानेका छन् । यसबाट पीडित उनले कय्यौँ पटक भोकभोकै दिनहरू गुजार्नुपरेको छ र औषधोपचारको लागि अर्थको अभावबाट सन्तानहरूसमेत गुमाउनुपरेको छ । अर्कातिर उनको आर्थिक रोगलाई मानसिक रोग ठह¥याएर इस्टमित्र, बन्धुबान्धवलगायत साहित्यिक–राजनीतिक साथीहरूबाट समेत उनले अपमानित र तिरष्कृत हुनुपरेको छ । १९८७ मा पुस्तकालय खोल्ने प्रयत्न गरेको अभियोगमा अन्य पैँतालिस जनासँगै दण्डसजायको भागिदार बन्न पुगेका उनी राणाशासनको निरड्कुश उत्पीडन र शोषणसँग राम्ररी नै परिचित थिए । एकातिर आफूलगायत अधिकांश नेपाली जनताको विपन्न स्थिति र अर्कातिर राणाहरूको वैभवशाली विलासी जीवन र आर्थिक वैषम्यलाई राणाका सन्तानलाई दरबारमै गएर पढाउने क्रममा राम्ररी देखे–बुझेका कवि देवकोटा १९४१ को निर्मम दमनपछि दमनकारी शक्तिहरूको विरोधमा धर्मरिँदै आइपुगे र २००४ देखि क्रान्तिको वकालत गर्न थाले । २००४ साल असार महिनादेखि २००६ साल असोज महिनासम्म नेपाली राष्ट्रिय काङ्ग्रेसको मुखपत्र ‘युगवाणी’को सम्पादन गर्ने क्रममा बनारसमा प्रवासी जीवन बिताउँदै उनले उन्मुक्त रूपमा राणाशासनविरोधी क्रान्तिकारी रचनाहरू सृजना गरेका छन् । ‘पहाडी पुकार’ (२००५) देवकोटाको यस अवधिको बहुचर्चित लामो कविता हो । यसमा उनले राणाकालीन नेपालको सामाजिक जीवनको यथार्थ चित्र प्रस्तुत गर्दै मानवअधिकारका निम्ति सङ्घर्ष र क्रान्ति गर्न आह्वान गरेका छन् । सामाजिक एवम् राजनीतिक समस्याहरूको प्रतिबिम्बन यति सशक्त रूपमा देवकोटाको साहित्यमा यसअघि हुन सकेको थिएन ।
नेपाल भित्रिएपछि प्रकाशित २००६ को उनको एउटा कवितालाई अपवाद मान्ने हो भने अन्य सबै कविताहरू निष्क्रिय स्वच्छन्दतावादी, प्रकृतिकेन्द्रित कविताहरू भेटिन्छन् ।
सामाजिक शोषण–उत्पीडनबाट मुक्ति, आर्थिक तथा वर्गीय वैषम्यको समाप्ति र जीवननिर्वाहका निम्ति आवश्यक पर्ने गाँस–बास–कपासको परिपूर्तिका निम्ति साहित्यकार देवकोटाले क्रान्तिको आकाङ्क्षा र सपना सँगालेका थिए । तर सात सालको क्रान्तिका नाममा दिल्लीमा भएको राणा–काङ्ग्रेसको सम्झौताले नेपाली जनताको सामाजिक जीवनमा न कुनै परिवर्तन ल्यायो, न त राजनीतिक स्वतन्त्रता र उन्मुक्तिको चाहनालाई नै पुरा ग¥यो । दिल्ली सम्झौता धोका हो भन्ने जनतामाथि क्रान्तिपछि बनेको सरकारले दमनचक्र चलाउन थाल्यो र जनतालाई आफ्नो हक–अधिकारका लागि सङ्घर्षमा उतार्ने आन्दोलनकारी राजनीतिक पार्टीमाथि प्रतिबन्ध लगाउन सुरु ग¥यो । यस वस्तुगत यथार्थले देवकोटालाई आफुले लिएको विचारधाराको सीमालाई बुझ्न र आफुले यसअघि स्वीकार गरेको राजनीतिमाथि पुनर्विचार गर्न बाध्य पा¥यो । २००४ सालदेखि प्रदीप्त भैरहेको देवकोटाको क्रान्तिकारी चेतनालाई यसले अरू बढी उत्प्रेरित ग¥यो । देवकोटा आफैँले भोग्नुपरेको आर्थिक विपन्नता, औषधोपचार हुन नपाएर भएको दुई छोराहरूको मृत्यु, काङ्ग्रेसी राजनीतिक मित्रहरूको शोषणमुखी मानसिकता, राजनीतिक क्षेत्र र सामाजिक क्षेत्रबाट सहनुपरेको अपमान, उपेक्षा र पीडाहरूले देवकोटाको क्रान्तिकारी चेतनामा वृद्धि गर्न अरू सहयोग पु¥याए ।